कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हामीले (न)देखेको देश

समीक्षा
‘देखेको देश’ प्रत्येक राजनीति नेताले एकचोटि पढे हुन्थ्यो । पढेपछि एक छिन नघोत्लीकन रहनै सकिनँ ।

काठमाडौँ — मोहन मैनालीको ‘देखेको देश’ पढेपछि एउटा मीठो ईष्र्या लाग्यो । म नेपालका ७२ वटा जिल्ला घुमें, नेपालबाहिरका ८ वटा देशमा काम गरें । कतिपय देश नेपालजस्तै गृहयुद्धबाट गुज्रिएका, कुनै नेपालजस्तै पूर्वाधार धेरै कम भएका देश थिए । ६ महिनादेखि एक वर्षसम्म ती ठाउँमा बस्दा मैले देखेका सबै कुरा यस्तै टिपोट गरेर लेखेको भए पनि दुई तीनवटा किताब त तयार भइहाल्थे होलान् । तर, त्यो बुद्धि भएन ।

हामीले (न)देखेको देश

मोहन मैनालीले यो किताब नेपालको विकास, सामाजिक समस्या, राजनीतिक दलले गरेका बदमासी र यसले जनतामा परेको प्रभाव आदिका बारेमा लेखेका छन्, मानवीय संवेदनाले भरिपूर्ण भएर । जाजरकोटका घर पहिरोले पुरिएर बालबालिका पनि पहिराले पुरिएका समाचार पढेपछि मेरो मन सबै नेपालीको झैं चसक्क बिझ्यो । देखेको देश पढ्दा हाम्रो पहाड, ‘गाउँ मासी जंगल, ज्ांगल मासी गाउँ’ पढ्दै जाँदा बुझ्न केही मद्दत गर्‍यो । गरिबीको कारणले त्यस ठाउँमा घर बनाएको हो भनेर कत्तिको मनमा आउँदो पनि हो । तर, आफ्नो भोट बढाउन नेतागणले जहाँ पायो त्यही बाटो खन्नाले यस्तो हुन गएको होला भन्ने अनुमान कमैले गरेका होलान् ।


तर, साँच्चि नै गाउँलाई माया गर्ने तर सक्रिय नेताचाहिँ बाटोका नाममा हुने विनाशको विरोधमा रहेछन् । पाल्पाका यम्घामा ५ वर्ष गाविस अध्यक्ष भएका धु्रव अधिकारीले बाटो खन्ने साथीहरूलाई यसरी ‘जथाभावी बाटो खनेपछि बाँच्ने सबै मासेपछि बसाइ सर्नुपर्ने’ विचार व्यक्त गरेका रहेछन् । तर अफसोस, नीति बनाउने ठाउँमा बस्ने मानिसले त्यो जथाभावी बाटो बनाउन दिन हुन्न भन्ने कुरा बुझेर पनि चुप छन् ।


बाटो बनाउने नाममा कसरी विनाश गरिएको छ भन्ने कुरा ‘चिरेर पहाड’ बाट छर्लंग देखिन्छ । वर्षात सुरु हुनेबितिकै माटो खस्न सुरु हुन्छ । अनि घर र बाटो भासिन सुरु हुन्छन । ‘नेपालको पहाड नयाँ भएकाले यसलाई जथाभावी बिगार्न हँुदैन’ भूगोल पढाउने गुरुआमाले १० कक्षा पढाउँदा भनेको सम्झन्छु । त्यो बेलामा मलाई लाग्थ्यो । ‘पहाड पनि कहीं नयाँ हुन्छ र ? हामी जन्मनुभन्दा कतिकति पुराना हुन्छन् ।’ नयाँ र पुराना भन्ने कुरा १५ वर्षीया किशोरीको मनले केवल नयाँ लुगा लगाउने, पुराना लुगाचाहिं अरूलाई दिने भन्ने बुझेको थियो । तर पछि बुझ्दै गइयो । पहाड नयाँ, पहाड पुरानो भनेको के हो भनेर शिक्षकले ‘पहाडमा जथाभावी गर्नु हुँदैन भन्ने कुरा बल्ल बुझियो ।’ यही सत्य अथवा व्यथालाई उजागर गरेर लेखेका छन् ‘चिरेर पहाडहरू’ नामक लेखमा ।


मानिसले अहिले बाटो बनाउन होइन, बाटो खन्न थालेका छन् । ‘कुनै ठाउँमा त ३ वटा बाटोरूपी राक्षस बनेका थिए’ लेखक दु:ख पोख्छन् । सायद बाटोले राक्षस भएर धेरै जन र धन क्षति गरेकाले यसो भनेका होलान् ।


स्काभेटरले जथाभावी बाटो खन्दा कसरी डाँडाकाँडा नष्ट भएका छन् भन्ने उदाहरण ठाउँठाउँमा छ । यी उदाहरण हेर्दा र पछिल्ला केही वर्षका पत्रिका पल्टाएर गाउँको बाटाका समाचार पढ्दा ठयाक्क थाहा हुन्छ, जथाभावी बाटो खन्दा प्रकृतिमा हुने विनाशलाई रोक्न कसरी गाह्रो हुन्छ ।


च्यातिएको नागरिकतालाई बनाउन काठमाडौंबाट ताप्लेजुङ पुगेका मैनालीलाई हाकिमले ४ सेकेन्डमा हस्ताक्षर गर्ने समय नपाउँदा कति समय पर्खनुपर्‍यो भनेर लेखेका छन् । सानो काम पनि हाकिमले गर्दा कति ठूलो काम बन्दो रहेछ भनेर दार्शनिक विचार प्रस्तुत गर्छन् ।


‘सम्झनाको तरेलीमा हुकर’ भन्ने लेख सुरु गर्दा के होला हुकर भन्ने लागेको थियो तर हुकर त के होइन, को रहेछ । १६७ वर्षअघि जेडी हुकर नेपाल आएका थिए । सायद त्यो बेलामा हुकरले ‘मेरा पुर्खाहरूलाई भेटेका थिए कि’ लेखकले कल्पना गर्छन् । कल्पनामा नै उनले हुकरसँग अहिले भेट भए कसरी गफिन्थे होलान् भनेर रमाइलोसँग लेखेका छन् तर, यो काल्पनिक गफले नेपाली समाजमा भएका कतिपय दु:खलाग्दा घटनालाई उजागर गर्छन् ।


केही दिनअघि ४२ वर्षअघिको दस कक्षा पास गर्दा गर्दाखेरिको कति किताब फेरि पढ्न पाएँ, कस्तो हुँदो हो भन्ने मेरो मनमा हुटहुटी उठिराखेको थियो । १० कक्षामा पढेका केही किताबले मेरो जीवनमा साँच्चै नै परिवर्तन ल्याएका थिए । विशेषगरी नेपाली गद्य र पद्य, अंग्रेजीका कथा र कविता त्यो बेलामा मैले तिनीहरूको दार्शनिक पक्ष बुझेको नै थिइनँ तर अंग्रेजीका कविता र कथा त कण्ठै पारिन्थ्यो । नेपालीचाहिँ घरीघरी पढ्न मन लाग्थ्यो, यसै कण्ठ हुन्थ्यो । ‘हेपिएका किताब’ पढेपछि मलाई ती किताबको झन् याद आयो ।
‘कर्णालीको मार्सी’ को बारेमा अहिले धेरै जनाले थाहा पाएका छन् । ‘मार्सी चामलको’ भात खानु अहिले ‘स्टाटस’ ठूलो बनाउने काम भएको छ । ‘रोपाइँ गर्ने ऋतुमा’ मैनालीले कर्णालीको धान रोप्ने, परम्परालाई बचाएर राखेको हर्कबहादुरको काम हेरेर लेखेका रहेछन् । ७ सय वर्षअघि कश्मीरबाट आएका साधु चन्दननाथ धानको बीउ रोप्ने विधि जुम्लाका फिँजाएका थिए रे । धन्न अहिलेसम्म यो परम्परा धानिएको छ । कहिलेसम्म हो ? जुम्लाका किसानहरू अल्छी हँुदै गएको कुरा जुम्लाका तत्कालीन कृषि विकास अधिकृत भरत सिंह गुरुले भनेका थिए रे ।


यस किबाबमा थुप्रै अन्य लेखहरू छन्, समाजशास्त्रको बारेमा साधारण ज्ञान राख्न चाहने कुनै पनि व्यक्तिले यो पढ्नैपर्छ । नेपालका कतिपय राम्रा कुराहरू विनाश हुँदै जानुमा को जिम्मेवार छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ । ‘एक करोड वर्षअघिको नेपाल’ (पेज ३) मनमा अनायास आउँछ । ओहो, त्यति पुरानो देशका हामी नागरिक, मन ढुक्क फुल्छ ।
बिभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका भएपनि ‘देखेको देश’ नौलो लाग्छ । किताबको रूपमा एकै ठाउँमा पढ्दा नेपालको सामाजिक जीवन, राजनीति र संस्कृतिको एकैपल्ट अनुभव गर्न सकिन्छ । प्रत्येक राजनीति नेताले यो एकचोटि पढे हुन्थ्यो । ‘देखेको देश’ पढेपछि एक छिन नघोत्लीकन रहनै सकिनँ । सानो रूपमा भए पनि मैले देशको अनुहार राम्रो पार्न के गर्न सक्छु होला भन्ने भावना मनमा नआईकन रहँदैन । मलाई मीठो ईष्र्या लागे पनि लेखकले मलाई धेरै कुरा सिकाएका छन्, ‘गएको ठाउँमा टिपोट राखिहाल्नू’ भनेर ।
–अरुणा उप्रेती

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?