ऋतंभरा (दोस्रो सर्ग)

कविता
माधवप्रसाद घिमिरे

काठमाडौँ — कवि माधवप्रसाद घिमिरेले पछिल्ला ५ वर्षयता लेख्दै आएको ‘ऋतंभरा’ महाकाव्यमा १४ सर्ग छन्, कविका अनुसार यसमा २ सर्ग लेखिन बाँकी छ । यो काव्यभित्रबाट ‘ऋतंभरा’ नामकरणको दोस्रो सर्ग कवि घिमिरेको अनुमतिमा पहिलो पटक प्रकाशित गरिएको छ ।

ऋतंभरा (दोस्रो सर्ग)

प्रभा अहा एक बिहान कस्तो
नौली दिवाको मुसकानजस्तो

झल्याँस्स पैलो पल एक झल्को
‘हुँ’ मात्रको अम्रित एक भुल्को
शरीर आफ्नै छुन किन्तु बाँकी
‘म’ बिम्झियो, क्यै हुन किन्तु बाँकी

बौरेर आए अब अंग अंग
चुलीचुलीमा छरि रङ्ग रङ्ग
निस्किन् कुमारी शिशु गर्भदेखि
उषा उदाएसरि पूर्वदेखि

आमा बनिन् गद्गद दूध ख्वाइन्
टोकेर मुन्टो शिशु मुस्कुराइन्
चुमे पिताले मुसकाननेरि
पिएसरि अम्रित फेरि फेरि

तपस्विनी स्वर्णिम वर्ण गोरी
कि जन्मिइन् अम्रित भर्न फेरि
र, मन्त्रद्रष्टा ऋषि अत्रि आए
‘ऋतंभरा’ नाम नवीन गाए

न घामको हो, न त जूनको हो
मुस्कानको कोमल कान्ति ओहो !

त्यसै त्यसै हर्षित बालिकाका
यसै यसै सल्सल हेर, आाखा
ह्वात्तै अहो अम्रित पोखिए झैं
स्वात्तै सबै हिर्दय देखिए झैं

बले कसैको मनभित्र माया
द्यौता त्यसैको सरि बन्छ काया
त्यल्लाइ देख्यो कि त बालिका ती
प्रफुल्ल बन्छिन् फूलझैं प्रभाती

निभे कसैको मनभित्र माया
छाया त्यसैको सरि बन्छ काया
त्यल्लाई देख्यो कि त बालिका ती
वैलाउाछिन् त्यै फुलतुल्य राति

के हेर्दछन् छक्क परेर राति
कला कला उज्ज्वल चन्द्रमा ती
हेर्छन् कि मीठो निंदरी ऋताको
पला पला मञ्जुल मुस्कुरा’को

ऋतंभरा आखिर बढ्न थालिन्
र स्वप्नमा हर्हर उड्न थालिन्

सन्ध्या सुनौला जब हुन्छ अस्त
ढल्छन् परेली अनि सुस्त सुस्त
उचालि लान्छे कुटुनी बुढी त्यो
उघार्न ढोका अमरापुरीको

नुहाउाछिन् अम्रित कुण्ड कुण्ड
डुल्छिन् तिनी नन्दन कुञ्ज कुञ्ज
निदाउाछिन् नीरव स्वर्गभित्र
मानो मुमाको मृदु गर्भभित्र

तुहेर तारा भुइामा फुल्यो रे
उडूँ उडूँ भै पुतली डुल्यो रे
पन्छी उडे चिर्बिरे गीत गाई
मनुष्य हाँस्यो मृदु चेत पाई

शरीरको भित्र र चित्रभित्र
छन् पत्र झन् उज्ज्वल झन् विचित्र
त्यै ज्योतिका कोमल पंख खोली
उड्छिन् ऋता स्वर्ग उतार्न भोलि

अहो उज्यालो किन घाम लायो
कल्ले उडन्ते पुतली बनायो !

हेरेर छाया छवि छक्क पर्छिन्
र बालिका अद्भुत प्रश्न गर्छिन्
नपर्खिई उत्तर सुन्न फेरि
झन् छक्क पर्छिन् अनि अन्त हेरी

रमाइलो यो कसले बनायो
खेलूा कि खेलूा रसले बनायो
हेरिन्छ छक्कै परि इन्द्रिनी जो
यस्तो र उस्तो नभने पनी त्यो

खेल्छिन् ऋता चञ्चल बालकेलि
सखा सखीका साग हेलिमेली
उड्छिन् कि मौरीहरुसाथ ‘रानी’
रानी स्वयं भैकन त्यै नजानी

वनस्थलीमा ऋतुराज डुल्छ
को हो कि को हो नि क्वैलि बोल्छ
म हो म हो उत्तर रम्य दिन्छिन्
आफैं म को हो भन, साँच्चि
चिन्छिन् ?

प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?