कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रातविरात जकार्ता

डायरी
मेरै देशमा रातको दस बजे म किन डराउँछु त ? म त राति दस बजे यसरी सडकमा निर्धक्क भएर हाँस्न सक्दिनँ त ?
सविना कार्की

काठमाडौँ — इन्डोनेसियाको जकार्ता र पालेङबाङमा एसियाली खेलकुदको १८ औं संस्करण सकिएको धेरै भएको छ । यो एसियाडमा नेपालको प्रदर्शन त सबैलाई थाहा भएकै कुरा हो । त्यसैले मैले यहाँ चर्चा गर्न चाहिनँ । यो पटकको एसियाडको रिपोर्टिङ गर्ने अवसर मैले पनि पाएकी थिएँ । पहिलो पटक यति ठूलो प्रतियोगिताको रिपोर्टिङ गर्न पाउनु मेरा लागि अवसर र चुनौती दुवै थिए । करिब १९ दिनको जकार्ता बसाइ मेरा लागि अनुभवको बोनस थियो । 

रातविरात जकार्ता

जकार्तामा नेपालबाट गएका ३० पत्रकारमध्ये हामी दुई महिला थियौं । दुवै जना टेलिभिजनमा काम गर्ने । काम सकिँदा रातको दस एघारसम्म बज्थ्यो । एसियाडका लागि बनाइएको मुख्य मिडिया सेन्टरबाट हामी बस्ने होटलको दूरी ६ किलोमिटर जति थियो । हामी बस्ने होटलको नाम भेरान्डा थियो जुन उत्तरी जकार्तामा थियो । यो होटल एसियाडको अफिसियल होटल नभएकाले हाम्रा लागि सटल बसको (एथ्लिट, पत्रकार, पदाधिकारीलगायतलाई ल्याउने र पुर्‍याउनका लागि व्यवस्था गरिएको नि:शुल्क बस सेवा) व्यवस्था थिएन । मिडिया सेन्टरमा बसेर काम गरिरहँदा मनमा एक किसिमको तनाव भइरहन्थ्यो, होटल कसरी पुग्ने, यति राति भइसक्यो, कसरी, कहाँबाट टयाक्सी लिने । कतै अन्तै पुर्‍याइदिने पो हो कि । एसियाडको उद्घाटनकै दिनको प्रसंग हो । उद्घाटनस्थल जिरोना बुङ क्रोना स्टेडियमबाट निक्सिँदा झन्डै एघार बजिसकेको थियो । विशाल स्टेडियमको कम्पाउन्डबाट सडकमा पुग्न दस मिनेट जति लाग्यो । यो बीचमा हामीले मेरो रुम पार्टनर दिदीसँग आफ्नै रंगशालाको कुरा गरे । हाम्रै देशको रंगशाला ठीक कम्तीमा गेटबाट निस्किनेबित्तिकै सडक त आउँछ । यति धेरै हिँड्न त पर्दैन । यो अरू देशको ठूलो र सुविधासम्म रंगशाला देखेपछि हामीमा आएको एक किसिमको ईश्र्या पनि भन्न सकिन्छ । टयाक्सी पायौं, भाषाको केही समस्या आइपर्‍यो । ड्राइभर हामीले भनेको बुझेनन् सायद । उनले हाम्रो होटल पुर्‍याउन धेरै समय लगाए । यो अवधिमा हाम्रो मनमा के मात्र आएन होला । यो बेलासम्म हामीसँग त्यहाँको सिम थिएन । न त इन्टरनेट नै । करिब ४० मिनेटको त्यो टयाक्सीको यात्रा पर्याप्त थियो कि हामी कति कमजोर छौं, हामीभित्रको डरले हामीलाई कसरी गाँजिरहेको छ । होटलको गेटमा पुगेर हामीले लामो सास फेर्‍यौं । लाग्थ्यो— हामीले ठूलै युद्ध जित्यौं ।


कमजोर यस अर्थमा कि काठमाडांैमा हामी सात बजेपछि निर्धक्क भएर सार्वजनिक यातायातमा यात्रा गर्ने कल्पना गर्न सक्दैनौं । बेलुकाको सात बजेपछि घर जान म हजार पटक सोच्छु । न म सहज रूपमा सार्वजनिक यातायात पाउँछु न टयाक्सीले सहुलियत दरमा (मिटरमा) घर पुर्‍याइदिन्छ । न त मेरा घरका आफन्त तनावमुक्त भएर बस्छन् । यो चिन्ताले हामीलाई काठमाडौंभन्दा धेरै विकसित सहर जकार्तामा पनि छाडेन ।


एक दुई दिनसम्म हामी काम सकेर डरैडरमा होटल पुग्ने क्रम जारी रहयो । केही दिनको बसाइपछि त्यहाँको सिस्टमको बारेमा जानकारी हुन थाल्यो । अनि हामीलाई थाहा भयो कि त्यहाँ अनलाइनबाट सहज रूपमा टयाक्सी बोलाउन सकिन्छ २४ सै घन्टा । जसको नाम ग्रयाब रहेछ । उसैको अनलाइन मोटरसाइकल सेवा पनि रहेछ । इन्डोनेसियामा ग्रयाब सबैभन्दा ठूलो अनलाइन टयाक्सी रहेछ । सुरक्षित र सस्तो पनि । त्यसपछि हामीले केही सहज महसुस गर्‍यौं तर ढिलो भयो कि मनमा आउने अनेकथरी खेल्न भने अझै छोडेन ।
एक दिन रेस्टुरेन्टबाट खाना खाएर फर्किंदै थियौं । शनिबारको दिन थियो प्राय: सबै मानिस बाहिर निस्कने भएकाले अत्यधिक जाम थियो । जकार्ता यसै पनि अत्यधिक जाम हुने सहरमा पर्छ । एसियन गेम्सको बेला सरकारले केही हदसम्म व्यवस्थापन गरे पनि शनिबार र आइतबार भने असाध्यै जाम हुने रहेछ । जामको समयमा अनलाइन टयाक्सी पाउन पनि समस्या । हामीसँग ग्रयाबको एप्समा टयाक्सी सर्च गर्नुको विकल्प थिएन । यत्तिकैमा एसियाडका लागि खटिएका महिला स्वयंसेवकहरूको एक हूल हामीतर्फ आयो । हामीले उनीहरूसँग मद्दत लिने निर्णय गर्‍यौं । उनीहरू पनि जामका कारण मोटरसाइकल नपाएर बसिरहेका छन् । झन्डै दस बजिसकेको थियो । उनीहरूले धेरै प्रयास गरे तर टयाक्सी फेला परेन । हामीमा जस्तो डर उनीहरूको अनुहारमा पटक्कै थिएन । उनीहरू सबैको टाउकोमा स्कार्फ थियो । अर्थात् मुस्लिम महिला । आफ्नो देशमा हामीलाई जस्तो डर यिनीहरूलाई किन लाग्थ्यो मेरो मनमा आएको कुरा हो यो । तर, मेरै देशमा रातको दस बजे म किन डराउँछु त ? म त राति दस बजे यसरी सडकमा निर्धक्क भएर हाँस्न सक्दिनँ त ? मुस्लिम महिलाका विषयमा पनि मेरो फरक धारणा थियो । रातको समयमा घरबाट ननिस्कने, कडा नियममा बस्ने आदिआदि । मेरो मनमा धेरै प्रश्नहरू आए । त्यसैले मैले उनीहरूसँग कुरा गरे । तीमध्ये एक जनाको नाम थियो फिक्की । उनलाई सोधें— यति राति भइसक्यो टयाक्सी, मोटरसाइकल केही पाएको छैन तिमीलाई डर लागेको छैन ? उनी मज्जाले हाँसिन् र उल्टै प्रश्न गरिन् डर ? किन डर लाग्नु र ? म त सधैं कलेजबाट घर जाँदा यस्तै समय हुन्छ । यो त सामान्य हो नि । मैले भनें— तिमी त टयाक्सीमा पनि होइन बाइकमा जान्छयौ त्यो पनि केटा मानिसले चलाएको । उनी फेरि हाँसिन् ।


मलाई लाग्यो, प्रविधिको सही प्रयोगले जीवन कति सहज बन्छ । इन्डेनेसियाका गाउँहरूमा पनि प्रविधिको पहँुचले महिलाहरूको जीवन सहज बन्दै गइरहेको उनीहरूले हामीलाई सुनाए । सेन्ट्रल जकार्तामा गाउँबाट उच्च शिक्षाका लागि आएका किशोरीहरूको त्यो आत्मविश्वास र आत्मनिर्भरताले मलाई असाध्यै लोभ्यायो । त्यसको पछाडिको कारण थियो, प्रविधिको उच्चतम सही सदुपयोग । जकार्ताको बसाइ दुई साता जति भएपछि त हामी पनि निर्धक्क भएर होटल पुग्ने आत्मविश्वाशी महिला बन्यौं । हामी पनि मध्यरातमा टयाक्सीमा सजिलै हुइँकिन लागेका थियौं । यदि गलत भएमा के गर्ने भन्ने उपाय हामीसँग रहेको फोनमा थियो । एसियाड सकेर स्वदेश फर्किंदै गर्दा मनमा लाग्यो— यदि नेपालमा पनि सहज र सुरक्षित रूपमा रातको समयमा महिलाले घर फर्कने सक्ने वातावरण भइदिए... ।

प्रकाशित : भाद्र ३०, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?