गृहकार्य थिएन, पदक आएन

एशियाड
ध्रुव तुलाधर

काठमाडौँ — हामीले आफ्नो ठाउँबाट त राम्रो गर्‍यौं । तर, अरू देशका खेलाडीले पनि त्यत्तिकै राम्रो गरेका हुन्छन् । त्यसमा अब्बल भएर पदक जित्नका लागि धेरै पक्षले प्रभाव पारेको हुन्छ । प्राविधिक पक्षमा हामी धेरै पछाडि परिसक्यौं । प्रशिक्षकहरू कति त आउटडेटेड छन् । परिवर्तित प्रविधिसँग जानकार छैनन् । त्यसले गर्दा हाम्रो स्तर जहाँको त्यहीं छ । अब यसतर्फ ध्यान दिनु जरुरी छ ।

पौडीका खेलाडी शिरीष गुरुङले जम्पिङ स्टयान्डमा अल्मलिँदा आफ्नो प्रदर्शनमा पनि सुधार ल्याउन नसकेको सुनाए । कराँतेका प्रशिक्षक दीपक श्रेष्ठ भन्दै थिए, ‘यहाँ खेलेको म्याट नै फरक रहेछ । त्यसले गर्दा खेलाडीको पर्फमेन्समा प्रभाव पर्‍यो ।’ भर्खरै एसियाली देशहरूको कुम्भ खेलमेला १८ औं एसियाली खेलकुद सकिएको छ । इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा आयोजित एसियाडका क्रममा शिरीष र दीपकको भनाइसँग सहमत हुने हो भने नेपाली खेलकुद अत्याधुनिक खेल प्रविधिभन्दा धेरै टाढा छ ।


थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका शिरीषजस्ता खेलाडीलाई जम्पिङ स्टयान्डले प्रभाव पार्छ भने नयाँ खेलाडी त धेरै कुरामा पछाडि हुन्छन् । एसियाली खेलकुदमा धेरै सफलता पाएको मार्सल आर्टसका खेल तेक्वान्दो, कराँतेसहित बक्सिङको हालत पनि त्यही छ । जतिखेर तेक्वान्दो, कराँते, बक्सिङ नयाँ खेलका रूपमा एसियाडमा प्रवेश भयो । त्यति बेला नेपालले पनि धेरथोर सफलता पाएको थियो । किनकि नेपाली खेलाडी पनि त्यही प्रविधिसँग अभ्यस्त थिए । अहिले विज्ञान प्रविधिको फड्कोसँगै खेलकुदमा पनि त्यसको प्रभाव बढ्दो छ । अत्याधुनिक प्रविधिहरू भित्रिएका छन् । प्रविधिसँगै खेल्ने तौरतरिका र नीति नियमहरू परिवर्तन भइरहेका हुन्छन् । सुविधासम्पन्न पूर्वाधार निर्माण भएका छन् । भन्नुपर्दा स्मार्ट टेक्नोलोजीमा आधारित खेलकुद छ । त्यसलाई नेपालले पछयाउन सकेको छ त ? तेक्वान्दोकी संगीना वैद्यको भनाइ सुन्ने हो भने, छैन । ‘पुरानै पद्धतिसँग जुधिरहेका छौं । अरू देश निकै अगाडि बढिसके । हामी जहाँको त्यहीं छौं । प्रतिस्पर्धा भने उनीहरूसँग गर्नुपर्छ ।’ नयाँ म्याटको आफ्ना खेलाडीले भेउ पाउन नसक्दा पनि प्रदर्शनमा प्रभाव परेको कराँते प्रशिक्षक श्रेष्ठले सुनाएका थिए ।
***

Yamaha

नेपालले २० वर्षपछि एसियाडको रजत सफलतामा खुसी भेटाएको छ । त्यो पनि नयाँ खेलबाट हो । एसियाडमा पहिलोपल्ट समावेश पाराग्लाइडिङबाट नेपालले रजत पदक जितेको छ । एसियाली खेलकुद इतिहासमा नेपालले जितेको यो दोस्रो रजत पदक हो । यसअघि सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन् ।
सधैं व्यावसायिक उडान गरिरहेका पाराका अनुभवी पाइलटहरू भएकाले नेपालले त्यो सफलता चुमेको हो । एसियाडलाई नै भनेर छोटो तयारी भए पनि उनीहरूले आफ्नो पदक जित्ने मिसन पूरा गरेका छन् । स्वर्णकै दाबेदार थिए । नजिकै पुगे । थोरैले त्यसमा असफल भए । जकार्तास्थित वेस्ट जाभाको बदलिरहने मौसमको चुनौतीले पाँचै दिन सबैले टास्क पूरा गर्न पाएनन् । त्यसले गर्दा पनि उनीहरूलाई स्वर्णबाट वञ्चित गरायो । मेन्स टिम क्रसकन्ट्री विधामा रजत सफलता पाउँदाका हकदार विजय गौतम, विशाल थापा, युकेश गुरुङ, सुशील गुरुङ र विमल अधिकारी थिए ।


नेपालले एसियाली खेलकुदमा पहिलो संस्करण (सन् १९५१, दिल्ली) देखि सहभागिता जनाउँदै आएको छ । १८ संस्करण आइपुग्दा नेपाल दुईपल्ट मात्र सहभागी छैन । यसपालि इन्डोनेसियामा नेपालले २९ खेलमा भाग लिँदा १ सय ८७ खेलाडी प्रतिस्पर्धामा उत्रिएका थिए । फुटबल, भलिबल, कबड्डी टिम खेलका रूपमा रहे पनि अन्य खेलका खेलाडी व्यक्तिगत प्रतिस्पर्धामा थिए । राष्ट्रिय खेलको मान्यता पाएको भलिबलसँगै कबड्डी लामो समयपछि एसियाड खेल्न पुगेको हो । दुवैको उद्देश्य एसियाडमा उच्च प्रदर्शन गर्दै वरीयता सुधार्नु थियो । त्यसमा केही सफलता पाए । अरू केही खेलका खेलाडीले राष्ट्रिय कीर्तिमान र व्यक्तिगत प्रदर्शनमा सुधार गर्नुबाहेक धेरैको सहभागिता नतिजाका हिसाबले उपलब्धिविहीन रहे । अपेक्षा गरिएका खेलबाट समेत एउटै पदक आएन । किन जितिएन पदक ?


धेरै खेलका प्रशिक्षक तथा खेलाडीको मुखबाट निस्केको भनाइ हो, ‘तयारी नै पुगेन । अन्तर्राष्ट्रिय एक्सपोजर पाएनौं ।’ हो, कति खेलका खेलाडीले वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता त खेल्न पाउँदैनन् । अन्तर्राष्ट्रिय एक्सपोजर त धेरै टाढाको विषय हो । सिधै छनोट भएर एसियाडजस्ता ठूला प्रतियोगिता खेल्न जान्छन् । विश्वका एकसेएक स्टार खेलाडी जमघट हुने प्रतियोगितामा बिनातयारीको प्रतिस्पर्धा शून्यताबाहेक अरू हुन सक्दैन । त्यो इन्डोनेसिया एसियाडमा पनि देखियो । कति खेलाडीको प्रदर्शन बिर्सनलायक रहयो । सहभागिता जनाउनमै सीमित भयो । विगतका संस्करणहरूजस्तै भए । पछिल्लो दुई संस्करणमा पनि नेपाली टिम १–१ कांस्यमै स्वदेश फर्कनुपरेको थियो ।


एसियाडलाई तयारी नै थिएन भन्नचाहिँ मिल्दैन । ५–७ महिनादेखि विभिन्न खेलको राष्ट्रिय टिम बनाएर खेलाडीलाई प्रशिक्षणमा राखिएको थियो । पदक सम्भावित खेलहरूलाई अन्तिम समयमा वैदेशिक प्रशिक्षणमा पनि पठाइएको हो । नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्ट विगतमा भन्दा यसपल्ट झन् राम्रो तयारी गरेको मान्छन् । ‘विगतमा भन्दा यसपल्ट तयारी राम्रो थियो । पदक सम्भावित खेलका खेलाडीलाई सम्बन्धित संघको योजनाअनुसार विभिन्न देशमा वैदेशिक प्रशिक्षण पठाएका थियौं । राज्यको स्रोत र साधनले भ्याएसम्म गरेका छौं । तयारी नभएको होइन, एसियाडमा प्रतिस्पर्धा गर्न यो तयारीले नपुग्ने रहेछ ।’


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसमेत रहेका विष्टका अनुसार पदक जित्न नसके पनि आफ्नो स्तरमा नेपाली खेलाडीको ‘पर्फमेन्स’ राम्रो थियो । ‘’


नेपालले भित्र्याउन सक्दैन न त प्रविधि ? ‘खोइ, बजेट । राज्यले खेलकुदलाई हेर्ने आँखा नै सानो छ । अत्यावश्यक बजेट पनि समयमा उपलब्ध हुँदैन । कर्मचारीलाई तलबभत्ता र संघहरूलाई वर्ष एउटा प्रतियोगिता गर्न दिन पनि बजेट पुग्दैन । प्रविधि भित्र्याउनका लागि त ठूलै लगानी गर्नुपर्छ । त्यसका लागि राज्यको प्राथमिकतामा खेलकुद पर्नुपर्छ ।’ हो, सदस्यसचिवको यो भनाइसँग सहमत हुन सकिन्छ । खेलकुदलाई राज्यले उच्च प्राथमिकतामा राख्न सकेको छैन । कामचलाउ पारामा चलिरहेछ खेलकुद । राष्ट्रको ऐनाका रूपमा रहेको नेपालमा खेलकुदको मन्त्री हुन कोही तँछाडमछाड गरेको सुनिँदैन । किन भन्दा यो राज्यको सबैभन्दा कम बजेट हुने मन्त्रालयमा पर्छ ।


यस एसियाडका लागि तयारी र सहभागितालाई भनेर सरकारसँग ८ करोड रुपैयाँ माग हुँदा ५ करोड मात्र निकासा दिएको छ । हाललाई अन्यत्रबाट शोधभर्ना गरेर उधारोमा एसियाड सहभागिता जनाएको सदस्यसचिव सुनाउँछन् ।


बजेट नहँुदा–नहुँदै किन यति धेरै सहभागिता त ? नेपाल १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको संघारमा छ । त्यसमै समावेश हुने खेलको तयारीस्वरूप संख्यात्मक हिसाबमा धेरै खेल समावेश गरिएको हो । खेलकुदको सकारात्मक सन्देश दिन पनि कति खेललाई स्थान दिनुपरेको दलिल पनि सेभ द मिसन विष्टसँग छ । भन्छन्, ‘खेल भनेर लागेका छन् । दिन–रात मिहिनेत गरेका छन् । परिवारको लगानी छ । तर उनीहरूले एउटै अन्तर्राष्ट्रिय प्रतियोगिताको मुख देख्न पाएका छैनन् । कम्तीमा खेलाडी बनेर राष्ट्रको प्रतिनिधित्व गर्दै एसियाड खेलेछ भन्ने त होस् । परिवार पनि पोजिटिभ हुन्छ । समाजमा पनि एउटा नाम रहन्छ । नभए परिवार पनि आफ्नो सन्तानलाई बरु खाडीमा काम गर्न पठाउलान् तर खेलाडी बन्नतिर पठाउन चाहँदैनन् । खेलाडी उत्पादन जिरोमा झर्छ ।’
***

नेपाललाई मौलाउँदो खेलसंख्याले पनि पिरोलेको छ । नेपालजस्तो मुलुकले त्यो धान्न सक्ने स्थितिमा छैन । एसियाड, ओलम्पिकजस्ता ठूला प्रतियोगितामा आफ्नो प्राथमिकताका आधारमा आयोजकले केही खेलहरू राख्न पाउने नियम हुन्छ । अनि चलाख नेपाली खेलकर्मी त्यसकै आधारमा संघ दर्ता गर्छन् । प्रतियोगिता नजिकिँदै जाँदा बिनातयारी लबिङकै भरमा सहभागी हुन पुग्छन् । यसपालि एसियाडमा १० नयाँ खेलले प्रवेश पाउँदा चार खेलमा नेपाल सहभागी भयो । पाराग्लाइडिङबाहेक अरूको सहभागितामै सीमित भयो । यसरी नै नयाँ नयाँ खेल जन्मिँदै गएका छन् । त्यसको अनावश्यक भार राज्यमा थपिँदै गएको छ ।


कुन खेललाई प्राथमिकतामा राख्ने हो । पदक जित्ने खेल कुन हो । कुन खेलमा धेरैभन्दा धेरै सफलता हात पार्न सकिन्छ । कुनलाई दीर्घकालीन लगानी गर्ने हो । त्यो पहिचान नगरी होलसेलमा नेपालले ठूला प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ । यसलाई निराकरण नगरी जाने हो भने नेपालले एसियाड स्वर्णका लागि धेरै वर्ष कुर्नुपर्ने हुन्छ ।
***

‘इनर्जी अफ एसिया’ । इन्डोनेसियाको खेलसंस्कृति लोभलाग्दो थियो । जेलोरा बुङकार्नो त्यही स्टेडियम हो जहाँ सन् १९६२ को एसियाड आयोजना भएको थियो । ५६ वर्षअघि चौथो संस्करण गर्दा जकार्ता सहरले १३ राष्ट्रका १४ सय ६० खेलाडीलाई आतिथ्यता दिएको थियो । अहिले त्यसैलाई विशाल रूप दिएर स्पोर्टस कम्प्लेक्सका रूपमा अत्याधुनिक पारिएको छ । स्टेडियममा मात्र ८० हजार दर्शक अट्छ । त्यसबाहेक थुपै मल्टिप्रपोज कभर्डहलसहित कन्भेन्सन सेन्टर बनाइएको छ । हरियाली त्यत्तिकै छ । खुला ठाउँ त्यत्तिकै राखिएको छ । हिँड्ने हो भने दिनभरमा पनि कम्प्लेक्स घुमेर सकिँदैन । हरेक खेलस्थलअगाडि फयान फेस्ट जोन बनाइएको छ । जहाँ घुम्ने, खाने रमाइलो गर्नेको भीड उत्तिकै छ ।


यस एसियाडमा साढे ११ हजार खेलाडी प्रतिस्पर्धामा थिए । आयोजक इन्डोनेसियाको सबैभन्दा ठूलो टोली ९ सय ३१ खेलाडीको थियो । उसले एसियाड इतिहासमै उच्च सफलतास्वरूप पदकतालिकामा चौथो स्थान भेटयो । एसियाको उदाउँदो खेलशक्तिको रूपमा आफूलाई प्रस्तुत गर्‍यो । त्योसँगै अत्याधुनिक र सुविधासम्पन्न पूर्वाधारमा एसियाड सफल पारेको इन्डोनेसियाले ओलम्पिक आयोजनातर्फ नजर बढाएको छ । उसले सन् २०३२ को ओलम्पिक दाबी गर्ने तयारी गरेको छ ।


त्यसपछि शीर्ष तीन स्थानमा कब्जा जमाएका एसियाका शक्तिशालीत्रय चीनले ८ सय ३८, जापानले ७ सय ६१ र दक्षिण कोरियाले ७ सय ७३ खेलाडी प्रतिस्पर्धामा उतारेका थिए । सबैभन्दा कम खेलाडी बु्रनाई र भुटानले सहभागी गराए । बु्रनाईका १५ खेलाडीले सात खेलमा भाग लिँदा भुटानका २४ खेलाडीले तेक्वान्दो, बक्सिङ, आर्चरी र गल्फमा मात्र प्रतिस्पर्धा गरेका थिए । भुटानका खेलाडीको प्रदर्शन हेर्दा लाग्दा आफ्नो प्रभाव रहने खेलमा उसले दीर्घकालीन लगानी गरिरहेको छ ।


सहभागितामै हेर्ने हो भने नेपालभन्दा धेरै कम खेलाडी सहभागी गराउने देशले पनि उच्च सफलता भेटेका छन् । उत्तर कोरिया, बहराइनजस्ता राष्ट्रले नेपालभन्दा कम खेलाडी सहभागी गराएर पदक तालिकाको टपटेन स्थानभित्र आफूलाई पुर्‍याएका छन् । उत्तर कोरियाले १ सय ६७ र बहराइनले १ सय ५ खेलाडी मात्र उतारेका थिए । दुवै देशले १२–१२ त
स्वर्ण नै जितेका थिए । एउटै खेलबाट पनि आफ्नो पहिचान दिन सकिन्छ भन्ने उदाहरण बहराइनले पेस गरेको छ । उसले जितेको कुल २६ पदकमा २५ त एथलेटिक्सकै थियो । एथलेटिक्समा उसका ३५ खेलाडी प्रतिस्पर्धी थिए । दक्षिण एसियाली राष्ट्र श्रीलंका १७२, बंगलादेश ११७ र माल्दिभ्स १०६ खेलाडीसहित जकार्ता पुगेका थिए । उनीहरू पनि पदकविहीन भए । दक्षिण एसियाली महारथी भारतले भने ६ सय १३ खेलाडी उतार्दा १३ स्वर्णसहित ६५ पदक, पाकिस्तानले २२४ खेलाडीबाट ४ कांस्य र हालै दक्षिण एसियाबाट अलग बनेको अफगानिस्तानले ६८ खेलाडीबाट २ कांस्य पदक जितेका थिए ।


एसियाका ४५ राष्ट्र र युनिफाइड कोरिया (उत्तर र दक्षिणको संयुक्त टोली) सहित ४६ टोलीको प्रतिनिधित्व हुँदा ३७ राष्ट्र कुनै न कुनै पदक जित्न सफल भए ।
***

नेपालको एसियाड असफलताका पछाडि थुप्रै कारण छन् । मुख्यत: नेपालले एसियाडका लागि भनेर कुनै दीर्घकालीन योजना बनाएको पाइँदैन । यो हरेक चार वर्षपछि खेल्नुपर्छ भन्ने थाहा छ । तर गृहकार्य हँुदैन । खेलाडीदेखि प्रशिक्षक तयार पार्ने काम हुँदैन । त्यसका लागि वार्षिक कुनै बजेट छुट्टिदैन । अन्तिमतिर बढीमा ५–७ महिनाको तयारीभरमा भाग लिन्छौं । अनि पदकको ठूलो आस राख्छौं । हातलाग्दा शून्य हुन्छ । अझै भन्ने हो भने महिनाअघिसम्म खेल सहभागिताकै टुंगो लाग्दैन त्यो पनि बजेटका कारण । यसपल्ट नै स्क्वासको सहभागिता १५ दिनअघि लागेको थियो । खेलाडी थपघटको काम त अन्तिमसम्म चल्छ । महिना दिनअघिसम्म सरकारले बजेट दियो भने धेरै खेलाडी सहभागी गराउँछौं नभए त्यहीअनुसार गर्छौ भनेर खेलकुदका पदाधिकारी स्वयं भनिरहेका हुन्छन् ।


उता, खेलाडीले नियमित प्रशिक्षण गर्ने देशको एउटै ठूलो दशरथ रंगशालाको हालत उस्तै दयनीय छ । पुनर्निर्माण थालिएको वर्षौं भइसक्यो, पूरा भएको छैन । दैनिक प्रशिक्षणका लागि समेत खेलाडी भौतारिनुपर्ने अवस्था रहयो । खेलस्थल पाउनु आफ्नो नैसर्गिक अधिकार भए पनि खेलाडीले त्यसकै लागि संघर्ष गर्नुपर्‍यो । १२ औं दक्षिण एसियाली खेलकुदमा सर्वाधिक पदक जित्न सफल र एसियाडमा समेत पदकको उच्च आशा गरिएको उसुका खेलाडी त्रिपुरेश्वरस्थित राखेप सेमिकभर्डहलमा थोत्रो म्याटमा प्रशिक्षणरत रहनुपर्‍यो । त्यो पनि क्लोज क्याम्प राखिएपछि । यो त एउटा खेलको उदाहरण मात्र हो । थुप्रै खेलले भोग्नुपरेको समस्या यही हो । यसपल्ट धेरै खेल फरक ठाउँको बन्द प्रशिक्षणमा रहे ।


खेलस्थल नै पाउन गाह्रो अवस्थामा प्रविधिसँग साक्षात्कार प्रशिक्षक पाउनु आकाशको फल आँखा तरी मर् भनेजस्तै थियो । प्रविधि र परिवर्तित नियमसँग अपडेट नभएका प्रशिक्षकको सिकाइबाट सफलता नपाएको कुरा सदस्यसचिवले नै स्विकारिसकेका छन् । मार्सल आर्टसका कति खेलमा त त्यसमै माथ खाएको उनको भनाइ थियो ।
त्यसो त, बिस्तारै नेपाली खेलकुदको आकर्षण घट्दोमा छ । राष्ट्रिय प्रतियोगिताहरू हँुदैनन् । त्यसले गर्दा नयाँ खेलाडी उत्पादन दर कम छ । थोरै खेलाडीबाट राष्ट्रिय टिम बनाउनुपर्ने अवस्था छ । त्यसले गर्दा खेलाडीलाई पनि आफू छनोट हुन्न भन्ने कुनै डर हँुदैन । जसले गर्दा उसले जति मिहिनेत गर्नुपर्ने हो त्यो गर्दैनन् । जिम्मेवारीबोध छैन, खेलाडीमा अनुशासनको कमी छ ।


लन्डनमा दैनिक ४–५ घण्टा प्रशिक्षकको निगरानीमा रहेर प्रशिक्षण गर्ने किशोरी पौडीबाज गौरिका सिंहकै प्रदर्शनले त एसियाडमा अहिले नतिजा दिन गाह्रो भयो । उमेरका कारण गौरिकाबाट एसियालीस्तरमा नतिजा आउन अझै समय लाग्ने चिकित्सकले बताउँदै आएको परिवारले जनाएको छ । यहाँ सामान्य प्रशिक्षण गर्ने खेलाडीबाट नतिजा अपेक्षा गर्नु व्यर्थ छ ।


अर्को त कुन स्तरको प्रतिस्पर्धामा जाँदै छौं । त्यसका लागि कस्ता खेलाडी छान्ने भन्नेमा पनि नेपाली खेलकुद चुक्ने गरेको उदाहरण जकार्ताको भूमिमा पनि देखियो । नेपाली खेलाडीले सुरुमै उचाइबाट माथ खान्थे । खेल्नु छ फाइट । ६, साढे ६ फिटका प्रतिद्वन्द्वीसामु उनीहरूले विपक्षीलाई हानेको किक र पञ्च न त सही ठाउँमा लाग्थ्यो, न त पावर नै पुग्थ्यो । मार्सल आर्टसका धेरै खेलाडी यसरी नै चुके । आफूभन्दा कमजोर प्रतिद्वन्द्वीविरुद्धको फाइट जितिहाले पनि अर्को फाइटमा त्यस्तै दयनीय अवस्था सामना गर्नुपथ्र्यो । दक्षिण एसिया र एसियाली स्तरमा फरक ढंगले खेलाडी छनोटमा ध्यान दिनुपर्ने देखिन्छ।

Esewa Pasal

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बानेश्वरमा छ टक्सार

समाज
विद्या राई

काठमाडौँ — भाँडाकुँडा बन्न छाडे पनि टक्सारको ब्रान्ड अहिले पनि बिकिरहेको छ । टक्सारमा बसेर भाँडाकुँडा बनाउँदै आएका बुद्धराज शाक्य भन्छन्, ‘हामीले टक्सारे भाँडाकुँडाको माग धान्न गाह्रो भइरहेको छ, दु:खको कुरा अरू ठाउँमा टक्सारे भन्दै नाम बिक्री भइरहेको छ ।’

७४ वर्षका काशीनाथ तमोटले बानेश्वरमा १२ आना जग्गा १० हजार रुपैयाँमा किनेका थिए, २०३१ सालतिर । उनले सुरुमा टहरो बनाए, बिस्तारै घर बनाए । अहिले सहरीया सुख उनका आँगनमा आएको छ । तमोटजस्तै भोजपुर, टक्सारबाट बसाइ सरेर बानेश्वर क्षेत्रमा आउने टक्सारिया नेवारहरूको घरधुरी ६५ भन्दा बढी भइसकेको छ ।


सुरुका दिनमा, तमोट त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन क्याम्पसमा नेपाल भाषाका प्राध्यापक थिए । सरकारी सेवाबाट अवकाश लिएको एक दशक भइसकेको छ । २०१९ सालमा भोजपुरबाट एसएलसी गरेपछि प्राविधिक विषय पढ्न काठमाडांै छिरेका तमोट जागिरका कारण त्यही बेलादेखि काठमाडौंवासी बने । यतिबेला भोजपुर, टक्सारको पुख्र्यौली तमोट घर भत्किसकेको छ । जग्गाजमिन बाँझै छ । बानेश्वरमा टक्सार–बस्ती बसाएर बसेका छन् तमोट र अरू नेवारहरू ।


टक्सार पुख्र्यौली घर भएका नरेश ताम्राकारले पनि बानेश्वरमै ०३६ सालमा ९ आना जमिन १ लाख रुपैयाँमा किनेका थिए । उनले त्यही जमिनमा एकतले घर बनाए । टक्सार बसेर भाँडाकुँडा व्यापार गर्ने नरेश एकाएक बानेश्वरवासी बने, आफ्नो थातथलो भुलेर । भोजपुर छँदै उनका दुई छोरी दुई पटक सिकिस्तै बिरामी बनेका थिए । उपचारका लागि विराटनगर हुँदै काठमाडौं आएका थिए । मेनिन्जाइटिसले थलिएकी छोरी कान्ति बाल अस्पताल ल्याएर धन्न बाँचिन् तर तिनै छोरीको शिक्षादीक्षाका लागि उनी पनि यतैका भए ।


०३५ सालमा टक्सार विमानस्थल बन्यो । अनि धेरै टक्सारेका लागि काठमाडौं पानीपँधेरो बन्यो । भाँडाकुँडा बनाउने कुरामा भोजपुरे खानीहरूमा कच्चापदार्थ रित्तिँदै गएपछि टक्सार नाम मात्रैको बन्दै गयो ।


ताम्राकार अहिले नेवा: देय् दवूको केन्द्रीय अध्यक्ष हुन् । उनका दुई छोरा इन्जिनियर छन् भने एक छोरा डाक्टर । बानेश्वरमा स्थायी बसोबास भए पनि ताम्राकारको टक्सारस्थित घर जग्गा छँदैछ । टक्सारबाट अन्यत्र बसाइ सर्ने नेवार समुदायमध्ये अधिकांशले घरजग्गा बेचेका छैनन्, न आफू गाउँ फर्केरै गएका छन् । कुनै बेला दिनरात घनको टङटङ आवाजले गुल्जार रहने टक्सार यतिखेर सुनसान छ, स्थानीय बुद्धिजीवी धीरेन्द्र श्रेष्ठका अनुसार अहिले टक्सारमा ४/५ घर मात्रै बसेका छन्— टक्सार व्यवसाय धानेर ।


टक्सारबाट बसाइ सरेका नेवार समुदाय अहिले पनि भाँडाकुँडा व्यवसायमैं छन् । सीमित जागिर वा अन्य व्यवसायमा छन् । धातुजन्य उत्पादनमा कोही लागेका छन् । जस्तो टक्सारका मोतीकृष्ण ताम्राकार वीरगनजमा आल्मुनियमको उद्योग चलाउँछन् । उत्तम ताम्राकारको धरानमा रोलिङ मिल सञ्चालनमा छ नारायण तुलाधारको बल्खुमा करुवा–कसौडी व्यापार गर्छन् । अर्जुन ताम्राकारको बालाजुमा रोलिङ मिल छ, राजेन्द्र शाक्य (इमाडोल) र सुनील उदासले विदेशमा पठाउने धातुका भाँडाकुँडाको उद्योग चलाउँछन् । टक्सारका ६३ वर्षीय विश्वराज तुलाधार बानेश्वरमै भाँडा पसल गर्छन् । उनी पनि व्यापार सिलसिलामा २०४२ सालमा बानेश्वर बसाइ सरेर आएका थिए ।

काशीनाथ तमोट


शाहवंशाीय राजा गीवार्णयुद्धविक्रम शाहको पालामा भोजपुरको टक्सार अड्डा पूर्वी नेपालकै मुख्य व्यापारिक तथा औद्योगिक केन्द्र थियो । पछि विसं १८७२ मा स्थानीय भीमसेन परिसरमा खानी अड्डाको स्थापना भएको थियो । अड्डामा तामाको एक पैसे, दुई पैसे, पाँच पैसे डोली पैसा छापिने गथ्र्याे । तामाको टक (सिक्का) काटिने भएकैले यसलाई टक्सार नामकरण गरिएको इतिहास छ । भोजपुरकै दक्षिणी भेगमा पर्ने धोद्लेखानी, सिरिसेखानीबाट तामा निकालेर डोली पैसा बनाउने गरिन्थ्यो ।


यसरी टक्सार स्थापना भएको २०३ वर्ष हुँदै छ । २०० वर्ष पुगेको अवसरमा २०७२ सालमा द्विशतवार्षिकी मनाइएको थियो । व्यापारिक, औद्योगिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक हिसाबले पुरानो टक्सार अचेल भने सुनसान र उजाड छ ।


व्यापारिक गतिविधिमा सक्रिय मानिने नेवार समुदायको यो संख्या अहिले इतिहास भइसकेको छ । उनीहरूको मौलिक पहिचान, वेशभूषा र संस्कृति आधुनिकतासँगै लोप हुँदै गएको छ । मुख्य गरेर धातु उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ कोइला र कालीगढको अभावले बसाइसराइ बढेपछि नेवार समुदाय घट्दै आए ।


भोजपुरबाट सुरुमा बसाइ सर्नेहरू बानेश्वरमा आएका थिए । त्यसपछि भक्तपुर, इमाडोल, कीर्तिपुर, हात्तीवन, न्युरोड, बूढानीलकण्ठ, त्रिपुरेश्रवरतिर सरेर आए । जहाँ बसाइ सरेर गए आफूलाई भोजपुरको टक्सारिया अझ खिकामाछाको टक्सारियाका रूपमा चिनाउँछन् ।


भाँडाकँुडा बन्न छाडे पनि टक्सारको ब्रान्ड अहिले पनि बिकिरहेको छ । टक्सारमा बसेर भाँडाकुँडा बनाउँदै आएका बुद्धराज शाक्य भन्छन्, ‘हामीले टक्सारे भाँडाकुँडाको माग धान्न गाह्रो भइरहेको छ, दु:खको कुरा अरू ठाउँमा टक्सारे भन्दै नाम बिक्री भइरहेको छ ।’


टक्सारमा नेवार समुदायको बाहुल्य हुँदा नेवारभित्रकै शाक्य, हलुवाई, ताम्राकार, श्रेष्ठ विभिन्न थर र गोत्रका थिए । उनीहरूबीचमा पनि सांस्कृतिक विविधता छ । घरैपिच्छे मठमन्दिर, देवीदेवताका थान, चैत्य छन् । भीमसेनथान, गणेश थान, रणेश्वर शिवालय, अजिमा देवीलगायत छन् जसलाई ‘सानो पाटन’ को उपनाम पनि दिइएको छ ।


थुपै्र ठाउँमा बसाइ गएका मध्ये बानेश्वरका टक्सारीया नेवारहरू लाखेजात्रा र बुद्धजयन्तीलाई धुमधामका साथ मनाउन थालेका छन् । बानेश्वरको पार्कदेखि भित्रपट्टि छक्कुबक्कु भगवती मन्दिर लाखेको केन्द्र मान्छन् । शान्तिनगर नजिकैको विश्व शान्ति विहारलाई टक्सारको शाक्यमुनि विहार मानेर बुद्धजयन्ती धुमधाम मनाउँछन् । यी दुई चाडमा उपत्यकामा छरिएका टक्सारीयाहरू एकजुट हुन्छन् । भोजपुर टक्सारका गतिविधिलाई जीवन्त राख्न उनीहरूले भएका मन्दिर र विहारलाई मानेको बताउँछन् । लाखेजात्रा टक्सार सेवासमाज र बुद्धजयन्ती शाक्य समाजको नेतृत्वमा हरेक वर्ष मनाइन्छन् । बानेश्वरका टक्सारीयाहरूमा यो चलन सुरु भएको एक दशक पुग्दै छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT