कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘बाजी मुयो’ को हुँकार

अनुभूति
गणेश राई

काठमाडौँ — हाम्रो पछाडि दुई जना अपरिचित आइरहेका थिए । तिनले थर्काइहाले, ‘ए केटा हो, स्कुल जानेले यसरी अलमल गर्ने हो ? यतिबेला स्कुल जाने हो ? अब तिमीहरू कान काटिदिन्छु ।’ अचानक ती तागाधारी मान्छेको हुँकारले हामी तर्सियौं । उसले कम्मरमा भिरेको खुकुरी दाबबाट झिकेको देखेपछि सातोपुत्लो उडेर कहाँ पुग्यो–पुग्यो ।

‘बाजी मुयो’ को हुँकार

प्यूठानको मल्लारानी गाउँपालिका–२ चुँजास्थित अमर माध्यमिक विद्यालयमा हालैमात्र एक घटना हुन पुग्यो । ‘चक्कु देखाउँदै विद्यार्थीलाई सजाय’ शीर्षक समाचार पढेर यो घटनाले मनमा खैलाबैला मच्चायो । घटनाअनुसार, ‘चुँजाका शिक्षक वसन्त केसीले कक्षा २ की ८ वर्षीया वर्षा घर्तीलाई ‘क्लास वर्क’ राम्रो नगरेको भन्दै गलामा चक्कुको उल्टो भागबाट दाबेका थिए । धारिलो भागबाटै दाबेपछि उनी घाइते भएकी हुन् । घर्तीलाई उपचार गर्न जिल्ला अस्पताल बिजुवारमा सम्भव नभएपछि भैरहवा लगिएको थियो ।


त्यो समाचारले चार दशक पुरानो आफूमाथि आइपरेको एउटा क्षण मन–मष्तिष्कमा उत्रिएको छ । उतिखेर म दुई या तीन कक्षामा पढ्थें । ओखलढुंगा जिल्लाको दुधकोसी किनाराको बस्तीमा सोक्मटार गाउँ छ । पढ्नका निम्ति दुई घन्टा उकालो र तेर्सो बाटो हिंडेर हिलेपानीस्थित महादेवस्थान प्रावि (हाल–मावि) पुग्नुपथ्र्यो । हामी ‘धारा स्कुल’ भन्थ्यांैं । लड्दैपड्दै धाउँथ्यौं । त्यतिखेर त्यहाँ तीन कक्षासम्म पढाइन्थ्यो । चार कक्षा पढ्न मानेभन्ज्याङको भगवती निमावि (हाल–उच्चमावि) जानुपथ्र्यो ।


भदौ–असोज महिना थियो । एक दिन बिहानै आमाले फर्सीको मुन्टा टिपेर मकैको सुत्लाले मुठा पार्नुभयो । भन्नुभयो, ‘यो मुन्टा कान्छी फुपुकोमा पुर्‍याउनू र भान्जाभाइ इच्छाकुमारसँगै स्कुल जानू ।’ भान्जेभाइ भनेपछि हुरुक्कै हुन्थें म । स्कुले झोला र फर्सीमुन्टोको मुठो च्यापेर म उक्लिएँ, जाक्मा गाउँतिर । आधा घण्टापछि फुपूको घर टुप्लुक्कै पुगें । फुपूले हामी दुई दाजुभाइलाई खाना खुवाउनुभयो । अनि लाग्यौं– मूलगल्लीको बाटो तेर्सै तेस्रो । एक जना तन्नेरीलाई फटाफट हिंड्दा झन्डै ४५ मिनेट लाग्छ, धारा स्कुल पुग्न । हामी फुच्चाहरू यता ढुकुरझैं करायो, उता छेपारोलाई बोलायो गर्दा बढी समय लाग्ने नै भयो ।


बीच बाटो घलेसार डाँडामा आफन्तका दुई घर थिए । त्यहाँबाट काका उद्धवबहादुर र कुमार दाइ पढ्न जान्थे । सायद त्यस दिन हामी ढिलो गइरहेका थियौं । घलेसार पल्लो गहिरामा बाटो मास्तिर ढुंगाले हान्दा बाजाजस्तै ड्वाङ्ग आवाज आउने ओढारे–ढुंगा अहिले पनि छ । ढुंगा टिपेर ‘बाजालुङ’ (बाजाढुंगा) बजाउने ध्याउन्नमा हामी थियौं । बाजाढुंगा भएसँगै पहरा छिचोलेर बनाइएको अप्ठयारो बाटो थियो र, अझै छ । दक्षिण मोहडामा लमतन्न भिरालो बाटोलाई स्थानीयले घारीलाम भन्छौं ।


हाम्रो पछाडि दुई जना मानिस आइरहेका थिएछन् । स्कुले फुच्चेहरूको चालमाल देखेर तर्साउने सोच आएछ । ‘ए केटा हो, स्कुल जानेले यसरी अलमल गर्ने हो ? यतिबेला स्कुल जाने हो ? अब तिमीहरू कान काटिदिन्छु’ भनेर परैबाट कराएको सुन्यौं । हामी मातृभाषा (वाम्बुले राई भाषा) मात्र बोल्न आउने, खसकुरा अलि कम बुझ्न्थ्यौं । अचानक अपरिचित ‘बाजी मुयो’ (तागाधारी मान्छे) को त्यो हुँकारले हामी तर्सियौं । उसले कम्मरमा भिरेको खुकुरी दाबबाट झिकेको देखेपछि सातोपुत्लो उडयो । हामी दुईभन्दा कुदाइमा उब्द काका र कुमार दाइले अगाडि टाप कसिसकेछन् ।


त्यो मान्छेले हामी दुई (गणेश र इच्छाकुमार) लाई घारीलाममै भेटयो । दुवैको कान समायो र खुकुरीले काटौंलाझैं गर्‍यो । होसहवास उडिगयो । हामी जोडले रोएपछि मात्रै हामीलाई छाडेर हाम्रा अगाडिका दुई भाइलाई खेद्न थाल्यो । त्यो अपरिचितले नदेखोस् भनेर हामी अलिक मास्तिरको बाबियो घारीमा लुक्न पुग्यौं । सास थुनेर घारीमा बस्यौं । काँपिरहेको शरीर बाबियो घारीमा लुकाउँदै टाउको उठाएर हेरिरहयौं । ती दुई बटुवाले निकै पर सिंकोमाल खोलामा पुगेर कुवाको पानी उघाएर पिएको देख्यौं । अनि, काभ्राको छायामुनि ठूलो ढुंगामाथि एक छिन अडेस लागेको देख्यौं । निकै बेरपछि मात्रै अपरिचित बाटो लाग्यो । अक्करको ढुंगेबाटो नाघेको प्रस्टै देख्यौं, लुकीलुकी । त्यसपछि मात्रै हामी फुच्चेको डरको पारो स्वाट्टै घटयो । हामीले पनि त्यही कुवाको पानी खायौं । ती मान्छे फेरि फर्केर आउला कि भन्ने लागेर रूखबिरुवाको पोथ्रापोथ्री लुक्दैछिप्दै अघि बढ्यौं । आधा घन्टा जति हिंडेपछि स्कुल पुग्यौं । आश्चर्य, वरैबाट हामीलाई खेद्ने मान्छे स्कुलमा देख्यौं । डरले फेरि ठाउँ ओगटयो । ती अपरिचित छेउमा हाम्रो हेडमास्टर मानबहादुर राई (बडाबाबु) र मास्टर तेजबहादुर केसी अनि वरिपरि हाम्रा साथीहरू देखेर डरको अंश अलिक पातलियो ।


मास्टरले हामी दुईलाई मायालु पाराले डाक्नुभयो, मातृभाषामै । छेउमा पुग्यौं । ‘के–के भयो ? तिमीहरूको जीउज्यानमा केही घाउचोट लाग्यो कि ?’ भनेर सोध्नुभयो । हामी दुई निरीह प्राणी धुरुधुरु रोयौं । कट्टु र कमिज पहिरिएका अनि खाली खुट्टे ज्यान । ओहो, बल्ल थाहा भयो, इच्छाकुमारको कान काटिएर रगत आएको रहेछ । फिला र पाँसुलातिर बाबियाले काटिएर अलिअलि रगत बगेछ । हामीभन्दा अगाडि कुद्ने स्कुले साथीले सबै वृत्तान्त बताएछन् । मास्टरले ती दुई बटुवालाई रोकेर कारबाही गरेछन् । हाम्रो कान काट्न प्रयोग गरिएको खुकुरी खोसिएछ । नगद ६० रुपैयाँ जरिवाना गरिएछ । त्यसपछि हामीलाई खेद्ने मान्छे भने आफ्नै बाटो लाग्यो ।


यति वर्षपछि सम्झेर हेर्दा हामीलाई तर्साउने त्यो अपरिचितको ‘कुनियत’ थिएन कि सायद ? तर, खुकुरी नै देखाउनुपर्ने मानसिकताचाहिं कसरी पलायो ? म अहिले अनुमान गर्छु, ती मान्छे सेनाका जागिरे थिए । शिक्षाको महत्त्व बुझेका तर कस्तो ठाउँमा कोसँग कस्तो व्यवहार गर्ने भन्ने विवेकचाहिँ नभएका π मायालु स्वरले ‘हिंड बाबु हो, स्कुलको समय ढिलो भयो, सँगै जाऊँ’ भनेको भए त्यो अक्करको बाटो सहजै काटिहालिन्थ्यो । तर, तिनको खुकुरीको सान र कान काट्ने हुँकारका कारण बाल मनोविज्ञान भयभीत मात्रै भइरहेको थियो ।
बालमनोविज्ञानको पक्षमा ती अपरिचित बटुवा अनि प्यूठानका शिक्षक मात्र होइनन्, शिक्षण पेसामा संलग्न गुरुबा–आमाले ख्याल गर्न आवश्यक छ ।
मेरो अतीतले भोगेको र सिकाएको पाठसमेत हो यो ।

प्रकाशित : आश्विन २०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?