बानेश्वरमा छ टक्सार

समाज
विद्या राई

काठमाडौँ — भाँडाकुँडा बन्न छाडे पनि टक्सारको ब्रान्ड अहिले पनि बिकिरहेको छ । टक्सारमा बसेर भाँडाकुँडा बनाउँदै आएका बुद्धराज शाक्य भन्छन्, ‘हामीले टक्सारे भाँडाकुँडाको माग धान्न गाह्रो भइरहेको छ, दु:खको कुरा अरू ठाउँमा टक्सारे भन्दै नाम बिक्री भइरहेको छ ।’

७४ वर्षका काशीनाथ तमोटले बानेश्वरमा १२ आना जग्गा १० हजार रुपैयाँमा किनेका थिए, २०३१ सालतिर । उनले सुरुमा टहरो बनाए, बिस्तारै घर बनाए । अहिले सहरीया सुख उनका आँगनमा आएको छ । तमोटजस्तै भोजपुर, टक्सारबाट बसाइ सरेर बानेश्वर क्षेत्रमा आउने टक्सारिया नेवारहरूको घरधुरी ६५ भन्दा बढी भइसकेको छ ।

Yamaha


सुरुका दिनमा, तमोट त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन क्याम्पसमा नेपाल भाषाका प्राध्यापक थिए । सरकारी सेवाबाट अवकाश लिएको एक दशक भइसकेको छ । २०१९ सालमा भोजपुरबाट एसएलसी गरेपछि प्राविधिक विषय पढ्न काठमाडांै छिरेका तमोट जागिरका कारण त्यही बेलादेखि काठमाडौंवासी बने । यतिबेला भोजपुर, टक्सारको पुख्र्यौली तमोट घर भत्किसकेको छ । जग्गाजमिन बाँझै छ । बानेश्वरमा टक्सार–बस्ती बसाएर बसेका छन् तमोट र अरू नेवारहरू ।


टक्सार पुख्र्यौली घर भएका नरेश ताम्राकारले पनि बानेश्वरमै ०३६ सालमा ९ आना जमिन १ लाख रुपैयाँमा किनेका थिए । उनले त्यही जमिनमा एकतले घर बनाए । टक्सार बसेर भाँडाकुँडा व्यापार गर्ने नरेश एकाएक बानेश्वरवासी बने, आफ्नो थातथलो भुलेर । भोजपुर छँदै उनका दुई छोरी दुई पटक सिकिस्तै बिरामी बनेका थिए । उपचारका लागि विराटनगर हुँदै काठमाडौं आएका थिए । मेनिन्जाइटिसले थलिएकी छोरी कान्ति बाल अस्पताल ल्याएर धन्न बाँचिन् तर तिनै छोरीको शिक्षादीक्षाका लागि उनी पनि यतैका भए ।


०३५ सालमा टक्सार विमानस्थल बन्यो । अनि धेरै टक्सारेका लागि काठमाडौं पानीपँधेरो बन्यो । भाँडाकुँडा बनाउने कुरामा भोजपुरे खानीहरूमा कच्चापदार्थ रित्तिँदै गएपछि टक्सार नाम मात्रैको बन्दै गयो ।


ताम्राकार अहिले नेवा: देय् दवूको केन्द्रीय अध्यक्ष हुन् । उनका दुई छोरा इन्जिनियर छन् भने एक छोरा डाक्टर । बानेश्वरमा स्थायी बसोबास भए पनि ताम्राकारको टक्सारस्थित घर जग्गा छँदैछ । टक्सारबाट अन्यत्र बसाइ सर्ने नेवार समुदायमध्ये अधिकांशले घरजग्गा बेचेका छैनन्, न आफू गाउँ फर्केरै गएका छन् । कुनै बेला दिनरात घनको टङटङ आवाजले गुल्जार रहने टक्सार यतिखेर सुनसान छ, स्थानीय बुद्धिजीवी धीरेन्द्र श्रेष्ठका अनुसार अहिले टक्सारमा ४/५ घर मात्रै बसेका छन्— टक्सार व्यवसाय धानेर ।


टक्सारबाट बसाइ सरेका नेवार समुदाय अहिले पनि भाँडाकुँडा व्यवसायमैं छन् । सीमित जागिर वा अन्य व्यवसायमा छन् । धातुजन्य उत्पादनमा कोही लागेका छन् । जस्तो टक्सारका मोतीकृष्ण ताम्राकार वीरगनजमा आल्मुनियमको उद्योग चलाउँछन् । उत्तम ताम्राकारको धरानमा रोलिङ मिल सञ्चालनमा छ नारायण तुलाधारको बल्खुमा करुवा–कसौडी व्यापार गर्छन् । अर्जुन ताम्राकारको बालाजुमा रोलिङ मिल छ, राजेन्द्र शाक्य (इमाडोल) र सुनील उदासले विदेशमा पठाउने धातुका भाँडाकुँडाको उद्योग चलाउँछन् । टक्सारका ६३ वर्षीय विश्वराज तुलाधार बानेश्वरमै भाँडा पसल गर्छन् । उनी पनि व्यापार सिलसिलामा २०४२ सालमा बानेश्वर बसाइ सरेर आएका थिए ।

काशीनाथ तमोट


शाहवंशाीय राजा गीवार्णयुद्धविक्रम शाहको पालामा भोजपुरको टक्सार अड्डा पूर्वी नेपालकै मुख्य व्यापारिक तथा औद्योगिक केन्द्र थियो । पछि विसं १८७२ मा स्थानीय भीमसेन परिसरमा खानी अड्डाको स्थापना भएको थियो । अड्डामा तामाको एक पैसे, दुई पैसे, पाँच पैसे डोली पैसा छापिने गथ्र्याे । तामाको टक (सिक्का) काटिने भएकैले यसलाई टक्सार नामकरण गरिएको इतिहास छ । भोजपुरकै दक्षिणी भेगमा पर्ने धोद्लेखानी, सिरिसेखानीबाट तामा निकालेर डोली पैसा बनाउने गरिन्थ्यो ।


यसरी टक्सार स्थापना भएको २०३ वर्ष हुँदै छ । २०० वर्ष पुगेको अवसरमा २०७२ सालमा द्विशतवार्षिकी मनाइएको थियो । व्यापारिक, औद्योगिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक हिसाबले पुरानो टक्सार अचेल भने सुनसान र उजाड छ ।


व्यापारिक गतिविधिमा सक्रिय मानिने नेवार समुदायको यो संख्या अहिले इतिहास भइसकेको छ । उनीहरूको मौलिक पहिचान, वेशभूषा र संस्कृति आधुनिकतासँगै लोप हुँदै गएको छ । मुख्य गरेर धातु उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ कोइला र कालीगढको अभावले बसाइसराइ बढेपछि नेवार समुदाय घट्दै आए ।


भोजपुरबाट सुरुमा बसाइ सर्नेहरू बानेश्वरमा आएका थिए । त्यसपछि भक्तपुर, इमाडोल, कीर्तिपुर, हात्तीवन, न्युरोड, बूढानीलकण्ठ, त्रिपुरेश्रवरतिर सरेर आए । जहाँ बसाइ सरेर गए आफूलाई भोजपुरको टक्सारिया अझ खिकामाछाको टक्सारियाका रूपमा चिनाउँछन् ।


भाँडाकँुडा बन्न छाडे पनि टक्सारको ब्रान्ड अहिले पनि बिकिरहेको छ । टक्सारमा बसेर भाँडाकुँडा बनाउँदै आएका बुद्धराज शाक्य भन्छन्, ‘हामीले टक्सारे भाँडाकुँडाको माग धान्न गाह्रो भइरहेको छ, दु:खको कुरा अरू ठाउँमा टक्सारे भन्दै नाम बिक्री भइरहेको छ ।’


टक्सारमा नेवार समुदायको बाहुल्य हुँदा नेवारभित्रकै शाक्य, हलुवाई, ताम्राकार, श्रेष्ठ विभिन्न थर र गोत्रका थिए । उनीहरूबीचमा पनि सांस्कृतिक विविधता छ । घरैपिच्छे मठमन्दिर, देवीदेवताका थान, चैत्य छन् । भीमसेनथान, गणेश थान, रणेश्वर शिवालय, अजिमा देवीलगायत छन् जसलाई ‘सानो पाटन’ को उपनाम पनि दिइएको छ ।


थुपै्र ठाउँमा बसाइ गएका मध्ये बानेश्वरका टक्सारीया नेवारहरू लाखेजात्रा र बुद्धजयन्तीलाई धुमधामका साथ मनाउन थालेका छन् । बानेश्वरको पार्कदेखि भित्रपट्टि छक्कुबक्कु भगवती मन्दिर लाखेको केन्द्र मान्छन् । शान्तिनगर नजिकैको विश्व शान्ति विहारलाई टक्सारको शाक्यमुनि विहार मानेर बुद्धजयन्ती धुमधाम मनाउँछन् । यी दुई चाडमा उपत्यकामा छरिएका टक्सारीयाहरू एकजुट हुन्छन् । भोजपुर टक्सारका गतिविधिलाई जीवन्त राख्न उनीहरूले भएका मन्दिर र विहारलाई मानेको बताउँछन् । लाखेजात्रा टक्सार सेवासमाज र बुद्धजयन्ती शाक्य समाजको नेतृत्वमा हरेक वर्ष मनाइन्छन् । बानेश्वरका टक्सारीयाहरूमा यो चलन सुरु भएको एक दशक पुग्दै छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सपनाको साइपाल

विद्या राई

काठमाडौँ — बझाङ्ग धुलीकी संगिता रोकायालाई साइपाल हिमाल कुनै अनौठो नाम होइन । साइपाल हिमालय रेन्जको अन्तिम गाउँ भनेर चिनिने धुलीमा जन्मिइन्, त्यही हुर्किइन् । सात वर्षकै उमेरदेखि अभिभावक, छर–छिमेकीसँग यार्सा टिप्न साइपाल फेदी आउजाउ गर्न थालिन् ।

सदरमुकाम चैनपुरबाट तीन दिन पैदल हिँडेपछि पुगिने धुली गाउँ आफैँमा प्राकृतिक सौन्दर्यले भरिएको छ । पाखा वारीपारि पुरै हिमालले घेरिएको छ । गाउँको जनजीवन हिमालसँग जोडिएको छ ।

उनलाई अझै सम्झना छ, त्यतिबेला उनी १२ वर्षकी थिइन् । यार्सा टिपेर घर फर्केपछि आमालाई सुनाइन्, ‘आहा ! कति राम्रो रहेछ साइपाल । त्यसको चुचुरोमा पुग्न पाए कति रमाइलो हुन्थ्यो होला है मम्मी !’ निर्दोष पारामा जिज्ञाशा राखेकी संगिताले आमाबाट अनपेक्षित जवाफ पाइन्, ‘अह, त्यहाँ जान हुँदैन, त्यहाँ देवता छन्, छाउ (महिनावारी) हुने छोरी मान्छेले साइपालको नामसमेत लिनु हुँदैन, देवताले सुने रिसाउँछन्, अनिष्ट हुन्छ ।’ आमाको भनाईले उनको अबोध बाल मस्तिष्कमा परेको छाप ताजै छ अहिलेसम्म ।

यो कुरा संगिताकी आमाले मात्र होइन, बझाङबासीले पनि भन्छन् । यसैमा दह्रो जनविश्वास छ अहिले पनि । सायद यहि विश्वासले हुनुपर्छ हिमालै हिमालले घेरिएको जिल्ला भनेर चिनिने बझाङमा महिला त परैजावोस्, पुरुषले पनि हिमाल आरोहण गरेका छैनन् । कारण त्यहाँ अग्ला स्थान, टाकुराहरुमा देवता बस्छन् भन्ने मान्यता छ । बझाङमा कालिका/मष्टो देवता मान्ने चलन छ । देवीकी आत्मा भएको स्थानमा जिवित देवी जादा अछुत हुन्छ भन्ने मान्यता छ ।

महिनावारी भएका महिला अथवा उनीसँग लसपस भएको पुरुषले हिमालको आसपास पुगे मात्रै पनि विराजमान देवता रिसाउँछन् र घरपरिवारमा ठूूलै अनिष्ट हुन्छ । यही मानसिकताले गर्दा हिमालको सौन्दर्यले मन्त्रमुग्ध भए पनि चढ्ने साहस स्थानीयले गर्दैनन् ।

आजसम्म टिकेको यो अन्धविश्वासलाई तोड्ने अभियानमा जुटेका छन्, बझाङका चार चेलीहरु सरस्वती थापा, लक्ष्मी बुढा,संगिता रोकाया र पवित्रा बोहरा । साइपालको सफल आरोहण गरेर अन्ध–विश्वासलाई तोड्ने अठोट छ उनीहरुको । र काठमाडौंसम्म आइपुगेका छन्, आरोहण लागि तालिम लिन ।

