मायाले जितेको संसार

अनुभव
दिनेश अधिकारी

काठमाडौँ — टुंगोमा पुग्न नसकिरहेकै अवस्थामा केही हितैषीमार्फत एम्सको हाडजोर्नी विभागमा कार्यरत डा. दीपक गौतमसंग सम्पर्क स्थापित भयो । टेलिफोनमा कुरा हुँदा दीपकजीले हार्दिकताको दैलो खोलेर मलाई यसरी सम्झाउन भयो कि मैले तत्कालै भनें– अब म अरू विकल्पमा जान्नँ ।

एम्स, हाडजोर्नी विभाग प्रमुख डा. मलहोत्रासँग अधिकारी

२०७५ साल असार ३२ गते बिहान ९ बज्नुभन्दा केहीमिनेटअगाडि ह्विलचेयरमा धकेलिएर म जयप्रकाश नारायण एपेक्स ट्रमा सेन्टर, एम्स (अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, एम्स) को अप्रेसन थिएटरतिर लागें । थिएटरभित्र लैजानुअघि मेरो ब्लड प्रेसर जाँच भयो । अवस्था सामान्य देखियो । अब म सर्जरीका लागि योग्य ठहरिएँ । दाहिने खुट्टाको टोटल हिप रिप्लेसमेन्ट हुँदै थियो मेरो ।


थिएटरमा एप्रोन लगाएका ५/६ जना मानिस देखें । केही क्षणमै मलाई ‘तपाईंको ढाडमा एनेस्थेयियाको इन्जेक्सनदिनु छ दिऊँ ?’ भनेर सोधियो । एनेस्थेसिस्टले सोधेलगत्तै मैले सकारात्मक जवाफ दिएँ । उनले इन्जेक्सन लगाए । त्यसपछि मेरो टाउकोमा पातलो कपडाजस्तो केही राखेर ढाकिदिए । अब म यताउति देख्न सक्ने अवस्थामा थिइनँ । थाहा छैन— कति बेला सर्जरी सुरु भयो । लगत्तै शल्यक्रियाको नेतृत्व गर्नुहुने एम्सको हाडजोर्नी विभाग प्रमुख प्रोफेसर राजेश मलहोत्राले अप्रेसन राम्रो भएको जानकारीसहित मलाई बधाई दिनुभयो र ठट्टामा भन्नुभयो— अधिकारीजी, अहिल्यै हिंड्ने हो कि ?

Yamaha


मलाई अप्रेसन थिएटरबाट बाहिर ल्याइयो र स्वास्थ्यकर्मीको निगरानीमा राखियो । मैले एक जना नर्समार्फत बाहिर बसिराखेकी मेरी पत्नीलाई अप्रेसन सफल भएको जानकारी पठाएँ । २/३ घण्टापछि निगरानी कक्षबाट बाहिर निकालियो । श्रीमती र भाञ्जाको अनुमानविपरीत म मुस्काउँदै बाहिर आइपुगें र, स्टेचरमा सुतीसुती उनिहरूसँग हात मिलाएँ ।


पोस्ट अपरेटिभ वार्डमा रहेको मलाई सर्जरी गरेकै दिन राति करिब १० बजेतिर डा.दीपक गौतम आपैंmले आड दिएर पहिले त मलाई बेडमा ठाडो बसाउनुभयो । त्यसपछि दुवै खुट्टाले मचक्क टेकेर भुइँमा उभिन प्रोत्साहित गर्नुभयो । यही बीचमा कतैबाट ‘वाकर’ ल्याइसक्नुभएको रहेछ । भन्नुभयो— हिंड्न पनि आजैबाट सुरु गरूँ न त । मैले वाकर समातें । आफू पनि सँगसँगै लागेर त्यत्तिखेरै उहाँले मलाई १५/२० पाइला हिंडाउनुभयो । मलाई लाग्यो— काम नलाग्ने भइसकेको मेरो खुट्टाले नयाँ जीवन पायो ।


त्यो घडी मलाई मेरो विगत आँखाअगाडि आइरहेकै थियो । पहिलोपल्ट २९ माघ, २०६१ का दिन वीर अस्पताल काठमाडौंका हाडजोर्नी विभाग प्रमुख डा.अशोक बज्राचार्यले ‘टोटल हिप रिप्ल्ेसमेन्ट’ गर्नुपर्छ भन्ने लिखित राय दिनुभएको थियो । त्यसपछि म भौंतारिंदै कहिले बीएन्डबी त कहिले नेपाल मेडिकल कलेज र मेडिकेयर अस्पताल धाउन थालें । सबैको राय एकै किसिमको नपाएपछि एक जना शुभचिन्तकको सल्लाह र सहयोगमा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा गएर डा.राजेश मलहोत्रालाई जँचाएको थिएँ । उहाँले भन्नुभएथ्यो— तपाईंको हिप रिप्लेसमेन्ट त गर्नुपर्छ । तर, केही एक्सरसाइज गरेर यसलाई १५ देखि १८ वर्षसम्म पछाडि धकेल्न सक्नुहुन्छ । अहिलेलाई त्यही गर्नु बेस हुन्छ । मैले उहाँकै सल्लाह पछयाएँ ।


यसो गर्नाको पछाडि मूलभूत रूपमा दुईवटा कारण थिए । पहिलो त त्यसबेला स्टिलको सामग्री इम्प्लान्ट गरिन्थ्यो र यसको आयु लगभग १०/१२ वर्ष मात्रै सुनिश्चित थियो मात्रै होइन, दोहोर्‍याएर फेर्ने कुरा फलामको च्यूरा चपाउनुजस्तै गाह्रो छ भनिन्थ्यो । दोस्रो, विज्ञान र प्रविधिमा दिनानुदिन भइरहेको प्रगतिको कारण समय बित्दै जाँदा नयाँनयाँ सम्भावना र उपाय फेला पर्ने आशा पनि थियो । भयो पनि त्यस्तै । अहिले इम्प्लान्ट गरिएको सामग्री सेरामिक हो र सामान्य रूपमा बुझ्दा यसले ‘लाइफ टाइम’ काम गर्छ । एउटा अर्को संयोग पनि के जुर्‍यो भने २०६१ सालमा मलाई अप्रेसनपछाडि धकेल्न सल्लाह दिने डाक्टर मलहोत्रा नै अहिले मेरो सर्जरीको नेतृत्वदायी भूमिकामा रहनुभएको थियो ।


मैले बुझेसम्म एम्स सरकारी अस्पताल हो । यो, स्वायत्त रूपमा सञ्चालित छ । एम्समा सम्पन्न मेरो सर्जरी त्यत्ति सजिलै सम्भव भएको भने होइन । २०७४ सालको अन्त्यतिर आइपुग्दा जब मलाई चुपचाप बस्दा पनि दुखिरहने, आधा घण्टा उभिँदा वा १० मिनेट हिँड्दा पनि नदुख्ने औषधि सेवन गर्नुपर्ने, खुट्टा थोरै पनि नखुम्चिने र भर्‍याङ चढ्न गाह्रो हुने भएपछि मैले सर्जरीका लागि दिल्लीकै पनि निजी क्षेत्रका केही अस्पतालमा पत्राचार गरिराखेको थिएँ । टुंगोमा पुग्न नसकिरहेकै अवस्थामा केही हितैषीमार्फत एम्सको हाडजोर्नी विभागमा कार्यरत डा.दीपक गौतमसँग सम्पर्क स्थापित भयो । १२/१५ मिनेट टेलिफोनमा कुरा हुँदा दीपकजीले हार्दिकताको दैलो खोलेर मलाई यसरी सम्झाउनुभयो कि मैले तत्कालै भनें— अब म अरू विकल्पमा जान्नँ । मेरो उपचार अब तपाईंकै जिम्मा भयो । संसार जित्ने भनेको मायाले नै रहेछ । जितेसरह भयो । यो त भयो मेरो कुरा ।


यता केही समयदेखि काठमाडौंमा भन्न थालिएको छ— भारतको नयाँ दिल्ली नेपालीहरूको उपचार केन्द्रको रूपमा विकसित हुँदै आएको छ । एक हिसाबले हो पनि । खासगरी राजनीतिक क्षेत्रका नेता–कार्यकर्ता र उच्च प्रशासनिक व्यक्ति साधारणभन्दा साधारण उपचार गर्न पनि विदेश जाने कारण एकातिर हाम्रा अस्पतालमाथिको विश्वासमा आघात पुगेको छ । अर्कातिर हाम्रा अस्पतालप्रतिको चासो र चिन्ता सरकारी स्तरमा घटेको पनि छ । फलत: नयाँ मेसिन वा प्रविधिको अभाव सरकारी अस्पतालमा जताततै खड्कन थालेको छ । देशमा परीक्षण मेसिन नै नभएको कारण रोग पत्ता लगाउनकै लागि करोडौं खर्च गरेर विशिष्ट व्यक्तिलाई विदेश पठाउनुपरेको परिस्थिति हामी धेरैलाई थाहा छ । यस्ता विविध कारणले पनि नेपालका बिरामीहरूको दिल्ली दौडाहा स्वाभाविक हुँदै आएको छ ।


बिर्संदाबिर्संदै पनि यो घटना यत्तिखेर किन पनि सम्झिरहेको छु भने स्वास्थ्योपचार मानव सेवा पनि हो भन्ने कुराको हेक्का निजी क्षेत्रका हाम्रा धेरैजसो अस्पतालले राख्नै छोडिसकेका छन् भन्दा हुन्छ । अस्पताल, चाहे काठमाडौंको होस् वा दिल्लीको ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मरणको आनन्द

कविता
दिनेश अधिकारी

काठमाडौँ — मेरो मरणको कारणतिमी हुादैछ्यौर, अहिले म

मेरो मरणको कारण
तिमी हुादैछ्यौ
र, अहिले म
तिम्रा लागि मर्न पाउनुको
असीम आनन्द अनुभव गरिरहेछु

भन्नेहरु त–
माथि आकाश छ भन्थे
माथि ईश्वर छ भन्थे
बाबु भएपछि थाहा भयो
सन्तानभन्दा माथि केही हुादोरहेनछ
सन्तानभन्दा प्रिय कोही हुादोरहेनछ
म अहिले यही सत्यसाग एकाकार भएको छु

बुझेर भन्यौ कि यसै भन्यौं
त्यो तिम्रो कुरा हो
तिमीले मलाई
माथि देखिने
त्यो रातो सूर्य टिपेर ल्याइदिन भन्यौ
अहिले म
त्यसैमा आफूलाई केन्द्रित गरिरहेको छु

मलाई थाहा छ—
सूर्यसम्म पुग्ने क्षमता मसाग छैन
र, त्यतातिर जाादै गर्दा
म बाटैमा खरानी हुनेछु

छोरी !
कुनै दिन देख्न मन लाग्यो भनें आफ्नो बाबुलाई
तिमीले घामतिर हेर्नु
घामका तिनै किरणहमा
म तिम्रो वरिपरि हाासिरहेको हुनेछु !

प्रकाशित : श्रावण ५, २०७५ ०९:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT