म छिमेकी केटो

सत्पात्र
राजेश केसी

काठमाडौँ — सानो छँदा माधवप्रसाद घिमिरेका कविता पढ्नुपथ्र्याे । त्यो कविता लेख्ने आफ्ना छिमेकी हुन् भनी धाक पनि लगाइयो ।

म छिमेकी केटो

स्कुलमा उनको बारेमा गफ पनि हाँकिन्थ्यो, मानौं उनीसँग मेरो गतिलै हिमचिम छ । वास्तविकताचाहिं, उनका छोरानातिसँग चिनजान भए पनि आफू कहिल्यै उनको अगाडि पर्न सकिनँ । अहिले बुझ्दा, उनको तेजिलो प्रतापका कारण म नजिक पर्न नसकेको रहेछु । उनी अब शताब्दी पुगे । आधा शताब्दीदेखि म भने उनको वरिपरि नै छु ।


ब्ल्याकफरेस्ट केक सकेपछि कविवरले सोधे, “आज ‘फलानो’ को जन्मदिन हो ?”
मैले ‘कविवरसँग जहिले भेट जुर्छ, जन्मदिन मनाइन्छ † खासमा चैं फागुनमा पर्छ ।’ भन्न नपाउँदै उनले फेरि भने, ‘लौ सम्झनुस् त, तपाईंको पछिल्लो कार्टुन ।’ मैले झट्टै सम्झन सकिनँ, अल्मलिएको देखेर उनी हाँसे । कविवरसँगको पछिल्ला भेटघाटको क्रममा मलाई आफैं पो सय वर्ष पुगेझैं भयो । कविवरको स्मरणशक्ति भने गजब छ बा । तर, प्राय: आगन्तुक पाहुना या भेट्ने जतिले उनीसँग बुढयौली, सन्चो–बिसन्चोका गफ गर्छन् अरे । उमेरका गफ गर्छन् अरे । तर, बातचितमा सुर पक्डेपछि उनी ‘डोनाल्ड ट्रम्प’ देखि उत्तर कोरियाका ‘उन’ लगायत, राजनीति, संगीत, साहित्य र दर्शनशास्त्रका गफसमेत गर्छन् । एकै बसाइमा ३–४ घन्टा बित्छ अहिले पनि । ‘मलाई चिन्नुभो ?’ भन्ने बुढयौली प्रश्न सायदै रुचाउँछन् उनी ।कविवरलाई भेट्न जाँदा प्राय: ‘फलानो’ का ‘केक’ लिएर जाने गर्छु । उनलाई ‘ब्ल्याकफरेस्ट’ मन पर्छ । ‘म गाजरको खान्न’ क्यारोट केक देखाउँदै भनेका थिए एक दिन । पाँच वर्षअघि उनको ९५ औं जन्मोत्सवको दिन पनि ‘सरप्राइज’ दिन ‘केक र क्यान्डल’ लिएर पुगेको थिएँ साथीहरूसाथ उनकै घरमा । त्यो दिन फूलमाला लगाएर बसेका कविवर निकै हर्षित र ठटयौली मुद्रामा थिए । करिब दुई घन्टा गीत, साहित्य र ठटयौलीमा बित्यो । पन्चान्नब्बे पुगेकाले मैले ‘नाइन’ र ‘फाइब’ अक्षरको ‘क्यान्डल’ पनि लगेको थिएँ । मैले ठट्टा गर्दै ‘क्यान्डल’ उल्टयाएर छपन्न पारेँ । ठट्टैमा उनले थपे, ‘उमेर त खास यत्ति नै पो हो त मेरो †’ कोठा हाँसोले भरिएको थियो । त्योताका उनका प्राय: दिन महाकाव्य लेख्नमा बित्ने गरेका थिए ।
...

कविवर मेरा छिमेकी पनि हुन् । उनको घरबाट तीन कित्ता दक्षिण मेरो घर, लैनचौर । हामी टोलेका लागि कविवर ‘राष्ट्रिय गौरव’ त थिए नै, मेरो लागि त थप ‘ल्यान्डमार्क’ पनि । कसैलाई आफ्नो ठेगाना बताउन परे सगर्व ‘कवि माधवप्रसाद घिमिरेको घरको तीन घर दक्षिण गैरोमा हो मेरो घर’ भन्ने गरेको छु मैले ।

सानो छँदा उनका कविता पढ्नुपथ्र्याे । त्यो कविता लेख्ने आफ्नो छिमेकी हुन् भनी धाक पनि लगाइयो । स्कुलमा उनको बारेमा गफ पनि हाँकिन्थ्यो, मानौ उनीसँग मेरो गतिलै हिमचिम छ । वास्तविकता चाहिं, उनको घरमा मेरा मित्र डेरा गरी बसिदिनाले मलाई उनको हालचाल थाहा हुने नै भयो । उनका छोरानातिसँग चिनजान भए पनि आफू कहिल्यै उनको अगाडि पर्न सकिनँ । उनी आँगनमा भएको बेलामा साथीको कोठाबाट पनि निस्कन नसक्ने । अहिले बुझ्दा, उनको तेजिलो प्रतापका कारण म नजिक पर्न नसकेको रहेछु । उनी अब शताब्दी पुगे । आधा शताब्दीदेखि म भने उनको वरिपरि नै छु । साह्रै शालीन, प्रतिभाशाली, प्रभावशाली व्यक्तित्व । कसैलाई भगवान्ले सिर्जनशीलता पनि दिईकन यतिबिघ्न ‘मधुर’ पनि बनाउँदा रहेछन् । उनको शिष्टताको छिटा मात्रै परे पनि मानिस कहलिने हुनन् । सानैदेखि उनी मेरा नगन्यमध्येका ‘आराध्य व्यक्ति’ हुन् । मेरो कार्यकक्षमा पनि कविवर मुग्ध हाँसेको ठूलो तस्बिर झुन्डिएको छ । उनको त्यो तस्बिरले मलाई सिर्जना फुराउन धेरै मद्दत गरेको छ ।

म चाहन्थेँ, म छिमेकी केटो मात्र नभई मसँग उनलाई दिन सक्ने परिचय पनि होस् । मेरो कार्टुनकारिताको डेढ दशकपछि उनी सामुपर्ने अलिअलि साहस आएको थियो ममा । त्यो भनेको उनलाई चिनेको तीन दशकपछि म आफ्नो परिचय दिन कस्सिएको थिएँ । यी परिचयका एकल बृहस्पतिसँग म मेरो सूक्ष्म परिचय गोजीको कतै कुनामा लुकाएर अगाडि पर्ने साहस गरेँ एक दिन । अविस्मरणीय क्षण कैद गर्ने आशा लिएर भर्खरै भित्रिएको सानो डिजिटल क्यामेरा बोकेर उनको घरतिर उक्लिएँ । उनी आफ्नी जीवनसंगीसँग बगैंचामा व्यस्त थिए । मलाई अझै भित्र छिर्ने आँट भने आएन । घरअगाडि अग्ला धुपीका बोट र नीलकाँडा झ्याङ्सहितको इँट पर्खाल । कुर्कुच्चा उचाली एक छिन हेरिरहेँ अनि पर्खालबाहिरबाटै हात जोडेर आवाज गरेँ ‘नमस्ते कविज्यू † आरामै हुनुहुन्छ ?’ कविवर म भएको झ्याङतिर फर्किए, नजिक आए ।

‘आरामै छु । अनि बाबु ?’ उनको प्रश्न मेरो हालखबरभन्दा पनि परिचयमा केन्द्रित थियो ।
‘हजुर म यहीं तल बस्छु । मेरो नाम राजेश केसी हो । म कान्तिपुर पत्रिकामा कार्टुन बनाउँछु ।’
‘ए ! अँ... हँ हो ! आज किन कार्टुन छैन नि, कान्तिपुरमा तपाईंको ?’
त्यसै दिन थिएन पनि । उनको यो प्रतिक्रियाले भने मलाई एक छिन अत्यायो । सधैं पत्रपत्रिका, समाचार, किताबका अध्ययनशील देखिने उनी कार्टुनहरू पनि नबिराई हेर्ने रहेछन् । पर्खालबाहिरबाटै एक्कैछिन भलाकुसारीपछि मैले अनुमति मागें, ‘के म तपाईंको तस्बिर लिन सक्छु ?’
‘यही लुगामा लिने र ? ‘हुन्छ लिनुस्’ भन्दै उनी कुर्ता मिलाउँदै उभिए । त्यो क्षण मेरो तीन दशकको कमाइ थियो ।
...

कविवर माधवप्रसाद घिमिरेको अध्ययन, दर्शन, चिन्तन, स्मरणशक्ति, संकल्प, वर्तमान विश्वमाथि अपडेट र व्यंग्य–ठट्टा सुनिरहँदा, लाग्दैन उनी १०० वर्षका भइसके । अझै पनि उनी आफ्ना रचना होस् या आफूले पढेको अरूका रचना, फरक शैलीको अनन्य कम्पनपूर्ण आवाजमा खर्ररै भन्छन् । उतिबेलैदेखि उनको शब्द चयन र शब्दशब्दको संरचनात्मक कला अद्भुत छन् त भन्नै परोइन ।

पाँच दशकअघि निरंकुश राजनीतिमाथि पोखेको यो प्रतीकात्मक विम्ब, त्यसपछिका अठार हजार दिन, दिनहुँ सान्दर्भिक रहयो आजका दिनसम्म पनि— इतिहासको निर्दलीय शासनकाल होस् या निर्मल निवासीय शासनकाल होस् या वर्तमान निर्मला पन्तकाल ।

सारंगी त रेटे पनि बोल्छ मीठै ध्वनि
मै कसरी मधुर बनाऊँ निठुरीलाई पनि

गाली गरौं आफ्नै बोली अपवित्र हुन्छ
यसै बसौं असत्यको त्यसै जित हुन्छ
मूच्र्छा परी बर्बराउँछिन् सरस्वती पनि

पहिलो गल्ती रमाईरमाई दोस्रो गल्ती रोई
यो पापमा नमुछिने छैन मान्छे कोही
क्षमा गर्न सक्दिनँ म आफैंलाई पनि

मै रमिता हेरिरहेछु रेटिँदै छ आत्मा
को हत्यारा भनूँ आज रगत छैन हातमा
किन आज डराइरहेछु मरेँ भन्न पनि ।
...

पछिल्लो एक पटकको भेटघाटमा उनी नेपाली साहित्य र नेपाली लोक साहित्यमा बढी केन्द्रित थिए, उनैको बैठकमा ठयाक्कै सवा दुई घन्टा लामो उनको धाराप्रवाहमा वर्तमान राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिबारे पनि आफ्नो विचार राख्न छुटाएनन् । अद्भुत पक्ष के भने, उनका बोलीवाक्य सम्पादन गर्न थाले अनर्थ हुन्छ अर्थात् गर्नै पर्दैन । बेलाबखत उनी राजनीतिमाथि पनि पोखिने गर्छन्, भन्छन् ‘मलाई राजनीति थाहा छैन । मैले साहित्यमा जीवन अर्पेँ । मैले दर्शन अध्ययन गरेको छु । तिनै कुराबारे म आफ्नो अनुभूति मात्र राख्न सक्छु । म नै सही हो भन्ने पनि होइन । ‘परिवर्तनका संवाहक राजनीतिका मान्छेहरू हुन् । पहिले समाजवाद थिएन, व्यक्तिवाद मात्रै थियो । अहिलेको प्रजातन्त्रमा समाजवाद हावी छ । अहिले ६०–७० वटा त समाजवादै होला विश्वमा । जापानको समाजवाद अर्कै किसिमको, नेपालको समाजवाद अर्कै किसिमको । नेपालको समाजवाद कस्तो त ? समाजवाद भन्दै छ, भृकुटी कारखाना खत्तम, जनकपुरको चुरोट कारखान खत्तम, चिया कारखाना, जुत्ता कारखाना सबै खत्तम । मुखले चैं समाजवाद । कस्तो विडम्बना (हाँसो) । हामी मूर्ख भएपछि त्यस्तै हुन्छ ।’

‘राजनीति समाज–विज्ञानको कुरा हो । दर्शनको एक भाग हो । समाज मात्रै होइन मान्छे, व्यक्ति पनि हो । परिवर्तन भन्दैमा उहिलेको कुरालाई बिल्कुलै छोडेर नयाँमा हाम्फाल्न सक्दैन । सत्य उद्घाटित गर्ने काम चिन्तनशील मान्छेले बढी गर्छन् ।’

राजनीतिलगत्तै साहित्यमा प्रवेश गर्दै उनले सुनाए, ‘हाम्रो साहित्य नौ रसको हुन्छ । रस भनेको आनन्द । आनन्द के को त ? त्यो भावनालाई लिइएर गरिएको छ । हृदयपक्षमा उठेको चीज हो हाम्रो साहित्य । त्यसको पक्ष नै सिङ्गो छ हाम्रो साहित्यमा । पश्चिमाले हेर्दा अध्ययन नदेख्लान् यसमा । तर, पश्चिमाको नक्कल गर्ने हाम्रा प्राध्यापकले, उताको कुरा नभनीकन यताको कुरा पत्याउँदैनन् भनेर, नबुझे पनि उताको कुरा भन्दै गर्छन् । यतैको कुरा बुझाइदिए सजिलो हुन्थ्यो ।’

‘अहिले त हृदयपक्षलाई मस्तिष्कपक्षले दबाएको छ । यो सही कुरो होइन । दुवैको सन्तुलन हुनुपर्छ ।’‘पहिले हाम्रो साहित्य थिएन भन्ने हो भने लोकभाषामा जाऊँ न त । त्यो पनि त साहित्य हो । कालिदास त पहिले पनि थिए नि त । हाम्रो भाषामा पो कालिदास आउन बाँकी भो, त्योचैं अलग कुरा हो । तर, मानवजातिमा पहिले पनि त थियो नि साहित्य ।’‘हाम्रो लोकभाषाको अभिव्यक्तिको सामथ्र्य बिस्तारै हराउँदै गयो । त्यो पनि ‘टेक्निकलै’ भइसक्यो, अब के भन्ने ? तिनलाई शब्दकोशमा व्याख्या गर्न सकिंदैन । साहित्यले प्रयोगबाटै जोगाउन पर्‍यो ।’

‘हाम्रो कौडा नृत्यमा एउटै गीत गाइराख्या हुन्छ, संगीत परिवर्तन भएको छैन, तैपनि नयाँनयाँ लागिराख्छ । कस्तो अचम्म हाम्रो साहित्यमा ! वास्तवमा त्यो लयले मुग्ध पारेको हो । लेखनाथले एक ठाउँमा पकडयाछन्— कोइलीको कुहुकार सुन्यो राति जतिजति, उतिउति नयाँ लाग्छ यो सारा सृष्टि पद्धत्ति ।’
‘मेरो आग्रह हो विनाशकारी चीजको आविष्कारै नगरौं भन्ने । अहिलेका शक्तिशाली ट्रम्प, अनि उत्तर कोरियाको होड चल्दै छ । व्यक्तिको हातमा विनाशकारी आणविक हतियार छ । प्रयोग गरे अनर्थ हुन्छ ।’
...

कविवरलाई राज्यसत्ताले ‘राष्ट्रकवि’ घोषणा गर्‍यो । सैनिक संस्थाले मानार्थ ‘जर्नेल’ मानपदवी ओढायो । सर्जकको ओहदा र पदवी हुँदैन । तिनको सिर्जनाको बयान र लोकप्रियता नै साधन प्राप्ति हो । हाड मांसपेशीले निर्मित ‘सगरमाथा’ लाई परिचयात्मक पदवी चाहिएला र ? त्यसकारण, मेरा लागि भने उनी सदैव सर्वसत्ता हुन्, शिक्षण संस्था (विश्वविद्यालय) नै हुन् ।

गत वर्ष मैले जिज्ञासा राखेको थिएँ, “कविज्यू, मैले हजुरको ९५औं जन्मदिनमा ‘अर्को जन्मदिनमा महाकाव्य विमोचन गर्ने वाचा गर्नुभएको छ’ लेखेको थिएँ, अब के लेखौं ?” उनको जवाफ थियो, ‘लेख्नका लागि लेख्ने हैन † ...भन्नासाथ कसरी आउँछ ? लेखेपछि पढ्न लायक हुनुपर्‍यो, स्तरीय हुनुपर्‍यो । ...तपाईंले पनि त कसोकसो फ्याट्ट कोर्नुहुन्छ, छक्क पार्ने कोर्नुहुन्छ । कसरी कोर्नुहुन्छ ? ...मेरो कहिले के भएको छ, कहिले के हुन्छ, सोच्नुपर्‍यो, लेख्दै छु । कतिखेर कतिखेर आउँछ, अब छिट्टै सकिन्छ होला ।’‘शताब्दी मनाउने ताका मेरो महाकाव्य प्रकाशित हुन्छ । हतपतले सिर्जना नबिग्रियोस् भन्ने मेरो सोच हो ।’
मैले चोटिलो जवाफ पाएँ । वास्तवमा मलाई हतारमा थियो, उनलाई भने थिएन । एकै छिन सोचेँ अनि निष्कर्ष आयो, उनी नहतारिनुमा औधी खुसी पनि लाग्यो र, मनमनै गमेँ— अझै पाँच सात बर्ष लगाउनुस् कविवर !
जहिले भेट होला है राजै यो जिन्दगानीमा !

प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?