साहसिक सुरुवात
सगरमाथा चढ्ने पहिलो नेपाली महिलाको इतिहास रचिन् सोलुखुम्बुकी पासाङ्ग ल्हामु शेर्पाले । जुन २५ वर्ष अघिको कुरा थियो । त्यसयता सगरमाथा चढ्ने लहर र लहड नै बसेको छ । हिजोआज हिमाल चढ्ने कुरा सामान्य भैसक्यो । तर यी चार चेलीले बझाङबाट काठमाडौंसम्म आइपुग्दा परिवार र समाजबाट कम्ति संघर्ष गर्नुपरेन । उनीहरुसँग थुप्रै तितामिठा भोगाइ छन् ।
संखमुल टावरस्थित जिम सेन्टरमा भेटिएकी सरस्वतीले भनिन्, ‘पुराना दिनहरु त सम्झिनै नपरोस् जस्तो लाग्छ ।’ गएको चैतमा परिवारमा साइपाल चढ्ने चाहना व्यक्त गर्दा ठाडै अस्विकार भएको थियो । ‘छोरीले घरको धुरी चढ्न हुदैन’ भन्ने मान्यता बोकेको समाजमा हिमाल चढ्ने कुरा नपच्ने भन्दै अभिभावक रिसाएका थिए । छोरीको हरेक चाहना पुरा गरिदिने तर साइपाल चढ्ने कुरा नगर्न अनुनयविनय गरेका थिए । अर्कातिर समाजले कुरा काट्ने डरले निक्कै पिरोलेको थियो अभिभावकलाई ।

अन्त्यमा सरस्वतीको जिद्दीसामु आमाबावुको सिप चलेन । उनको समुहले गएको चैतमा साइपाल आधार शिविर (४१०० मिटर) पुग्यो । साइपाल आधारशिविर जाने दिन गाउँमा रुवाबासी चल्यो । सुदूरपश्चिमतिर शुभसाइतमा मांगल गीत गाउने चलन छ । र, सरस्वतीको परिवारले पनि त्यही विधि अप्नाए, स्थानीय महिलाहरु मांगल गाउन थाले । परिवारका सदस्यहरू भने स्थानीय लाँगा देवताको पुकार गर्दै छोरीलाई सकुुशल घर फिर्तीका लागि पूजापाठ गर्न थाले, टिकाटालो गर्न थाले ।

साइपाल काँडाकी लक्ष्मी, सुर्माकी पवित्रा र धुलीकी संगीताले पनि उही माहोल झेले । लक्ष्मीले चार वर्षीया छोरीलाई पतिको जिम्मा लगाएर यात्रा तय गर्न कठिन महशुस भयो । उनका पतिले छोरीको चिन्ता नलिनु, आफ्नो मिसन फत्ते गरेर आउनु भनि बल दिएपछि आँसु बगाएर पनि मन बलियो बनाउँदै गन्तव्य तताइन् । सबैका परिवारले अनिष्टको संकेत भन्दै शंकालु नजरले प्रश्न गर्थे । चेलीहरुको अठोट देखेर अग्रिम बधाई दिने भन्दा पनि सावधानी अपनाउन सुझाव दिनेहरू धेरै थिए ।

अन्धविश्वास तोड्ने संकल्प
उनीहरुले साइपाल आधार शिविर पुगेर फर्केपछि तालिमका लागि काठमाडौं आउनुपर्ने भयो । चेलीहरुले काठमाडौ आउनुलाई धेरैले ‘पोइला’ हिडेको संज्ञा दिए । पवित्रा भन्छिन्, ‘गाउँमा नबिकेर सहर पसे भन्नेसम्मका थिए ।’ मानसिक रुपमा चोट पुग्यो । ‘कतै गल्ति नै भइरहेको हो कि?’ रणभुल्लमा परेकी थिइन् । तर अन्धविश्वास तोड्ने संकल्प र साहस लिएर पाइला सारिन् । समाजमा अपच भैरहेका कुरा साइपालको सफल आरोहण गरेपछि छर्लैगै‌ हुने पवित्रा बताउँछिन् ।

सरस्वतीका आमाबुवाले चार छोरी जन्माउनुका पछाडी एउटै कारण थियो छोरोको भोक । पितृसतात्मक समाजमा ‘छोराको जन्म नभए मरेपछि स्वर्ग देख्न पाइदैन’ भन्ने मान्यता छ । छोरोको जायजन्म नभएपनि सरस्वतीका आमाबाबुले छोरीहहरुलाई समान व्यवहार राख्छन् । तर समाजले यो कुरा स्विकार्दैन । उनको बुवालाई छोरो जन्माउनकै लागि अर्को विवाह गर्नुपर्छ भन्नेहरु पनि छन् समाजमा ।

कान्छी बहिनी पाँच बर्षको उमेर हुदैदेखि भन्थे । अहिले १५ की भइन् र पनि त्यसै भन्छन्, ४२ बर्षको बावुलाई । जुन कुराले निकै खल्लो महसुस गराउछ उनलाई, भन्छिन् – ‘मम्मीबुवाले स्विकार्नुभएको कुरालाई समाजले बेला बेला कोट्याउँदा मन भाँचिन्छ ।’ ‘पापी समाज’को अगाडि छोरीले पनि छोरोले जति नै प्रगति गर्न सक्छन् भन्ने पुष्टि गर्न साइपाल चढ्ने अठोट लिएको सरस्वतीको भनाइ छ ।

कालीकोटकी छोरी लक्ष्मी बझाङमा बुहारी भएर भित्रिइन् । घर र समाजको हरेक निर्णयमा छोरीबुहारीले दोस्रो दर्जामा रहनुपर्ने मान्यता यथावत् छ । विद्रोही स्वभावकी उनलाई यो कुरा पच्दैन थियो । ती सबै कुरीति, कुसंस्कार, रुढिवादी लागे पनि एक्लैले विद्रोह गर्न सम्भव थिएन । माध्यम खोजीरहेकी थिइन् उनले ।

संयोग नै भन्छिन्, ‘साइपाल चढ्ने अवसर सुने, श्रीमानले नै पनि साथ दिनुभयो ।’ थप्छिन्, ‘विवाह बन्धन होइन, चाहेपछि असम्भव भन्ने केही छैन भन्ने कुरालाई व्यवहारमा देखाउन चाहान्छु ।’ संगिता पनि उहि भन्छिन्, ‘छोरी मान्छेले जीवनमा केही गर्न सक्दैनन् भन्ने सोच्छन् त्यो मन पर्दैन, यसैलाई चिर्न साइपाल चढेर देखाउने हिम्मत कसे ।’

चारैजनाको संकल्प भनेकै अन्धविश्वासले गाँजिएको समाजका अगाडि छोरीले पनि अवसर पाए चुनौती चिर्दै सफलताको शिखर चुम्न सक्छन् भन्ने देखाउनु हो । यो कुरा सावित गरेर देखाउने प्रण गरेका छन् । साइपाल आसपास जानु हुदैन भन्ने मान्यता उनीहरुले साइपाल चढेपछि अवश्य प्रमाणित हुनेछ । अनिष्ट हुने र नहुने दुइमध्ये एकको सप्रमाण बन्नेछन् उनीहरु । परिवार र समाजले विश्वास गर्दै आएका मान्यतालाई भत्काएर यहाँसम्म आइपुग्नु मात्रै पनि उनीहरुका लागि ठूलो प्राप्ती हो ।

रहस्यमयी साइपाल
नेपाल पर्यटन विभागको आधिकारिक जानकारीमा सरकारको इजाजत लिएर कसैले पनि साइपाल आरोहण गरेका छैनन् । त्यसो त साइपालको उचाइ ७ हजार ३१ मिटर मात्र हो तर यसको बनौटचाही दक्षिणी मोहडा (जहाँबाट साइपालको अति सुन्दर भ्यु देखिन्छ) बाट चढ्न निकै ठाडो हिउँले सेताम्मे भीर उक्लिनुपर्छ । साइपालको दक्षिण मोहडा यस कारण पनि कठिन छ कि, यसबाट झण्डै एक किलोमिटर हिमनदी बगेको छ, यसैबाट पग्लेर सेती नदी बग्नेगर्छ ।

सन् १९५३ मा अस्ट्रियन नागरिक डा. हर्बट टीचीले पहिलोपटक दक्षिणी मोहडा (बझाङतिर) बाट साइपाल चढ्ने पहिलो प्रयास गरेका थिए तर सफल हुन सकेनन् । पर्वतारोहीको तथ्यलाई हेर्ने हो भने जापानका कात्सुतोसी हिराबासी र नेपाली पासाङ फुुतुर शेर्पाले २१ अक्टोबर, १९६३ मा आरोहण गरेका थिए । तर त्यो तथ्यांक नेपाल सरकारसँग छैन ।

दक्षिणी मोहडाबाट साइपाल चढ्न निकै गाह्रो रहेको लेखहरूमा पाइन्छ । यही मोहडाबाट साइपाल चढ्ने चेलीहरूको हिम्मत चर्चित वृत्तचित्र सुनकलीका यी निर्देशक भोजराज भाटले जुराइदिएका हुन् । मिसन सफल भएमा बझाङी चेलीहरू आधिकारिक रूपमा साइपाल चढ्ने पहिलो त हुने नै छन् । हिमाल आरोहणको ढोका उघार्ने पहिलो बझाङी पनि हुनेछन् ।

उनीहरु हिमाल आरोहणको तयारीका लागि तालिममा व्यस्त छन् । दुई महिनाको तालिम लिइसकेका छन् । डेढमहिनाको तालिम लिने क्रममा छन् । हिमाल चढ्ने, रक क्लाइबिङका तालिमहरु लिए । शारीरिक फिटनेस तालिम लिइरहेका छन् । तालिमले मनोबल बढाएको छ । सपनाको साइपाल विपनामा पनि सहजै आरोहण गर्ने आत्मविश्वास लिएका छन् । तीनदेखि चार महिना यार्सा र जडीबुटी टिप्दै, घाँसगोठाला गर्दै साइपाल फेदी आसपासको वातावरणमा हुर्किएका उनीहरूलाई साइपाल आरोहण गर्न कठिन नहुने निर्देशक भाट बताउँछन् ।

उनीहरुसँगै संसारभरका हिमाल आरोहीहरु पनि सामेल हुदैछन् । आठ हजारभन्दा माथिका १४ वटा हिमाल चढिसकेका स्पेनी जर्ज इगोचेएगा र एडुर्ने पासाबन (आठ हजार माथिका सबै हिमाल चढ्ने पहिलो महिला) सहित चर्चित १२ आरोहीसंगै साइपाल उक्लिने अभियानमा हुनेछन्, जसलाई ‘मिशन साइपाल’ भनिएको छ । संसारभरका आरोहीहरु पनि सामेल हुने कुराले उनीहरुलाई थप हौसला थपेको छ ।

पर्यटनको प्रवर्द्धन
यहि अक्टोबर १७ मा बेसक्याम्प जानेछन् । उनीहरुले साइपालमा ३५ दिन बिताउँनेछन् । साइपालको सफल आरोहण गर्न सके चार चेलीहरु बझाङको पहिलो आरोही बन्नेछन् । यससँगै उनीहरुको बारेमा ‘मिशन साइपाल’ फिल्म पनि बन्दैछ । जसले देश–विदेशमा प्रचारप्रसार गर्न सघाऊ पुर्‍याउनेछ । यसको समन्वय रारा फिल्मस्ले गरिरहेको छ । डेढ करोड खर्च लाग्ने जानकारी दिइएको छ ।

साइपालको चढेपछि अर्कोपल्ट सगरमाथा आरोहण गर्ने लक्ष्य छ संगिताको । गाइड बन्ने, पर्वतारोहणमा व्यवसायिक भएर जाने चाहाना छ । ‘पहिले आफुले देखाउने र अरुलाई पनि यहि बाटोमा हिडाउने चाहाना छ ।’ उनीहरु सबैको ।

साइपाल प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना हिसाबले पनि धनी छ । तर खासै चर्चामा छैन । नेपालको पर्यटन उद्योग काठमाडौं र पोखरा उपत्यका, चितवन, खुम्बु र अन्नपूर्ण क्षेत्रमै सीमित छ । नेपालमा विदेशी पर्यटक वर्षमा १० लाख जति आउन थालिसके, तर साइपाल क्षेत्रमा मुस्किलले एक दर्जन पनि पुग्दैनन् । अहिलेको साइपाल आरोही दलमा रहेका प्रख्यात आरोहीले आफ्ना सामाजिक सञ्जालमा साइपालबारे केही पोष्टहरु मात्र गरिदिए सयौंको संख्यामा विदेशी पर्यटक भित्रिने आयोजकको विश्वास छ ।

साइपाल आरोहणको अभियानले पर्यटकीय सम्भावना प्रवद्र्धन हुने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामी बताउँछन् । पश्चिम हिमालयमा साइपाल, जेठी–बहुुरानी, अपीलगायत सुन्दर हिमालहरु पनि छन् । यिनलाई कैलाश मानसरोवरसँग जोडेर पर्यटन प्रवद्र्धन गर्न सके सिंगो सुदूरपश्चिमको आर्थिक उर्पाजनमा उल्लेख्य भूमिका खेल्न सक्ने अध्यक्ष धामीको विश्वास छ ।

तस्बिरहरु सौजन्यः मिसन साइपाल

प्रकाशित : भाद्र २०, २०७५ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT