निरुपाय ‘दुर्गादेवी’

अनुभूति
सावित्री गौतम

काठमाडौँ — महिलालाई ‘पूर्ण मानव’ मान्न घरपरिवारदेखि प्रधानमन्त्री कार्यालयलाई समेत स्वीकार्य छैन । कसैकी पत्नी नभएकी र सन्तानकी आमा नबनेकी दुर्गा भवानीलाई माता मानेर पुज्ने देशमा हुर्केका प्रशासकले आफ्नो नामबाट छोराछोरीलाई नागरिकता दिलाउन सक्ने संवैधानिक हक प्रयोग गर्न गएकी आमामाथि अनेकौं अश्लील प्रश्नसमेत सोध्न पछि पर्दैनन् ।

दसैंको बेला छ । शक्ति प्राप्तिका लागि शक्तिशाली देवगणसमेत पाउ पर्न जाने शक्तिकी प्रतीक दुर्गा भगवती अर्थात् ‘देवीको बहादुरीको कथा’ हामी यो समयमा बर्सेनि नौ दिनसम्म पढ्छौं । शक्तिप्राप्तिको आकांक्षासहित उनको आराधना गर्छौं । तर, यतिखेर यो देशमा दुर्गादेवी पन्त नाम गरेकी एक महिलाको सारा शारीरिक–मानसिक शक्ति निचोरिएको छ । अनुहार क्लान्त छ र शरीरमा हाडछाला मात्र बाँकी छ । आफ्नी छोरीको बीभत्स बलात्कारपछि हत्या भएको दुई महिनापछि न्यायको खोजीमा भएभरको मानसिक/शारीरिक शक्ति बटुलेर उनले कञ्चनपुरदेखि काठमाडौंसम्मको यात्रा गरिन् । तर, न्याय पाउनुको सट्टा शक्तिशाली शासकजनको खप्की खाएर रित्तै फर्किइन् । अर्को दुखद विडम्बना के भने नारीशक्तिको यति धेरै महिमा गाइने यो देशमा दुर्गादेवीका पति यज्ञराजलाई आफ्नी पत्नी र तीन जना छोरीसहित चार जना ‘नारीशक्ति’ को साथमा बस्न मञ्जुर थिएन । सञ्चारमाध्यममा आएअनुसार छोरा नजन्माएको ‘अभियोग’ मा २७ वर्ष मात्रैकी दुर्गादेवीलाई नौ वर्षअघि तीन जना नाबालक छोरीसहित एक्लै छाडेर उनले अर्को बिहे गरेका थिए । नारीशक्ति र मातृशक्तिको महत्त्वको कागजी व्याख्या र व्यवहारमा देखिने विरोधाभासको यो एउटा सग्लो उदाहरण मात्रै हो ।


यो विरोधाभास एक दिन, एउटा परिवार वा एउटा घटनाविशेषको मात्रै संयोग होइन । यो विरोधाभास खासमा नेपाली समाजको सनातन परम्परा र विशेषता हो । नेपाली घरहरूका अधिकांश मातृशक्ति अर्थात् आमाहरू छोरा जन्माउन नसकेमा पतिले अर्को बिहे गर्न सक्ने त्रासमा बर्सेनि ज्यान फालेर दसौंको संख्यामा सन्तान जन्माउन बाध्य छन् । छोरा नजन्माएको वा अरू कुनै सानातिना निहुँमा कान्छी भित्र्याइदिन सक्ने ‘बहादुरी’ लाई संरक्षित गर्न ‘कान्छी ल्याउँदा जेठी जिल खायो’ (यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो) जस्ता गीत हाम्रो समाजमा धेरैअघि प्रचलित भइसकेका छन् । यो त उहिलेको कुरा हो भनेर चित्त बुझाउने ठाउँ आज पनि छैन । अझै पनि कुनै सर्वाधिक पढिने सञ्चारमाध्यममा ‘दसौं सन्तान बल्ल छोरा’ शीर्षकको समाचारको हेडलाइन छापिन्छ । जहाँ रिपोर्टरले गौरवान्वित हुँदै यस्तो आशयको समाचार लेखेका छन्, ‘छोरा नजन्माएकाले समाजमा अपहेलित दम्पती अब भने ‘शिर ठाडो’ पारेर अस्पतालबाट घर फर्किन र सारा समाजलाई भोज खुवाएर ‘मुखमा बुजो’ लगाइदिन तम्तयार छन् ।’


नारीशक्तिलाई समाजमा कत्तिको पहिचान र कदर गरिन्छ भन्ने यस्ता हजारौं उदाहरण नेपाली समाजमा ठेस लाग्नेगरी र आँखै बिझाउने गरी बाक्लो संख्यामा उपलब्ध छन् । जन्मेदेखि मृत्युसम्मै कायम महिला हिंसाबारेमा हजारौं पटक लेखिएका वा बोलिएका छन् । लिंग पहिचान आधारमा गरिने गर्भपतनका भयावह तथ्यांकदेखि आमाको नाममा कुनै अचल सम्पत्ति नहुने कारण सन्तानले मृत्युदर्तासमेत नगरिदिने अवस्थासम्म पुगिसक्दा हामीले भोग्नु–बेहोर्नुपर्ने हिंसाका प्रकार र पत्र अनेकौं छन् । दाइजो नल्याएकामा, बोक्सीको नाममा यातना दिइएका र जिउँदै जलाइएका महिलाको संख्या हामीकहाँ हजारौं छ । पति र पतिका परिवारले गर्ने कुटपिटजस्ता घरेलु हिंसापीडित, गर्भावस्था र सुत्केरीमा उचित आराम नपाएका कारण पाठेघर खसेका महिलाको तथ्यांक डरलाग्दो छ । घन्टामा तीनवटाको दरले ‘बलात्कृत’ का खबर यहाँ आइरहेकै छन्, उमेरमा हजुरआमादेखि झोलुंगोमा सुतिरहेकी बालिकासमेत बलात्कारका समाचारमा छाएका छन् । यो खबरले छोरीका आमाबाबु वा आमाका छोराछोरी कसैको पनि होसहवास ठेगानमा छैन । ‘पराईघर’ मा अघाउन्जेल खान र आराम गर्न नपाईकन वर्षौं हड्डी घोटिरहँदा पनि एउटी बुहारीले सुन्नुपर्ने तुच्छ कटाक्षका कथा गणना गरिने दिन त अझै कति युगपछि आउलान् ।


यी सबै तथ्यहरूलाई सर्लक्कै ढाक्नेगरी ‘हाम्रो धर्म र संस्कृतिमा महिलालाई असाध्यै सम्मान गरिन्छ’, ‘शिवसँगै शक्तिको पूजा गरिन्छ’, ‘राधाकृष्णमा राधाको र सीताराममा सीताको नाम पहिला आउँछ’ भन्नेजस्ता शब्दजाल (जञ्जाल) पहिल्यै तयार छन् । महिलाको यति धेरै सम्मान भएको देशमा विभेद र हिंसाका यति भयावह तथ्यांकहरू किन छन्, त्यसो भए ? कति हजार सीडीओ वा प्रशासकीय अधिकृत छन् जो आफ्नो नामबाट नागरिकता दिलाउन गएकी आमालाई दुर्वाच्य बोल्छन् तर मातातीर्थ औंसीमा आमालाई मिठाईका प्याकेटसहित ढोग्छन् वा श्राद्धमा सम्मानपूर्वक पिण्ड चढाउँछन् ? अचम्म लाग्छ, व्यवहारमा पटक्कै स्थापित नभएका यस्ता बेकारका शब्दजाल कति विश्वासका साथ भटयाइराख्छन् मान्छेहरू ?
***

दसैं नारीशक्ति अर्थात् मातृशक्तिको मिथकलाई विश्वास गरेर पूजा गरिने प्रमुख चाड हो । यतिबेला घरमा र शक्तिपीठमा दुर्गा भगवतीका नाममा दुर्गा सप्तशती वाचन गरिन्छ । म आफू जन्मेहुर्केको समुदाय र भेगमा घटस्थापनादेखि दशमीसम्म यो बेला केही उदेकलाग्दा दृश्य नियमित देखिरहेको छु । मातृशक्तिको आराधना पिताहरूले गर्छन् । घटस्थापना, फूलपाती, अष्टमी होस् वा नवमीका विशेष पूजा, सबैका कर्ता उनै हुन्छन् । नारीशक्तिको उपासना घरमै गर्नुअघि वा नजिकैको मन्दिर जानुअघि घरकी नारीशक्तिलाई समयमा पूजा सामग्री ठीक नपारिदिएकामा एक–दुई राउन्ड झपार्न भ्याएरै जान्छन् । बिहानभरि उनीहरू चण्डीपाठ गरुन्जेल घरका नारीशक्तिले खाना पकाईकन पर्खिरहेका हुन्छन । टीका लगाउने दज्र्यानीहरू उसैगरी कायम छन् । दसैंमा बाउको पाउ परेर टीका थापेर बाउको खुट्टामा ढोग गरिसकेपछि बल्ल आमा अर्थात् मातृशक्ति छोराछोरीलाई टीका लगाउन योग्य बन्छिन् । यसका लागि दिइने तर्कको दरिद्रताको हद यस्तो छ, ‘पति परिवारका प्रमुख हुन् किनकि उनी उमेरमा जेठा हुन्छन् र घरका लागि पैसा कमाउँछन् ।’


कुनै घर यस्ता पनि होलान् जहाँ पत्नी उमेरमा जेठी र परिवारका लागि पैसा पनि कमाउने होलिन् तर के उनले उनका पतिलाई टीका लगाइदिएर दसैं सुरु हुन्छ ? बाबुको पैतृक घरको टीका नुहाइधुवाइ गरेर ‘चोखो’ भएर खाली पेटमा ग्रहण गरिसकेपछि आमा अर्थात् मातृशक्तिको पैतृक घर जसलाई आमाको होइन ‘मामाको’ घर भनिन्छ, मा टीका थाप्न टन्न मासुभात खाएर गइन्छ । त्यो पनि भ्याए साँझसम्म नत्र भोलिपल्ट वा त्यो पनि सम्भव नभए पूर्णिमाभित्र भेटे पनि भइहाल्छ । किनकि आमाको वंशको उसका बाबुआमाको कुनै प्राथमिकता र महत्त्व छैन । आमाको पैतृक घर अर्थात् ‘मामाको घर’ जाने क्षण कुरेका छोराछोरी पाहुनालाई खाना टक्रयाउँदै र जुठेल्नामा भाँडासँग सिंगौरी खेल्दा सास फेर्ने फुर्सदसमेत नभएकी आफ्नी ‘मातृशक्ति’ लाई टुलुटुलु हेर्छन् । ‘दसैं लोग्नेकै घरमा मनाउने’ भन्ने घोषित अघोषित उर्दीले महिलालाई मनोवैज्ञानिक रूपमा चौबीसै घन्टा शासन गरेको हुन्छ । टीकाअघि बास बस्नेगरी नजिकै रहेका बाआमाकहाँ जाने त परको कुरा, दिनभरिका लागि भेट्न जाँदा पनि कसैले ‘दसैंको बेलामा नि ‘माइत’ ?’ भनेर प्वाक्क सोधिदेला । उसैसँग दहलफसल सुरु गरिएला, माहोल बिग्रेला र ‘माइतीहरू’ को चाडबाड मुड बिगार्न योगदान गरिएला कि भनेर त्रस्त भइरहिन्छ । मातृशक्तिको यतिविधि महिमा गाइने दसैंमा कति छ आमा र आमाको वंशको, उसको घरको मानमर्यादा ?


खस सम्प्रदायमा ‘थानको मान’ भन्ने शब्दावली बहुतै प्रचलित छ । अर्थात् सबै जना आआफ्नो थान्कोमा बसे, जे हैसियत पाएको छ त्यसमा चुपचाप बसे कसैलाई कहिल्यै दु:ख पर्दैन । महिलाले पालना गर्नुपर्ने केही ‘थानको मान’ यस्ता छन्, बिहेअघि होस् वा पछि, घरको कार्यकारीको हैसियतमा कहिल्यै नरहनु । जस्तै : परिवारका ठूलाठूला निर्णय अंशबन्डा, बिहेबारी वा आर्थिक कारोबारमा आफ्नो धारणा राख्ने दुस्साहस नगर्नु । बिहेपछि त झन् माइतमा आएर ‘फिटिक्कै’ नबोल्नु । दिएको खानु, देखाएको ठाउँमा सुत्नु र जाने बेला ससाना पोका र ‘चुरा लाउने खर्च’ का साथमा बिदा हुनु’ । सम्पत्तिमाथिको अधिकार कानुनमा छ तर व्यवहारमा खै भनेर नसोध्नु । वर्षौंसम्म माइतीमा दानदक्षिणा बटुलेको रकमले पतिको घरको अत्यावश्यक खर्च चलाउनु वा सानोतिनो व्यवसाय गर्नु । बाउ र ससुरा दुवैकहाँ आफ्नो नाममा कुनै अचल सम्पत्ति नभएको कारण घरजग्गा धितो राखेर ऋण लिएर वा बेचेर धेरै रकम लगानी गरेर कुनै व्यवसाय गरी हजारबाट लाख कमाउने हैसियतमा कहिल्यै नपुग्नु । जसरी कथाकी दुर्गा भगवती आफैं ‘सेरेमोनियल’ छिन् । भएभरको शारीरिक शक्ति प्रयोग गरेर, ज्यानै हत्केलामा राखेर कसैलाई नष्ट गर्नुपर्ने बेला आह्वान गरिन्छिन् र काम सकिएपछि बिदा हुन्छिन् । उनी पनि आफ्नो थानको मान नछाडेकै कारण स्तुत्य छिन् । बहादुरीको कदरस्वरूप सृष्टि चलाउने कार्यकारीको हैसियत उनलाई प्राप्त छैन, दुर्गा सप्तशतीमै अल्मल्याइएको छ । त्यसैगरी दसैंसँग सम्बन्धित सम्पूर्ण विभेद सहेरै पनि ढाड भाँचिने गरी शारीरिक श्रम गर्ने हामीलाई दसैंको दिन लगाउने झिल्झिले सारी (जुन एकै छिनमा हाडखोरसहितका भाँडा माझ्दा मासुको जुठो झोलले लतपत भिजेर ‘झोलवाला सारी’ बन्छ) मा अल्झाइएको छ । कहिलेकाहीं लाग्छ— दुर्गा भगवतीले ‘अब म दानवहरूको संहार गर्न मात्र प्रकट हुन्न, देवताहरूको कार्यकारी समितिमा बसेर वर्षभरिको सृष्टि चलाउने जिम्मेवारी बहन गर्छु’ भनिन् भने देवताहरू के भन्दा हुन् ? के उनलाई पनि मिलेर बसेको देवसमाज भाँडेको आरोप नलाग्दो हो ? महिलाहरूले सबै सहेर तस्बिरका देवीजस्तै चुप छन् र सबै ठीक छ । जब कुनै घरमा ससुराको सट्टा सासूले ससुरालाई टीका लगाइीदएर दसैंको टीका सुरु गर्छु भनिन् वा बुहारीले छोरालाई टीका लगाइदिएर दसैंको टीका सुरु गर्छु भनिन् भने कहाँ पुग्ला— दसैंको उमंग र कथित पारिवारिक शान्ति ?
***

मेरो बिहे भएको सुरुको वर्ष अचानक कान्छी काकीलाई सोधेको थिएँ, ‘किन चाडबाड रमाइलो नलागेको ?’


पैतृक घरमा बिहेपछिका रजत वर्ष मनाइसकेकी काकीले भन्नुभयो, ‘मलाई त लाग्दैन, तँलाई कसरी लागोस् ?’ ढाड भाँच्चिने गरी कामको बोझ र तल्लो दर्जाको दज्र्यानी चुपचाप स्विकारेर महिलाले मनाउने दसैंको बारेमा लेखेका केही लेख पढेका कैयांै महिला पाठकले इमेल र म्यासेज गरेर आजसम्म पनि भनेका छन्, ‘तपाईंको त्यो वर्षको दसैंको लेख कस्तो मेरै कथाजस्तो †’, ‘म त हरेक दसैंको कामको बोझले दसैंपछि बिरामी पर्छु †’ आदि । चाडबाडमा यसोयसो गर्नैपर्छ भनेर बिरालो बाँध्ने प्रथाको अनिवार्यता एउटा कुरा होला । तर, चाडबाड भनेको कसैले मनैदेखि उमंग र खुसी महसुस गर्नु पनि हो । नत्र चिसो शारदीय बतासले उमंगको साटो उदासी महसुस गर्ने हजारौं महिलाको आँखाबाट चाडबाडलाई नहेरेसम्म, चाडबाडको पुनर्संरचना नगरिएसम्म अधिकांश महिलाका लागि दसैं वर्षमा एकपटक आउने ‘अतिरिक्त कार्यबोझयुक्त दुई साता’ मात्रै हो ।


‘आमा दसैंको टीका पहिला मामाघरमा लगाउन किन हुँदैन ?’ यो वर्ष दसैं भित्रनु निकैअघि छोरीले सोधी ।


‘मज्जाले लगाउन हुन्छ, आमा र बाबाको वंशको महत्त्व बराबर हुन्छ,’ यो वर्ष मैले पनि उसलाई दह्रोसँग जवाफ दिएँ । मामाघरमा पहिला टीका लगाउन हुँदैन भनेर आजसम्म जानीबुझीकन कसैले उसको अगाडि भनेको जस्तो लाग्दैन । तर, बाबुको घरको नजिकै रहेको आमाको पैतृक घरमा बढी रमाउने उसले आफूलाई मामाहरूले नवमीको साँझ वा टीकाको दिन एकाबिहानै पुर्‍याउन आएको देखेकी छ । अझै ठूली भएपछि समाजमा देख्ली उसले कसरी खस समुदायमा मामाघरमा दसैं मनाउने भान्जाभान्जीको पालो सबैभन्दा पछाडि आउँछ, उक्त घरका ‘आधिकारिक सन्तान’ अर्थात् छोराका छोराछोरीको पालो सकिएपछि मात्रै । यो दज्र्यानीको अझै विद्रूप रूप यस्तो देख्ली उसले— देशभरि हजारौं प्रशासकहरू छन् जसले उसका कैयौं दाइ–दिदीलाई आमाको सन्तानको रूपमा देशको नागरिक बन्न पाउने संवैधानिक हकसमेत प्रयोग गर्न नदिएर उनीहरूलाई जबर्जस्ती भान्जाभान्जी करार गरेर ‘राष्ट्रिय मामा’ बनेका छन् । टीका लगाउने, चाडबाड मनाउने हरेक गतिविधिका लैंगिक तरिकालाई नजिकबाट अवलोकन गरेकी उसले यो पटकको दसैं बिदाको गृहकार्यको चित्र बनाइसकेर मलाई देखाउँदै भनी, ‘महिलाले कहाँ दसैंमा चंगा उडाउने फुर्सद पाउँछन्,’ भन्नुहुन्थ्यो नि , मैले आमाले छोरीलाई चंगा उडाउन सिकाएको बनाएको छु ।’


वषौंवर्षमा एक पटक निस्केर देवताहरूले कसैको संहार गर्न दिएको जिम्मेवारी पूरा गर्ने र फेरि वर्षौंसम्म चुप रहने देवीका कथाको मात्र प्रेरणा अब हाम्रालागि पर्याप्त छैन । अब हामीले कथाकी देवीभन्दा बीसौं गुणा शक्तिशाली बन्नु छ र सबै दज्र्यानी भत्काउनु छ । चाहे यो दज्र्यानी आमाले छोरीलाई चंगा उडाउन सिकाएको चित्र बनाउने मेरी छोरीको पुस्ताको समेत प्रेरणा र साथ लिएर भत्काउन किन नपरोस् । जब हामी आफूमाथि घरमा, समाजमा, कानुनमा, राज्यवस्थामा कायम रहेको यो विभेदयुक्त दज्र्यानी भत्काउँछौं र समान हैसियत प्राप्त गर्छौं । त्यो दिन बल्ल हाम्रा लागि उमंगपूर्ण दसैं आउँछ । त्यो दिन बल्ल समाजले गर्ने शक्तिपूजनको औचित्य प्रमाणित हुन्छ ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हाम्रो सिनेमा सोच

सोच बदल्न र समाजमा भइरहेको परिवर्तनलाई श्रव्यदृश्य सामग्रीमा दर्साउन न पैसा कम धेरै कमाउनुले फरक पार्छ, न करिअरमा शक्तिशाली हुनु नहुनुले ।
सावित्री गौतम

काठमाडौँ — यो साता हिन्दी फिल्म उद्योगकी प्रतिष्ठित फिल्म निर्देशक कल्पना लाजमीको निधन भयो । कल्पनालाई हिन्दी सिनेमामा महिलालाई ‘हिरोसंँग फूलबारीमा नाच्ने केटी’को भूमिकाबाट बाहिर निकालेर शक्तिशाली महिलाका रूपमा चित्रण गरेको श्रेय जान्छ ।

उनले सन् १९८६ मै निर्देशन गरेको ‘एक पल’ मा सशक्त भूमिकामा शबाना आजमीलाई प्रस्तुत गरेकी थिइन् । कल्पनाका फिल्महरू रुदाली र दमनमा नायिकाको भूमिका निर्वाह गरेका क्रमश: डिम्पल कपाडिया र रविना टन्डनले राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेका थिए ।


कल्पनाले हिरोसँंग फूलबारीमा नाच्ने केटीकै भूमिका गरिरहेका मूलधारका भनिने अभिनेतृमा भएको सशक्तताको परख गरिकन त्यसलाई निर्देशन क्षमताले उजागर गरेकी थिइन् । उनीहरूको करिअरलाई समेत नयाँ उचाइ प्रदान गरेकी छन् । रुदालीमा डिम्पल र दमनमा रविनापछि चिंगारीमा अभिनय गरेकी पूर्व विश्व सुन्दरी सुस्मिता सेन यसकै प्रमाण हुन् ।


मूलधारका हिन्दी फिल्मका सफल अभिनेता निर्माता आमिर खान सामाजिक विषयमा आधारित टेलिभिजन कार्यक्रम सत्यमेव जयतेका पनि निर्माता र सञ्चालक हुन् । सत्यमेव जयतेकै एउटा एपिसोडमा उनले आफूले काम गरेका फिल्ममा महिलाको वस्तुकरण गरिएको स्वीकार गरेका थिए ।


तर उनले करिअरको सुरुवातदेखि नै मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापनमा काम गर्न भने मानेनन् । ‘मेरो कारण कुनै नयाँ पुस्ताले कुलत नसिकोस् भनेर सचेत रहनु कलाकारका रूपमा मेरो सामाजिक जिम्मेवारी हो,’ २५ वर्षअघि नै उनले एउटा अन्तर्वार्तामा भनेका थिए । कलाकारका रूपमा निकै सचेत मानिने उनले अभिनय गरेको सफल सिनेमा दंगल (यद्यपि त्यो जीवनीमा आधारित थियो) को प्रशस्त आलोचना पनि भएको थियो । तर समीक्षकमाथि उनी जाइलाग्न गएको पढ्न–देख्न पाइएन । कल्पनाले व्यावहारिक रूपमै महिलालाई शक्तिशाली पात्रका रूपमा चित्रण गरिन् भने आमिरले बोलीले भए पनि महिलाले सम्मानजनक चरित्र नपाएको स्वीकार गरे ।


हिन्दी र त्यसकै धेरै प्रभावमा रहेर बनाइने अधिकांश नेपाली सिनेमामा महिलालाई ‘हिरो’ भनिने पात्रले सुरुमा ‘ग्याङ’ लिएर लखेट्छ, सताउँछ, दुव्र्यवहार र यातना दिन्छ । अनेक लाञ्छना लाग्ने गीतसमेत गाउँछ । हिंसात्मक व्यवहारबाट हिरोइन भाग्दै बाँच्दै हिँंड्छे । यत्तिकैमा सिनेमामा भिलेनको प्रवेश हुन्छ, जो हिरोभन्दा बढ्ता हिंस्रक हुन्छ । उसले हिरोइनलाई बलात्कारको प्रयाससमेत गर्छ । अचानक हिरो प्रकट भएर बचाउँछ र अघिसम्म दुव्र्यवहार गरिरहेको व्यक्ति हिरोइनको नजरमा एकाएक सज्जन बन्न पुग्छ । भिलेनभन्दा कम हिंस्रक भएकै आधारमा हिरोइनको नजरमा ऊ पास हुन्छ । हिरोइन ‘उसकी’ बन्न पुग्छे । वर्षौं पुरानो यो सूत्रबाट नेपाली फिल्म मुक्त हुनसकेका छैनन् ।


नेपाली सिनेमा उद्योग सानो भए पनि आफ्नो बलबुतामा आर्थिक सम्पन्नता र नेतृत्वको उदाहरण कायम गरेकी दिपाश्री निरौला वा ऋणमा डुबेको घरलाई सिनेमामा काम गरेको कमाइले उकासेकी केकी अधिकारी जस्ता सशक्त रूपमा व्यक्तिगत जीवन बाँचिरहेका महिला छन् । तर सिनेमामा उनीहरूको त्यो सशक्तताको छेउटुप्पो प्रतिविम्बित भएको पाइँदैन ।


हिन्दी सिनेमामा सम्भ्रान्तता देखाइने सनातन तरिका अनुसार सेरामिकका भाँडामा ब्रेकफास्ट गरिसकेपछि हिरो अफिस निस्कने तयारी गर्छ । सारी र गहना लगाएकी हिरोइनले टाई मिलाइदिन्छे । सन् २००१ को हिन्दी सिनेमा ‘कभी खुसी कभी गम’ मा यो टाई लगाइदिने नामको ‘प्रेम’लाई नाटकीय देखाइएको छ । पत्नी बनेकी जया बच्चन पति बनेका अमिताभ बच्चनभन्दा निकै होची छिन् । टाई लगाउनु अघि चढ्न पिर्का व्यवस्था गरिएको छ । सिनेमामा जया निकै धनी महिलाका रूपमा देखाइएकी छन् । उनको घरभित्र अन्य श्रम गर्न अरू महिला देखिन्छन् । उनले पतिलाई टाई लगाइदिनुमा अतिरिक्त श्रम गरेको नदेखिएकाले त्यसलाई पिर्कामाथि चढेर भए पनि प्रदर्शन गरिएको ‘माया’कै रूपमा व्याख्या गर्नेहरू स्वतन्त्र छन् ।


सत्र वर्ष पुरानो यही सिनेमाको दृश्यको झल्को दिनेगरी नेपाली टेलिभिजनहरूमा केही समययता एउटा विज्ञापन देखिन्छ । अफिस जान ठिक्क परेको पति (जुन पात्रको भूमिकामा राई जातिका अभिनेता छन्, त्यस समुदायमा महिलालाई खस समुदायमा भन्दा समान छ भनिन्छ) को हातबाट कम्प्युटर लिएर पत्नीले झोलामा राखिदिन्छे, टाई मिलाउँछे र कुनै बैंकका ‘नयाँ सोच’वाला नीतिहरू व्याख्या गर्छे ।


डाइनिङ टेबलमा भएको छोराले भन्छ, ‘मम्मी फोहोरवाला आयो’ र उसकी आमाले ‘सोच बदलौं’ भन्ने आशयका साथ जवाफ दिन्छे, ‘फोहोरवाला त हामी हौं छोरा, ऊ त सफाइवाला हो ।’ जबकि यो संवाद नै नक्कल गरिएको हो । सन् २०१४ मा भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्री भएपछि सुरु गरेको ‘स्वच्छ भारत अभियान’का बेला उनकी आमाले उनलाई भनेको भनेर सामाजिक सञ्जालमा उतिबेलै यो संवाद भाइरल भएको थियो ।


दुई दशक पुराना दृश्य र चार वर्ष पुरानो संवादलाई ‘नयाँ सोच’ भनेर प्रस्तुत गर्न सक्ने स्क्रिप्ट लेखकलाई कुनै प्रश्न नगरी काम गर्न तयार हुने कलाकारले यात थाहै पाएनन् वा थाहा पाएर पनि वास्ता गरेनन्, त्यो उनीहरूको खुसी । अर्को कुरा, नेपाली फिल्म वा विज्ञापनमा देखाइने ‘सम्भ्रान्त’ घरहरूमा पेसाको बहुलताको विरलै चित्रण पाइन्छ । हजारौं पुरुष र महिला बिहान पाँचै बजे काम गर्न घरबाट निस्कन्छन्, रातिको सिफ्टमा काम गर्नेहरू पनि छन् । होटलमा खाना बनाउने सेफ छन् ।


दिनैभरि हरियो गाउन लगाएर अस्पतालका अपरेसन थिएटरमा बस्ने डाक्टर छन् । दिनैभरि चर्को घाममा हेलमेट लगाएर निर्माण स्थलमा उभिने इन्जिनियर र निर्माण मजदुर पनि छन्, जो टाई लगाउँदैनन् । महिला एकाबिहानै काममा निस्कने घर पनि छन्, जुन घरका पुरुषले खाना पकाएर केटाकेटीलाई खुवाएर, स्कुल पठाएर आफू १० बजे काममा निस्कन्छन् ।


महिलाले घर बाहिरका पैसा कमाइने भनिने कामजस्तै गरी घर भित्रको काम गर्ने छनोट पनि पाउनुपर्छ र घरेलु श्रमको उचित मूल्यांकन गरिनुपर्छ भनेर कैयौंपटक लेखिसकेकाले माथि उल्लिखित विज्ञापनमा महिलालाई गृहिणीका रूपमा देखाइएको कुराको विरोध गरेको होइन भनेर यहाँ स्पष्टीकरण दिइरहन जरुरी ठान्दिनँ । महिला मात्र किन, पुरुषले पनि घर भित्रको काम गरेर बस्छु र पैसा कमाउने काम पत्नीले वा दिदीबहिनीले गरोस् भनेर भन्छ भने उसले रोज्न पाउनुपर्छ ।


तर घरको काम गर्ने महिलालाई ‘यही सुहाउँछ’ र पुरुष भए निकम्मा भनेर चित्रण गरिने खालका श्रव्यदृश्य सामग्रीको निर्माणले जनमानसको मानसिकतामा असर पार्छन् । उक्त विज्ञापनमा पतिको हातमा कप हुन्छ, जसमा उसले चिया वा कफी पिइरहेको छ भनेर अनुमान लगाउन सकिन्छ । टाई लगाइदिन र कम्प्युटर झोलामा हालिदिन समेत पर्खेर बस्ने मान्छेले ‘ब्रेकफास्ट’ आफैं बनाएको होला भनेर कल्पना गर्न गाह्रै पर्छ । यस्तो दृश्यले ‘बदलिएको सोच’को सट्टा अतिरिक्त श्रम देखियो भनेर कुनै विज्ञापनको दर्शकले टिप्पणी गर्ने अधिकार अवश्य सुरक्षित हुन्छ ।


कतिपय सामान्य नेपाली घरमै लैंगिक भूमिका बदलिंँदैछन् । बुहारी उठेर दैलो पोतोस् भनेर सासू त के ससुरासमेत आजकल बस्दैनन् । बुहारी नउठ्दै सिमेन्टले बनेको पिंँढीमा झ्यापझुप पानी हालेर पखालिसक्छन् । सहरमा भएकी बुहारी गाउँ आओस् र खेतीकिसानी गरोस् भनेर बस्नुको सट्टा जागिर खाने बुहारीलाई घरको काम र बच्चा हेरिदिन सहयोग होस् भनेर सासूहरू सहर पस्न थालेका छन् । तीस दिन खाइने भनेर आलोचित तीजमै हिजोसम्म माइत गई बुहारीलाई कजाएर ढसमस्स बसेर तीज मनाउने भनेर चिनिएका अमाजूहरू बुहारीलाई आफूकहाँ बोलाएर दर खुवाउन थालेका छन् ।


आंशिक रूपमै सही, बदलिँंदै गएका नेपाली घरका यस्ता दृश्यलाई आफ्ना कृतिमा प्रतिविम्बित गर्दा कुनै कलाकर्मीलाई घाटा हुँदैन । तर स्टेरियोटाइपलाई ‘प्रेम’ हो भनेर जिद्दी गर्नका लागि कुनै कलाकारले सामाजिक सञ्जालमा कसैले गरेको ‘तिम्रै सोच न्यून हो’ भन्ने तहको टिप्पणीलाई लाइक गर्ने हदको सहारा लिनुपर्ने भने दयनीय स्थिति हो ।


सोच बदल्न र समाजमा भइरहेको परिवर्तनलाई श्रव्यदृश्य सामग्रीमा दर्शाउन न पैसा कम धेरै कमाउनुले परक पार्छ, न करिअरमा शक्तिशाली हुनु नहुनुले । भारतमा कंगना रनावतले करिअरको सुरुदेखि नै छाला गोरो पार्ने क्रिमका विज्ञापनमा काम गर्न मानिनन् । शाहरूख खानलाई बादशाह भनिन्छ र पनि उनले फेयर एन्ड ह्यान्डसमको विज्ञापनमा काम गर्न छाडेका छैनन् । त्यसैले यसमा न पैसाको कुरा छ, न शक्तिको । कुरा उही ‘सोच’को मात्रै हो । कलाकार भएर कसैले आफूलाई समाजको अंगको रूपमा स्वीकार गर्छ कि गर्दैन भन्नेमात्रै फरक हो ।


भारतमै पनि कमर्सियल सिनेमामा नयाँ आयाम थपिँंदैछन् । महिलाको यौन स्वतन्त्रताको वकालत गर्ने ‘लिपिस्टिक अन्डर माई बुर्खा’ बनेको छ, राति क्लबमा गएर रक्सी खाएका महिलालाई जे गरे पनि हुन्छ भन्ने कुतर्कको खण्डन गरिएको र यौन हिंसाका सिकार महिलालाई न्याय दिलाइएको ‘पिंक’ बनेको छ । स्यानिटरी प्याडको महत्त्व पत्नीलाई बुझाउन र गाउँ–गाउँमा मितव्ययी दरमा पुर्‍याउन लामो संघर्ष गर्ने व्यक्तिको कथा ‘प्याडम्यान’ बनेको छ ।


बिहे गरेर भित्रिएको घरमा शौचालय नभएका कारण घर छाडेर जाने बुहारी र सिंगो गाउँ र शक्तिशाली पञ्चायतलाई नै शौचालयको महत्त्व बुझाएर पत्नी ल्याइछाड्न सफल भएको उसको पतिको कथा भएको ‘ट्वाइलेट एक प्रेमकथा’ बनेको छ । अफिस हिंँड्न हतार हुन्जेल टाई लगाउन पत्नीलाई कुरेर बस्ने र घर फर्काउन सिंगो गाउँकै लागि शौचालय बनाउने काममा महिनौं खट्ने दृश्यमध्ये कुन ‘प्रेम’ हो, स्पष्ट हुन्छ । हाम्रो देशको शो बिजनेसले कम्तीमा यिनै कुराको ‘कपी’ गरे पनि केही चित्त बुझाउने बाटो हुने थियो ।


सामाजिक सञ्जालमा चौबिस घन्टै झुन्डिएर बस्नेहरूलाई विश्लेषक सीके लालले ‘लिजर क्लास ग्रुप’ नाम दिएका छन । बेरोजगारी, असुरक्षा, हत्या, हिंसाबाट आक्रान्त देशमा बस्ने निराश जनताको कुनै हिस्सालाई सामाजिक सञ्जालमा पाउने नोटिफिकेसन पनि ठूलै सम्पत्ति लाग्दो हो, चाहे त्यो कसैमाथि गरिएको अश्लील गालीगलौजमा हौस्याइएको किन नहोस् । संसारभरि यथास्थितिको विरोध र समानताको पैरवी गर्नेलाई समाज भाड्ने र विखण्डनकारी भनिन्छ ।


निधारमा दसथरीको लाञ्छना बोकेर लड्नेहरूले ल्याएको परिवर्तनको फाइदा फेरि सिरकभित्र लुकेर गाली गर्नेहरूलाई पनि मिलिहाल्छ । यो कुनै ठूलो र नौलो कुरा होइन । तर कुनै कलाकारले आफ्नो काममा यथास्थिति चाहँदैन भने उसले समाजका बदलिंँदा मान्यता र दृश्यबारे भइरहेका बहसप्रति आफूलाइ खुला राख्नैपर्छ । दुई दशक अघिकै प्रेम जप्न मन लागेचाहिँ फेरि कसैलाई जबर्जस्ती गर्न सकिँंदैन ।


बलिउड ठूलो छ र धेरै थरीका मान्छे छन् । सोच कहिले नबदल्ने, नयाँ सोच भएका वा पछि गएर सोच बदलेका पनि छन् । त्यहाँ आज यसले गजब राम्रो काम गर्‍यो भनेर सोच्यो, भोलि अर्कोले उस्तै निम्नकोटीको काम पनि गरेको हुन्छ । अधिकांश नेपाली सिनेकर्मी बलिउड वा हलिउडकाले जेसुकै बनाए पनि स्वीकार्ने, हामीलाई गाली गर्ने भनेर बचाउ गर्छन् ।


आफ्नो जीउमा कुपोषण छ वा घाउ लागेको छ भने मान्छेले आफ्नै जीउको उपचार गर्छ । फलानो अर्को मान्छेको जीउमा त मेरोभन्दा धेरै घाउ छ भनेर निश्चिन्त भएर बस्दैन । सिनेमा, साहित्य, कलाले देशको प्रतिनिधित्व गर्छन् । आफ्नो देशको प्रतिनिधित्व गर्ने वस्तु गतिलो होस्, ढंगको होस् भनेर एउटा नागरिकले चिन्ता र टिप्पणी गर्न पाउँछ ।


सिनेमा काल्पनिक कथा हो, तर अत्यन्त स्वैरकाल्पनिक बाहेक अधिकांश सिनेमा समाजकै घटना र पात्रबाट टिपेर बनाइने हुन् । त्यसरी समाजका घटना उतार्दा साँचो चित्रण होस् र कुनै वर्ग, क्षेत्र समुदायलाई लाञ्छित नगरियोस् भनेर सचेत हुनु कलाकर्मीको दायित्व हो । तर हामी अझै त्यो युगमा छौं, जहाँ सिनेमा विदेशमा प्रदर्शन गरेर लाखौं डलर सोहोर्ने निर्माताले आफ्नो सिनेमाबारे समीक्षा गरेकी एउटी २२ वर्षकी विद्यार्थीलाई ‘डलर खाएर कलर बदल्ने नारीवादी’ भनेर गाली गर्छन् । आफ्नै क्षेत्रकी सहकर्मीलाई ‘गेट वेल सुन’ भन्छन् । आशा गरौं, नेपाली श्रव्यदृश्य क्षेत्रमा छिटै नयाँ सोचवाला केही मान्छेको पदार्पण होस् वा पुरानैले सोच बदलेर नयाँ काम गरून् ।

प्रकाशित : आश्विन १२, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT