कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उड्यो यायावर यूकेतिर

नियात्रा
कोठापछाडि झुरुम्म वन छ । वनमा ढुकुर कुर्लिरहेछ— ढुकुर कुर, ढुकुर कुर । गर्धन तन्काएर हेर्दा देखेँ, तामे ढुकुर रहेछ त्यो । विश्वको पहिलो विशाल साम्राज्यवादको ढुकुर । नेपालको भन्दा निक्कै ठूलो । गए–बितेका दिनको याद आयो ।
खगेन्द्र संग्रौला

काठमाडौँ — १० जुलाई २०१८ । दिउँसो ३ बजेतिर जेबी फोनको घन्टी बज्यो— कोकुली क्वाँक्, कोकुली क्वाँक् । हेर्छु, नम्बर परदेशको छ । परदेशी छोराछोरीको होइन, कसको होला यो ?
‘सेवा रो दाजु, म नरेश काङमाङ ।’

उड्यो यायावर यूकेतिर

को नरेश ? कताका काङमाङ ? म अलमल्ल पर्छु । एकाध छोटो भेट भएका मानिसको अचेल सहजै सम्झना हुँदैन । उमेरले गिज्याउँदै अब तँ बूढो हुन लागिस् है ब्रो भन्छ । सविनय केरकारपछि फोनकर्मीको परिचय खुल्यो, ‘यूकेबाट म उही नरेश क्या दाजु ।’
उनले सुराक दिए, सम्झनाको धमिलो पत्रमा उनको परिचय खुल्दै गयो । छ–आठ महिनाअघि होला, पहिचान पुरस्कारको एउटा यज्ञमा हाम्रो भेट भएको थियो । छाँटले पुरस्कार गुठीका हर्ताकर्ता उनै थिए । पुरस्कार भुइँयाँ रचेर हाम्रा यज्ञश ब्रोले पड्काएका थिए ।
‘अबलाई चिनेँ ब्रो,’ मैले भनेँ ।
‘एउटा अनुरोध गरूँ भनेर हाव दाजु ।’
‘हन त्यस्तो के होला हाव ब्रो ?’
‘आदिवासी–जनजाति महासंघ, यूकेले यसपाला तपाईंलाई यूकेमा निम्ता गर्ने निर्णय गर्‍यो । विश्व आदिवासी दिवसको औसरमा । तपाईं स्वीकार गर्नुहुन्छ ?’ बाफ रे प्रिय ब्रोको यो भाषा ? कति औपचारिक ! मनमा जबाफ हाजिर छ, तर मसँग भाषै छैन । म त्यति औपचारिक, त्यति अह्ररो हुन जान्दिनँ । न त कोही भएको नै मलाई उति सहज लाग्छ । जिन्दगीभरि अरसिक औकचारिकताको पर्दाप्रथाबाट म भागिरहेँ । म जस्तो छु, त्यसैले त म यस्तो भएँ ।


‘हुन्छ नि त, आउँला,’ संक्षिप्त भलाकुसारीपछि मञ्जुरी दिएँ ।


‘थप कुरो जङ्ग सुनुवारसँग हुन्छ है दाजु ।’ यसो भन्दै नरेश कर्तव्यनिवृत्त भए । जङ्ग रहेछन् उताको आदिवासी–जनजाति संस्थाका अध्यक्ष । थर भने सुनुवार !? मेरो खुल्दुले चित्तमा अलमलको अर्को चक्रबात् उठ्यो । संघ छ आदिवासी–जनजातिको, सुनुवार कसरी यसका अध्यक्ष भए ? मेरो अल्पज्ञानमा सुनुवार भनेको सुनार थियो । सुनार अर्थात् सुवर्णकर्मी उर्फ कामी । झस्किँदै सम्झेँ, शाही सेनाको अड्डामा वध गरिएकी किशोरी मैना सुनुवार थिइन् । सुनुवार अर्थात् कामीकी छोरी । रेडियो नेपालका मनमुग्धकारी उद्घोषक पाण्डव सुनुवार कामी थिए, सुनकर्मी कामी । मैले आफ्नो खुल्दुलीको काम चलाउ उत्तर रचेँ— हन्डर–ठक्करबाट सिक्दै आदिवासी–जनजाति संघको वृत्त विस्तार भएछ क्यार । र, सीमान्तकृत जनजातिको संघमा उत्पीडित दलितलाई पनि ससम्मान भित्र्याइएछ । यो सत्य हो भने ब्रोहरूले जे गरे, गज्जप गरे । सारा सनातनी शोषक शासकहरू निहित स्वार्थको मोर्चामा एकगठ छन्, तीसँग जुध्न सारा शोषित–पीडितहरूचाहिँ एकगठ किन नहुने ? कति दिन फुटाऊ र शासन गरको सिकार भइरहने ? स्वतन्त्रताको बाजीमा कति दिन हारिरहने ?


जङ्गसँग मेरो सम्पर्क भयो । आदिवासी–जनजातिको कार्यक्रम रहेछ अगस्त ५ मा, म लन्डन पुग्नुपर्ने ढिलोमा पनि त्यसको तीन दिनअगाडि । आइजाइ र गाँस–बासको चाँजो जङ्गले मिलाउने । मैले हल्का झोला हल्लाउँदै गए हुने । जङ्गले आवश्यक कागजातहरू पठाइदिए । र, भने, ‘कत्ति बियाँलो नगरी भिसालाई निवेदन दिइहाल्नुस् है । यता प्रचार भइसक्यो, बेलैमा भिसा नपाए बर्बाद हुन्छ ।’ दिन गन्छु, थुप्रो छन् । मलाई हतार छैन । सन् २००५ मा भिसाको निवेदन बदर हुँदाको अनुभव मसँग छ । निवेदन दिएर एक थैलो दस्तुर बुझायो, केही दिनमा केरकार र फैसला भइहाल्छ । आ... किन यत्रो हतार ?


पछि कुरो बुझ्दा त गाँठ्ठे ! मेरा कन्चटबाट चिट्चिट् पसिना आए । भिसाको नाटक फेरिएछ । त्यो सरलबाट जटिल, सहजबाट दुरूह भएछ । भिसाको लागि निवेदन र थैलो बुझाउनुपर्ने यता काठमाडौँमा, निवेदनमाथि कारबाही हुने उता दिल्ली ब्रिटिस हाई कमिसनको तजबीजमा । यो यन्त्रणाकारी नोकरशाही प्रक्रियाको आयु रहेछ कम्तीमा तीन हप्ता । हैट्, ब्रिटिस गोराहरूले गोर्खाहरूलाई के सारो हेपेका ! यिनका उपेक्षाकारी नजरमा गोर्खाहरूको काठमाडौँ दूतावासबाट नाथे भिसा पाउने हैसियत पनि रहेन । थुप्रो रकम तिरेर भिसाको कृपा प्राप्त गर्न हामीले दिल्ली जानुपर्ने ! हैन, यिनले काठमाडौँमा दूतावासचाहिँ किन राखिछाडेका ? दिल्ली दूतावास छँदैछ नि मान्यवर ! यो घोर उपेक्षा र उग्र अपमानबारे गोर्खे शासकहरू एकदमै मौन छन् । किन ? किनभने भन्नेबित्तिकै तिनका घरदैलामा यूकेको भिसा हाजिर हुन्छ । कुरा केवल पावर र पैसाको छ । सत्ताको पावर हातमा छँदैछ, राज्यकोषको साँचो पनि आफ्नै हातमा छ । भिसा व्यापार हो, अतिरिक्त शुल्क तिरेपछि त्यो झटपट हात लागिहाल्छ । गोर्खे संविधानले जनता भनेका प्राणीहरू मानौँ अझै रैती हुन् । रैतीको नियति भिसाको क्याँट बुझाउनु र निरीह मुद्रामा दिल्ली हाई कमिसनको कृपा हात थापेर बस्नु हो ।


हतारको हुटहुटीले उता जङ्ग ब्रो हैरान छन् । यता म कुहिराको कागतुल्य भएको छु । भिसाका लागि निवेदन बुझाउने लैनचौर दूतावासमा होइन रहेछ । आखिर त्यो होचाहिँ कहाँ ? यो बुझ्न मलाई दुई दिन लाग्यो । कोही भन्छ, त्यो लैनचौरमै कतै छ । कोही त्यो नक्साल–नागपोखरीतिर कतै छ भन्छ । आखिरमा यूके गइबस्ने तरुण डाक्टर भाष्कर गौतमबाट जानकारी भयो— तिनका बाउको अड्डो त पाटन अस्पतालनेर पो रहेछ । निवेदन र थैलो बोकेर कुद्दै म हाजिर भएँ । केरकारे नेपाली ठिटाले भने— हाम्रा हातमा केही छैन जी । दिल्लीबाट निर्णय आउन तीन हप्ता लाग्न सक्छ । ढिलो भए हामीलाई दोष नदिनुहोला । परेन कि फसाद ! मसँग अब जम्मा बीस दिन बाँकी छन् । नयन सिन्धुलियाले सुझाए— दाइ, थप रकम तिरे जिनिस छिटो हात लाग्छ । मनमनै भनेँ— यत्रो पनि तिर्रिनँ । मैले तिरेको भए सुनुवार ब्रोले खुसीसाथ सट्टाभर्ना गर्दा हुन् । तर मलाई मनै लागेन । त्यत्रो चौध हजार एक सय छैसठ्ठी रुपैयाँमाथि थप घुस खुवाएर भिसा लिनु ? आ... भिसा नपाए बरु यसपाला पनि बेलायत जान्नँ ।


जङ्ग सुनुवार नित्य सम्पर्कमा छन् । दिनदिनै एसएमएसमा केही न केही कुरा भइरहन्छ । एकाध दिनमा त ट्याक्क फोनै गर्छन् । मान्छे बडो विनयशील रहेछन् । कुरैकुरामा हिमचिम र निकटता बढेपछि यी ब्रो मलाई ‘जदौ’ को संज्ञाले सम्बोधन गर्न थाले । अब भने म ढुक्क भएँ— मान्छे पक्का सुनुवार उर्फ सुनारै हुन् । जति दिन बित्दा छन्, सुनुवार ब्रोको बेचैनी उति नै बढ्दो छ । बेला नबित्दै भिसा लागेन भने ? उनी दिनदिनै अनस्तित्ववासी निराकार भगवान्सँग प्रार्थना गर्छन् र मलाई आश्वस्त तुल्याउन खोज्छन्— ‘जदौ ब्रो, सपना राम्रो देखेँ है ।
भिसा लाग्छ ।’


चार दिनपछि बेलायत उड्नु छ, बल्ल दिल्ली हाई कमिसनको बिजुलीपत्र आयो । तिम्रो निवेदनउपर निर्णय गरी कागजात पठाइएको छ, अड्चालीस घण्टापछि बुझ्न जानू । औँला भाँच्दै अड्चालीस घण्टा गनेँ । र, उनन्चासौँ घण्टामा पाटन अस्पतालछेउको ब्रिटिस व्यापारिक अड्डामा हाजिर भएँ । सोध्दा नानी भन्छिन्— बल्ल हिजो आइपुग्यो सर, पोको खोल्या छैन । अस्ति–अस्तिकै कतिकति बाँड्न बाँकी छ । मैले आफ्नो विवशता बताएँ । नानी ज्ञानी रहिछन्— भोलिपल्ट फस्र्ट आवरमा डाकिन् । गएँ र खामबन्दी निर्णय बुझेँ । दिल्लीवाले हाई कमिसनले मलाई छ महिनालाई भिसा दिएछ । जङ्गलाई उनकै जदौको भाकामा जानकारी दिएँ— मान्यवर, एकबारको जुनीमा अबलाई हाम्रो भेट पक्का भो । अहो ! तिनको हर्षातिरेक ! त्यो केवल अनुभूत गर्न सकिने, शब्दमा भन्न नसकिने ।


गगन विहार गर्ने अगस्त २ आयो । हल्का कुम्ला–कुटुरा बोकेर कतार एयरवेजमा लन्डन ताकेर हुइँयँ उडेँ म । यात्राको क्रममा मलाई चेत भयो— भूगोलको भेग र यात्रुको औकात हेरी विमानको पनि वर्ग हुँदो रहेछ । काठमाडौँ–दोहा निम्न वर्गको विमान, दोहा–लन्डन उच्च वर्गको । पहिलोमा विमान साधारण, परिचारिकाहरू साधरण, सेवा–सुविधा साधारण । दोस्रोमा सबैथोक उच्च, विशिष्ट र भव्य । कारण स्पष्ट छ— काठमाडौँ–दोहामा अधिकांश यात्रु गरिब नेपाली श्रमिक हुन्छन्, त्यसउता धनी गोराहरू र अन्य धानाढ्यहरू । कतार एयरवेजमा एउटै कुरा मलाई बडो रमाइलो लाग्यो । त्यो हो, नेपाली भाषाको नितान्त नूतन औतार । कतार एयरवेजको नेपाली भाषा जब सम्झन्छु, अझै मेरा हड्डी–हड्डीमा काउकुतीमय हाँसोको अजस्र फोहरा फुट्छ । यात्रुहरूलाई सचेत गराउँदै कतारे ब्रोले नेपालीमा भन्यो, ‘यात्रु महानुभावहरू ! सिट सोझो पारेको, सिधा बसेको, सुरक्षा पेटी बाँधेको सुनिश्चित गर्नोस् ।’ विषय र प्रसंगले मलाई अर्थ खुलिहाल्यो । दाँत बाँधेर हाँसो रोक्दै सोचेँ— पक्का पनि यो अंग्रेजीबाट नेपालीमा गुगले अनुवादको कमाल हो । मनमा तर्कनाको कौतुकमय तरंग उठ्यो— नेपाली भाषाका मर्मज्ञहरूले यो नेपाली सुने के भन्दा हुन् ? सम्झनामा शरच्चन्द्र वस्ती आए, केदार शर्मा आए । कुन्नि, यी नेपालीप्रेमी बन्धुले नेपाली भाषालाई विकृत तुल्याएबापत कतारे ब्रोलाई कारबाही गर्नुपर्छ पो भन्लान् कि ! तर मचाहिँ त्यसो भन्दिनँ । म त भन्छु— यो नेपाली भाषाको विस्तार हो । देशभित्रै क्षेत्रक्षेत्रमा, जातिजातिमा, कुनाकुनामा नेपाली भाषाका नानाओली औतार छन् । भन्देखिन् अन्तर्राष्ट्रिय फलकमा झन् किन नहुनु ?


भनूँ भने यो नेपाली भाषाको विस्तारवाद हो । विस्तारवादमा नेपालको असल छिमेकी भारतको एकाधिकार किन ? नेपाल पनि केही न केही कुरामा त विस्तारवादी होस् न ब्रो ।
नेपालबाट बिहान १० बजे उडेको थिएँ, उही दिन बेलुका १० बजे लन्डन टेकेँ । स्वागत गर्न जङ्ग र एकाध भाइ–बहिनी अघिदेखि नै एयरपोर्टमा कुरिबसेका रहेछन् । सुनार जङ्गसँग जदौको आदान–प्रदान भयो । जोडाजोडा र सामूहिक फोटा खिचिए । र, म नरेश काङमाङ राईसँग उनको निवास साउथ ह्यारोतिर लागेँ, जङ्ग अर्को दिशाको आफ्नो गुँड फार्नबोरोतिर लागे । केही दिनपछि जङ्गकहाँ सर्ने मतो गरियो । नरेश ब्रोकहाँ छोटोमा छिटो घरगृहस्थीका कुरा भए । इलम–व्यवसायका कुरा भए । र भए बालबच्चाका कुरा । गृहमन्त्री सीमा रहिछन् हर्दम् हँसमुख, विनम्र र मायालु । यात्राको दूरीले थकित थिएँ, उनको सत्कार ग्रहण गरेर म घुप्लुक्क सुतिहालेँ ।


बाँकी रात म भुस भएर निदाएँछु । बिउँझिँदा भित्ते घडीमा बिहानको सात बजेको थियो, नाडीघडीमा बिहानको एघार । नेपालको समय नेपालमै छाडेर हिँडेको थिएँ म, मेरो बफादार घडीले छाडेनछ । शरीरमा समयको अन्तरको अनौठो असर छ । झुम्मजस्तो, हल्का बेचैनीजस्तो, किञ्चित् दिग्भ्रमजस्तो । खल्खली नुहाएँ । तैबिसेक चैन भयो । कफी खाउँm लाग्यो । तर, किचनमा मेसो पाइनँ । कोठापछाडि झुरुम्म वन छ । वनमा ढुकुर कुर्लिरहेछ— ढुकुर कुर, ढुकुर कुर । गर्धन तन्काएर हेर्दा देखेँ, तामे ढुकुर रहेछ त्यो । विश्वको पहिलो विशाल साम्राज्यवादको ढुकुर । नेपालको भन्दा निक्कै ठूलो । गए–बितेका दिनको याद आयो । त्रिचालीस सालमा काठमाडौँको चाबेलमा मेरो घर बनेको थियो । ठ्याक्कै वीरगन्जे द जुद्ध मैच फैक्टरीको चारपाटे सलाईजस्तो । घर ठड्याउँदा पैसा चिलिम भयो । कम्पाउन्ड बनेन । घरवरिपरि बाक्लो झ्यासझाडी थियो । आँगनमा दिउँसै बडो सानले स्याल प्रकट हुन्थ्यो, भयङ्कर सर्प डोलाउँथ्यो । केटाकेटी सानै थिए, तिनलाई सर्पबाट जोगाउनै गाह्रो ! र, एकाबिहानै यसैगरी ढुकुर कुरकुर कुुरकुर कुर्लिन्थ्यो । अब त्यो सब केही बाँकी रहेन । मजस्तै मान्छेको निर्मम अतिक्रमणले झ्यासझाडी सखाप भयो, पशु–पन्छीहरूको बासउठ्ठा भयो । ढुकुर हराए र छोराछोरी पँखेटा हालेर उडिगए । त्यसैले पहिले हेरी अहिले मेरो घर उजाड छ र सेरोफेरो छ एकदमै उराठलाग्दो । तर यहाँ नरेश–सीमाको अनुरागयुक्त गुँडवरिपरि हराभरा प्रकृति छ, दिलखुस पशु–पन्छीहरू छन् । र, घरमा दुई भाइ छोरा छन् । चौध वर्षको ठूलो स्वप्निल, नौ वर्षको सानो स्वर्णिम । जन्मले, भाषाले र सायद भविष्यले पनि यी दुवै भतिज अंग्रेज हुन् । कुरा सुन्दा रमाइला छन् यी दुवै । जेठो अंग्रेजीमा कविता रच्छ । कवितामा ऊ वास्तविक उमेरभन्दा बढी परिपक्व लाग्छ । कान्छो छ फुटबलको भयानक सोखिन । सुत्दा पनि फुटबल नछाड्ने ।


आफूलाई कफीको तलतलले गाँजिसक्यो । खै त, घरबेटी कोही उठ्दैन । म के गरूँ अब ? म सुतेको कोठा बैठक र पुस्तकालय दुवै थियो । म पुस्तकालयको जासुसी गर्न थालेँ । गोर्खा लाहुरेको पुस्तकालय । हिजो लाहुरे तिघ्रा ठटाउँथ्यो, बन्दुक पड्काउँथ्यो र तालु ठोक्दै दुखिया तकदिरको बात गथ्र्यो । आज उही लाहुरे जिज्ञासु, अन्वेषणकारी र मानवीय औतारमा प्रकट भइरहेछ । आज ऊ पुस्तक बटुल्छ, पुस्तक पढ्छ र पुस्तक लेख्छ । आज ऊ सुस्केरा हाल्दै निरीह तकदिरको बात गर्दैन, बरु उन्नत विचारले, लक्ष्ययुक्त संघर्षले र सिर्जनशील उद्यमले तकदिर फेर्ने कुरा गर्छ । नरेशको पुस्तकालयमा पेरिस कम्युनका माक्र्स–एङ्गेल्स छन्, र छन् अतिरञ्जित आत्मगाथाका विनोद चौधरी पनि । त्यहाँ आत्मवृत्तान्तका बीपी कोइराला छन्, दोचाका नगरकोटी छन् र छन् उस्तै अतिरञ्जित हाई–हाईका लिक्वान हुु पनि । हरियो साइकलका गोविन्द वर्तमान र ऋतु विचारका वसन्त थापा, माङ्गेनाका युग पाठक र उत्तरआधुनिक विमर्शका गोविन्दराज भट्टराई, यारका नयनराज पाण्डे र नथियाकी सरस्वती प्रतीक्षा, दमिनी भीरका राजन मुकारुङ र दोचाका कुमार नगरकोटी, केके, केकेका योगमाया र तसलिमा नसरिन, सिमोन द बो र परशु प्रधान, वैद्य बा र आहूति, पारिजात र हर्क गुरुङ— अरे, त्यहाँ को छैन र के छैन ? पछि कफीको चुस्की लिँदै नरेशलाई सोधेँ, ‘नरेश ब्रो, यी जम्मै पुस्तक पढ्नु भा’छ ?’


‘झन्डैजसो पढ्या छु, दाजु,’ उनले भने, ‘अझ कुनैकुनै चाख नलागेर बीचैमा छाडियो होला । नत्र...’ कुरै कुरामा युग पाठकको माङ्गेनाबारे उनले बडो रोचक टिप्पणी गरे । भने, ‘पुस्तक राम्रो छ । तर कति साह्रो भाष्य–भाष्य भनिराख्या हाव दाजु ? घरीघरी यो भाष्य नभन्दा पुस्तकको भाउ नै नरहला कि जस्तो !’ सुनेर मलाई लाग्यो— गज्जपको टिप्पणी ! गम्भीर लेखकमाथि गम्भीर पाठकको गम्भीर टिप्पणी हो यो ।


अब फेरि केही कुरा उही रहस्यमय सुनुवार र सुनारका । नरेशलाई सोधेँ, ‘भाइ, हाम्रो आदिवासी–जनजाति संस्थामा दलितलाई पनि घुसाको हो ?’
के रे दाजु ? कुराको मेसो नपाएर नरेश अलमलिए । मैले प्रसंगको गाँठो फुकाएँ, ‘जङ्ग सुनुवार दलित सुनार होइनन् र ?’
नरेशको उत्तर सुनेर म त्यसत्यसै सेन्टिफ्ल्याट भएँ ।


पछि म जङ्ग सुनुवारको घरमा सरेपछि मेरो अल्पज्ञानलाई गिज्याउन अनेक सुनुवार बन्धुहरू हाजिर भए । जङ्ग सुनुवार, केदार सुनुवार, होम सुनुवार, भावना सुनुवार, कतिकति सुनुवार ! होम सुनुवारले राई जगत्को सुनुवार समुदायमथि बडो फुर्तीसाथ प्रकाश पारे । नजानिंदो उपहासको भावमा तिनले मलाई सोधे— रेडियोका पाण्डव सुनुवारको जात त थाहा होला नि ? थाहा थियो ब्रो तर कुराको तत्त्व नबुझी तिनलाई सुनार मानियो । ती हाम्रा मान्छे हुन्— शब्दशब्दमा जोड दिँदै होमले भने— ती हाम्रा राई हुन्, ती हाम्रो सुनुवारगणका गहना हुन् ।
मनमनै कान समातेर मूक भाषामा मैले भनेँ— मैले मानेँ ब्रो, अबलाई यही कुरो सदर भो । नेपाली समाजको विछट्टको विविधता मलाई शङ्कर लामिछानेको प्याजजस्तै लाग्यो ।

पत्रपछि पत्र, अर्को पत्रपछि झन् अर्को पत्र, अनि झन् अर्कोपछि... । बूढेसकालमा अहिले बुझ्दै छु— जीवनमा अज्ञानतामा कत्रो खतरा छ ! आफ्नो कति प्यारो पहिचान नै गायब बनाउन खोजेकोमा धन्न लन्डनवासी सुनुवार ब्रोहरूले मलाई...। मान्यवर, अज्ञानीहरूका लागि मानवीय उदारता सङ्कटको सहारा रहेछ ।

प्रकाशित : भाद्र ३०, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?