२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विश्व हल्लाएको त्यो तस्बिर

सन्र्दभ
सुरेशराज न्यौपाने

काठमाडौँ — दक्षिणी भियतनाम र उत्तरी भियतनामबीचको युद्ध उत्कर्षमा थियो । दक्षिणी भियतनामी सेनाको पक्षमा अमेरिकी सेना प्रत्यक्ष रूपमा युद्धमा होमिएको थियो ।

विश्व हल्लाएको त्यो तस्बिर

पचास हजारभन्दा बढी अमेरिकी सैनिकको युद्धका क्रममा मृत्यु भइसकेको थियो । अमेरिकी सेनामा भइरहेको क्षतिलाई लिएर देशभित्रै युद्धका विरुद्ध विरोधका स्वरहरू चर्को हुँदै गएका थिए ।

तर, अमेरिकी सेनाले उल्लेख्य सफलता हासिल गरिरहेको भन्दै राष्ट्रपति रिचर्ड निक्सन आफ्ना जनतालाई आश्वस्त पार्दै थिए । ‘कम्युनिस्ट गुरिल्लाहरू’ विरुद्ध निर्णायक युद्ध लडिरहेको र भियतनामका सर्वसाधारण जनतामाथि कुनै हमला नभएको भन्दै अमेरिकाले भियतनाम गरेको सैनिक हस्तक्षेपको उनी बचाउ गरिरहेका थिए । तर, सन् १९७२ जुन १२ मा न्युयोर्क टाइम्समा प्रकाशित एउटा फोटोले निक्सनको उक्त दाबीलाई गलत साबित गरिदियो ।

उक्त तस्बिरमा एक जना निर्वस्त्र बालिका र अरू बालकसँगै सडकमा चिच्याउँदै दौडिरहेकी थिइन् । ती बालिकाको शरीरको अधिकांश भाग चलेको थियो साइगन (हालको राजधानी चि मि सहर) छेउको गाउँ ट्रागं बांगमा अमेरिकी सेनाले विशेष किसिमको घातक रसायनयुक्त नपाम बम खसालेपछि उनीहरू ज्यान जोगाउन भागिरहेका थिए । न्युयोर्क टाइम्समा प्रकाशित उक्त तस्बिरले भियतनाम युद्धप्रतिको विश्वको अवधारणा नै पूरै बदल्यो । किनकि त्यो तस्बिर भियतनाम युद्धको विभीषिका चित्रण गर्न पर्याप्त थियो ।

त्यसपछि अमेरिकी हस्तक्षेपलाई लिएर अमेरिकामा मात्र होइन विश्वव्यापी रूपमै चर्को विरोध सुरु भयो । विद्यार्थीदेखि सर्वसाधारणसम्म लडाइँको विरोधमा सडकमा उत्रिए । पूरै विश्व जनमत नै अमेरिकाको विपक्षमा उत्रियो । उक्त तस्बिरले कम्युनिस्ट विरुद्ध मात्र लडाइँ गरिरहेको भन्ने अमेरिकी दाबीलाई गलत साबित गरेको थियो । त्यही विरोधकै कारण अन्तत: राष्ट्रपति निक्सनले भियतनामबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे ।

विश्व राजनीतिलाई नै नयाँ मोड दिने त्यो ऐतिहासिक तस्बिरलाई क्यामरामा कैद गरेका थिए अमेरिकी समाचार एजेन्सी २१ वर्षीय फोटोग्राफर भियतनामी नागरिक हुगं कंग उत अर्थात् निक उत । ‘नपाम गर्ल’ का रूपमा समेत चिनिने त्यस तस्बिरले निकलाई सन् १९७३ को प्रतिष्ठित पुलित्जर पुरस्कार पनि दिलायो । र, उक्त तस्बिर वल्र्ड प्रेस फोटो अफ त इयरबाट समेत सम्मानित भएको थियो ।

भारतको राजधानी नयाँदिल्लीमा भेटिएका यिनै चर्चित फोटोग्राफर निक उत (६७ वर्ष) ले भियतनाम युद्ध, उक्त ऐतिहासिक तस्बिर र आफ्नो फोटोग्राफी जीवनका रोचक पाटाहरू एकपछि अर्को गर्दै फुकाए । ८ जुन १९७२ को दिन एपीका फोटोग्राफर उत साइगनको छेउछाउका गाउँमा गएर युद्धको असर र प्रभावको तस्बिर लिने ‘एसाइमेन्ट’ पाएका थिए ।

त्यो दिन सिमसिम पानी पनि परिरहेका थियो । निक र अन्य तीन जना फोटोग्राफर साइनगनभन्दा करिब २५ किलोमिटर टाढा रहेको ट्रागं बांग गाउँ पुगेका मात्र थिए, एक्कासि लडाकु विमानबाट गोलाबारी हुन थाल्यो । लडाकु विमानहरू बस्तीलाई नै छुने जसरी तलैबाट बम बसाल्न थाले । गाउँ पूरै आगो र धूवाँको मुस्लोमा परिणत भयो । त्यसको केही बेरमै गोलाबारीको केही बेरमै गाउँतिरबाट एक हूल मानिसहरू ज्यान बचाउँदै भाग्दै आइरहेका थिए । एक जना महिला पूरै शरीर जलेको बच्चालाई काखमा च्यापेर बचाऊ बचाऊ भन्दै निकहरू भएतिर आइरहेकी थिइन् । ‘म धमाधम ती महिला र बच्चाको फोटो खिच्न थालेँ’ निकले सम्झिए ।

ती महिला र बच्चाको तस्बिर लिँदै गर्दा उनको क्यामराको ‘भ्युफाइन्डर’ मा एउटा नांगी बच्ची सडकमा दौडिरहेको देखिइन् । त्यसपछि उनको क्यामरा तिनीतिर सोझियो । ती बच्चीको शरीरको अधिकांश जलेको थियो । आफ्नो भाइसँगै उनी पनि रुँदै राजमार्गमा दौडिरेकी थिइन् । शरीरको अधिकांश भाग जलेको थियो । तस्बिर खिचेपछि आफूसँग भएको पानीको बोटलबाट उनको शरीरमा पानी खनाइदिए । र, लगाएको रेनकोट फुकालेर उनको शरीर छोपिदिए ।

त्यसपछि उनले आफ्नो गाडीमा ती बच्चीसहित सबै घाइतेलाई अस्पतालतर्फ दौडाए । ‘बाटोभरि ती बच्ची मरें मरें भन्दै चिच्याइरहेकी थिइन्, तर मलाई विश्वास थियो उनलाई केही हुँदैन भन्ने’ त्यो क्षण सम्झँदै निकले भने । सुरुमा साइगनको सैनिक अस्पतालका सुरक्षाकर्मीले भित्र उपचार गर्न सम्भव छैन भन्दै निकको गाडीलाई प्रवेश गर्नै दिएन । तर, जब निकले आफ्नो परिचय दिँदै परिणाम नराम्रो हुने चेतावनी दिएपछि भने ती सुरक्षाकर्मीहरू पछि हटेछन् । ‘यी बच्चीलाई केही भयो भने तिमीहरू नै दोषी हुनेछौ भनेपछि बल्ल उनीहरू हच्किए,’ निकले भने । त्यतिबेलासम्म निकलाई ती बच्चीको नाम र अभिभावकको समेत कुनै जानकारी थिएन ।

उनीहरूलाई अस्पतालमा छाडेपछि उनी अफिसतर्फ लागे । त्यसपछि उनको मनमा खिचेको तस्बिर कस्तो आयो होला भन्ने जिज्ञासा सुरु भयो । ‘कहिलेकाहीँ पछि रिल धुलाउँदा केही पनि हुन्नथ्यो, त्यतिबेला पनि मलाई त्यस्तै कुरा मनमा खेलिरहेको थियो,’ निकले भने । अफिस पुग्नेबित्तिकै डार्क रुममा छिरेका निक केही बेरपछि एउटा तस्बिर लिएर बाहिर आए । सडकमा रुँदै हिडेकी एउटा निर्वस्त्र बालिका उक्त तस्बिर छाप्ने नछाप्ने विषयमा बहस सुरु भयो । तस्बिरका सम्बन्धमा एपीको आफ्नै मापदण्ड थियो ।

एपीको भियतनाम ब्युरोभित्र मात्र होइन, टोक्यो र न्युयोर्कमा पनि छाप्न नहुने विषयमा लामो छलफल भयो । तर, भियतनाम ब्युरोका वरिष्ठ फोटो सम्पादक होस्ट फासको अडानका कारण चार दिनपछि भए पनि १२ जुन १९७२ मा न्युयोर्क टाइम्सको मुखपृष्ठमा त्यो तस्बिर छापियो । उक्त तस्बिरले अमेरिकामा मात्र होइन पूरै विश्वमा हलचल नै ल्यायो । चौतर्फी आलोचना र दबाबपछि राष्ट्रपति निक्सनले भियतनामबाट आफ्ना सेना फिर्ता ल्याउने निर्णय गरे ।

अमेरिकाको सेना फिर्ता गर्ने निर्णयले उतलाई पनि खुसी बनायो । ‘तस्बिर छापिनुसँगै थप मानवीय क्षति हुने क्रम रोकिएकोमा म बढी खुसी थिएँ,’ उतले भने । निक्सनको उक्त निर्णयबाट भियतनाममा तैनाथ अमेरिकी सैनिकहरूलाई पनि राहत दिएको थियो । त्यसैले त उक्त तस्बिर छापिएपछि निकलाई भियतनामी नागरिकले मात्र होइन अमेरिकी सैनिकहरूले पनि धन्यवाद दिएका थिए । ‘तिम्रो तस्बिरले गर्दा लडाइँ रोकियो, हामीहरू बाँच्यौं भन्थे,’ उनले भने, ‘त्योभन्दा बढी खुसी हुने ठाउँ थिएन ।’

उतको फोटोग्राफीमा करिअर बनाउने पूर्वयोजना भने थिएन । उनका दाजु हुँ थान मी एपीकै फोटोग्राफर नै थिए । सन् १९६६ मा भियतनामी कम्युनिस्ट लडाकुको आक्रमणमा परेर उनको मृत्यु भयो । दाजुको मृत्युपछि उनलाई श्रद्धाञ्जली दिन नाम चलेका पत्रकार तथा फोटोग्राफरहरू भेला भएको देखेर निकलाई पनि दाजुकै पथमा हिँड्ने अठोट गरे । ‘मलाई यो क्षेत्रमा डोर्‍याएको दाजुकै प्रेरणाले नै हो,’ निकले भने । तर, उनी त्यतिबेला पन्ध्र वर्षका मात्र थिए । जागिरका लागि एपीको कार्यालयमा पुग्दा उमेर धेरै नै कलिलो भएको भन्दै उनलाई अस्वीकृत गरियो । करिब एक वर्षपछि उनी फेरि एपी कार्यालय पुगे । दाइको पनि युद्धमै ज्यानकै हुँदा सुरुका दिनमा निकलाई फोटो धुलाउने र अन्य काम गर्नका लागि डार्क रुमको जिम्मा लगाइयो ।

आफूलाई अन्तर्राष्ट्रिय चर्चा दिलाउने ती ‘नपाम गर्ल’ को नाम फान थी किम फुक हो भन्ने निकलाई धेरै पछि मात्र थाहा भयो । फुक हाल क्यानडामा बस्छिन् । र, उनी र निकबीच हप्ता नबिराई फोनमा कुरा हुन्छ । युद्धको तस्बिरबाट चर्चित बनेका निक पछिल्ला वर्षहरूमा भने पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, माइकल ज्याक्सन, पेरिस हिल्टनजस्ता सेलिब्रिटीको तस्बिर खिच्न व्यस्त छन् ।

सेलिब्रिटीको तस्बिर खिच्दा युद्धका बेलाजस्तो सन्तुष्टि मिल्छ त भन्ने प्रश्नमा उनले भने, ‘युद्धको तस्बिरले आफूलाई चिनाए पनि फोटोग्राफरले आफूलाई कुनै क्षेत्रविशेषमा सीमित गर्न हुँदैन ।’ उनी आफू पनि फोटोग्राफर मात्र भएको दाबी गर्छन् । ‘तस्बिरमा समेटिने कथा कस्तो छ भन्नेले त्यो तस्बिरको अर्थ रहन्छ न कि युद्ध वा अरू कुनै कारणले’ उतले बताए ।

‘फोटोग्राफीमा सफल हुन क्यामराभन्दा पनि कथाको पहिचान गर्न सक्ने क्षमता हुनुपर्छ । तस्बिर लिनुअघि त्यसमा समेट्न खोजेको कथाका बारेमा प्रस्ट हुनुपर्छ । सँगै धैर्य पनि हुनुपर्छ’ निकले भने ।

प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?