पुस्तौनी भारीको भर !

फोटो

काठमाडौँ — भारतको नेपालीभाषी बहुल क्षेत्र मानिने दार्जिलिङ र सिक्किममा सडकपेटी र गल्लीहरू जहाँतहीं भेटिन्छन् नेपाली भरियाहरू । शिरमा थोत्रो ढाका टोपी अनि काँधमा नाम्लो बोकेर बसेकाहरू धेरैअघि मुग्लानिएका नेपाली दाजुभाइ हुन् ।

पुस्तौनी भारीको भर !

दार्जिलिङबाट हाल सालै अलगिएर बेग्लै जिल्लाको अस्तित्वमा रहेको कालिम्पोङ, डम्बरचोक नजिकमा भेटिए— रामेछापका रामबहादुर थामी । विगत ४५ वर्षदेखि यो बिरानो लाग्ने मुग्लानी गल्लीमा यताउता गरिरहेका छन् थामी । ‘मैले दार्जिलिङ टेकेकै ४५ वर्ष नाघिसकेछ,’ उनले सुनाए, ‘भारी बोकेरै बित्यो सारा जिन्दगी ।’


उनी पहिलो पटक दार्जिलिङ टेक्दा छक्क परेका थिए । पहाडमा मिलेका घर, रमणीय दृश्य र हिमाली सौन्दर्यले निकै आकर्षित भएछन् । जब समय बित्दै गयो— यिनका लागि दार्जिलिङ, दार्जिलिङजस्तो लाग्न छाडगो । यिनले गोर्खाल्यान्डका नाममा भएका अनेक चरणका आन्दोलन पनि आँखैसामु देखे ।


सुवास घिसिङको २० वर्षे एकछत्र राज । उनको सत्ताच्युत । घिसिङपछि उदाएका विमल गुरुङ । उनको १० वर्षे एकछत्र राज । उनको राजनीतिक बहिर्गमन । र, अहिले फेरि विनय तामाङ र अनित थापाहरूको हालीमुहाली । यिनले सबैलाई भोगे । यिनका लागि गोर्खल्यान्ड हुन र नहुनुमा कुनै तात्त्विक अन्तर छैन । तैपनि उनी लामै समय भोकभोकै बसे । आन्दोलनमा ऐक्यबद्धता जनाए । ‘मेरो बुझाइमा यो आन्दोलन अझै वर्षौंसम्म यसरी नै चलिरहन्छ,’ उनले आफ्नो लामो अनुभव साटे, ‘तर, उपलब्धि केही पनि हुनेवाला मचाहिं देख्दिनँ ।’


चरिकोटका श्रीमान थामी पनि मुग्लान छिरेको धेरै भयो । १५ वर्ष हुँदा उनी यहाँ आए, बुबाको दौराको फेर समातेर । बाबु बितेर गए । उनी अझै भारी बोकिरहेका छन् । तर, बेलाबेला चर्किने गोर्खाल्यान्डजस्ता आन्दोलनले भरियालाई ज्यादै समस्या पार्ने रहेछ । ‘मरीतरी दुई छाक खानचाहिं पुगेको छ,’ उनले खुइय भावमा सुनाए, ‘भारी बोकेर टिक्न अब गाह्रो छ ।’
खासमा भरियाका लागि जनी गर्ने उपयुक्त समय वैशाखदेखि भदौसम्म हो । दार्जिलिङको जज बजारस्थित सडकपेटीमा टहलिरहेका कालिञ्चोक ८ दोलखाका हर्क माझीले भने, ‘तर, सिजनकै बेला आन्दोलन भयो भनेचाहिं दुई छाक खान पनि धौ–धौ हुन्छ ।’


विगत २९ वर्षदेखि भारी बोक्दै आएका छन् राजवीर थामी । अहिले जसरी खाडीमा नेपाली तन्नेरी हामफालेर जाँदै छन्, त्यसैगरी उनका लागि कुनै समय दार्जिलिङ ‘खाडी’ झैं थियो । कपाल–दारी सेताम्मे फुलेका उनले थपे, ‘किनकिन अहिले त दार्जिलिङ दार्जिलिङजस्तै लाग्दैन ।’


काम भएका बेला दैनिक बढीमा ५ सय भारुसम्म कमाउर्ने मजदुरले त्यही कमाइबाट गाँस–बास–कपास र केही रकम बचाएर घरसम्म पठाउनुपर्ने बाध्यता छँदै छ । तीन वर्षअघि आएको भूकम्पले धेरै भरियाको घर भत्किएको दु:खद खबर पनि छँदैछ । त्यसपछि धेरै भरिया घर फर्किए । कतिपय उतै बसे ।


दार्जिलिङ, सिक्किम, कालिम्पोङ र खरसाङका गल्लीहरूमा नेपाली भरिया भेटिन्छन्, खासगरी दोलखा, सिन्धुपाल्चोक, चरिकोट, सिन्धुली, ओखलढुंगाबाट आएकाहरू । अनुमानमा दार्जिलिङ र सिक्किममा मात्रै करिब ५० हजार नेपाली भरिया भेटिन्छन् । ‘पहिला त निकै नै थिए’, कालिम्पोङमा भेटिएका सिन्धुलीका फुर्वा तामाङले भने, ‘अहिले धेरै घटिसके । यता आउनुको साटो बरु अरबतिर जान्छन् ।’

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?