२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

एक दिन कविवर

फोटो कथा
नवीन बराल

काठमाडौँ — ‘कविको जीवनमा एक दिन’ सोचको फोटोकथा खिच्न, राष्ट्रकवि माधवप्रसाद घिमिरे १०० वर्ष टेक्नुभन्दा तीन साताअघि म उहाँको निवासमा बिहानै पुगेको थिएँ । घाम झुल्किसकेको थिएन, कवि श्रीमतीले कविजी सुतिराख्नुभएको जानकारी दिनुभयो । झुलभित्र ओढ्ने ओढेर बिहानीको मस्त निद्रामा कविलाई मैले प्रथम पटक देखें ।

एक दिन कविवर

निद्रा नखल्बलियोस् भनेर म बिरालो चालमा कवि सुत्ने कोठाबाहिर पर्खिरहें । टाढैबाट कविको निद्रा मुद्रा क्यामेरामा उतारें । झन्डै आधा घन्टा कुरेपछि कवि उठ्नुभयो ।

‘ए ! ऊ ! अ: !’ गर्दै सायद कविजी श्रीमतीलाई बोलाउँदै हुनुहुन्थ्यो । म फोटो खिच्न आउने कुरा अघिल्लै दिन खबर गरिसकेको थिएँ । कविले मलाई देख्नासाथ भन्नुभयो, ‘यो ठिटो त आइसकेछ, मैले थाहै पाइनँ...ल,
ठीक छ ।’

बिहान उठ्नासाथै नित्यकर्म थियो नै । अनि हल्का ब्रेकफास्ट । त्यसपछि हातमा किताब लिइहाल्नुपर्छ कविलाई । पहिला वेदको अध्ययन, त्यसपछि उपनिषद् अनि भगवतगीता । यी तीन अध्ययनको चर्चा गर्दै कविले भन्नुभयो, ‘वेद, उपनिषद् र गीता मेरो जीवनका तीन सूत्रहरू हुन् ।’







असोज ७, ०७५ मा कवि घिमिरे १०० वर्ष लाग्दै हुनुहुन्छ । तैपनि स्वास्थ्यको ताजगी र स्फूर्ति उस्तै लोभलाग्दो देखिन्छ । अहिले उहाँ आफ्नै निवास वरिपरि कसैको सहयोगमा अलिअलि हिँडडुल गर्न सक्नुहुन्छ ।
लमजुङको गाउँसहर भन्ने ठाउँ उहाँलाई असाध्यै मन पर्ने स्थान हो । आँखाले भ्याइन्जेल हिमाल देखिने सुन्दर ठाउँ । अन्नपूर्ण र मनास्लु दुवै हिमशृंखला नजिकै देख्न सकिने पारिलो गाउँ । बितेको समय र ठाउँ सम्झँदै कविले आफ्नो एक असफल योजना पनि सुनाउनुभयो,‘मेरो योजना गाउँसहरमै स्थापित भएर जीवन कटाउने थियो, अहिले पनि म ८० वर्षको भएको भए, म गाउँसहरमा जग्गा किनेर घर बनाएर बस्थे । असाध्यै सुन्दर ठाउँ, म त हिमाल हेरेरै बसिरहन्थें होला ।’ तर छोराछोरीको शिक्षादीक्षा र काठमाडौं पसेपछिको नामकामको चस्काले गाउँसहर सपना सपनै बनिरहयो ।

कवि घिमिरेलाई ऋग्वेद, गीताका कतिपय मन्त्रहरू कण्ठस्थै छन् । गफगाफमा उहाँ सुनाइरहनुहुन्छ, ऋग्वेद मन्त्रको भावानुवाद, ‘मेरा काम कहाँ–कहाँको संगीत सुन्दछन्, मेरा आँखा कता–कताको सौन्दर्य देख्छन् । मेरो मन र बुद्धि पनि— जो मेरो अन्तरमनमा निहित ज्योति हुन्, अज्ञातको झल्कातिर उडिरहन्छन् । म यो के हो भनेर अरूलाई सम्झाऊँ र आफैं पनि यो के हो भनेर सम्झिऊँ ।’
शताब्दी आयुमा हिँडिरहेका कविवरलाई देख्नासाथै र भेट्नासाथै मलाई कविवरकै यी पंक्तिहरू प्रेरणा बनेर मन–मस्तिष्कमा छाइरहन्छन्—

‘क्यै काम नौलो नगरी नजाऊँ
अकालमै हे, म मरी नजाऊँ
आयुष्य देऊ र भविष्य देऊ
मभित्र जीवन्त मनुष्य देऊ ।’

प्रकाशित : आश्विन ६, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?