१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

शतशत नमन, शतशत प्रणाम

अनुभूति
डा ध्रुवचन्द्र गौतम

काठमाडौँ — माधव घिमिरेका गद्य पनि काव्यात्मक छ । उनले मेरो उपन्यास ‘स्वर्गीय हीरादेवीको खोज’ को भूमिका लेखेका छन् ।

शतशत नमन, शतशत प्रणाम

त्यो भूमिका विद्वत् वृत्तिका हिसाबले लेखाउन चाहेको पनि थिइनँ । प्रकाशन एकेडेमीकै थियो । तर, माधव घिमिरेको भूमिका पढ्दा बुझिन्छ— उनले केवल पदीय जिम्मेवारी लिएका होइनन् त्यो लेख्दा । उपन्यास पढेरै लेखेका हुन्, विद्वतापूर्ण भूमिका छ त्यो ।

माधव घिमिरेलाई म कहिलेदेखि चिन्दछु ? यस प्रश्नको उत्तरका दुई पक्ष छन् । उनी चिन्नुअगि उनका कविलाई चिनें । अर्को पछि, कवि माधवप्रसाद घिमिरेलाई चिनें । अझ तेस्रो पक्ष पनि कसरी हुन सक्ला भने, पछि उनले पनि मलाई व्यक्तिगत रूपमा चिन्न थाले । वीरगन्जमै बस्दा उनको नाउँ सुनें, उनका कविता पढें । लेखनाथ, लक्ष्मीप्रसाद, सिद्धिचरण, भवानी भिक्षुको नाउँ आउँदा उनको पनि नाउँ सँगसँगै आउँथ्यो । हाम्रो सम्भवत: आईएको पक्षसंग्रहमा एउटा कविता पढ्नुपथ्र्यो, ‘विश्वबन्धुत्व’ । हामी त्यस कविताको व्याख्या पनि गरेर, परीक्षाका कपीहरूमा लेख्दथ्यौं :

भाइको साथ मागौं ।
‘विश्वबन्धुत्व’ कविताकै एक पंक्ति हो, जुन मलाई अझैसम्म कण्ठ छ, तर उद्धृत गर्न सक्ने गरी यति मात्र । यी पंक्तिहरू प्राय: व्याख्या गर्न आइरहन्थे । त्यसमा कविको नाउँ लेख्नु अनिवार्य हुन्थ्यो । यसरी माधव घिमिरेको नाउँ कविका रूपमा मेरालागि चिरपरिचित नाउँ हुन गयो, व्यक्ति नभेटे पनि, कवि परिचित ।

मेरो यो त्यो बेला थियो, जब कुनै पनि प्रिन्टेड नाउँ एउटा ठूलो नाउँ लाग्दथ्यो । यस्ता कतिपय नाउँ थिए, जसको लेखन मैले पनि पढ्न पाइनँ तर कुनै एक ठाउँमा छापिएको पढ्दा पनि विशिष्ट नाउँ लाग्दथ्यो । शेषराज दली, भेषराज शर्मा, लवबहादुर आदि केही यस्ता नाउँहरू थिए, जसको लेखन मैले पछि त्यतिसारो पढ्न पाएको सम्झना छैन । तैपनि ती ठूला लाग्दथे, एउटै दोटै रचना पढे पनि । भने कवि माधव घिमिरे त जहाँतहीँ पढ्न पाउँथें र उनका गीतहरू पनि त्यत्तिकै लोकप्रिय थिए । कहाँसम्म भने, केही काव्यप्रेमी त उनलाई कविभन्दा ठूला गीतकार मान्न पनि चुक्दैनथिए । तर, धेरैले भने उनलाई ठूला कविकै रूपमा मानेका हुन् । तिनमा म पनि पर्दछु ।

२०१६ तिर म पनि कहिलेकाहीं रेडियो नेपाल जाने गर्दथें । पहिलो पटक जाँदाको अनुभव अझै स्पष्ट छ मलाई । त्यहाँ एउटा रिहर्सल–रुम थियो जसका भित्ताहरू ‘साउन्ड–प्रुफ’ थिए । पस्नासाथ मैले देखें नातिकाजी एउटा गीतको धुन बनाइरहेका थिए कि बनाएर अभ्यास गरिरहेका थिए, अहिले भन्न सक्दिनँ । गीतको बोल थियो :

आजै र राति के देखें सपना
मै मरी गएको, मै मरी गएको ।

त्यस बखत गरिरहेको अभ्यासकै भरमा मलाई त्यसको धुन अझै कण्ठ छ । पछि सम्भवत: त्यो गीत नातिकाजीले गाए कि अरूले गायो । मैले भने पहिलो पटक उनकै स्वरमा त्यो गीत सुनेको थिएँ । सोध्दा थाहा भयो, त्यसका गीतकार माधव घिमिरे हुन् । त्यसअगि कुनै नेपाली शब्द त्यति ध्यानले सुनेको थिइनँ अर्थात् त्यति उम्दा कोटिका शब्दहरू । गाउन त मैले वीरगन्जमै नातिकाजीकै धुनको एउटा गीत ‘पहाड बसी, वनमा खेली’ गाइसकेको थिएँ । तर, माधव घिमिरेको त्यो रचनाको प्रभाव बेग्लै थियो ।

माधव घिमिरेलाई मैले पहिलो पटक कहाँ भेटें, व्यक्तिगत रूपमा मलाई सम्झन अहिले कठिन छ । उनी प्रारम्भिक कालदेखि नै एकेडेमीमा थिए । पछि त्यहाँ जाँदा बेलाबेलामा भेटेको त बिर्सिने कुरै भएन । पहिलो पटक सम्झन खोज्दै छु । झापा सेमिनारमा हो कि, २०२३ सालमा ? ०२२ सालमै ‘नारायणी साहित्य–सेमिनार परिषद्’ ले हुनुपर्छ, एउटा तीनदिने साहित्य–सेमिनार गर्दा माधव घिमिरे गएका थिए र त्यहीं पहिलो पटक भेट्न पाएँजस्तो पनि लाग्छ । यसमा दोधार पनि छ, त्यो सेमिनारमा उनी गएका थिए कि थिएनन् ? यसलाई अहिले यस्तै रहन दिऊँ । पछि भएका भेटहरूको राम्रो सम्झना छ ।
एक पटक माधव घिमिरेले मलाई बोलाए । त्यसबखत उनी प्रज्ञा प्रतिष्ठानका उपकुलपति थिए । कुलपति राजा हुनाले उपकुलपति नै हुन्थे । सबभन्दा ठूलो पद त्यही थियो । विजय मल्ल सदस्यसचिव थिए । त्यस दिन मलाई बोलाएर उपकुलपति माधव घिमिरेले भने, ‘गौतमजी फ्रान्सको पेरिसमा साहित्यकारको एउटा सेमिनार हुँदै छ, अन्तर्राष्ट्रिय, त्यसमा भाग लिन जान हामीले तपाईंलाई छानेका छौं । सातदिने सेमिनार हो, तपाईंलाई त्यही भन्न र सहमतिका लागि बोलाएको ।’

मैले भनें, ‘कविजीलाई धन्यवाद, मलाई छानेकोमा ।’हुन त यो कुराको जानकारी विजय मल्लले पनि मलाई दिएका थिए । उपकुलपतिबाट पनि सुनेपछि फ्रान्स जाने कुरामा झन् ढुक्क भएँ । एकेडेमीले युनिसेफ र आफ्नोतर्फको निम्तोपत्र पनि दिएको थियो । युनिसेफको चिठी अनाम किसिमको थियो, एक साहित्यकारलाई प्रतिनिधि पठाइदेऊ भन्ने । एकेडेमीको निम्तो भने, यस्तो अन्तर्राष्ट्रिय सेमिनारमा तपाईंलाई पठाउने निर्णय गरिएको व्यहोरा थियो ।

तर, समय आए पनि, त्यसबारे फेरि केही कुरो नआएपछि म एक दिन उपकुलपति र सदस्यसचिव दुवैकहाँ बुझ्न गएँ । त्यहीं थाहा पाएँ, कारणवश त्यो सेमिनार उनीहरूबाटै क्यान्सिल गरियो ।
क्यान्सिल नभएको भए, त्यही मेरो पहिलो अन्तर्राष्ट्रिय साहित्यिक सेमिनार हुन्थ्यो र त्यही मेरो पहिलो समुद्र–यात्रा पनि हुन्थ्यो ।

तर म सन्तुष्ट केमा थिएँ भने माधव घिमिरे र विजय मल्ल दुवैको मप्रति सद्भाव रहेछ । अझ खै मलाई लेखकका रूपमा मान्यता दिँदा रहेछन् । यहाँ त त्यो पनि दुर्लभ छ नि त अहिले पनि । त्यसबखत म झन् नयाँ लेखक नै थिएँ । धेरै पछि एक दिन नारायणगोपालसँग कुरा गर्दा मैले सोधेको थिएँ, मित्रकै रूपमा, ‘अचेल तपाईं अलि सेलाउनुभएजस्तो छ नि ?’नारायणगोपालले भने—‘मालती–मंगले’ हेर्नू, त्यसमा म छुरा भएर आएको छु ।’

नभन्दै ‘मालती–मंगले’ मा नारायणगोपाल साँच्चिकै छुरा भएर आए । ‘मालती–मंगले’ उनै माधव घिमिरेको त्यसबखत कीर्तिमान बनाएको गीति–नाटक थियो ।

मैले जति पटक त्यो नाटक हेरें, त्यो पनि एउटा कीर्तिमानमै पर्छ । विषयवस्तु कुनै लोककथाबाट लिएजस्तो थियो, खास पनि होइन । तर, त्यसलाई जसरी नारायणगोपालको ‘छुरा’ गायन र अम्बर गुरुङको संगीतले प्रभावकारी बनाएको थियो, त्यत्तिकै माधव घिमिरेका ‘छुरा’ गीतहरूले प्रभावकारी बनाएको थियो । मैले त्यो नाटक धेरै पटक हेर्ने एउटा अर्को कारण थियो । त्यसबखत म ‘विमर्श साप्ताहिक’ मा स्तम्भकार थिएँ । ‘विमर्श’ त्यसबखतको ‘ए–वन’ पत्रिका नै थियो । एक दिन मैले भनें, “कविजी, म ‘विमर्श’ मा लेख्न खोज्दै छु, आफ्नो साहित्यिक स्तम्भमा, त्यसका लागि एक पटक हेरेर पुग्दैन, अलि मिहिनेतै गर्न खोजेको मैले ।”

कविजी पनि त त्यसबखतको ‘विमर्श’ को लोकप्रियताबारे अनभिज्ञ थिएनन् । उनले भने, ‘तपाईंलाई जतिचोटि हेर्न मन लाग्छ हेर्नुस्, कसैले रोकटोक गर्दैन, म भनिदिइराख्छु ।’ त्यही हिसाबले भनेको मैले ‘मालती–मंगले’ कीर्तिमान कीर्तिमान राख्ने गरी हेरें । सम्भवत: गीत, गायन र संगीतले तानेर हो मैले लेख्नलाई चाहिनेभन्दा बढी पनि हेरें । ‘मालती–मंगले’ बारे मैले विस्तारमा लेखें पनि । माधव घिमिरेले मलाई धन्यवाद पनि दिए ।

मैले उनका कृतिहरू, कविताहरू पढेको छु । ‘गौरी’ उनको सर्वश्रेष्ठमध्ये एक कृति हो भनिदिए हुन्छ । पछि आएको ‘अश्वत्थामा’ पनि निकै राम्रो लाग्यो । ‘अश्वत्थामा’ लाई तत्कालीन उपकुलपति मदनमणि दीक्षितले नोबेल प्राइजकै लागि सिफारिस गरेर पठाएका थिए, एकेडेमीबाट । ‘अश्वत्थामा’ मा बौद्धिकता पनि छ, लेख्दोखेरिको एउटा सजगता पनि पाइन्छ अनि श्रेष्ठ काव्यका सबै गुण त्यसमा छन् । उनको अब आउने ‘ऋतम्भरा’ कस्तो होला यो उत्सुकता हामी सबैमा छ । ‘गौरी’ पनि माधव घिमिरेको सिर्जनामा कुनै दृष्टिले उन्नाइस ठहरिनेजस्तो मलाई लाग्दैन । म विश्लेषण गर्न चाहन्नँ, प्रभाव मात्र भन्छु, ‘गौरी’ पढ्दा म निकै भावुक भएको थिएँ । भावुकता मात्र होइन मनोविज्ञान, काव्यात्मकता आदि धेरै गुणका कारण ‘गौरी’ निकै राम्रो लागेको थियो । त्यसका पंक्ति जस्ताको तस्तै नहुन सक्छन् तर मैले सम्झेअनुसारको भावमा :

यी रोए पनि लाग्छ दु:ख मनमा
सम्झे कि आमा भनी
यी हाँसे पनि लाग्छ दु:ख मनमा
बिर्से कि आमा भनी ।

यी पंक्तिहरू नेपाली काव्यकै केही श्रेष्ठ पंक्तिहरूमध्ये हुन्जस्तो लाग्दछ मलाई ।
‘मालती–मंगले’ पछि नै हो, माधव घिमिरेले मलाई झन् निकट दृष्टिले हेर्न थाले । मलाई केही पढे वा मबारे पढ्ने जिज्ञासा राखे । म उनको घरमा थोरै पटक भए पनि गएको छु । बाटैमा वा गाडीमा पनि भेट भएको छ । भेट्दाखेरि प्राय: अस्तित्ववादका कुरा पनि गर्दछन्, कहिलेकाहीं भन्दछन्, तपाईंहरूको अस्तित्ववाद पनि त यस्तो हो । उनको अध्ययनको वृत्त निकै ठूलो रहेछ भन्ने बुझ्छु म । नत्र कतिले पूर्वीय र पाश्चात्य दर्शनलाई त्यसरी हेर्छन् होला ?

माधव घिमिरेका गद्य पनि काव्यात्मक छ । उनले मेरो उपन्यास ‘स्वर्गीय हीरादेवीको खोज’ को भूमिका लेखेका छन् । त्यो भूमिका विद्वत् वृत्तिका हिसाबले लेखेको पनि थिइनँ । लेख्दालेख्दै उनीहरूकै समयमा एकेडेमीले विद्वत् वृत्ति दिएको थियो । माधव घिमिरेहरूले नै दिएका हुन् । प्रकाशन एकेडेमीकै थियो । तर, माधव घिमिरेको भूमिका पढ्दा बुझिन्छ, उनले केवल पदीय जिम्मेवारी लिएका होइनन् त्यो लेख्दा । उपन्यास पढेरै लेखेका हुन्, विद्वतापूर्ण भूमिका छ त्यो ।

हाम्रा पुराणहरूमा हजार–लाख वर्ष बाँच्ने, तपस्या गर्ने कुरा पनि तिनै पुराणले मनुष्य आयुको मानक सय वर्ष नै तोकेको छ— जीवेम: शरद: शतम् । चिरञ्जीवी, दीर्घायुभन्दा पनि शतञ्जीवीलाई मानेको देखिन्छ । माधव घिमिरे, सत्यमोहन जोशी र मदनमणि दीक्षित, यी सब प्राय: सक्रिय रूपमा सय वर्षका आसपास नै छन् । सबैको मनाइनेछ । अहिले, माधव घिमिरे यस्ता प्रथम कवि भए, जसले ‘शदर शतम्’ प्राप्त गरेका छन्, यिनलाई शतशत नमन, शतशत प्रणाम गर्न चाहन्छु ।

प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?