कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अद्वितीय काव्यशिल्प

विवेचना
लेखप्रसाद निराैला

काठमाडौँ — वास्तवमा अलंकार त्यस्तो गहना हो जसले काव्यसौन्दर्यलाई प्रतिविम्बित गर्छ । सही ठाउँमा लगाएको गहनाले अझै आकर्षण प्रदान गर्छ, लोभ्याउँछ पनि ।

अद्वितीय काव्यशिल्प

पारिन्छ सत्ता जब खण्ड खण्ड
रहन्छ के राष्ट्र त्यहाँ अखण्ड ?
थुतिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा अनि फूलबाट ।।

शिल्प र भावका अद्भुत कालीगढीभित्र कुँदिएका यी पङ्क्ति राष्ट्रकवि माधव घिमिरेको ‘राष्ट्रनिर्माता’ कृतिबाट लिइएको हो । उनी स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका विशिष्ट प्रतिभा हुन् । शब्द–शब्दभित्रको लालित्य र अर्थव्यञ्जनाको झंकारबाट ओतप्रोत भएका काव्यकलाका कारण उनलाई बालबालिकादेखि बयोवृद्धसम्मका सबै रसिकहरूले ससम्मान लिने गर्छन् । उनी हरेकको मुखारविन्दबाट साहित्यिक सूक्तिमय पङ्क्ति गुञ्जायमान गराउन सक्ने काव्यध्वनिका अभियन्ता पनि हुन् । उनलाई एउटै सानो सरल कृतिमा पूर्ण आकार प्रस्तुत गर्न सक्ने एवम् अद्वितीय प्रतिभाभित्र पनि बारम्बारको अभ्यासबाट निर्मित कालीगण्डकीका पवित्र शालीग्रामजस्तै सूक्तिमय साहित्यिक उद्गारहरू भर्न सक्ने साधनामय जीवनका साक्षात् प्रतिमूर्ति मानिन्छ । जनजनका हृदयमा अटाउन सक्ने नेपाली प्रकृति, राष्ट्रियता र मानवताका गायक पनि हुन् उनी ।

राष्ट्रकविलाई नजिकबाट नियाल्दा उनीभित्रको काव्यकलासम्बन्धी क्षमता वास्तवमै अद्वितीय छ । उनका सिर्जनालाई खासगरी पूर्वीय काव्यशास्त्रका आलोकमा विश्लेषण गर्ने हो भने रस, ध्वनि, अलंकार, वक्रोक्ति, रीति र औचित्य आदि सबै दृष्टिकोणबाट मूल्यांकन गर्न सकिन्छ । प्रत्येक कोणबाट गरिने विश्लेषणका पृथक्–पृथक् अस्तित्व रहन सक्छन् । तर, मैले विश्लेषणको आधार बनाएको क्षेत्र हो, केवल उनका नौओटा खण्डकाव्यभित्रको आलंकारिक चमत्कृति अथवा काव्यशिल्पको उत्कर्षता ।

घिमिरे रसोत्कर्षका लागि परिष्कारमा जोड दिन सक्ने तथा काव्यलाई कलाकै अभिन्न स्वरूप मान्दै तदनुकूल क्षमता प्रदर्शन गर्न सक्ने प्रतिभा भएकाले मैले त्यस्ता काव्यशिल्पीका नौओटा खण्डकाव्यभित्रको शैल्पिक सञ्चेतना वा सौन्दर्यको खोजी गर्ने प्रयास गरेको हुँ । पूर्वीय काव्यशास्त्रमा अलंकारलाई सौन्दर्यको पर्याय अथवा सौन्दर्यको कारक मान्ने परम्पराअनुसार उनका काव्यमा सोही प्रकृतिको अभिव्यक्ति पाइनु हर्षको विषय बन्यो ।

हिमाली काख र पहाडी परिवेशको बाल्यकाल अथवा प्रकृतिको साहचर्य र कालिदासीय रचनाको प्रभावजस्ता कारणले राष्ट्रकविलाई काव्यशिल्पीको उचाइतर्फ डोहोर्‍याएको हो । जीवन भोगाइका अनेकौँ विषम परिस्थितिले पनि उनलाई थप जीवन्त अनुभूति प्रदान गरेको हो । सुदीर्घ साधना र परिष्कारतर्फको विश्वासले उनलाई शिल्पसिद्धिको चरणमा प्रवेश गराएको छ । कविता हुन् वा काव्य, गीत हुन् वा गीतिनाटक, कथा हुन् वा अनूदित साहित्य आदि–इत्यादि । यस्ता तीसभन्दा बढी साहित्यिक अभिव्यक्तिभित्र उनले आफ्नो शैल्पिक कुशलता दर्साइसकेका छन् ।

आलंकारिक दृष्टिले जुनसुकै सिर्जनाको विश्लेषण गर्दा पनि शब्दालंकार र अर्थालंकार अर्थात् शब्दका तहबाट हुने चमत्कार र अर्थका तहबाट हुने चमत्कारको चर्चा गरिन्छ । शब्दका तहमा अनुप्रासका अनेक भेदहरू, यमक र श्लेषजस्ता अलंकारको चर्चा गरिन्छ भने अर्थका तहमा उपमा, उत्प्रेक्षा, अतिशयोक्ति आदि अलंकारको चर्चा गरिन्छ । यस दृष्टिले घिमिरेका हरेक खण्डकाव्य आलंकारिक रूपमा उत्कृष्ट छन् ।
शब्दालंकारका दृष्टिले उनका काव्यपङ्क्तिमा आद्यानुप्रास, मध्यानुप्रास र अन्त्यानुप्रास आदिबाट सांगीतिक झंकारको अनुरणन पाइन्छ । त्यस्ता अनुप्रासीयतापूर्ण केही उदारहण छन् :

क्यै काम नौलो नगरी नजाऊँ
अकालमै हे, म मरी नजाऊँ
आयुष्य देऊ र भविष्य देऊ
मभित्र जीवन्त मनुष्य देऊ ।।
(धर्तीमाता)


यौटा चील उडिरहेछ शिरमा गै छुन्छ गै छुन्छ झैँ
आशंका मनमा छ आज सबको– क्यै हुन्छ क्यै हुन्छ झैँ
टाढा खल्बलझैँ छ, फेरि नजिकै जो आउँछन् मन्द छन्
रानी ! जान हुँदैन कान्तिपुरमा– ढोका सबै बन्द छन् ।।
(राजेश्वरी)

यी हरेक भावमय पङ्क्तिमा अन्त्य र माध्यन्तका पदहरू अनुप्रासीय छटाबाट आह्लादित तुल्याउन सक्ने किसिमले मुखरित भएका छन् । अर्थालंकारका सवा सयभन्दा बढी प्राचीन भेदहरू रहेकामा उनका काव्यअन्तर्गत स्वत:स्फूर्त रूपमा प्रयोग भएका झन्डै नब्बे किसिमका अलंकार विश्लेषणीय बनेका छन् । संस्कृतमा कालिदासलाई उपमा अलंकारका सफल प्रयोक्ता मानिएझैँ घिमिरेका काव्यमा मूलत: अतिशयोक्ति, उपमा र उत्प्रेक्षाको सुन्दर त्रिवेणी पाइन्छ । विशेषत: सादृश्यमूलक अलंकारहरूमा सिद्धहस्त घिमिरेले प्रकृति, समाज, संस्कृति र पौराणिक विम्बहरूलाई उपमानका रूपमा प्रस्तुत गरेका छन् । कतै अप्रस्तुत प्रशंसा त कतै समासोक्ति र स्वभावोक्तिका सुन्दर अभिव्यक्ति उनका काव्यकलाका जीवन्त नमुना बनेका छन् ।

कविले अलंकारलाई सौन्दर्यको पर्यायवाचीकै रूपमा लिने गरेका छन् । जहाँ भावनाको सौन्दर्य र चिन्तनको स्वच्छन्दता हुन्छ, त्यहीँ वास्तविक स्वच्छन्दतावाद पाइन्छ भन्ने उनको विश्वास छ । यही प्रवृत्तिलाई परिपुष्ट गर्ने एउटा प्रमुख तत्त्वका रूपमा अलंकार रहेको उनको धारणा छ । वास्तवमा अलंकार त्यस्तो गहना हो जसले काव्यसौन्दर्यलाई प्रतिविम्बित गर्छ । सही ठाउँमा लगाएको गहनाले अझै आकषर्ण प्रदान गर्छ, लोभ्याउँछ पनि । उनको ‘इन्द्रकुमारी’ काव्यमा इन्द्रकुमारीलाई पृथ्वीनारायण शाहको प्रतीक्षाले नछोडेको सन्दर्भ अत्यन्त कलात्मक किसिमबाट वर्णित छ । जडचेतन, जेसँग भए पनि सन्देश पठाउने धोको कालिदासको मेघदूतमा झैँ उनका काव्यमा पनि बादललाई नै बनाइएको छ । जस्तै :

जा हे बादल ! गोर्खामा लैजा है, दिलको चिठी
कतै गाजलले लेखी, कतै सिन्दूरले छिटी ।।
(इन्द्रकुमारी)

दिलको चिठी कतै गाजलले लेखेर अथवा कतै सिन्दूरले छिटेर गोर्खामा लैजानका लागि आखिरमा इन्द्रकुमारीका लागि बादलभन्दा अर्को के विकल्प थियो र ? यो कृति सुन्दर आलंकारिक अभिव्यक्तिको नमुना छ । त्यस्तै सोही इन्द्रकुमारी काव्यमा भनिएको छ :

देख्यो कि मोहनी लाग्छ नदेखे पीर लाग्दछ
दुइटा तारमा यौटै गीतको सुर लाग्दछ ।।
(इन्द्रकुमारी)

यहाँ डाँफेले रानीचरीलाई देखेपछि मोहनी लागेको र नदेखे पीर लागेको भन्ने विशेष भनाइलाई दुइटा तारमा एउटै गीतको सुर लाग्छ भन्ने सामान्य भनाइद्वारा आलंकारिक किसिमबाट समर्थन गरिएको छ ।
कालिदासीय परम्पराअनुसार घिमिरेका सिर्जनाहरूभित्र प्राय: पहिलो पाउभन्दा दोस्रोमा र दोस्रो भन्दा तेस्रोमा उत्तरोत्तर विषयविस्तार र कलात्मकतासहित चौथोमा पुगेपछि उत्कर्षको अभिव्यक्ति पाइन्छ । उनका काव्यभित्रका सबै पद्यात्मक अभिव्यक्ति यस्तै आलंकारिक र उत्तरोत्तर उत्कर्षमय रहेका छन् :

यी रोए पनि दु:ख लाग्छ – यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन – यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ – यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ – यिनले फुर्की नखेले पनि ।।
(गौरी)

यसैगरी, मनोविज्ञानसँग असम्बद्ध कुरामा अलंकार हुँदैन भन्ने उनको विश्वास छ । अलंकारका निम्ति अलंकारको प्रयोग गर्नुभन्दा भावका लागि आवश्यक पदपूर्ति गर्ने कुरामा उनी जोड दिन्छन् । उनमा छालको निर्धारणदेखि सम्पूर्ण कवितात्मक अभिव्यक्तिलाई परिष्कृत तुल्याउन सक्ने क्षमता छ । गीत, कविता र काव्य आदि सबैतिर पतत्प्रकर्षता दोषबाट मुक्त तुल्याउन सक्ने प्रवृत्ति पनि छ । उदाहरणका लागि एउटी ममतामयी आमाका लागि पतिको चितासँगै सती जानु र सन्तानको मुख हेर्नु कुन विषयले प्राथमिकता पाउला भन्ने मनोवैज्ञानिक कुराको एउटा आलंकारिक दृष्टान्त हेर्न सकिन्छ—

मेरो बालकको म हेर्छु मुख हे– धोको छ यै अन्तिम
एकै चुम्बनको निमित्त जसको पर्खीरहेकी छु म
आँधीको पुतली अडिन्छ जसरी आधै पखेटा चरी
वैशाखी सुन फूललाई मुखले छोऊँ कि छोऊँसरी ।।
(राजेश्वरी)

वास्तवमा हरेक अभिव्यक्तिभित्र परिष्कृत ढंगबाट कलात्मकता भर्न सक्ने उनको वैशिष्ट्य कतै पनि कमजोर छैन । पापिनी आमाकी युवतीले मातृत्वको अनुभूति गर्दाको पृष्ठभूमि होस् वा मातृत्वबोधको परिपाकमा रहँदा होस्— उनका अभिव्यक्तिहरू झन्झन् आलंकारिक वा चमत्कृतिपूर्ण बनेर रसाएका छन् :

भोलिको शिशु मुस्कुराउँछ आजको प्रीतिमा
वैशाखी फूल सपना देख्छ चैतको धर्तीमा ।।
(पापिनी आमा)

ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना–शक्ति संसारमा कैल्यै हुँदैन विफल ।।
(पापिनी आमा)

यसरी के दृष्टान्त ? के अर्थान्तरन्यास अलंकार ? स्वाभाविक अभिव्यक्तिभित्र रसोत्कर्षका लागि स्वाभाविक चमत्कृतिको प्रस्तुति उनको काव्यकला नै बनेको छ । उनले आवश्यक स्थानमा समुचित वस्तु र शब्दको विन्यासबाट रसोत्कर्षको प्राप्ति हुन्छ भन्ने मान्यतालाई आत्मसात् गरेका छन् । इन्द्रकुमारी, राष्ट्रनिर्माता, गौरी, राजेश्वरी, पापिनी आमा र धर्तीमाता आदिका काव्यात्मक स्वरूपहरू सबै एक से एक शैल्पिक साजसज्जा वा अलंकार र अनुभूतिको सशक्तताका कारण विशिष्ट सिर्जनाका रूपमा परिणत भएका छन् । एकातिर सुकोमलताभित्रको सौन्दर्य, अर्कातिर संवेदनापूर्ण शाश्वत चिन्तनको प्रवाह दुवै उनका काव्यप्रवृत्ति नै बनेका छन् ।

कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको काव्यशिल्प तथा वैचारिक उचाइलाई पृथक्–पृथक् ढंगबाट मूल्यांकन गर्दाको अवस्थाभन्दा पनि राष्ट्रकविको काव्यशिल्प र वैचारिक उचाइलाई एकत्र मूल्यांकन गर्दा निश्चय नै नौलो अनुभूति हुन्छ ।

आज उनै काव्यकलाका पारखी एवम् परिष्कारधर्मी स्वच्छन्दतावादी राष्ट्रकविको एक सयौँ जन्मोत्सवको सुखद अवसर हो । यो सम्पूर्ण नेपालीका लागि गौरवपूर्ण विषय पनि हो । उनले साहित्यमा जे लेख्थे, आखिरमा त्यही सपना वा विचार आज साकार भएको छ । उनले भन्ने गरेका थिए—

सधैँ उज्यालो सृजना जिउँm झैँ
सुधा दशै इन्द्रियले पिऊँ झैँ
बोलूँ भने जीवन एक वाक्य
‘जीवेम भूय: शरद: शताच्च’ ।।
(राष्ट्रनिर्माता)

(लेखक निरौलाले ‘माधव घिमिरेका खण्डकाव्यमा अलंकार–योजना’ शीर्षकमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।)

प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?