अन्तर्वार्ताको कहानी

प्रवन्ध
जीवनाथ धमला

काठमाडौँ — अन्तर्वार्ता भनेको सत्यवार्ता हुनुपर्छ, पारस्परिक सत्यसंवाद हुनुपर्छ । अन्तर्वार्तामा व्यक्तिको अन्तरध्वनि प्रकट हुनुपर्छ । यसमा व्यक्तिको आत्मा मुस्कुराएर रसाउनुपर्छ । अन्तर्वार्ता अनुभूतिपूर्ण हुनुपर्छ । अन्तर्वार्ता व्यक्तिको व्यक्तित्वको प्रतिविम्ब हो ।

अन्तर्वार्ता दिनु वा लिनु भनेको एउटा अनिवार्य जीवनपद्धति हो । मनुष्यजीवनको विकासक्रममा यो एक आधारभूत मानव संस्कार वा संस्कृति हो । अन्तर्वार्ता, मानव हुनुको एक आधारभूत अर्थ सम्प्रेषक र स्वाभाविक जीवन–वृत्ति पनि हो । मानवजीवनको वास्तविक आरम्भ जिज्ञासा वा कौतूहलको सहज प्रकटीकरणबाट हुन्छ । मातृभाषाको भावनात्मक एवं अर्थपूर्ण प्रयोग गर्न सिक्ने क्षमता प्रारम्भ हुनुअघि नै बालकले प्राकृतिक रूपमै शारीरिक क्रियाहरूद्वारा आफ्नो शारीरिक आवश्यकताको खोजी गर्छ । क्रमश: शारीरिक अभ्यास बढाउँदै जान्छ, अनि चेतनावृद्धिसँगै नयाँनयाँ बानीहरूमा ऊ अभ्यस्त पनि हुँदै जान्छ । रुने, मुस्कुराउनेजस्ता क्षमता प्राप्त गर्नु बालकको प्रथम ठूलो विजय हो । क्रमश: आमा र निकटस्थहरूसँगको आत्मीयता, सन्निकटता र अन्तरक्रियाहरूबाट उसले शब्दहरूको प्रयोग वा उच्चारण गर्न सिक्छ अर्थात् भाषाको प्रयोग गर्न सिक्छ । बालकले आफूले सिकेका शब्दहरूमा अभ्यस्त रहँदै जब दोहोरो संवादको चरणमा प्रवेश गर्छ, अन्तर्वार्ताको आरम्भ त्यहीँबाट हुन्छ । र, सामान्य जीवनमा त्यो आजीवन लागू भइरहन्छ । यसरी मानिसको व्यावहारिक जीवन अन्तर्वार्तामय भइरहन्छ ।


अन्तर्वार्ता भनेको मनको वार्ता, अन्तर्मनको वार्ता, भित्री मनको कुरा वा अन्तरसंवाद, छलफल, आत्मसंवाद, बयान, प्रश्नोत्तर आदि अभिव्यक्तिका अनेक रूप र आयामहरूमा विस्तारित लिखित वा अलिखित रूपमा गरिने आत्मविचार प्रकटीकरणको एक विधा हो । यसको शाब्दिक अर्थ विस्तृत छ । कसैले आफ्नो मनमा लागेको कुरा अर्को कोही प्रश्नकर्ताद्वारा सोधिएको आधारमा व्यक्त गर्छ भने त्यसलाई सामान्य रूपमा अन्तर्वार्ता भनिन्छ । अन्तर्वार्तामा सवाल र जवाफ आलोपालो चलिरहन्छ । यसमा दुई वा दुईभन्दा बढी व्यक्तिका बीच प्रश्नोत्तर हुन्छ । मूलत: अन्तर्वार्ता भनेको दुई पक्षबीचको अन्तरसंवाद हो । एकले अर्कोसँग कुनै खास विषयकेन्द्री भएर वा बहुविषयक प्रश्न वा जिज्ञासाहरू राख्छ, अन्तर्वार्तादायकले ती प्रश्न वा जिज्ञासाहरूको जवाफ दिन्छ । अन्तर्वार्ताकार र अन्तर्वार्तादायकबीचको पारस्पारिक संवाद, अन्तरक्रिया, सवाल जवाफ नै अन्तर्वार्ता भनेर बुझ्न सकिन्छ । अन्तर्वार्ताले मूलत: सोध्नेभन्दा सोधिने व्यक्तिको प्रत्युत्तरलाई इंगित गर्छ । अन्तर्वार्तामा एकभन्दा बढी प्रश्नकर्ताले एक जनासँग वा धेरै जनासँग पनि प्रश्नहरू राखेर खास विषयवस्तुप्रतिको जिज्ञासा
मेटाउन सक्छन् ।

Yamaha


अन्तर्वार्ताद्वारा प्रश्नकर्ता र उत्तरदाता दुवैले खास विषयमा सञ्चयन गरेका जानकारी वा ज्ञानको मापन गर्न सकिन्छ । अर्थात् यसबाट दुवै पक्षको तयारी वा अध्ययन, अनुशीलनको स्तरलाई अनुमान गर्न सकिन्छ । सञ्चारमाध्यमहरूमा अनगिन्ती विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञ, जिम्मेवार वा जानकार व्यक्तिहरूका अन्तर्वार्ताहरू प्रकाशित वा प्रशारित भइरहेका हुन्छन् । अपवादबाहेक अधिकांश ती अन्तर्वार्ताहरूको महत्त्व प्राय: तत्कालका लागि मात्र रहन्छ ।


राजनीतिक परिस्थिति वा घटनाक्रमहरू विषयक अन्तर्वार्ताहरूको महत्त्व त झन् अल्पकालीन रहन्छ । घटनाक्रमहरू परिवर्तन भइरहन्छन् । फेरि नेपालमा जस्तो राजनीति मात्र राजनीतिका लागि गरिने अर्थात् सत्ताप्राप्तिका राजनीति गरिने मुलुकका अधिकांश राजनीतिज्ञ र राजनीतिकर्मीहरूका विचारहरू अत्यन्त अस्थिर र आत्मकेन्द्री हुने भएकाले उनीहरूका सार्वजनिक अन्तर्वार्ताहरू झनै अल्पकालीन र निष्प्रभावी रहँदै आएका छन् । राजनीतिज्ञ वा कार्यकर्ताले तत्कालीन परिस्थितिबारे टीकाटिप्पणीचाहिँ गर्छन् । तत्कालीन स्थितिको टिप्पणी गर्नबाहेक प्राय:ले बोल्ने कुरा पनि खास हुँदैन, उनीहरू अधिकांशमा दीर्घकालीन दृष्टिकोण र अध्ययनशीलताको न्यूनता छ । राजनीतिक व्यक्तिहरूका अन्तर्वार्ताहरूमा तिनको अल्पज्ञता प्रस्ट बुझ्न सकिन्छ । अधिकांश तिनका अन्तर्वार्तामा बौद्धिक रूपमा अध्ययनहीनता, प्रवृत्तिगत रूपमा आत्मकेन्द्रीयता, भावनात्मक रूपमा असहिष्णुता, शाब्दिक रूपमा रूढता, वैचारिक रूपमा नीरसता एवं अहंकारिता आदि व्यक्त भएको पाइन्छ । अर्कातिर अधिकांश क्रियाशील पत्रकारहरूमा अध्ययन अनुशीलन र अनुगमनात्मक तयारीको अभाव देखिन्छ । थोरै मात्र पत्रकारहरूले आफ्नो व्यावसायिक विज्ञतालाई कायम राखेका देखिन्छन् । तर, व्यापारकेन्द्री सञ्चारमाध्यमहरूका भीडमा तिनलाई खोज्नुपर्ने स्थिति छ ।
जुन व्यक्तिले आफ्नो क्षेत्रमा विशेष हैसियत राख्छ, उसको अन्तर्वार्ताले पनि त्यसैअनुसार महत्त्व राख्छ । इतिहासमा कतिपय राष्ट्रिय नेतृत्वस्तरमा पुगेका व्यक्तिका अन्तर्वार्ता विवादित भएका उदाहरण पनि पाउन सकिन्छ । अत्यधिक सञ्चारमाध्यमहरूका कारण कतिपय महत्त्वपूर्ण व्यक्तिका अन्तर्वार्ताहरूमा पुनरावृत्ति पनि भइरहेको हुन्छ, यसले गर्दा त्यस्ता व्यक्तिहरूप्रतिको जनआकर्षण र उत्सुकतामा ह्रास भइरहेको पनि पाइन्छ । एउटै कुरा हरेक समय र हरेक सञ्चार संस्थामा बोल्दा त्यसको गाम्भीर्यतामा कमी हुन जानेतर्फ जिम्मेवार मानिसले सोच्नुपर्ने देखिन्छ ।


इतिहासमा कतिपय व्यक्तिका अन्तर्वार्ताहरू दीर्घकालीन रूपमै विचारउद्वेलित गर्ने खालका पनि पाइन्छन् । अदालतमा अभियुक्तसँग न्यायाधीशले बयान लिनु पनि अन्तर्वार्ता नै हो । घटनाक्रम, विषयवस्तु वा परिस्थितिअनुसार कतिपय अदालतका बयानहरू ऐतिहासिक महत्त्वका रहेका छन् । बीपी कोइरालाले २०३३ सालमा अदालतमा दिनुभएको बयानबाट तत्कालीन एकतन्त्रीय पञ्चायती व्यवस्थाको अप्रजातान्त्रिक चरित्रको यथार्थलाई बुझ्न सकिन्छ । बीपीमाथि जुनजुन अभियोगहरू लगाइएका थिए, तिनका विरुद्ध उहाँले दिनुभएको बयान नेपालको राष्ट्रिय इतिहासमा भएका प्रजातान्त्रिक संघर्षको एउटा कालजयी दस्तावेजका रूपमा रहेको छ । त्यससँग तूलनीय अर्को बयान इतिहासमा कसैले दिएको छैन भन्दा अत्युक्ति हुने छैन । त्यो अन्तर्वार्ता पञ्चायती शासकहरू सबैलाई हल्लाउने बयानका रूपमा थियो ।


अन्तर्वार्ता लिनका लागि पत्रकारिता एउटा कार्यक्षेत्र हुन सक्छ तर अन्तर्वार्ताकार जुनसुकै कार्यक्षेत्र वा पेसासँग आबद्ध पनि हुन सक्छ । बौद्धिक, प्राज्ञिक, व्यावसायिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, कूटनीतिक, शैक्षिक आदि जुनसुकै क्षेत्रसँग सम्बन्धित व्यक्तिका अन्तर्वार्ता ती क्षेत्रकै व्यक्तिहरूद्वारा लिइँदा सम्बन्धित विषयको जानकारी अझ सघन रूपमा प्राप्त गर्न सकिन्छ । एउटा पत्रकार पनि सबै क्षेत्रको विज्ञ हुँदैन । नेपाली सञ्चारगृहका अधिकांश पत्रकारहरू भेटवार्ता मात्र गरिरहेका देखिन्छन् । एक जना सक्रिय पत्रकारले न्यूनाधिक विभिन्न विधा वा क्षेत्रको ज्ञान राख्न सक्छ तर उत्कृष्ट पत्रकारिताका लागि उसले धेरै विधाको विज्ञता भने राख्न सक्दैन । अधिकांश पत्रकारले लिने अन्तर्वार्ता प्राविधिक, सीमित, औपचारिक, निश्चित उद्देश्यमुखी एवं सापेक्षिक मात्र हुन्छ जसबाट उच्च बौद्धिक, प्राज्ञिक, प्रज्ञावान एवं प्रतिभाशाली व्यक्तिहरूको ज्ञान सागरमा ऊ पस्नै सक्दैन । तसर्थ उच्च क्षमतावान व्यक्तिसँग अन्तर्वार्ता लिने पत्रकार पनि अन्तर्वार्तादाताको विशिष्ट क्षमताबाट पूर्ण परिचित हुनुपर्छ । या त त्यस्तो व्यक्तिसँग त्यसै क्षेत्रमा राम्रो अध्ययन गरेको व्यक्तिले अन्तर्वार्ता लिनु उपयुक्त हुन्छ ।


अन्तर्वार्ताका विभिन्न शैली, औचित्य एवं अवस्था हुन्छन् । बृहद् नेपाली शब्दकोशअनुसार : ‘कुनै पदमा योग्य व्यक्ति छान्नका निम्ति सम्बन्धित अधिकारी तथा विशेषज्ञहरूद्वारा उम्मेदवारलाई प्रश्न सोधेर तिनबाट उत्तर प्राप्त गरिने कार्य वा त्यसको कुराकानी ।’ अर्को अर्थ दिइएको छ : ‘विशिष्ट व्यक्ति र पत्रकारका बीचमा हुने सवाल–जवाफ ।’ यस्तै अझ अर्को अर्थ पनि शब्दकोशमा दिइएको छ : ‘कुनै व्यक्ति–व्यक्तिका बीच आपसमा भएको गुप्त कुराकानी ।’ शब्दकोशको अर्थअनुसार कुनै परीक्षाको क्रममा सोधिने प्रश्न र परीक्षार्थीद्वारा दिइने जवाफ नै अन्तर्वार्ता भन्ने बुझिन्छ । यस्तै कुनै व्यक्तिविशेष र पत्रकारका बीच हुने सवाल–जवाफ र सामान्य रूपमा व्यक्ति–व्यक्तिका बीचमा हुने कुराकानी आदिलाई नै अन्तर्वार्ता भनिन्छ भन्ने अर्थ शब्दकोशमा दिइएको पाइन्छ । ‘अन्तर्वार्ता’ शब्दको सामान्यतम अर्थलाई उल्लिखित हिसाबले शब्दकोशमा लेखिएको भए तापनि यस शब्दद्वारा बुझ्न सकिने सूक्ष्मतम र गम्भीर अर्थबोधक आयतनलाई शब्दकोशीय अर्थले बोक्न सकेको पाइँदैन । यसर्थ ‘अन्तर्वार्ता’ को शब्दकोशीय अर्थ अपूर्ण, सीमित र अआयामिक छ भन्ने बुझ्न सकिन्छ ।
रोजगारीका क्रममा कुनै निकायका प्रतिनिधिद्वारा जागिर वा रोजगारीका आकांक्षीसँग लिइने अन्तर्वार्ताले खास विषयमा उस्को ज्ञानको औकातलाई न्यूनतम मात्रामा बुझ्न मात्र मद्दत गर्छ । यस्तो अन्तर्वार्ताले व्यक्तिको बौद्धिक क्षमतालाई पूर्ण रूपमा प्रकाशित गर्न सक्दैन । यस्तो अन्तर्वार्ता औपचारिक मात्र हो । व्यक्तिको बौद्धिक क्षमता वा प्रतिभाको आँकलन केहीबेरको प्रश्नोत्तरबाट हुन सक्दैन ।


अन्तर्वार्ता लिने र दिने विषय मनुष्यले भाषा प्रयोगका माध्यमबाट मनका भावना वा विचारहरूलाई अभिव्यक्त गर्न थालेदेखि नै भएको कुरामा दुईमत नहोला । शब्दको आविष्कार गर्नुअघि मनुष्यले सांकेतिक भाषाको प्रयोग गर्न सिकेको कुरा मानवशास्त्रीहरू बताउँछन् । सांकेतिक भाषाको युगलाई ध्वनियुक्त भाषाको प्रयोगले विस्थापित गर्‍यो । भाषा ध्वनियुक्त सम्प्रेषणीय संकेत भएकाले भावना वा विचारलाई अरूसमक्ष पुर्‍याउने कार्यमा यसले ठूलो परिवर्तन ल्यायो । भाषाले मानिसलाई अन्य प्राणीबाट पूर्ण रूपमा पृथक् अस्तित्वका साथ रहन सर्वाधिक भूमिका खेल्यो । भाषा शाब्दिक संकेत थियो जसले मानिसलाई आ–आफ्नो समूह, समुदायको निर्माण गर्न मद्दत पुर्‍यायो । भाषारूपी संकेतको प्रयोग हुन थाल्नु प्रागऐतिहासिक मानवजगत्ले आरम्भ गरेको सर्वश्रेष्ठ आविष्कार थियो र यो मानव सभ्यताको प्रथम आविष्कार थियो । समूह–समूहका अलगअलग भाषाहरूको उत्पत्ति/आविष्कार भएसँगै मानवमानवका अनेक समाजहरूमा विचार सम्प्रेषणको सहज अभ्यासले गति लियो । पारस्परिक सञ्चार सम्पर्क एवं वार्तालापको सहज माध्यममा रूपमा भाषाको आरम्भ भएसँगै अन्तर्वार्ताको पनि आरम्भ भएको कुरा बुझ्न सकिन्छ ।


लिपिको आविष्कार मानव सभ्यताको अर्को महान् खु्ड्किलो थियो । भाषाको विकास क्रममा मानव जातिले लेख्ने क्षमताको पनि विकास गर्दै आयो । भाषामार्फत सहज ढंगमा विचार र भावनालाई अभिव्यक्त गर्ने क्रममा अन्तर्वार्ता शैलीको प्रारम्भ पनि भयो । स्वत:स्फूर्त रूपमा अन्तर्वार्ता मानव समाजको अभिव्यक्ति, पारस्पारिक भावनाको सम्प्रेषण शैली, जिज्ञासाहरूको आदानप्रदान र विचार विनिमयको कथ्य तकनिकीका रूपमा स्थापित हुन पुगेको अनुमान गर्न सकिन्छ ।


जसै भाषाहरू समृद्ध हुँदै गए, साहित्यको विकास हुँदै गयो । भाषाद्वारा साहित्यको र साहित्यद्वारा भाषाको समृद्धिमा बल पुग्दै गयो । पूर्वी वा पश्चिमी गोलाद्र्धमा अनेकाँै भाषाको विकाससँगै साहित्यको रचना पनि हुँदै गयो । साहित्यमा विचार, भावना वा अनुभूतिहरूलाई अभिव्यक्ति दिने क्रममा अन्तर्वार्ता शैलीलाई विशेष प्रयोग गर्न थालियो ।


लिखित वाङ्मय वा साहित्यमा ‘अन्तर्वार्ता’ को आरम्भ हजारौँ वर्ष पहिल्यैदेखि हुँदै आएको कुरा ज्ञात हुन्छ । संवादको माध्यमबाट मन्थन गरी निकालिएका प्रागऐतिहासिक कालदेखिका ज्ञानामृतहरू निकै छन् । प्रागऐतिहासिक कालमा ऋषिमुनिहरूका बीच भएका शास्त्रार्थहरू कैयाँै पौराणिक ग्रन्थका रूपमा लिपिबद्ध छन् । पौराणिक साहित्यका रूपमा विश्वद्वारा नै स्विकारिएको एक सर्वश्रेष्ठ साहित्य गीता हो । यो विश्व–वाङ्मयकै एक शीर्ष निधि पनि हो । यो अन्तर्वार्ता शैलीमा लेखिएको छ । त्यसका अन्तर्वार्ताकार महानतम धनुर्धारी पाण्डुपुत्र अर्जुन हुन् र उत्तरदाता भगवान् श्री कृष्ण हुन् । श्रीकृष्ण र अर्जुनका बीच भएको प्रश्नोत्तर आजसम्मकै लिखित साहित्यको सर्वाधिक लोकप्रिय अन्तर्वार्ता रहेको विश्वास गर्न सकिन्छ । यति समृद्ध महाज्ञानको स्रोत संसारमा अर्को छैन । गीता मूलत: हिन्दू अध्यात्म दर्शनमा आधारित ज्ञानको अमृतधारा हो । मानवजीवनको अर्थ, अस्तित्व एवं लौकिक र अलौकिक कर्म अनि व्यवहारहरूबारे धनुर्धारी अर्जुनद्वारा सोधिएका प्रश्नहरू र श्रीकृष्णद्वारा प्रदत्त उत्तरहरूको संकलन नै गीता महाज्ञान हो । यस्मा मानवजीवनको पूर्णता र सिद्धिका लागि सांख्ययोग, ज्ञानयोग, कर्मयोग, भक्तियोग, ध्यानयोग, राजयोग आदिका सम्बन्धमा विशिष्ट संवाद संगृहीत छ ।


महामानव गौतमबुद्धले शिष्यहरूद्वारा सोधिएका जिज्ञासाका कैयाँै जवाफहरू बौद्धदर्शनका रूपमा लिपिबद्ध छन् । आदि महाकाव्य रामायणका अनेक प्रसंगहरू पारस्परिक संवादहरूले भरिएका छन् । आधुनिक युगमा लेखिएका काव्य, महाकाव्यहरूमा पनि अन्तरसंवाद शैलीको प्रयोग यथेष्ट छ ।


अन्तर्वार्ताको गरिमा ज्ञान वा बौद्धिकतासँग प्रत्यक्षत: जोडिएको हुन्छ । सम्बन्धित वा सान्दर्भिक विषयवस्तुप्रतिको ज्ञान, बुझाइ, पृष्ठभूमि, कारण, प्रभाव, परिणाम वा उपादेयता, सान्दर्भिक पक्षहरू पारिस्थितिक गाम्भीर्यता, सांकेतिकता, दूरदर्शिता, अध्ययनशीलता, सम्प्रेषणीयता आदि अनेक आयामहरूसँग अन्तर्वार्ताले सम्बन्ध राख्छ । सञ्चारमाध्यमहरूमा प्रस्तुत गरिने अन्तर्वार्तामा दुवै पक्षका उल्लिखित गुण वा क्षमताहरूको स्तरमापन गर्न सकिन्छ । सामान्य सूचनामूलक प्रश्नोत्तर यथार्थमा अन्तर्वार्ता होइन, त्यो सूचनावार्ता वा क्षणिक भेटवार्ता मात्र हो । नेपाली सञ्चारमाध्यमहरू मूलत: सूचनावार्ता वा भेटवार्ता गरेरै समय र कागज भर्छन् । अपवादबाहेक सघन बौद्धिकता, गाम्भीर्य र चैतन्यदायी चिरस्मरणीयताका दृष्टिले तिनको स्तरीयता अझै फेदीमै छ । कुनै उच्च प्रतिभाशाली व्यक्तिको प्रतिभा वा बौद्धिक आयतनलाई सञ्चारमाध्यमको प्राविधिक सीमाभित्र हत्पती अटाउन सकिँदैन । सञ्चारमाध्यम प्राय: तात्कालिक वा सापेक्षिक हुन्छ । कतिपय व्यक्तिको बौद्धिक उच्चता, राष्ट्रिय/अन्तर्राष्ट्रिय स्वीकार्यता र प्रभावलाई साधारण हिसाबले सञ्चारमाध्यमबाट प्रवाहित गर्न सकिँदैन ।


पुस्तकहरूमा प्रकाशित कतिपय राष्ट्रिय व्यक्तित्वका अन्तर्वार्ताहरूले समकालीन राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिलाई बुझ्न इतिहासकै काम गरेका पनि हुन्छन् । यस्तै राजनीति, कला, साहित्य, संस्कृति वा ज्ञान, विज्ञान एवं अन्य विविध क्षेत्रका कतिपय विशिष्ट प्रतिभाहरूसँग अन्तर्वार्ता लिएर तिनीहरूको ज्ञान सञ्चयन गरिएको पनि छ ।


अन्तर्वार्ता भनेको सत्यवार्ता हुनुपर्छ, पारस्परिक सत्यसंवाद हुनुपर्छ । अन्तर्वार्तामा व्यक्तिको अन्तरध्वनि प्रकट हुनुपर्छ । यस्मा व्यक्तिको आत्मा मुस्कुराएर रसाउनुपर्छ । अन्तर्वार्ता अनुभूतिपूर्ण हुनुपर्छ । अन्तर्वार्ता व्यक्तिको व्यक्तित्वको प्रतिविम्ब हो ।


अन्तर्वार्ता त मैले जीवनको प्रारम्भदेखि नै दिँदै आएको हुँ । यस्तै अरूसँग औपचारिक वा अनौपचारिक हिसाबले अन्तर्वार्ता लिँदै पनि आएको हुँ । तर, वास्तविक अन्तर्वार्ता के रहेछ भन्ने बुझ्न थालेको चाहिँ धेरै भएको छैन । मैले थोरबहुत बुझेअनुसार वास्तविक अन्तर्वार्ता आत्मवार्ता हो, आफैंले आफैंसँग प्रश्न गरेर आफैंलाई जवाफ दिन सक्नु नै सबैभन्दा इमानदार अन्तर्वार्ता हो, जुन अन्तर्वार्तामा अरू कसैको प्रश्न चाहिँदैन । सबैभन्दा कठिन अन्तर्वार्ता सायद आफैंले आफ्नै अन्तर्वार्ता लिनु हो, जसको अभ्यास भने आजसम्म मैले गरेको छैन, तपाईंले नि ?

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कथाका तीन महारथी

विमर्श
अभय श्रेष्ठ

काठमाडौँ —  कथा लेखेर संसारभरि चिनिएका लेखक अनगिन्ती छन् । तिनका कथा उत्तिकै लोकप्रिय पनि छन् । तर, विश्व कथाका महारथी भने केबल तीन जना छन् । ती हुन्— रुसका आन्तोन चेखब, फ्रान्सका गुई डी मोपासाँ र अमेरिकाका ओ हेनरी । यीभन्दा अगाडिका कथाकारले अधुरो छाडेको फ्रेम यी तीन जनाले पूरा गरे ।

पछाडिका सारा कथा जानी नजानी यिनकै फ्रेमभित्र रहेर लेखिएका छन् । यिनका कथा नपढी संसारमा ज–जसले राम्रा कथा लेखेका छन्, ती पनि तिनका फ्रेमबाट मुक्त छैनन् । संसारका सर्वाधिक लोकप्रिय भएर पनि यीमध्ये चेखब (१८६०–१९०४) र ओ हेनरी (१८६२–१९१०) दुवैले नोबेल पुरस्कार पाएनन् । मोपासाँ (१८५०–१८९३) को त मृत्यु हुँदा नोबेल पुरस्कार नै सुरु भएको थिएन ।

चेखब र जारकालीन रुस
चेखबको मलाई अत्यन्त मन पर्ने र संसारभरि नै रुचाइएको एउटा कथा छ— अ केमेलिन अर्थात् बोली फेर्ने छेपारो । जारकालीन प्रहरी अधिकारीको मानसिकता झल्काउने यस कथामा सुनार रिउकिनको औँला छाडा कुकुरले टोकेपछि बजारमा तमासा हुन्छ । प्रहरी हाकिम अचुमेलोभ रिउकिनको पक्ष लिँदै कुकुर छाड्नेलाई स्वाद चखाउँछु भन्छ । भीडबाट कसैले त्यो कुकुर जर्नेल जिगालोभको हो भन्नासाथ उसको बोली फेरिन्छ । ऊ रिउकिनलाई नै गाली गर्न थाल्छ । सँगै हिँडिरहेको प्रहरी जवान येल्दिरिनले ‘जर्नेलकहाँ यस्तो चुत्थो कुकुर छैन’ भनेपछि ऊ फेरि रिउकिनलाई ढाडस दिन्छ । जर्नेलको भान्छेले कुकुर जर्नेलको भाइको भनेपछि हाकिम त्यही झ्याउरे कुकुरको गुनगान गाउँछ र उल्टै पीडित रिउकिनलाई कारबाही गर्ने धम्की दिन्छ ।


अचुमेलभको नोकरशाही प्रवृत्ति संसारभरिका मानिसभित्र कुनै न कुनै रूपमा जीवित छ । हाम्रा कतिपय ‘चलाख’ युवाकविमा पनि म त्यो चरित्र देख्छु । त्यसैले, यो कथा संसारमा मानव समाज रहुन्जेल जीवित रहन्छ भनिन्छ । ‘क्लर्कको मृत्यु’ शीर्षकको अर्को कथामा अर्कै कार्यालयको सिभिल जर्नेलसामु हाच्छिउँ गर्दा पछुतो मानिरहेको एउटा क्लर्कको कथा छ । विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ यही कथाबाट प्रभावित मानिन्छ । इभान द्मित्रिच चेभ्र्याकोभ बारम्बार जर्नेलसँग माफी माग्छ । जर्नेल यसलाई गम्भीरतापूर्वक लिँदैन । क्लर्कको मनले मान्दै मान्दैन । ऊ ठान्छ, जर्नेल रिसाएछ । भोलिपल्ट जर्नेलको घरमै गएर ऊ फेरि माफी माग्छ । आवेगमा आएर जर्नेल उसलाई बेस्सरी झपार्छ । विचरा क्लर्क भित्रभित्रै कुँडिएर घर पुग्छ । कौचमा पल्टिएकै बेला उसको मृत्यु हुन्छ । कति व्यर्थ कुरामा मानिसहरू अमूल्य समय र जीवन नष्ट गरिरहेका हुन्छन् भन्ने कथाले राम्ररी झल्काउँछ ।
चेखबको अर्को विश्वप्रसिद्ध कथा हो— भान्का । नौवर्षे अनाथ सार्की भान्का जुकभलाई हजुरबाले सहरमा काम सिक्न पठाएका हुन्छन् । मालिक, उसको परिवार र सहकर्मीहरू उसलाई दिनुसम्म दु:ख दिन्छन् । अन्तत: कोही नभएको मौका छोपेर ऊ हजुरबालाई आफ्ना सारा दु:ख बयान गरेर चिठी लेख्छ । अत्यन्त निर्दोषितापूर्वक खाममा हजुरबाको ठेगाना लेख्छ— गाउँमा हजुरबा । अनि त्यो चिठी ऊ हुलाक कार्यालयको बाकसमा खसाल्छ ।


चेखब नै संसारका त्यस्ता दुर्लभ कथाकार हुन् जो अत्यन्त तटस्थतापूर्वक मान्छेको इतिवृत्ति केलाउँछन् । मान्छेभित्रको करुणा र क्रूरतालाई उनले जति सायदै अरू कथाकारले नियालेका छन् । ‘ग्रिफ’ शीर्षक कथामा भाडामा बग्गी चलाउने इयानोको असम्भार दु:खको अस्फुट कथा छ । केही दिनअघि मात्र उसको जवान छोराको मृत्यु भएको हुन्छ । त्यो दु:ख ऊ बग्गी चढ्नेहरूलाई सुनाउन चाहन्छ । तर, उनीहरू क्रूरतापूर्वक उसलाई हकार्छन् । उसको व्यथा सुनेर सहानुभूति प्रकट गर्न मान्छे नामका क्रूर प्राणी कोही तयार हुँदैनन् ।
आफ्नो दु:ख अब ऊ कसलाई सुनाओस् ? ऊ घोडीलाई सुनाएर मन हलुका पार्छ । क्रूर मानव समाजप्रति योजति ठूलो व्यंग्य अरू हुनै सक्दैन ।


चेखब १९ औँ शताब्दीको जारकालीन रुसी समाजमा मान्छे नगनिएका, कसैले चासो नदिएका, कसैको नजरमा नपरेका मान्छेहरूको विषाद, खिन्नता, असफलता, आशा र निराशालाई आफ्ना कथामा प्रेमपूर्वक ठाउँ दिन्छन् भने ठूलाहरूको क्रूरता र पाखण्डलाई छताछुल्ल पारिदिन्छन् । ‘शत्रुहरू’ शीर्षक कथामा एक जना डाक्टरकी पत्नीको भर्खरै निधन भएको हुन्छ । पत्नीको सद्गत पनि नगरी ऊ अर्को युवकको आग्रहमा हृदयाघात भएकी उसकी पत्नीको उपचार गर्न पुग्छ । तर, युवककी पत्नीले अर्को पुरुषसँग पोइल जान लोग्नेसँग त्यो नाटक गरेकी हुन्छे । यो थाहा पाएर डाक्टर रिसले चुर हुन्छ । डाक्टरको त्यो असीम उदारता र संवेदनशीलतालाई नबुझी युवक धनको तुजुक देखाउँदै सोध्छ, ‘किन रिसाउँछौ ? मैले तिमीलाई त्यसै बोलाएको छैन । भन, तिम्रो फिस कति भयो ?’ ‘ग्रासहप्पर’ शीर्षक लामो कथामा चाहिँ निर्मोही पत्नीका कारण एक प्रतिभाशाली डाक्टरको जीवन खेर गएको हृदयस्पर्शी कथा छ । ‘वार्ड नं ६’, ‘द ब्राइड’, ‘लेडी विथ द डग’, ‘द बिसप’, ‘द मर्डर’, ‘अ नाइटमेर’, ‘द हाउस विथ द मेजानिन’, ‘द केमिस्ट्स वाइफ’ जस्ता महान् कथामा चेखबले जारकालीन रुसी जीवनको विषादको चित्रण गरे । तर, तिनको सान्दर्भिकता सार्वभौम र संसारव्यापी छ ।


जम्मा ४४ वर्ष बाँचेका चेखबले ६ सय कथा र केही नाटक लेखे । तीमध्ये झन्डै ५० कथा र चार नाटक विश्वप्रसिद्ध छन् । क्रान्तिकारी उपन्यासकार माक्सिम गोर्की र उनी एक अर्कालाई खुबै रुचाउँथे । सन् १९०२ मा गोर्कीलाई रुसको विज्ञान तथा प्रज्ञा प्रतिष्ठानको सदस्यबाट हटाउन जार निकोलाई द्वितीयले दबाब दिएपछि त्यसअघि नै सदस्य भइसकेका चेखबले चुर भएर राजीनामा गरे । मान्छेको जातै ढोँगी । आफूले नजानेको कुरा, जानेझैँ गर्नुपर्ने, आफ्नो कुरूपता मखुण्डोले छोप्नुपर्ने । तिनैलाई लक्षित गर्दै चेखब गोर्कीसँग भन्ने गर्थे, ‘हरेक मान्छेले आ–आफ्नै भाषा बोल्नुपर्छ ।’ नभन्दै उनले आफ्नै भाषा अर्थात् आफूले राम्ररी चिनेको रुसी जीवनको कथा गहिराइमा पुगेर लेखे ।


मोपासाँ र मखुन्डो
फ्रान्सका मास्टर स्टोरीटेलर मोपासाँका कथाको मुख्य काम हो, मान्छेको मखुन्डो उतार्नु । उनको विचारमा मखुन्डो नभिर्ने वेश्या र किसान मात्र हुन् ।


हामी मान्छेलाई अनेक आवरणमा देख्छौँ । मोपासाँका कथाले चाहिँ मान्छेलाई भित्र र बाहिर सर्वांग नाङ्गो देखाइदिन्छ । एउटी थसुल्ली केटीको अवर्णित दु:ख र समाजका ठालूहरूको ढोँगबारे उनको एउटा उत्कृष्ट कथा छ, ‘बोसोको भकुन्डो’ । थसुल्ली कुनै लामो यात्रामा ठालूहरूसित एउटै बग्गीमा हुन्छे । तिनीहरू उसलाई गर्नुसम्म उपेक्षा गर्छन् । तर, भोकले सताएपछि उनीहरू उही थसुल्लीले दिएको खाजा लाज पचाएर हसुर्छन् । बाटोमा पर्सियन सिपाहीहरूले उनीहरूलाई कब्जामा लिन्छन् । सिपाहीको हाकिम थसुल्लीले ऊसित एक रात बिताउन तयार भए सबैलाई छाड्ने वचन दिन्छ । प्रेमरहित सम्बन्ध राख्न कुनै पनि स्त्री तयार हुँदिन । थसुल्ली कसैगरी मान्दिन । अब सबै ठालूहरू उसलाई हाकिमसँग रात बिताउन खुसामद गर्छन् । धम्की पनि दिन्छन् । अन्तत: दिक्क हुँदै, भुनभुनाउँदै ऊ जान्छे । भोलिपल्ट फेरि यात्रा सुरु हुन्छ । ठालूहरू खानेकुरा बोक्छन् । दिक्क हुँदा बिचरी ऊ खाजा बोक्नै भुल्छे । ठालूहरू जिब्रो पड्काउँदै खाजा खान्छन्, तिनकै मुक्तिका लागि आफ्नो अस्मिता सुम्पेकी उसलाई कसैले वास्ता गर्दैन । उसका आँखाबाट आँसु झर्छ । ठालूहरू खासखुस गर्छन्, ‘राति शत्रुको ओछयान हुन गई, अहिले लाजले रुन थाली ।’


मोपासाँ ११ वर्ष हुँदा उनका बाबुआमाको पारपाचुके भयो । यो उनको जीवनमा ठूलो आघात थियो । आमाप्रति उनको ठूलो आदर थियो । बाबुहरूप्रति घृणा । अत: उनी आजीवन अविवाहित रहे । उनका कथामा यस्ता बालकहरूका प्रतिविम्ब बारम्बार आउँछ । ‘साइमनको पिता’ शीर्षक कथामा उनले आफ्नै दु:खद बाल्यकालको प्रतिकृति उतारेका छन् । ‘द नेकलेस’ उनका सबैभन्दा प्रसिद्ध कथामध्ये एक हो । गरिब क्लर्ककी अतिसुन्दरी पत्नी माथिल्डले एउटा भोजमा साथीसँग सापटी लिएको हिराको हार हराउँछे । ३६ हजार फ्राङ्क पर्ने हार किनेर फर्काउन उनीहरूले ठूलो मूल्य चुकाउनुपर्छ । त्यो ऋण तिरिसक्न उनीहरूले पूरा दस वर्ष हाड घोटेर श्रम गर्नुपर्छ । कडा परिश्रमले यो सुन्दरी अब बूढी देखिन थालिसकेकी थिई । पूरा दस वर्षपछि एक दिन हार सापटी दिने साथीसँग भेट हुन्छ । कुरा खुल्दै जाँदा थाहा हुन्छ, त्यो त नक्कली हार थियो, मुस्किलले पाँच सय फ्राङ्क पर्ने । तुच्छ महत्त्वाकांक्षा र सानो गल्तीले बिचरी उसले जीवनको सौन्दर्य व्यर्थै खेर फाल्नुपर्‍यो । ‘इन द बेडरुम’ मा पत्नीसँग सम्बन्ध तोडेर अर्कै केटीसँग सल्केको लोग्ने पत्नीप्रति अर्को मान्छेले अनुराग देखाएपछि ईष्र्याले जल्न थाल्छ । ऊ फेरि पत्नीसँग सम्बन्ध सुरु गर्न चाहन्छ । तर, पत्नी अब नगरबधूले जस्तै निश्चित रकम लिएर निश्चित समयका लागि मात्र पतिसँग समर्पित हुन तयार हुन्छे । ‘माई अंकल जुल्स’ मा एउटा मध्यमवर्गीय परिवारको दरिद्र मानसिकता र निर्दयताको कथा छ । जोसेफको काका जुल्स अमेरिका गएको हुन्छ । उसले त्यहाँ ठूलो प्रगति गरेको खबरले परिवार आफ्नो दरिद्रता छिट्टै अन्त्य हुने सपना देख्छ । तर, एक दिन बेलायतको सीमामा काका अत्यन्त दीनहीन स्थितिमा बरफ बेचिरहेका भेटिन्छ । त्यस बेला परिवारले ऊप्रति गरेको तिरस्कारले जोसेफको हृदय भित्रैदेखि चिमोटिन्छ । त्यसपछि ऊ काकाको सम्झनामा माग्नेहरू भेट्दा सधैँ पाँच फ्राङ्क दिने गर्छ ।


मोपासाँ अविवाहित रहे तर उनले धेरै नै वेश्यावृत्ति गरे । अन्तत: उनलाई भिरङ्गी भयो । उनको मानसिक सन्तुलन बिग्रियो र एक दिन आमाकै सामु सेरिएर मर्न खोजे । त्यसको एक वर्षपछि ४३ वर्ष नपुग्दै उनको निधन भयो । जीवनमा उनले कुल ३ सय कथा र छ वटा उपन्यास लेखे । तीमध्ये धेरैजसो विश्वप्रसिद्ध भए । उनका कथामा वेश्याहरूका उदात्त जीवन, महिलाका असीम दु:खका अनेक आयाम, मानवीय गरिमा र विडम्बनाका चित्रहरू बारम्बार आउँछन् । ‘आइडिल’ कथामा रेलयात्रामा एउटी मोटी युवती दूध गानिएर मरणान्त हुन्छे । एउटा युवक दूध चुसेर उसको उद्धार गर्छ । ऊ हलुका हुन्छे र युवकप्रति आभार प्रकट गर्छे । युवक भन्छ, ‘मलाई होइन, तिमीलाई धन्यवाद छ । किनभने तीन दिनदेखि मैले केही खान पाएको थिइनँ ।’



ओ हेनरी र विपर्यास
कसैले कथा लेखनको सूत्र सोध्दा ओ हेनरी भन्थे, ‘कथाको अन्त्य सोच्नुस् र लेख्न बस्नुस् ।’ हुन पनि उनका अधिकांश कथामा एउटा चित्रको वर्णन हुन्छ । कथा अन्त्य हुँदा परिस्थिति ठयाक्कै त्यसको उल्टो हुन्छ । मानवीय संवेदना, करुणा, प्रेरणादायी प्रेम अनि विडम्बनाका विविध आयामलाई उनी जसरी प्रस्तुत गर्छन्, त्यो अरूको कथामा दुर्लभ छ । ‘रोमान्स अफ अ बिजी ब्रोकर’ मा एउटा व्यस्त उद्योगी आफ्नै पत्नीसँग बिहेको प्रस्ताव राख्छ । पैसा कमाउने धुनमा ऊ अघिल्लो दिन मात्र आफ्नै बिहे भएको पनि बिर्सन्छ ।
ओ हेनरीको खास नाम थियो— विलियम सिड्नी पोर्टर । उनी एउटा बैंकमा काम गर्थे । पैसा हिनामिना गरेको आरोपमा पाँच वर्ष जेल परे । यही जेल उनलाई वरदान साबित भयो । उनले कथा लेखे र छाप्न पठाए । वास्तविक नाममा पठाएका भए सायदै एउटा कैदीका कथा छापिन्थे । जेलबाट निस्कँदा उनी विख्यात कथाकार भइसकेका थिए । उनले जम्माजम्मी दुई सय कथा लेखे । जति लेखे, मानवीय संवेदनाले भरिपूर्ण, अनुपम र अत्यन्त प्रेरणादायी कथा लेखे । ‘द लास्ट लिफ’ मा एक रोगी युवतीलाई जीवनप्रति आशा जगाइराख्न भूमिका खेल्ने एक कलाकारको बलिदानको महान् कथा छ । ‘द गिफ्ट अफ मेजाई’ मा एक मायालु दम्पतीले एक अर्काप्रति प्रेम दर्शाउन गरेको त्याग त अविस्मरणीय नै छ ।
‘ह्विर्लिगिग अफ लाइफ’ ले दाम्पत्य जीवनको मार्मिक सन्देश दिन्छ । किसान दम्पती रेन्सी बिलब्रो र एरियाला पारपाचुके गर्छन् । वर्षौ सँगै बस्दा उनीहरू एक प्रकारको जीवनमा अभ्यस्त भइसकेका थिए । रजिस्ट्रार अफिसबाट बाहिर निस्केपछि दुवै जना बिलखबन्द पर्छन् ।


‘अब तिमी कहाँ जान्छ्यौ ?’ लोग्ने सोध्छ ।
‘म जहाँ गए पनि तिमीलाई के चासो ? अब म तिम्री को हुँ र ?’ स्वास्नी भन्छे ।
‘तैपनि... कुनै दिन म तिम्रो मायालु श्रीमान् त
थिएँ नि !’
‘अब मामाघर जान्छु । त्यहाँ पुग्न यो पहाड नाघ्नुपर्छ ।’
‘हिँड, म घोडागाडीबाट पुर्‍याइदिन्छु ।’
‘अब तिमीले मेरो चासो गर्नु पर्दैन । हामी एकार्काका लागि बिरानो भइसक्यौँ । अँ बरु, गाईलाई बेलैमा घाँस दिन चाहिँ नबिर्सनू है !’
‘तिमीले अब मेरो गाईको चासो लिनुपर्दैन, बुझ्यौ ?’
‘तिमी खाना पकाउन असाध्यै अल्छी छौ । मैले बिहानको तरकारी र रोटी राखिदिएकी छु । भोकै नबस्नू । बेलुकी त्यही भए पनि खानू ।’
‘ए बाबा, म खाऊँ कि नखाऊ तिमीलाई के चासो हँ ? अब म तिम्रो को हुँ र ?’
‘तिमी आलमारी बन्द गर्न बिर्सन्छौ । मुसा पस्ला, अलि होस गर्नू ।’


उनीहरूबीच यस्ता मार्मिक कुराकानी निकै बेर हुन्छ । अन्तत: एकअर्काबिना बाँच्नै नसक्ने निष्कर्षमा पुगेपछि पुनर्विवाह गर्ने निर्णयमा पुग्छन् । पारपाचुके गर्न लोग्नेले मुस्किलले पाँच डलर बुझाएको थियो । पुनर्विवाह गर्न फेरि पाँच डलर चाहिने भयो जुन उनीहरूसँग छैन । रेन्सी पानी परिरहेको निष्पट अन्धकार रातमा रजिस्ट्रार अफिसको न्यायाधीशको खल्तीबाट पाँच डलर जफत गर्छ । भोलिपल्ट पुनर्विवाहका लागि ऊ त्यही नोट उही न्यायाधीशलाई बुझाउँछ जुन अघिल्लो रातिको पानीले भिज्दा अझै चिसो थियो । चौबीस घन्टामै पारपाचुके र फेरि विवाह । मानवीय सम्बन्धका हिसाबले यो कथा अनुपम छ ।
***


संसारमा महान् कथाकार अरू पनि छन् । लियो टाल्सटायका गम्भीर चिन्तनसहितका नैतिक कथाको प्रभाव अनुपम छ । माक्सिम गोर्की र लुसुनका निम्न वर्गमा केन्द्रित कथा निश्चय पनि महान् छन् । एडगर एलेन पो, निकोलाई गोगोल, पुस्किन, दस्तोएब्स्की, जोन गल्जवर्दी, समरसेट मम, सात्र्र, कामु, मिखाइल सोलोखोब, भासिली सुक्सिन, रियुनोसुके अकुतागावा, कादरिन म्यान्सफिल्ड कोही पनि कमजोर कथाकार होइनन् । तर चेखब, मोपासाँ र ओ हेनरी अतुलनीय लाग्छन् । हेनरीलाई अमेरिकी मोपासाँ अनि कथा लेखेरै सन् २०१३ को नोबेल पुरस्कार जितेकी एलिस मुनरोलाई ‘आधुनिक चेखब’ त्यसै भनिएको होइन ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT