कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यसकारण नेपाल चुक्यो

फुटबल
राजु घिसिङ

काठमाडौँ — नेपाली टिमलाई साफ च्याम्पियनसिप २०१८ मा समूह चरणको नतिजाको आधारमा उपाधिको मुख्य दाबेदार मानिएको थियो । तर, ढाकामा भइरहेको प्रतियोगितामा नेपाललाई समिफाइनलमा बुधबार माल्दिभ्सले ३–० हराइदियो ।

यसकारण नेपाल चुक्यो

त्यसैले पहिलोपल्ट साफको फाइनल पुग्ने नेपालको सपना यसपालि पनि तुहियो । नेपाली टिमको असफलतामा मुख्य ५ कारण :


ओभर कन्फिडेन्स
जापानी प्रशिक्षक ग्योतोकु कोजीलाई ओभर स्टेको कारण नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइएपछि साफ च्याम्पियनसिपको ठीक दुई साताअघि एन्फाले बालगोपाल महर्जनलाई राष्ट्रिय टिमको कार्यबाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । त्यसअघि महर्जनले कोजीको सहायकको रूपमा १८ औं एसियाली खेलकुदमा काम गरेका थिए ।


प्रशिक्षक महर्जनले साफमा नेपालको लक्ष्य प्रस्टै भनेका थिए, उपाधि जित्ने । सन् १९९३ मा सार्क गोल्डकपको रूपमा सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमाथि कहिल्यै उक्लिएको छैन । राउन्ड रोबिन लिगको आधारमा भएको पहिलो संस्करणमा तेस्रो भएको नेपाल १९९५, १९९९, २०११, २०१३ मा सेमिफाइनलमा हारेको थियो । यसपालि अन्तिम चारमा पुगेर हारेको पाँचौंपल्ट हो । त्यसैले कहिल्यै फाइनल नपुगेको टिमको लक्ष्य पहिले सेमिफाइनल पार गर्ने हुनुपर्छ अनि मात्रै उपाधि जित्ने ।


यसपालि पहिलो खेलमा पाकिस्तानविरुद्ध हारेपछि नेपाल समूह चरणबाटै घर फर्किने डर बढेको थियो । तर, भुटान र आयोजक बंगलादेशलाई पराजित गरेर सेमिफाइनल यात्रा तय गर्‍यो । त्यसलगत्तै प्रशिक्षक महर्जन र खेलाडीहरूले नेपाली टिम उपाधि जित्नकै लागि ढाका पुगेको बताएका थिए । मैदानमा भने नेपालको खेल च्याम्पियन हुने खालको पटक्कै थिएन । जब कि डिफेन्डिङ च्याम्पियन भारतले समूह चरणमा शतप्रतिशत जित हासिल गरे पनि हरेक खेलमा राम्रो गरेर अगाडि बढ्ने योजना बताइरहेको थियो ।


देशको प्रतिनिधित्व गरेर मैदानमा उत्रिएपछि ज्यान दिएर खेल्छु भन्ने भावना खेलाडीमा हुनुपर्छ र त्यसैअनुसार मैदानमा मिहिनेत देखिनुपर्छ । ओभर कन्फिडेन्स भएकाले पनि यस्तो स्थिति आएको हुन सक्छ ।

कमजोर डिफेन्स
साफमा माल्दिभ्स यस्तो भाग्यमानी टिम हो, जो समूह चरणमा गोल नगरेरै पनि सेमिफाइनल पुग्यो । समूहमा एक हार र बराबरी खेलेको उसले ‘टस’ मा श्रीलंकालाई पन्छाएर अन्तिम चारको यात्रा तय गरेको थियो । तर, उसले प्रतियोगितामा गोलको खाता खोलेको खेलमै नेपाललाई ३–० ले हराइदियो । तीनै गोल नेपाली डिफेन्सको कमजोरी भए ।


फ्रिकिकमा सुमन अर्याल सचेत नहुँदा पहिलो गोल भयो । पेनाल्टी क्षेत्रमा दिनेश राजवंशीले दुईपल्ट क्लियर गर्न नसकेको बलमा दोस्रो गोल भयो । तेस्रो गोलको मुभमा नेपाली ५ खेलाडी बलतिर झुम्मिएर माल्दिभ्सका तीन खेलाडीलाई बिनानिगरानी पेनाल्टी क्षेत्रमा रहन दिइएको थियो । त्यसमा पनि जहाँ आदित्य चौधरी रहेका थिए, त्यहींबाटै बलले गोल लाइन पार गर्‍यो ।


हुन त नेपालले पाकिस्तानविरुद्ध २–१ को हारमा पनि दुवै गोल आफ्नै गल्तीमा बेहोरेको थियो । कप्तान विराज महर्जनले अनावश्यक रूपमा ठेल्न पुग्दा पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसैमा नेपाल पछाडि परेको थियो । अनि दोस्रो गोल, तीन नेपालीले पेनाल्टी क्षेत्रमा बेवास्ता गरेका रेजा अलीले गरेका थिए । प्रतियोगिताका चारै खेलमा नेपाली डिफेन्स साह्रै सुस्त देखिए । हरेक बलमा उनीहरूको प्रतिक्रिया अत्यन्तै ढिला र त्यस्तै गल्तीहरू । त्यसैले डिफेन्सको प्रदर्शनलाई हेर्ने हो भने नेपालले निकै कम गोल बेहोरेको हो ।

फितलो फिनिसिङ
यो साफको समूह चरणमा सर्वाधिक सात गोल गर्ने टिम हो नेपाल । त्यसमा गोल गर्ने ६ खेलाडी रहे । विमल घर्तीमगरले दुई गोल गरे तर बंगलादेशविरुद्ध उनले गरेको गोल विपक्षी गोलकिपरको उपहारजस्तै थियो । उनी भुटानविरुद्ध त पेनाल्टीमा पनि चुकेका थिए । भरत खवासले भुटानविरुद्ध र नवयुग श्रेष्ठ बंगलादेशविरुद्ध गरेका गोल स्तरीय थिए । प्रतियोगितामा नेपालको बाँकी ५ गोल ‘सेट पिस’ मा भएको थियो ।


हाम्रा कुनै पनि फरवार्ड बल पायो भने विपक्षी डिफेन्सलाई उछिनेर गोल गर्न सक्छन् भनेर विश्वास गर्ने खालका देखिएनन् । पाएको अवसरलाई मात्रै उपयोग गर्ने हो भने पनि नेपालले माल्दिभ्सविरुद्ध त्यति ठूलो अन्तरको हार खेप्नुपर्ने थिएन । माल्दिभ्सविरुद्ध भरत खवासले दुईपल्ट खुला अवसरमा पनि बल बाहिर हानेका थिए । उनले दाहिने खुट्टाले सिक्स यार्ड बक्सबाट बाहिर हानेको बललाई गोलमा परिणत गर्न सकेको भए नेपालले खेलमा पुनरागमन गर्न सक्ने अवसर थियो । विमल र नवयुगले पनि अवसर पाएका थिए तर उपयोग गर्न सकेनन् ।


माल्दिभ्सको टिममा प्रभावशाली फरवार्ड अली अस्फक थिएनन् । उत्तिकै उत्कृष्ट अरू फरवार्ड छैनन् तर, अग्रपंक्तिमा उनको अभावलाई अरूले पूरा गरिदिए । नेपाली टिममा भने खेलमा एउटै मात्र अवसर पायो भने पनि त्यसलाई उपयोग गर्न सक्ने वा आफैं अवसर सिर्जना गरेर खेल मोड्न सक्ने फरवार्डको कमी निरन्तर देखियो । क्रिकेटमा ब्याटिङजस्तै फुटबलमा उत्कृष्ट फिनिसिङ नहुनु नेपालको परम्परागत कमजोरी हो ।

म्याच फिटनेसको कमी
मिडफिल्डर सुनील वलले भुटानविरुद्ध चार खेलाडीलाई उछिन्दै तीव्र गतिमा बल अघि बढाइरहेका थिए । मैदानको मध्यभाग पुग्नुअघि उनीभन्दा अगाडि रहेका विमल घर्तीमगरको दौडाइ साह्रै सुस्त थियो । बल गुडाउने खेलाडीभन्दा बलबिना दौडने खेलाडीको गति तीव्र हुनुपर्ने हो । तर, बल लिएर सुनील अगाडि बढिरहँदा विमल भने पछाडि परिसकेका थिए । उनको गति सुस्त हुनुमा फिटनेसको अभाव हुन सक्छ ।


माल्दिभ्सविरुद्ध सेमिफाइनलमा २७ मिनेटपछि खेल वर्षाले आधा घन्टा रोकिएको थियो । फेरि खेल सुचारु भएपछि नेपाली खेलाडीहरू दौड्नै सकिरहेका थिएनन् । फ्रिकिक प्रहार गर्दा पनि खेलाडीहरू चिप्लिरहेका थिए, दौड्नै प्रयास गर्न नचाहेजस्तो देखिएको थियो । हिलाम्य मैदानमा फरक बुटको अभाव वा शरीरको ऊर्जा नै सकिएको जस्तो नेपाली देखाडीमा देखिन्थ्यो । जताततै छाइरहेका सुनील वललाई पनि अन्त्यतिर गाह्रो परेजस्तो देखिएको थियो । त्यही हिलाम्य मैदानले माल्दिभ्सलाई भने खासै फरक पारेन ।


हरेक खेलको अन्त्यतिर नेपाली खेलाडी थाकेजस्तो देखिएका थिए । लामो अवधि सञ्चालन हुने लिग वर्षौंदेखि नहुनु र व्यवस्थित प्रतियोगिता नियमित आयोजना नगर्नुले खेलाडीमा ‘म्याच फिटनेस’ को अभाव देखिएको हुन सक्छ ।

रणनीतिक कमजोरी
डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध २–० ले हारेको माल्दिभ्सको टिमको पहिलो रोजाइमा प्रशिक्षक पिटर सेगर्टले नेपालविरुद्ध खेल्दा ५ खेलाडी परिवर्तन गरेका थिए । ती पाँचै खेलाडी मैदानमा फरक पोजिसनमा थिए तर सबै जना फरवार्ड थिए । सेगर्टको त्यो रणनीतिलाई नेपाली प्रशिक्षक बालगोपाल महर्जनले बुझ्न सकेनन् ।


६ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका मिडफिल्डर निराजन खड्का माल्दिभ्सविरुद्ध मैदानमै हराइरहेका थिए । तर, उनलाई परिवर्तन गर्न महर्जनले एक घन्टा लगाए । एक गोलले पछाडि परेको अवस्थामा डिफेन्डर सुमनको स्थानमा मिडफिल्डर विशाल राईलाई मैदानमा पठाउने उनको निर्णय पनि प्रत्युत्पादक थिएन । सधैं पराजित गरिरहेको भुटानबाहेक अरू टिमविरुद्ध ‘अटयाकिङ थर्ड’ मा नेपालले दबाब दिन सकेन ।


समूह चरणमा पूर्णत: लेफ्ट विंगर रहेका सुजल श्रेष्ठलाई सेन्ट्रल मिडफिल्डमा खेलाउनु प्रशिक्षक महर्जनको प्रयास आफ्नै लागि खतरनाक थियो । विमलको ब्याचका सुनील वललाई उनले यू १९ टिममा पनि खेलाएका थिए । तर, उनले सुनीललाई पाकिस्तानविरुद्ध दोस्रो हाफमा मात्र खेलाएका थिए भने त्यसयता निरन्तर पहिलो रोजाइमा राखे । आखिर यो साफको बसभन्दा प्रभावशाली नेपाली खेलाडी सुनील नै भए । उनको प्रतिभा बेलैमा पहिचान गरेको भए पाकिस्तानसँग हार्नुपर्ने थिएन कि ?


नेपालले बंगलादेशविरुद्ध १–० को मात्र अग्रता लिएको थियो । तर, त्यही स्कोरमा प्रशिक्षक महर्जनले तीन खेलाडी परिवर्तन गर्न पाउने कोटा पूरा गरेर चुनौती मोलेका थिए । उनले माल्दिभ्सविरुद्ध अन्त्यतिर थकित देखिएका सुनीललाई परिवर्तन गर्ने हिम्मत पनि गरेनन् । निराजन, अञ्जन विष्ट र विशाल राईले खासै खेल्न नसकेको अवस्थामा पनि हेमन गुरुङ र हेमन्त थापालाई उपयोग गर्ने प्रयास गरेनन् । डिफेन्समा एकपछि अर्को निरन्तर गल्ती गरे पनि घरेलु प्रतियोगितामा सबभन्दा राम्रो लयमा रहेका देवेन्द्र तामाङलाई मैदानमै उतारेनन् । जबकि देवेन्द्र एसियन कप छनोटमा यमनविरुद्ध उत्कृष्ट खेल देखाइसकेका थिए ।


साफको टिम छनोटमै पनि प्रश्न तेर्सिएको थियो । राष्ट्रिय टिमका नियमित डिफेन्डर कमल श्रेष्ठलाई प्रशिक्षक महर्जनको २० खेलाडीको सूचीमा अटाएनन् । जबकि उनको प्रदर्शन पहिलो रोजाइका कुनै पनि डिफेन्सको तुलनामा फितलो थिएन । र, पुलिसका लागि घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका मिडफिल्डर तेज तामाङलाई पनि अन्तिम छनोटमा फालिएको थियो । साफमा खेलाडीको जोस, दौड्ने गति र आक्रामक खेल हेर्दा नेपाली टिममा उनको अभाव प्रस्टै देखिएको थियो ।


राष्ट्रिय लिग २०७१–७२ मा भएको थियो । राजधानीको सहिद स्मारक ए डिभिजन लिग २०७० सालयता पहिलोपल्ट आयोजना गर्ने संघारमा छ । केही वर्षयता नेपाली फुटबल मोफसलका प्रतियोगितामै निर्भर छ । त्यसैले देशको प्रतिनिधित्व गर्ने टिम छनोट गर्नका लागि प्रशिक्षकले खेलाडीको कति खेल हेरेका थिए ? यसले पनि प्रशिक्षकको टेक्निक र टयाक्टिसमा प्रभाव पार्दछ । तर, साफमा बालगोपाल भने सफल देखिएनन् ।

प्रकाशित : भाद्र ३०, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?