हाम्रो टोलको कथा

सामयिकी
अघिल्लो साता बलात्कारीको निर्मम सिकार भएका केटीहरूप्रति श्रद्धाको मैनबत्ती बालेर माइतीघर, मण्डलाबाट फर्किंदा म सोचिरहेको थिएँ— हामीले बलात्कारको विरोध गर्दागर्दै त्यसलाई ग्लोरिफाई गरिरहेका छौं ।
किशोर नेपाल

काठमाडौँ — अचेल टोलमा राम्ररी सुत्न पनि पाइँदैन । एवोन कम्पनीको पुरानो डिजाइनको साइकल सानातिनो टिप्पर नै हो । साइकलका दायाँ–बायाँ बोरा झुन्डयाएर बिहानैदेखि खाली सिसी, पुराना कागज र फलामका टुक्राको खोजीमा हाँक लगाउँदै आउँछन् हूलका हूल मानिसहरू । उनीहरूको हाँक सुनेपछि निद्राबाट ब्युँझिनैपर्छ । ओछयानबाट उठ्नैपर्छ । यो टोलमा बस्ने प्रत्येक घरवालाको बाध्यता हो यो ।

घर–आँगनबाट यी खाली सिसीवालाहरू अर्को टोलतिर ओरालो लाग्नेबित्तिकै आलु, प्याज, बन्दा, लौका, भन्टा, परवर, खुर्सानी र करेलाको हाँक लगाउने फेरीवालको लर्को लाग्छ । लर्को देखेपछि गृहिणीहरू रमाउँछन् । उनीहरू आलु, प्याज र परवर, करेलाको भाउ लगाउन थाल्छन् । अचेल विभिन्न प्रकारका दाल पनि घरघरमा पुग्न थालेका छन् । यी शाकाहारी ‘आइटम’ बाहेक फेरीवालहरूले आम, काँक्रो र मोटा खोर्सानीको अचार, काँचो माछा पनि ल्याउने गरेका छन् । कुन दिनदेखि मासु लिने हो हजुर ? बकरेको शुद्ध मासु । कालिमाटीको तरकारी बजारमा आएजति र टिप्न भ्याएजति सबै उपभोग्य सामान बिक्री गर्छन् फेरीवालहरू ।


यी फेरीवाल नआउने हो भने टोलका मानिसले तरकारी नै खान पाउने थिएनन् । घरका पुरुष सदस्यहरू बिहान हुनेबित्तिकै चिया चुरोटको तलतल मेटाउन चियापसलतिर लाग्छन् । समयमा ठूलो परिवर्तन आएको छ । पहिलेपहिले महिलाहरू कम्मरमा बाँधिएको सारीमा ठूलो साँचोको झुत्तो झुन्डयाएर बजारतिर लाग्थे । उनीहरूको पछिपछि हातमा झोला बोकेको एउटा केटो हुन्थ्यो । अचेल महिलाहरू तरकारी बजारतिर जानै चाहँदैनन् । एक त, तरकारीको भाउ अकासिएको छ । कुनै वस्तु छोइसाध्य छैन । किन्ने त कुरै नगरौं । दोस्रो, बजार यति फोहोर छ कि त्यता जानै मन लाग्दैन । फेरीवालाले उनीहरूको पैसा पनि जोगाइदिएका छन् ।


पहिलेपहिले दूरदराज मधेसबाट आएका तरकारीवाला भैयासँग कसैले पनि तरकारी किन्दैनथे । अहिले यिनीहरू नभए भान्सा नै चल्दैन । यस्तो लाग्छ, कुनै दिन भैयाहरू तयारी दाल–भात, तरकारी बोकेर टोलका ढोका ढकढक्याउन थाल्नेछन् । टोलको मूलबाटो एक डेढ घण्टाका लागि तरकारीमय हुन्छ । फेरीवाल भैयासँग व्यवहार गर्नु गृहिणीहरूका लागि सजिलो पनि छ । उनीहरू उधारो पनि पत्याउँछन् ।


‘भैया’ शब्दले यी भैयाहरूलाई रत्तिभर पनि प्रतिक्रियात्मक बनाउँदैन । किनभने, उनीहरू नेपाली होइनन् । मधेसका नेपाली त झगडा गर्ने मुडमा आइहाल्छन, ‘को भैया ? किसका भैया ?’ दूर देहातका नेपालीहरू काठमाडौं सहरमा तरकारीको भारी साइकलमा चढाएर दुई–चार पैसा कमाउनुभन्दा घरजग्गा धरौटी राखेर ऋण काढ्छन् र रोजगारीका लागि खाडीतिर भासिन्छन् । नेपालीले बाँच्न होइन, भासिन मात्रै जानेका छन् । पहिले लाहुर जान्थे, अहिले कतार जान्छन् । जहाँ पनि भासिने, जागिरमा पनि, सम्बन्धमा पनि, परिवारमा पनि, ऋृणमा पनि । ई क्यू धेरै भएको जाति हो यो । जहिले पनि मनले सोच्छ । भन्छ— दिमागलाई रौंले छोपेको छ । टोपीले पनि छोपेको छ । दिमाग छ कि छैन ? विचार त्यसमा पनि गर्नुपर्छ ।
भारत, बिहारको बरौनी वा बेतियाबाट व्यापार गर्न आएका फेरीवाललाई कसैले भैया भनोस् कि दादा ? मतलब नै के भो र ? उल्टै, छिमेकका ‘मोटीमोटी दुल्ही सावनी’ जब भैया शब्द बोल्छन् तब फेरीवालहरू यो शब्द सुनेरै गदगद हुन्छन्, आत्मीय ‘फिल’ गर्छन् र कबीरको दोहा गुनगुनाउन थाल्छन् :
चाह मिटी चिंता मिटी मनवा बेपरवाह ।
जिसको कुछ नहीं चाहिए वह शहनशाह ।।

यीमध्ये धेरैले आफ्नो घर नेपालमा रहेको बताउँछन् । भारतमा भन्दा के होला, कसो होला । आखिर नेपालमा भारतीय पिटिने त चलन नै बसिसकेको छ । ज्यानको माया सबैलाई हुन्छ । विडम्बना के भने, तीमध्ये एक जना पनि नेपाली हुँदैनन् । धेरैले आफ्नो घर ‘गौर’ वा ‘कलिया’ बताए पनि नेपाली मधेसीको कान र जिब्रोका लागि उनीहरूले गरेका शब्दहरूको उच्चारण समावेशी हुँदैनन् ।


तरकारी बजार उठ्नेबित्तिकै टोलमा तिखो सिटीको आवाज गुन्जिन्छ । ‘फोहोर आयो फोहोर आयो’, घरपरिवारका सबै सदस्य हातमा एक एकबटा डस्टबिन लिएर घरबाहिर निस्किन्छन् । भान्साको काम गर्नेले फोहोरको निकै ठूलो पोको उचाल्नुपर्छ । चाडबाडको बेलामा टोलमा बढी नै फोहोर थुप्रिन्छ । टोलका मानिसहरू खान्छन्, खूब खान्छन् । रेस्टुराँबाट मगाएर खान्छन । खाँदो खान्छन् । त्यसपछि बाँकी रहेको खाना गल्लीको पेटीमा खुला थुपारिदिन्छन । टोलका मात्तिएका भुस्याहा कुकुरहरू त्यो खानातिर हेर्दा पनि हेर्दैनन् । फोहोर पहिले गाडामा आउँथ्यो, अचेल गाडीमा आउँछ । फोहोरको काम गर्ने सहकारीले कुन्नि कुन विदेशी दाताको सहयोगमा टिप्पर किनेको छ । एक टोल, एक टिप्पर भने पनि टिप्पर पहाडमा नुन बोक्ने खच्चडजस्तो जोतिइरहेको हुन्छ ।


अचेल नेताहरू सिंहदरबार देशका सबै गाउँ र नगरपालिकामा पुगेको छ भन्छन् । यो टोलमा भने सिंहदरबार अझसम्म आएको छैन । टोलबाट त्यस्तै तीन किलोमिटरजति पर होला साँच्चिकै सिंहदरबार । चुनाव भएको एक वर्ष भइसक्दा पनि हाम्रो टोलसम्मको तीन किलोमिटरको दूरी पनि पार गर्न सकेको छैन सिंहदरबारले ।


यो टोलका मानिसहरू अनन्तको कुरा गर्छन् । बौद्धनाथ र पशुपतिनाथको अनन्त आभाले धिपिक्क बलेको महानगरको यो टोल पहिले खाँट्टी गाउँ थियो । अनन्त माने इन्फिनिटी । यो कुन अनन्त हो ? साकार हो कि निराकार ? आकार भएको अनन्त त यही हो जहाँ कोही जन्मिँदैछ र कोही मर्दैछ । त्यो पनि भोकै । त्यो निराकारको बारेमा कसैलाई केही थाहा छैन । त्यो अनन्तका बारे मेरी श्रीमतीलाई केही थाहा होला जो हालै तीज मनाउन माइत गएकी थिइन् । मेरी आमाको तीज मनाउन माइती जाने चलन थिएन । माइती टाढा थियो । मोटर चल्ने बाटो थिएन । हुनेखानेका छोरी–बुहारी उलिनकाठ चढेर माइती जान्थे ।


मेरी आमा सिनियर थिइन् गाउँमा । उनी गाउँका सबै दिदी–बहिनी र साथीहरू बटुलेर वाग्मती जान्थिन् ऋृषि–पञ्चमीका दिन सप्तऋृषिको पूजा लगाउन । हामी केटाकेटीहरू बिहानै चिया–पाउरोटी खाएर वाग्मतीको किनारामा पुग्थ्यौं भकारी कब्जा गर्न । बिहान निकै चिसो हुन्थ्यो । वाग्मतीको निर्मल र कञ्चन पानीमा हात कठाङ्ग्रिन्थ्यो । तैपनि, हामी पौडी खेल्थ्यौं । सफा बालुवा टिलिक्क टल्किन्थे हाम्रो निधारमा । आमा राता सारीमा सजिएका महिलाको हूल बाँधेर आउँथिन् । वाग्मतीको पानीले भकारी पखाल्ने काम केटीहरूको जिम्मामा पथ्र्याे । त्यसपछि सेतो भोटो र सेतै धोतीमा सजिएका गुरुजी भकारीमा चढ्थे । उनी चामलको पीठोले अष्टमण्डल बनाउँथे र अष्टमण्डलको बीचमा श्रीयन्त्र बनाउँथे । त्यसपछि पूजा सुरु हुन्थ्यो । दर्जन महिलाहरू गोलाकार बनेर अष्टमण्डलको परिक्रमा गर्थे । धूप, दीप जल्थ्यो । विशेष नैवेद्यमा हाम्रो रुचि हुन्थ्यो । आमाहरू घर फर्केर कर्कलोको तरकारीसँग सामाको भात खान्थे । मलाई अहिलेसम्म थाहा छैन धानको कनिकाजस्तो सामा भनेको कस्तो चामल के हुन्थ्यो ?


हामी हुनेखाने वर्गमा पर्दैनौं । त्यसो भए पनि, मेरी श्रीमती गाडीमा नै आउने–जाने गर्छिन् अफिस र माइत । माइत त्यति सारो जान मन गर्दिनन् । उनी सत्य–सनातनी परिवारमा हुर्केकी नारी । उनलाई आफना बा, आमा, दिदी, बहिनी कसैको पनि एटिच्युड मन पर्दैन । उनीहरू जिन्दगीलाई सग्लो हेर्छन् । यो बांगो–टिंगो छ भन्ने बुझ्दैनन् अथवा बुझ्न चाहँदैनन् । त्यसो त, म आफैं पनि आफ्नी पत्नीसँग अलिकति झस्किन्छु र अलिकति हच्किन्छुु । उनी नारीविरुद्ध हुने कुनै पनि अन्यायको प्रतीकारात्मक आन्दोलनमा जुटेकी हुन्छिन् । उनको जागिर नै त्यही हो ।


मलाई खुसी छ, उनले उनकै रुचिअनुसारको काम पाएकी छन् । यति कुरालाई आनन्द छ कि उनी कमाउँछिन् र परिवारको आवश्यकता पूरा गर्छिन् । मुख्य कुरा, उनले काम गर्न थालेपछि घरमा बा–आमा दुवै खुसी छन् । आमा माइती नगएको धेरै भयो । बाह्र–पन्ध्र वर्षदेखि माइतीहरू पहाडबाट झरेर मधेसतिर बसाइँ सरेका छन् । पहाडमा बस्न सकिने परिस्थिति भएन । केही बढी नै काटमार भयो । जेठा मामाको घरमा ‘उनीहरू’ ले आगो लगाइदिए । सुरक्षाकर्मीले भन्यो, ‘आतंकवादीले आगो लगाइदिएका हुन् बाजे । हामी केही गर्न सक्दैनौ । केही नगर्नू भन्ने आदेश नै आएको छ माथिबाट ।’ मामा र सुरक्षाकर्मीका बीच कुराकानी हुँदाहुँदै केही पड्किएको चर्को आवाज आयो । बम, छेउको फूलछाया वस्त्र भण्डार अगाडि बम पड्किएको थियो । बम पड्किएपछिको दृश्य मुटु पगाल्ने खालको थियो । बुङ्ग धूलो उडेको थियो । आँगनमा मानिसहरू निर्वस्त्र उभिएका थिए । उनीहरूले लगाएका कपडा चिथ्राचिथ्रा भएका थिए । शरीरभरि बमका टुक्राहरू गाडिएका थिए । बिचल्ली मानिसको ।


बुहारीसँग आमाभन्दा पनि बा खुसी छन । बा रिटायर हुँदा उपसचिव थिए । त्यही साइनोले उनलाई सबैले सचिव भन्थे । बूढा मख्ख थिए— बुहारी छोरालाई टक्कर दिने अंग्रेजी वोल्छिन् । उनी चिल्लो गाडी चढेर अफिस जान्छिन् । लाख रुपैयाँ त तलब मात्रै छ उनको । आठ दस हजार आम्दानी गर्ने छोरोसँग कुनै तुलना र टक्कर हुनै सक्दैन । यसले छरछिमेकमा घरको प्रतिष्ठा ह्वात्तै बढाएको छ । ओहो, सचिव साहेबकी बुहारी त अलग्गै छिन् । टोलमा अहिलेसम्म कोही पनि देखिएको छैन उनलाई जित्ने । अस्ति मासुपसले अशोक भन्दै थियो— अंकललाई सुहाएन यो घर । अलि ‘पश’ एरियामा घर लिनुपर्‍यो । अंकल–अण्टीको आम्दानी छँदैछ । आफू अन्त बस्न गएर यो घर भाडामा लगाए पनि चल्छ । नरेले भनेपछि चल्छ । ऊ मासुको व्यापार मात्रै गर्दैन । घर–जग्गादेखि मनी लेन्डिङसम्म, उसको बिजनेस व्यापक छ । मैले सोचें, नरेले जवाफ पाउनुपर्छ । ‘नरे, मसँग गरेको कुरा सचिव साहेबसँग गर न,’ मैले भनें ।


सचिव साहेब आफ्नो पेन्सन बैंकमा थुपारेर राख्छन् र बुहारीको कमाइमा घर खर्च चलेकोमा रमाउँछन् । काँठे स्वभाव जसो गरे पनि नजाने । मलाई मन पर्दैन यस्तो कुरा । बाले अव आफूले चाहेजति खर्च गरे हुन्छ । तर, बा आफूलाई इन्फिनिटी ठान्छन् । बिहान म घरबाट निस्किनै लागेको थिएँ, बा कराइहाले— उ निस्कियो नवाव साहेब । बा सधैं कराउँछन् । मेरा लागि बिहान घरबाट निस्किनु एकप्रकारको लत भइसक्यो । चुरोटको बाक्लो कस मिलाएर कडा चिया सुरुप्प तान्दा आउने मजाबाट म आफूलाई बन्चित गर्न चाहन्नँ । आह, कति मजा आउँछ ।


अझ अहिले त दुर्गाले आफ्ना साथीहरू कुशल र अर्जुनसँग मिलेर अग्र्यानिक कफी स्टोर खोलेको छ । खोलेको त दुर्गा, कुशल र अर्जुन तीनै जना मिलेर हो । कुनै एक जना मात्रको रुचिको कारण स्टोर खुलेको होइन । एस्प्रेसो र अमेरिकानो च्वाइस हो मेरो । गर्मीको मौसममा चार–पाँच क्युब आइस हालेर लुंगा बनाउँछ दुर्गाले । त्यसको स्वाद दिव्य हुन्छ र जिब्रोमा बसिरहन्छ लामै समयसम्म ।


हामी चार–पाँच जना साथीहरू अमेरिकानो पिउँछौ । स्वाद र सन्तुष्टिका लागि । यो सोख अब हामीलाई महँगो पर्न थालेको छ । चियाभन्दा पाँच गुना महँगो । सय रुपैयाँ कप कफी । ‘बरु यतै बरिष्टाको तालिम लिएर, बिहान–बेलुका काम पनि यतै गर्ने हो कि ? त्यसो भयो भने यताको कफी खर्च यतै उठाउन सकिन्छ होला कि ? के भन्छौ साथीहरू ?’ त्यो दिन मथुराले प्रस्ताव गर्‍यो । जवाफमा हामी सबै साथीहरू गललल्ल हाँस्यौं एकसाथ । हामी हाँसेपछि अरू ग्राहकहरू पनि हाँस्न थाले । हामी हाँस्नुको कारण हामी मात्र थियौं । हामी हाँस्नु उनीहरूका लागि हाँसोको कारण बन्यो ।


जीवन निरन्तरता होइन । चाहे सद्गुरुले भनुन्, चाहे साईंरामले । मानिसको ओरिजिन वा उद्गमका बारे उनीहरूको विचार भिन्न छैन भने त्यो भक्तको गल्ती होइन । भक्त त मूर्ख हुन्छ । ऊ आफ्नो इतिहास र ज्ञानलाई सद्गुरु र साईंरामको काखमा राखेर मुस्कुराउँछ । कस्तो मूर्ख । सद्गुरु र साईंबाबा हलिउडका सिनेमा निर्माता–निर्देशक उडी अलेन होइनन् । अलेन सिधै भन्थे, मानिसहरू प्रेममा फँसे भने बर्बाद हुन्छन् । प्रेम तनाव हो । तर, सेक्सले मानिसलाई तनावमुक्त गराउँछ । पोथी र भाले, दुवैथरी मानिसले यसलाई साँचो कुरा मानेका छन् । मानिस सधैं योजनाबद्ध भएर प्रस्तुत हुन चाहन्छ । तर, त्यो सम्भव नै हुँदैन । ऊ टेन्सनको भारी बोकेर सद्गुरुको आश्रम खोज्दै भौंतारिन्छ । त्यस्तो बेलामा अलिकति सोचेर सन्त कबीरको दोहा गुनगुनाउने हो भने मानिस मगन भइहाल्छ ।


ओहो, यतिविधि बलात्कार । समाचार हेरेर, पढेर, सुनेर देशका मानिस तिलमिलाएका छन् । मानिसका साह्रा आचरणसँग, मान्यतासँग, सिद्धान्तसँग दिनहुँ बलात्कार भइरहेको देशमा नारी देहसँग बलात्कार हुनु स्वाभाविक नै हो । फूललाई फक्रिनै नदिई कोपिला अवस्थामा नै चुँडिदिएर बलात्कारी मानिस सृष्टिको संरचना नै भत्काउन चाहन्छ । दैत्यका रूपमा प्रस्तुत हुन थालेका छन् मानिसहरू । यो खतरा हो । यतिबेला सभ्यताको संक्रमण र पतन सुरु भएको छ । यति थोरै मानिस बस्ने यति सानो देशमा प्रत्यक्ष भनिएका बलात्कारका घटना यति धेरै छन् भने अप्रत्यक्ष–थाहा नपाइएका, दबाइएका, पन्छाइएका र खेदिएका घटना कति होलान् ? हाम्रो समाज आफ्नै विरुद्ध कति आततायी बनेको छ ।


अघिल्लो साता बलात्कारीको निर्मम सिकार भएका केटीहरूप्रति श्रद्धाको मैनबत्ती बालेर माइतीघर, मण्डलाबाट फर्किंदा म सोचिरहेको थिएँ— हामीले बलात्कारको विरोध गर्दागर्दै त्यसलाई ग्लोरिफाई गरिरहेका छौं । आफूलाई सुरक्षित पार्नका लागि शनिबार बिदाको दिन पारेर मण्डला आउने महानुभावहरू के अरू दिन पनि बत्ती बाल्न आउलान् ? मेरो चिन्तनको आवश्यकता थिएन त्यतिखेर । तैपनि, मनमा आइहाल्यो भने म के गरौं ? अँध्यारोलाई चिर्दै म घरतिर लागें । कोठामा मेरी पत्नी उभिएकी थिइन् स्वागतमा । उनी हटकेसबाट प्लेटमा खाना हाल्न थालिन् । म हात धुन गएँ । आएर एक गाँस मुखमा हाल्नेबित्तिकै उनले भनिन्, ‘मसँग गुड न्यूज छ हाम्रा लागि । आई एम एक्स्पेक्टिङ ।’


उनको र मेरोबीच सम्बोधन सहज थिएन । बा–आमाको अगाडि उनी मलाई ‘हजुर, बक्सियोस्’ भन्ने गर्थिन् । कोठामा हामी तिमी–तिमी । भनिन्, ‘तिमी के चाहन्छौ ? सन अर डटर ।’ डटर शब्द सुन्नेबित्तिकै म आत्तिएँ, ‘ओहो, नो । तिनीहरूले मार्छन् । मलाई रहर लागेको त छोरीकै हो । तर, बचाउने कसरी ?’


म अदृश्य भविष्यतिर संकेत गर्दै थिएँ । त्यो अदृश्य मात्र होइन, अचिन्त्य पनि थियो । मेरो प्रतिक्रियाले उनी पनि आत्तिएकी थिइन् । बलात्कारपछि मारिएका छोरीहरूका नाममा श्रध्दाञ्जलीका खातिर मैनबत्ती किन्न र सभा आयोजना गर्ने दाताकी प्रतिनिधि थिइन् उनी । अहिले उनी आमा बन्ने क्रममा छिन् । मलाई छोरी चाहिएको छ । तर, उनी जन्मिएपछि समर्थ नहुन्जेलसम्म आततायीहरूबाट कसरी जोगाउने उनलाई ? हामी निकै समय निदाएनौ । उनी केही सोचिरहेकी थिइन् ।

प्रकाशित : आश्विन १३, २०७५ ०९:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेलम्ची चीर पुराण

चिन्तन
काठमाडौं महानगरवासीका निम्ति मेलम्ची एउटा अन्नत सपना बनेको छ, आयुबिनाको एउटा सपना ।
किशोर नेपाल

काठमाडौँ — बााटाघाटा त नभएका होइनन् । छोटा बाटा, गल्छी–गल्छ्यौंडा त काठमाडौं शहरको विशेषता नै हो । तर, अलिकति हतारमा भएको र सुटबुट लगाएको मानिस गल्लीमा फँस्न पनि सक्दछ । गल्लीको बाटो ढलीमली गर्दै, चिलाएको ढाड पर्खालका भित्तामा कन्याउँदै, साँढे आउने सम्भावना त छँदै थियो । साँढेबाट बच्न गल्लीमा भाग्ने ठाउँ थिएन ।

जुन बाटो आएको हो त्यही बाटो फर्किनुबाहेक उपाय थिएन । साँढेले बाटो छोड्दैन । राज्यले ट्राफिक पुलिस नै खटाए पनि गल्लीको ट्राफिक शहरको भन्दा ध्वस्त हुन्छ ।

घरबाट मूल बाटो त्यति टाढा पनि छैन । कतै जाने सिलसिलामा घरछेउको लेखनाथ पौड्याल मार्ग छिचल्दै भरखरै नयाँ पिच भएको सूर्यविक्रम ज्ञवाली मार्ग पुग्नु सहज थियो । यो बाटो निस्किँदा यसको नाम लेखनाथ पौड्याल मार्ग निकै असहज लाग्ने । हाम्रो यो गाउँसँग कवि शिरोमणि लेखनाथ पौड्यालको कुनै साइनो थिएन । बरु, इतिहास शिरोमणि बाबुराम आचार्यको घर यहीं थियो । यो बाटो उनकै नाममा समर्पित गरिएको भए राम्रो हुन्थ्यो होला । कुरा यति मात्रै कि सहज बाटो सकिने ठाउँमा फोहोरको बडो ठूलो डुंगुर राखिएको हुन्थ्यो । यो सानो चोक फोहोरमैलाको कलेक्सन सेन्टर थियो । विदेशबाट ल्याइएका चिकन नगेट, सिंगापुर सलामीजस्ता अधिकांश डिब्बाबन्द जंक फुडका खोलहरू, टाइगर बियरका बोतलहरू ।


फोहोर हुनेखाने वर्गको घरबाट निस्किएर सार्वजनिक सडकमा थुिप्रएको थियो । बस्ती पनि हुने–खानेकै थियो । काम नगरी खान नपाउने वर्गका मानिस पनि थिए टोलमा । तर, ‘यिनीहरू’ र ‘उनीहरू’ को सम्बन्ध थिएन । फोहोरमैला व्यवस्थापनका कर्मचारीहरू महिनामा एकदुई पटक नियमित आयोजना गरिने हडतालमा सहभागी हुने भएकाले एकदुई दिनमा नै यो फोहोरको थुप्रो उठ्ने सम्भावना थिएन । तर, छेउछाउका घरवालाले फोहोरको थुप्रो देखेर आफ्ना मुनिमजीलाई इसारा गरे भने एकै घण्टामा एरिया क्लिन हुने गथ्र्यो । फोहोरमैला व्यवस्थापनका कर्मचारीहरू आफ्नो आर्थिक हैसियत उकासिएकोमा हर्षित हुन्थे । उनीहरूले मासिक रूपमा पाउने तलबजति मुनिमजीबाट ज्याला पाउँथे ।
त्यो दिन मैले छिटोछिटो फोहोरको थुप्रो क्रस गरें । किनभने, फोहोरको थुप्रोबाट दुर्गन्ध आइरहेको थियो । हिंड्दै अलि पर पुगेको मात्रै थिएँ । अनायास एउटा केटोले, त्यही फोहोरको थुप्रो घुमाएर, आफ्नो मोटरसाइकल हुइँक्याएर मतिर ल्यायो । उसले मोटरसाइकल रोक्यो र भन्यो, ‘अंकलसँग एउटा स्न्याप लिनुपर्‍यो । अंकल त सेलिब्रिटी । मेरो बुवाको साथी पनि । अहिले अंकललाई यहाँ देखेर ऊ उति परदेखि पछ्याउँदै आएको ।’


केटाको मुखबाट सेलिब्रिटी शब्द सुनेर मलाई साँच्चै कस्तोकस्तो रमाइलो ‘फिल’ भयो । कुनै दिन कसैले मलाई सेलिब्रिटी पनि भनेको थियो । कहिल्यै नसोचेको कुरा । पहिले त पत्यार नै लागेन, कसैले मलाई सेलिव्रिटी भनेको छ । तर, केटोले आफैं स्पष्टीकरण दियो : अंकल टेलिभिजन प्रोग्राम बनाउन हाम्रो गाउँमा आउनुभएको थियो । उता हाम्रो गाउँतिर गतिला होटल थिएनन् । हाम्रै घरमा बस्नुभएको थियो । त्यतिखेर हामी बाह्र–पन्ध्र वर्षका फुच्चे थियौं ।


त्यसपछि उसले रविप्रतापको नाम लियो । लाग्यो, यो नाम त मैले त्यो इलाकाभर कतै सुनेकै थिइनँ । उसले गाउँको नाम लियो— कटहरी, उदयपुर । केटो स्मार्ट रहेछ । पक्कै पनि कटारीको पुरानो नाम हुनुपर्दछ कटहरी । जमाना कहाँ पुगिसक्यो । हामी भने फोहोरको थुप्रोछेउ उभिएर इतिहासको दिग्दर्शन गर्दै छौ । यहींनिर हो मलाई आफू सेलिब्रिटी भएर पनि केही गर्न नसकेको फिल भएको ।


उसले लगालग एक दर्जन फोटो खिच्यो र भन्यो, ‘फेसबुकमा राख्छु है अंकल ।’ मैले केही जवाफ दिइनँ । उसको नाम पनि सोधिनँ । उसले बाबु रविप्रतापको नाम बतायो, आफ्नो बताएन । मैले उसलाई खासै महत्त्व दिएको थिइनँ । मेरा लागि ऊ पनि, यो सडकमा दिनहुँ मोटरसाइकल र स्कुटर चलाउने सयौं केटा–केटीमा एक जना थियो । अलिकति पर, सडकको छेउमा राजधानी शहरकै सबभन्दा ठूलो एउटा म्यानपावर कम्पनी थियो : अधिकांश केटा–केटीको गन्तव्य । त्यहाँ सिकलाई पनि गराइन्थ्यो र मानिसलाई रोजगारीमा पठाइन्थ्यो । आफूलाई रविप्रतापको छोरो बताउने त्यो केटोको यात्रा पनि सम्भवत: त्यहींसम्मको थियो कि ?


साँझ म घर फर्किंदा पनि केटो त्यही थियो । मेरो अनुमान ठीकै थियो । मलाई देख्नेबित्तिकै केटोले रमाउँदै बतायो, ‘कोरियाली भाषाको जाँच दिएको थिएँ । पास भएछु अंकल । यो खुसीमा अंकल केही खाऊँ न, ऊ त्यो रेस्टुराँमा चिसो बियर पाइन्छ ।’ चिसो बियर शब्दले मेरो तृष्णा पक्कै बढाएको थियो । तर, त्यसले मेरो धक फुकाउन सकेन । चिन्दै नचिनेको र आफूभन्दा तीस वर्ष कान्छो केटोसँग के बियर तान्नु ? जवाफमा मैले भनें, ‘होइन बाबु म बियर पिउँदिनँ ।’ केटोले पत्याएन । मलाई लोभ नलागेको होइन । तैपनि म खुलिनँ । रेस्टुराँको चिसो बियर बिकेन ।


देशमा प्रजातन्त्रको पुन:स्थापना भएपछि, २०४६ यता, देख्न नपर्ने कुरा देखिए र सुन्न नपर्ने कुरा सुनिए । केटाहरूले आफू झगडा गरेर बस्ने ठाउँको नाम राखे मिलनचोक । त्यसपछि आयो विजयचोक । चियाचोक । कफीचोक । कति चोक कति । क्रसिङ र चोक गन्न थाल्यो भने पुग्नुपर्ने ठाउँमा पुगिँदैन । आइतीमायालाई पुग्नुपर्ने थियो वीर अस्पताल । पुगिन् बग्गीखाना । उनी कसलाई भनुन् आफ्नो दु:ख । प्रेस जगत्का एक जना नेताले भनी नै सकेका छन् (कि) नेताहरूसँग प्रश्न सोध्न सकिन्छ । ‘तर, मिलाएर सोध्नुपर्छ ।’


विषय प्रवेश गरिएको थियो बाटोबाट । शहरमा बाटो नबन्ने होइन, नटिक्ने हो । ठेकदारले दुई वर्षको ग्यारेन्टी दिएको छ भने ढुक्क भए हुन्छ, बाटो छ महिना चल्छ । तर, डाक्टर रवीन्द्र समीर भन्छन्, ‘चाबहिल, बौद्ध, जोरपाटी, साँखुको जस्तो बेहाल बाटो विश्वको कुनै पनि शहरमा छैनजस्तो लाग्यो ।’ कस्तो रमाइलो कुरा डाक्टर समीरको । डाक्टर साहेबलाई यतिबेला बानेश्वर भीमसेनगोला हुँदै कात्यायनी र शान्तिनगर पुग्नुभयो भने, कात्यायनीबाट छोटो बाटो रत्नराज्य स्कुल निस्किनुभयो भने कसरी निस्किनुहोला ? आश्चर्य यति मात्रै हो । अब यस्ता खराब बाटो र खाल्डाखुल्डी खोज्दै हिंड्ने हो भने काठमाडौंभरि कतिकति । रमाइलो के भने हरेक वर्ष बाटो खनजोत योजना चलिरहेकै हुन्छ ।


यो बाटोघाटोको कुरामा मन्त्री तथा अधिकारीलाई प्रश्न सोध्दा मिलाउनु के र ? तीसौं वर्षदेखि निर्माणाधीन रहेको मेलम्ची नदीमा पानीको बहाव पहिलेको तुलनामा आधा घटेको छ । मेलम्ची मिसनबाट कमाउनेले कुस्त कमाए । सफा वाग्मतीको नारा दिएर पनि उत्तिकै पैसा कमाए सरोकारवालाले । एसियाली विकास बैंकको लगानीमा शहर सफा हुन लागेको थियो, त्यो पनि मेलम्चीमा नै अड्कियो । बरु, मेलम्चीको पानी ल्याएर भुइँचालोका कारण दबेको रानीपोखरीमा खसाल्ने योजना बनेको भए मेलम्ची अड्किँदैनथ्यो कि ?
बत्तीमा झुम्मिएर पुतलीहरू मरेजस्तै एक दिन मेलम्ची बन्नेछ र मर्नेछ । पानी त्यहाँबाट अनवरत आए पनि त्यसको उपादेयता रहन दिइने छैन । सरकारको समृद्धिको नारा पूरा गराउन अहोरात्र खटिएका साहु–महाजनको लगानीमा खुलेका पानी प्रशोधन कारखानाबाट जारमा भरेर पसलमा, घरमा, महलमा र दरबारमा जसरी पानीको आपूर्ति भइरहेको छ त्यसमा अलिकति पनि घाउखत नलाग्ने उपाय नरचेसम्म मेलम्ची आउला भन्नेमा संशय नै छ । मेलम्चीका ठेकदारलाई सरकार पिटेजस्तो गर्छ, ठेकदार रोएजस्तो गर्दछ । दुईवटा मेलम्ची बनाउन पुग्ने पैसा त ठेकदारले हर्जाना नै असुल गरी सक्यो । भनेपछि त्वं शरणम् ।


मेलम्चीका योगदान अतुलनीय छन् यो अलकापुरीका लागि । शहरका ठाउँठाउँका सडकमा बडो शानदारका बत्ती जडिएका छन । बाटो प्रिन्टेड छ । वेल प्रिन्टेड । जस्तो कि मानिसहरू भन्छन्— टेन्सन छ र त्यो कसै न कसैले बोक्नैपर्छ । मेलम्ची पनि एकप्रकारको टेन्सन नै हो जुन पूरा हुन्छ, सकिन्छ भनेको दिन पूरा पनि हुँदैन र सकिंदा पनि सकिंदैन । मेलम्चीको बहानामा काठमाडौं धूलोमा नुहाएको छ । धूलो पनि कस्तो भने पानीले भिजेर पनि उड्न सक्दैन । काठमाडौं र वरपरका गल्छी–गल्छेंडा कालोपत्रे भएका छन् । गल्छीमा माछा पर्छ ।
‘सकिन्छ’ भनेर मात्रै हुन्छ र ? सकिने भए उहिले नै एउटा बाटोको निर्माण हुन्थ्यो । ‘जनयुद्ध’ अथवा क्रान्ति सञ्चालनका लागि प्रचण्डले मात्रै पुलिसको बन्दुक खोसेका थिए र ? २०१७ फागुन १७ गते पाँचथरको सुखिया पोखरीबाट छापामार कांग्रेसले पनि पुलिसको बन्दुक लुटेका थिए । आखिर, यो देशमा, यो हाम्रो राम्रो देशमा, अल्लो र ढिंडोबाहेक अरू प्रश्न नै छैन । उपभोक्ता संस्कृतिको त कुरै बेग्लै भो । सरकारहरूमा उन्माद र उत्ताउलोपन बढ्दै जान्छ । कांग्रेसको पनि बढेको थियो र अहिले कम्युनिस्टहरूको पनि बढेको छ । यो हो अव्यवस्था । जति समाज लथालिंग हुन्छ त्यति नै लोकतन्त्रका दुश्मनहरू खुसी हुन्छन् । कम्युनिस्टहरू आफूलाई लोकतान्त्रिक मान्दैनन् । तर, लोकतन्त्र त कम्युनिस्टका लागि पनि उपयोगी हुन्छ । लोकतन्त्रले नै उनीहरूलाई सामाजिक वैधता दिन्छ ।
kishore.nepal@gmail.com

प्रकाशित : असार २३, २०७५ १०:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT