वाङ्मय सेरोफेरो

बहस
ह्रस्व, दीर्घलगायत अक्षरश: सबै शुद्ध चाहिने । नत्र अक्षर, मात्रा सबै दोहोर्‍याई तेहर्‍याई दसौं पटकसम्म लेखेर देखाउनुपर्ने । अंग्रेजी विन्यासमेत उसैगरी सिकियो ।
रामेश्वरप्रसाद बराल

काठमाडौँ — अमेरिका, बेलायतजस्ता मुलुकले टोफेल र आईएलटीएसजस्ता भाषामानक पहिल्याएका छन् । त्यहाँ अध्ययन गर्ने हाम्रै विद्यार्थीहरूले पनि अंग्रेजी भाषा सुन्न, बोल्न, पढ्न र लेख्न चारैवटा खुड्किला उक्लिनुपर्छ । हामीकहाँ भने सरकारी, अद्र्धसरकारी वा निजी कतै यस्तो वाङ्मय नियामक छैन । यस्ता कतिपय निकायका पत्रलेखन, सूचना वा विज्ञापनपाटीमा त्रुटि र अशुद्धता झल्किन्छ ।

भन्नै पर्दैन— आज हामी व्यस्त छौँ, व्यस्त हुन झन् अभ्यस्त छौँ । तथापि न विश्वस्त छौँ, न त खुलस्त छौँ । त्यसैले हामी अस्तव्यस्त छौँ । बोली फुटेदेखि हाम्रो यही नै चाल छ । अबोध बालकको तोतेबोलीसँगै टुकुटुकु हिँडेको हेर्न सुन्न पनि मेलो छैन । मेरो पनि यस्तै थियो पढ्नैपर्ने, पढ्न जानैपर्ने । राजीखुसी होस्, दोर्किएर, घिस्सिएर, मुन्टिएर होस् वा झ्यानाकुल्टुङ भएर । न पढ्न पाइनँ भन्ने खुड्को, न पढ्छु भन्ने भाकल । हँुदै जाँदा बुभँmे । पढगुन निर्बाेध उपासना हो ।


फेरि कस्तो उदेक र संजोग ! अक्षर र ईश्वरको सँगसँगै उपासना । ज्ञान खुल्दै गए । अक्षर के, ईश्वर के– दुवै अनीश्वर । ईश्वर अनीश्वर बन्न सक्लान्, अक्षर अनक्षर बन्न सक्तैनन् । अर्कातिर ईश्वर निराकार । यिनको रूप, रङ, सज्जा वा ज्यामितिक आकृति खोइ कुन हो ? काला मान्छेका ईश्वर काला, गोरा मान्छेका गोरा । भैंसीले आफ्नो ईश्वर देख्दा अझ कालो, अझ अजंगको आफ्नै रूप पाउला, हगि !


अक्षर भने ज्यामितीय र चित्रमय छन् । हुन त अक्षर र ईश्वर दुवै घोकन्ती हुन् । अहिले घोक्ने कुरा सम्झिनुपर्दा अचम्म मान्छु । मैले अंग्रेजी वर्णमाला हिन्दी माध्यमले सिकेँ, किनभने गुरु हिन्दुस्तानी बिहारी थिए । यिनले धेरै थोक सिकाए । गुन मान्नुपर्छ । एकथोक भने कहिल्यै सिकाएनन् । त्यो हो हिन्दुस्तानी राष्ट्रवाद । बिचराहरू, भन्नुको नुनका सोझा । नत्र उनले आफ्नै राष्ट्रवादको चेला मुड्न सक्थे र भिराउन सक्थे । ज्ञान पस्दै जाँदा के पनि थाहा पाएँ भने हिन्दी र नेपाली संस्कृतजस्तै देवनागरी वर्ण हुन् ।


अहिले लाग्छ— यसले ब्रिटिस उपनिवेशवादविरुद्ध हामीलाई चनाखो हुन सिकाएको रहेछ, र उपनिवेशवादी लुटाहा शक्तिको आफ्नै कङ्गाली हैसियतप्रतिको व्यङ्ग्यवाण रहेछ । जिब्रोमै बिलाउने लवज र कति सहज ! हामी पनि लहैलहैमा भट्टयाउँथ्यौं, खाँडो जगाउँथ्यौँ, ‘कुइरेका टाउकामा ट्वाक ।’ सबैथोक बुझ्नै किन पथ्र्याे र ? भैंसीको थुतुनो भैंसीलाई प्यारो लाग्छ नै । भन्नुपर्‍यो, धन्य पराधीन भएर बाँच्नु परेन !


तथापि पढाइमा थियो कठोर अनुशासन । मर्यादापालकमा गुरुहरू । गुरुले बोल्थे, हामीले टिप्नुपथ्र्याे । लेख्दा ह्रस्व, दीर्घलगायत अक्षरश: सबै शुद्ध चाहिने । नत्र अक्षर, मात्रा सबै दोहोर्‍याई तेहर्‍याई दसौं पटकसम्म लेखेर देखाउनुपर्ने । अंग्रेजी विन्याससमेत उसैगरी सिकियो । कक्षा उक्लिँदै जाँदा नेपाली–हिन्दी, हिन्दी–अंग्रेजी र कुनैका उल्टापाल्टा पनि भाषान्तरण गर्नुपथ्र्याे । म सम्झिन्छु एक पटक मैले ‘राम आज कलकत्ता जाता है’ को पाठमा अंग्रेजी यसरी सुनाएको थिएँ— राम टुडे कलकत्ता गोज’ । अझ माथिल्ला कक्षामा हिन्दी त छुटयो, भाषान्तरण भने छुटेन ।


यसै कालक्रममा २०१४ सालताका हो । विराटनगर (म हुर्केको ठाउँ) मा बित्थाको भाषा संग्राम मच्चियो । भनियो— नेपाली होइन, हिन्दी । आखिर थियो नेपालीकै वर्चस्व र तत्कालीन समाजमा यसैको मूलप्रवाह । यसैमा पनि कोही ठालू पल्टियो र पण्डित्याइँ छाँट्न पुग्यो : ‘जहाँ अन्यायले न्यायको घाँटी निमोठ्छ, त्यहाँ माटो बोल्छ ।’
ढर्र ढम्म ढर्र ढम्म ढ्वाङ ठोक सारा आज जानुपर्छ हामी देशनिम्ति प्यारा (देवकोटा) महेन्द्रकालका दुईवटा काम मैले घतलाग्दा पाएँ । नेपाली वाङ्मय र नेपाली मुद्राको राज्यव्यापी प्रचलन । नेपाली वाङ्मय अझ मलिलो हरितगृह र चित्रमय उद्यान बन्यो । त्यसैले यो वाङ्मय पुर्खाबाट आएको शेषपछिको बकसपत्र हो । यसमा हिमाली शीतल वायुको सफा चुम्बनदेखि तराई समथरसम्म मधुरता र मिठास छ ।


अब यो उद्यानमा धेरै सिर्जनशीलता झुल्केका र नवप्रतिभाले काँध थापेका छन् । काव्य, कथा, उपन्यास, आत्मकथा, समालोचना बग्रेल्ती आएका छन् । प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, गोरखापत्रजस्ताले नेभाप्रसको अभिभारा थेगेका छन् । निजी बुद्धिबर्कत र लगानीमा लाभ–हानि जे बेहोर्नुपरे पनि ‘अभिव्यक्ति’ र ‘रचना’ आदिका स्तरीय प्रकाशन चार–पाँच दशकदेखि धानिएकै छन् । भानुभक्त, देवकोटा, लेखनाथ, गोपालप्रसाद रिमाल र नवप्रतिभाका कृतिहरू आंशिक भए पनि अंग्रेजी भाषान्तरण बढी राखेकै छन् ।


उत्पादन कार्यमा वाङ्मय र उद्योग व्यवसाय एकैनासे हुन् । दुवैले आफ्ना उत्पादन जनता–जनार्दनले सहज पाउन सकून् भन्ने चाहना गर्छन्, र दुवैले जनमानसको पहँुचमा होडबाजी । उता वाङ्मयमा साहित्य र भाषाको अन्योन्याश्रित सम्बन्ध छ । यिनले एक–अर्कालाई निर्देशन र नियन्त्रण गरी राखेका हुन्छन् । तसर्थ वाङ्मय राष्ट्र र राष्ट्रत्वको अखण्ड श्रीवृद्धि र सोह्रशृंगार हो । यसलाई राजनीति वा उग्रवादले टुक्रयायो वा टुक्रयाउन खोज्यो भने यसको शाश्वतता डगमगिन्छ । त्यसैगरी शब्द र भाषाहरू व्याकरणले निर्देशित गर्‍यो भने वाङ्मय बिटुलिनबाट जोगिन्छ । यथार्थमा यसले मानसपटलमा चौरासी व्यञ्जनको पृथक्–पृथक् स्वाद र रस खोज्छ ।


नियाल्दै जाँदा परभाषीको अडानतिर पनि नजर जान्छ । वाङ्मयका प्रत्यक्ष सरोकार नभएका विधा, जस्तै व्यवस्थापन, न्यायकानुन, विज्ञान, आईटी आदिमा अझ अन्योल छ । यस्तै, वाङ्मय स्तरीयतामा समेत पहल गर्न नसकिने होइन ।

प्रकाशित : आश्विन १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्

भाँडभैलो राष्ट्रलिपि

विमर्श
नेपाली कसरी शुद्ध लेख्ने ? जस्ता प्रकाशनको आफ्नै स्थान छ । सुधपामध्येका पारसमणिको भाषा–साहित्य पनि मेची हुँदै हामीले भित्र्याएकै हो ।
रामेश्वरप्रसाद बराल

काठमाडौँ — भाषा एक परम्परा हो । यो संस्कृतिसँगै डोरिन्छ । भाषाकै धुकधुकी भयो भने संस्कृतिसमेत धुकधुकीमा पुग्छ । मुलुकको सास निमोठिन्छ । अनि नेपालीको गहिरो डोबमा ऐजेरु जेलिनेछ । लुगा लाउन झिल्टो भयो, म त सर्वांग नांगै बसेँ है भन्न पाइन्छ र ?

अचेल नेपली वर्णविन्यास शब्द र भाषाले मेरो पेट हुँडल्छ । भाँडभैलो, बिजोक, अझ कन्तबिजोक देख्छु । हेरीसाद्धे न गरीसाद्धे । सुन्नुस्— म जान्नँ, म खान्नँ, म हुन्नँका सट्टा सुन्नुहुनेछ जाँदिन, खाँदिन, हुँदिन । जिब्रो जिम्लिसक्यो । भन्छन्— काम सकाइदिऊँ । यो काम गरी सकौँ/सक्न दिउँm भन्नेहरू औँलामै गन्नुपर्ने । सञ्चारजगत् अझ बिटुलिंदै गएको हो कि ? लेखिएको हुन्छ— वहाँले भने, उनीहरू जानुभयो आदि ।


पदसंगति र पदमेल कसले वास्ता गरोस् ? शब्दचयन उस्तै वैराग चल्ने । भागमभाग, ठेलमठेल, किचाघान बिलाए— आयो भागदौड । मानापाथी, मेलापात, खल्ती भर्नुको सट्टा उडान भर्न थालियो । अब बत्ती निभाउनुका सट्टा कर्तव्य निभाइन्छ । दाँतमा सिरिङ्ङ होइन, झनझनाहट हुन्छ । अझ कति बिजोक सुन्ने— विध्या (विद्या ?), धोतक (द्योतक ?), उध्योग (उद्योग ?), खाध्य (खाद्य ?), एन (ऐन ?), एच्छिक/स्वेच्छिक (ऐच्छिक/स्वैच्छिक ?), काठमाण्डौ (काठमाडौँ/काठमाडौं ?), आयुर्वेदिक (वेदीय/वैदिक) । जति जिब्रा त्यति फड्कार ।


सबै छाडा, सबै सार्वभौम । वकिलका आफ्नै । विद्यालय, महाविद्यालयका आफ्नै । सञ्चार मुद्रण र वाचनका आफ्नै । परिवारभित्र झन् खपिनसक्नु । भन्छन्— राम गयो, सीता गयो । उसले फोन गरी ल्यायो । अनि ‘कान्तिपुर’ दैनिक लेख्छ— बर्गिकृत (वर्गीकृत ?) विज्ञापन । भाषा हो जे लेखे पनि, जे बोले पनि बुझे भै गो नि । यसो भन्नेहरू फेरि गनीसाद्धे छैनन् । परीक्षा दिएर गुल्टिने डर भए पो ! लौ त ‘क्याट’ लाई ‘काट’ लेखेर कसैले परीक्षा उत्तीर्ण गरोस् ? हुन त नेपालीका परीक्षक उत्तिकै अल्मलमा छन् । खोतल्दै जानोस् । तल थोप्ली व र बाटुलो ब मा अन्तर हरायो । तालव्य श, मूर्धन्य ष, दन्त स को बिचल्ली छ । सनातन बाह्रखरीको बाटो बिरानो भयो । कपुरी क, आँखे ख, गाईगोडे ग बिलाए । ऋ लेख्ने तालिम छैन । क्ष भनेको क् + ष, त्र भनेको त् + र, ज्ञ भनेको ज् + ञ, सबै ओझेलमा परे । ज्ञानलाई ग्यान/ग्याँन लेखेर कोही लाउके भए कि ग्याँचे भाषा बिच्काउनेले बुझून् । तत्सम–तद्भव, संयुक्ताक्षर र हलन्त, विसर्ग, अनुस्वार (शिरविन्दु र चन्द्रविन्दु), सन्धि, समास, कर्ता वा कर्मसँग विभक्तिको डिक, ह्रस्व – दीर्घ, उपसर्ग – प्रत्यय, ऋकार (कृ, पृ आदि) अनि (+) र इकार (क्रि, प्रि आदि) अहिलेका किशोरपुस्तामा कति पुग्यो थाहा छैन । द्य को चीरहरण भयो । यो ध होइन । हुन त यो ‘द’ हो तर यसमा दन्तबाहेक कण्ठ र तालुको समेत नजानिंदो आघात छ ।
यथार्थमा संस्कृतको सामान्य ज्ञानबिना पनि नेपालीको ज्ञान कति पूर्ण होला यो बुझ्ने कि नबुझ्ने ? देवनागरी लिपिले संस्कृत नखोजे त हुन्थ्यो । सुन्नोस् र पढ्नोस् त, अहिलेका राजनीतिकर्मीका भाषण र रेडियो, सञ्चारवाचन र मुद्रण । सयकडा असी संस्कृत हुन्छन् । त्यसो त अहिले हामी म्लेच्छतन्त्रमा छौँ र ‘ए फर एपल’ तिर लागेका छौं । यो भनेर अंग्रेजीको खोइरो खनेको भने होइन, न त बाहुनवादका लागि मरिहत्ते गरेको हो । त्यसो भन्दैमा आफ्नो भाषा कुभिन्डे भीरको उभिन्डे कहालीमा जाकेर आफूचाहिँ फुत्किनु भएन नि ! अर्कातिर हेर्नाेस् त, अंग्रेजी नभए पनि जापान, चीन, कोरियाजस्ताले विकास चुलीमा खुड्किला उक्लेका । कम्प्युटरलाई फिरंगीले कति ध्वनिभ्रमित गरेको छ । राष्ट्रलिपि देवनागरीमा कम्प्युटर कुनै भ्रममा पर्दैन । जे भन्यो त्यही लेख्छ— अक्षरश:, निर्देशन दिन सक्नुपर्छ ।


तसर्थ यसरी हेर्दा न म पहिलेको रहन सकँे, न अहिलेको भएँ । तैपनि के गरौँ ? भाषा र भोटा मैले जन्ँिमदै जडौरीमा पाएका र नमागी आएका हुन् ।


अब एक छिन अर्काेथरीको कुरा । कुनै हिन्दीका शिक्षकले ६० वर्षअघि हामीलाई विद्यालयमा स्वरवर्ण यसरी पढाए— अ आ अि अी अु अू अ‍े अ‍ै । पछि स्नातकोत्तरमा मैले अंग्रेजी उच्चारणको अद्भुत शोधग्रन्थ पढ्न पाएँ । यसले भनेको छ—‘क्याट’को ध्वनि ‘कैट’ हो, त्यसैले भाषा सोही ध्वनिअनुसार लेखिनुपर्छ । तर न हिन्दी वर्ण त्यसरी आए, न अंग्रेजीमा त्यस्तो लेख्ने चलन आयो । त्यसैले भाषा र अंगवस्त्र जन्मिनेबित्तिकै कुन पहिला आयो भन्ने जान्नुभन्दा दुवै सनातन तर कृत्रिम भनेर बुझ्नुपर्छ । अनि लिपि र भाषा दुवैलाई खार्नुपर्छ । यिनको पुन:पुन: अभ्यास चाहिन्छ । अझ सजिलो गरी भन्नुपर्दा यो सुनेर पुग्दैन, लेखेर पढेर मात्र जान्न सकिन्छ । भाषा जन्मजात सीप होइन ।


यस्तो अभियानमा विद्यालयबाहेक सञ्चारले खँदिलो काम गर्न सक्छन्— बीबीसी, सीएनएनले आफ्नो भाषिकस्तर डोर्‍याएजस्तो । हामीकहाँ यस्तो कुनचाहिँ माध्यम छ, खोइ ? अनि त हामीले बुझ्नुपर्‍यो हाम्रो भाषा–साहित्य पूर्वभानुभक्तकालदेखि डोरिंदै आएको छ । देवकोटा–लेखनाथ–सम प्रवृतिले यसको खाँडो जगाइसकेका छन् । हाम्रो साहित्यको गौरवगाथाबारे एक जना सुप्रसिद्ध हिन्दी समालोचकले यसरी देखेछन्—‘एउटा सिंगो देवकोटा हिन्दुस्थानका तीन महाकवि पन्त, प्रसाद र निरालाको समग्र रूपभन्दा माथिल्लो तहका रहेछन् ।’ अनि त सोचौँ— पण्डित सोमनाथ सिग्देलको ‘मध्यचन्द्रिका’ हाम्रो कोसेढुंगा हो । यो केरिए–मेटिए कुन भड्खालोको खाँदमा गुल्टिने हो भन्न सकिन्न । ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ जस्ता मसिना प्रकाशनको फेरि आफ्नै स्थान छ । सुधपामध्येका पारसमणिको व्याकरण र भाषा–साहित्य पनि मेची हुँदै हामीले भित्र्याएकै हो । यसलाई फेरि टिस्टातिरै फर्कायौँ भने आसाम, दार्जिलिङ, सिक्किम, गढ्वालबाट अवगाल आउला ‘हामीले लत्यायौँ ।’ उसैगरी रामनगर (बेतिया) बाट गोपालसिंह नेपाली (कविता : ‘भ्रान्ति’ तथा उनका अरू पनि कृति हुनुपर्छ ?)को मानहानि होला ।


पारसमणि प्रधानको ‘शब्द चाण्डालीदोष’ (व्याकरण नियम) को आफ्नै अनुशासन छ । यसको हुर्मत लिएमा व्याकरणीय अपराध ठहर्छ । यो दोषको अर्थ हो कुनै पदावली मिलाउँदा एउटा पद संस्कृत र अर्काे असंस्कृत मिलान गर्नु हुँदैन । यसअनुसार मुलुकी संहिता (अरबी+संस्कृत) र सर्वाेच्च अदालत (संस्कृत+अरबी) जस्ता पदमिलान गरिनु शब्द चाण्डालीदोष हो । अन्तमा, महानन्द सापकोटाको झर्राेवाद झन् कसरी बिर्सिने ? पैँचो पाएँ भन्दैमा छन्द न बन्द जिब्रो पर्पराउने कुरो नहसुरे है– उनी भन्थे।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्