दोस्रो दर्जाकी ‘देवी’

विषय
विगतमा नमिता सुनिताकाण्डका दोषीहरू लुकाइए जसरी अहिले निर्मला हत्याका अपराधी लुकाइँदै छ भनेर त्रास छाएको छ ।
आलोचना, सवालजवाफ, तार्किक बहस स्वागतयोग्य छ । तर, अश्लीलतामा ओर्लेर गरिने गालीगलौजले महिलालाई सार्वजनिक वृत्तमा उभिनुअघि दसौं पटक सोच्ने बनाएको छ ।
मीरा ढकाल

काठमाडौँ — म त महिलालाई देवी मान्छु, देवी जसरी सम्मान गरेर पुज्छु ।’ महिलाप्रतिको धारणाको सवालमा चर्चा हुँदा केही मानिसको बनिबनाउ जवाफ यस्तै हुन्छ । समस्याको सुरुआत यहीँबाट हुन्छ । झट्ट सुन्दा आकर्षक सुनिने यो स्टेटमेन्टलाई केलायो भने वास्तविकता फरक छ ।

दोस्रो दर्जाकी ‘देवी’

महिलालाई मानवसरह मान्न तयार नहुनेले नै हो महिलालाई पोस्टर र मूर्तिको रूपमा पुज्ने र पूजाकोठा/घरमा कैद गर्ने । सजिलो छ, महिलालाई देवी करार गर्न । महिलालाई मानवसरह व्यवहार गर्न र उसको स्वतन्त्र अस्तित्व स्वीकार गर्न भने गाह्रो । हिन्दु धर्मावलम्बीको प्रमुख पर्व दसैँलाई स्त्रीशक्ति नवदुर्गाको पर्व, असत्यमाथि सत्यको जित–पर्वका रूपमा मनाइन्छ । ३६५ दिनमा ९ दिन नारीशक्ति महान् भनेर बाँकी दिनमा गरिएका महिलामाथिका हिंसा, विभेद र अपराधको आममाफी मिल्ला त ? वर्षभरि महिला हिंसा र विभेदबारेमा नबोल्नेले तर नौ दिनसम्म आराधना गर्दैमा शक्तिशाली दुर्गाले माफी देलिन् त ?

पूजा कि बहिष्कार ?
नवदुर्गाको पूजामा दुर्गा थाप्ने भन्ने परम्परा हुन्छ, अष्टमीको दिन । पूजाका लागि सरसामग्री महिलाले तयार पार्न हुन्छ । अनौठो कुरा— दुर्गा थाप्न भने महिलाले हुँदैन भनिन्छ । कस्तो विरोधाभास ? दुर्गाको पूजामा स्वयम् दुर्गास्वरूप कहलिनेहरूचैँ बहिष्करणमा ?


मेरो घरमा हार्डवेयर पसल थियो, दसैँताका खोलेकाले नाम नै ‘नवदुर्गा स्टोर्स’ । घरमा पूजाआजा एकदमै कम हुन्थ्यो । खै, त्यो साल नवदुर्गालाई रिझाउने सोच किन आयो ? नवदुर्गाको पूजा आयोजना गरियो । दसैं मुखको हार्डवेयर पसल, स्वभावत: चहलपहल त हुने नै भयो । रङ, चुना, ब्रस, घरको मर्मत–सम्भार गर्ने सिजन भएकाले पसलमा भ्याईनभ्याई । आमा, बाबा र भाइ पूजामा, म पसलमा । पूजामा सामेल भएकाले चोखोनितो हुनपर्ने बाध्यताले भाइको खानपानमा निश्चित खाले प्रतिबन्ध थियो । ऊ मेरो ईष्र्या गथ्र्यो, ‘तैँले त जे खान नि हुने, कस्तो मज्जा । मजस्तो पूजा गर्न पनि नपर्ने ।’


त्यो बेला मख्ख परँे नै । अलिक ढिलो बुझ्दै गएँ, त्यो आफैंमा विभेद थियो । लिंगका आधारमा गरिने विभेदको सुरुआती विन्दु थियो त्यो । देवीको प्रसाद लगाइने हुनाले रजस्वला भएका महिलाले दसँै मनाउन नहुने गरी बहिष्करणमा परेकाको त यहाँ हिसाबकिताबै छैन ।


‘मल्टी–टास्किङ’ महिला

अक्सर महिलाहरू ‘मल्टी–टास्किङ’ मा निपुण हुन्छन् भनिन्छ । एकै पटक धेरै काम नगरी नहुने भएपछि यो काम गराइको बहुआयाम एउटा परिस्थितिजन्य सिर्जित बाध्यतासमेत हो । मूर्तिमा देखिने देवी दुर्गाको ‘स्वैरकल्पना’ को कुरा नगरौं, दस हात फिँजाएर बसेकी देवी । तर, आम दुर्गाहरू दुई हात लिएर दोहोरो बोझ र मल्टी–टास्किङ गर्न बाध्य छन् । घर, कार्यालय, खेतीपाती र सामाजिक दायित्व पनि एकैसाथ निर्वाह गर्नु छ । अक्सर गन्तीमा नआउने तर कहिले प्रशंसा नपाइने घरपरिवारका सदस्यको सानाभन्दा साना आवश्यकताको ख्याल गर्नु र हेरचाह गर्नु त महिला कार्यबोझको महत्त्वपूर्ण हिस्सा नै भयो । ‘महान्, शान्त, सहनशील, अरूको खुसीका लागि आफ्नो खुसीको तिलाञ्जली दिनुपर्ने र सबै कुरा सहन सक्ने धरतीसमान’ भन्ने उपमा भिराइदिएपछि जे जस्तोसुकै काममा पनि ऐयासम्म नभनी सबैतिर भ्याउनुपर्ने बाध्यता कायमै छ, आजको युगमा पनि ।

सुरक्षा चिन्ता
बाबाले दसंैमा दिने एउटा आशीर्वाद मैले जानेदेखि नै निरन्तर ‘एकनास’ छ— ‘यश ल्याए, अपजश नल्याए ।’ मात्र चार शब्द, कति अर्थ, विश्वास, आशा र सँगै कस्तो भय ? यश ल्याउने प्रतिबद्धता मनैमनले गुने पनि आफ्नो कारणले नभई अन्यान्य परिबन्दले कतै अपजश पो आइलाग्छ कि भनेर म डराउँछु । आफ्नो कुनै गल्ती नभए पनि अरूकै गल्तीका कारण पनि दुर्घटना भागीदार हुनुपरेजस्तै महिलाहरू अनेकानेक दुराशय र कुकृत्यको सिकार बनिरहेकै हुन्छन् । नारीलाई शक्ति मानेर पूजा गर्ने मुलुकमा नारी नै सबैभन्दा कमजोर र पीडित ? सधैं डेमोक्लेसको तरबारमुनि बाँचेझैं त्रसित भएर बाँच्न अभिशप्त हुनुपर्ने कस्तो विडम्बना !

भूमिका सधैं गौण
मुख्य पदमा महिलाहरू दुर्लभ भएको नेपालमा एकै पटक राष्ट्राध्यक्ष, सभामुख र प्रधानन्यायाधीशमा महिला आसीन रहँदा यो स्त्रीशक्तिको पहलकदमीमा सीमान्तकृत र उत्पीडित पक्षमा कार्य सम्भव होला भन्ने थियो । महिलाका पक्षमा कानुन बन्लान् वा कानुन कार्यान्वयनको गति देखिएला भन्ने थियो । तर, वास्तविकता त्यस्तो देखिएन । दुई पार्टीको एकीकरण गरी बनाइएको सबैभन्दा ठूलो पार्टीले समेत बलमिच्याइँ देखायो । नेकपाले केन्द्रीय, स्थायी, पोलिटब्युरोलगायतका सबै कमिटीमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुनैपर्ने प्रावधानलाई लत्याएर देखाइदियो । नागरिकता संशोधन विधेयकले महिलालाई ‘दोस्रो दर्जाको हैसियत’ मा राख्दा सत्तासीन पार्टीका नेतृहरू नै मौनप्राय: बसे ।


नेपाली राजनीतिमा महिलाको सहभागिताको इतिहास लामो भए पनि भूमिका भने सहायकस्तरमै छ । महिला नेतृलाई व्यवस्थापन गर्नकै लागि पार्टीमा महिलाका लागि समर्पित बेग्लै महिला संगठन छन् । महिला नेतृ बेग्लै डफ्फालाई नेतृत्व गर्नु नै सर्वोपरि नठान्लान् तर नेतृत्वको विपक्षमा बोल्दैनन् । स्थानीय सरकारको निर्वाचनमा महिलालाई उपप्रमुख हैसियतमा थन्काइँदा, प्रतिनिधिसभा, प्रदेशसभामा लगभग पुरुषले मात्रै टिकट पाउँदा र मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दा महिला नेतृहरू राजनीतिक करियरलाई दाउमा राखेर आम आवाजको पक्षमा बोल्नबाट चुके । नेतृत्व विकासका लागि समय, लगानी, स्रोत र वातावरण चाहिन्छ । के नपालको राजनीतिमा महिलाका लागि पर्याप्त लगानी भएको छ ?
नेपालको राजनीतिक वृत्त आधारातमा वा ककटेल पार्टीका अनौपचारिक भेलामा निर्णय गर्छन् । तसर्थ अधिकांश महिला नेतृहरू आफू संलग्न पार्टी, समाज र देशका कतिपय पछिल्ला घटनाक्रमबारे अनिभज्ञ रहन्छन् । सदुपयोग गर्न सकेमा सूचना आफैंमा शक्ति हो । सूचनासँग पहुँच नै नभएपछि महिला स्वत: कमजोर हुने नै भए । यही कारण उनीहरू पार्टीमा हस्तक्षेपकारी भूमिकामा छैनन् र नेतृत्वलाई चुनौती दिने साहस गर्दैनन् ।

बाहिरी वृत्तमा महिला
आज हाम्रो समग्र बहस नारीवादमा अड्किएको छ । पितृसत्ताका प्रवद्र्धक र पहरेदारको दृष्टिमा यो देश एकदम ‘पर्फेक्ट’ र गज्जब थियो, नारीवादी आएर सब कुरा बिग्रिएको हो भन्ने छ । महिला हिंसाको खबरसँगै एक हूल मानिसहरू ‘खै त महिला अधिकारकर्मी/नारीवादी’ भनेर खोज्छन् । उनीहरू सितिमिति सोध्दैनन्, ‘अपराधी र उसको संरक्षक खै ?’ महिला बोलेकालाई पोथी बासेको मान्ने हाम्रो समाजमा महिलाहरू सार्वजनिक स्पेसमा आएर बोल्न थालेको पितृसत्ताका हिमायतीलाई पचेको छैन । महिला अधिकारको कुरा गर्नेलाई निकृष्ट रूपमा आक्रमण गरिँदै आएको छ । बाटोघाटो र सभा सम्मेलनमा त छँदै छ, हुँदाहुदै भर्चुअल दुनियाँमा ट्रोलिङको सिकार बन्नुपर्छ, न्याय मागेबापत । न्यायको पक्षमा बोल्नेलाई गरिने तल्लो तहको आक्रमणले कतै हामी सामाजिक सञ्जाल नै असामाजिक जञ्जाल बन्ने संशय उब्जाएको छ । आलोचना, सवालजवाफ, तार्किक बहस स्वागतयोग्य छ । तर, अश्लीलतामा ओर्लेर गरिने गालीगलौजले महिलालाई सार्वजनिक वृत्तमा उभिनुअघि दसौँ पटक सोच्ने बनाएको छ ।

मजाक पात्र
सार्वजनिक स्थानमा महिलालाई होच्याउनु ट्रेन्डको निरन्तरजस्तै महिलाले गरेको कामलाई पनि जोक जसरी उडाउने र एउटा महिलाप्रति गलत ‘न्यारेटिभ’ को विकास जारी छ । महिलाको वस्तुकरणमा स्वयम् महिला नै पितृसत्ताको मुखपात्र हुन स्विकारेको देख्दा भने टीठ लाग्छ । राजनीतिक वृत्तमा समेत महिलाका मुद्दा अर्थात् अनावश्यक गनगन र टयाँउटयाउँका रूपमा लिइन्छन् । देशको अभिभावकीय अभिभारा बोकेका प्रधानमन्त्रीले महिलाको मुद्दामा बोल्नु एनजीओको टयाँउटयाउँ भन्नु, शक्तिशाली पार्टीका नेताहरूले महिलाका मुद्दा ‘सरकार गिराउने खेल’ भन्नुले नै देखाउँछ— महिला सवालमा राज्य र नेतृत्वको संवेदनशीलता ।

निराशा र उदासी
बडादसैं संघारमा छ । जयन्ती मंगलाकालीको धुन एकातिर बज्छ र अर्कोतिर निर्मला, सम्झना, पुष्पा, वसन्तीलगायतका लागि न्यायको आवाज गुन्जिन्छ । मूर्तिमा देवीको पूजा हुँदै गर्दा महिलाहरू भने अपराध र हिंसाका सिकार छन् । दिदीबहिनीहरू बलात्कारदेखि तेजाब प्रहारका निन्दनीय कतुर्तबाट ग्रसित बनिरहेका छन्, यसमाथि न्यायबाट समेत वञ्चित भइरहेका छन् । बोक्सी, दाइजोको नाममा हुने दुव्र्यवहार चरम यातना र हत्यासम्म पुगेको छ भने दोषी पहिचान गर्ने र सजाय दिने मामलामा समग्र प्रणाली चुकेको छ ।


फौजदारी न्यायको सामान्य सिद्धान्तले फौजदारी अपराधमा कडा सजाय दिएको देखेर आपराधिक प्रवृत्तिमा कमी आउन सक्छ र सजाय पाउने डरले अपराधसमेत नियन्त्रण हुन्छ भन्ने मान्यता राखिन्छ । महिला हिंसा रोक्ने मामलामा सरकार उदासीन देखिएकाले जनमानसमा दण्डहीनता र अराजकताको संशय पैदा भएको छ, संशय बढेर गएको छ । राज्यले चाहेमा अपराध नियन्त्रण गरी सुरक्षित समाज निर्माण गर्न सम्भव छ । निर्मला पन्तको हत्या र बलात्कार भएको ७५ दिन कटिसक्दा पनि दोषी पत्ता नलागेबाट सरकारी निकायको भूमिका अपराध नियन्त्रणका लागि हस्तक्षेपकारी नभएको प्रस्ट छ । विगतमा नमिता सुनिताकाण्डका दोषीहरू लुकाइए जसरी अहिले अपराधी लुकाइँदै छ भनेर त्रास छाएको छ ।
आम जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी प्राप्त सुरक्षा निकाय, नेपाल प्रहरी नै प्रमाण मेट्न संलग्न हुँदा निलम्बन मात्रै गरिनुले दण्डहीनताविरुद्धको राज्यको प्रतिबद्धतामा नै प्रश्न उब्जिएको छ । अनुसन्धानका सर्वमान्य सिद्धान्तअनुसार अघि बढेरर अदालती प्रक्रिया र न्याय सम्पादनसमेतमा सहयोगी भूमिका खेल्नुको सट्टा मिलेमतोमा घटना मिलाई अपराधी उम्काउने कार्यशैली अघि बढाइएको देखिन्छ । यसले गर्दा जनमानसमा मानसिक एवं मनावैज्ञानिक त्रास उत्पन्न भएको छ । यही कारण समग्रमा प्रहरी, न्यायालय र कानुनी राज्यप्रतिको भरोसा नै डगमगाएको स्थिति छ । यो स्वाभाविक छ—दण्डहीनता मौलाएमा सरकार असफल हुनेछ । र, अर्को अस्थिरता उब्जनेछ ।

न्यायिक ऐक्यबद्धता
शक्तिको आराधना गर्दै स्तुतिगान गाउने हाम्रो धार्मिक परम्परा हो । बडादसैंमा नवदुर्गाको स्तुती गर्दै महिलाहरूलाई अन्याय–अत्याचारविरुद्ध जाग्न र विजय हुन आशीर्वाद दिइन्छ । नवदुर्गामा अन्यायविरुद्ध लडेर शक्तिस्वरूपाको रूपमा स्थापित देवीहरूको स्तुतिगानले सबैलाई न्यायको पक्षमा उभिने ऊर्जा प्रदान गर्ने र जनता मात्र नभई सत्ता सञ्चालकलाई समेत जगाउनेछ भन्ने आशा छ । महिलालाई बाहिरी आराधना र ओठे सम्मान नभई स्वतन्त्र महिला अस्तित्वको सम्मान, आत्मसम्मान र सुरक्षा सुनिश्चित गर्नु आजको सरोकार हो ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?