कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आत्मकथा कि अनुभवकथा ?

समीक्षा
सुशीला कार्की प्रधानन्यायाधीश मात्र होइनन् । एक असल आमा, असल श्रीमती, कर्तव्यनिष्ठ नेपाली नागरिक पनि हुन् । हामी आम नेपाली महिलाहरूले बिर्सनै नहुने र सफलताका लागि ख्याल गरिरहनुपर्ने बाटो हुन् सुशीला कार्की ।
सीमा आभास

काठमाडौँ — आत्मकथा भनेको आत्मालाई पनि ढाँट्न नसक्ने कुरा लेख्नु हो । तर, आत्मकथा भनेर लेखिएका पुस्तकहरूमा त्यस्ता विषयहरूको समावेश देखिंदैन । सामान्य अवस्थामा यस्ता भन्न नसकिने कुराहरूलाई पनि किताबमा भन्न सकिएको देखिंदैन ।

आत्मकथा कि अनुभवकथा ?

लोकतान्त्रिक नेपालको राजनीतिक चरित्रलाई छर्लंग देखाउने एउटा मुख्य झयाल हो— सुशीला कार्कीको ‘न्याय’ ।


नेपालको इतिहासमा महान्यायाधीशलाई महाअभियोग लगाएको यो पहिलो घटना हो । विगतमा ‘अक्षम’ शेरबहादुर देउवालाई ‘कू’ गरेर राजा ज्ञानेन्द्रले अपदस्त गरेका थिए । अदालतले शाही आयोग नै खारेज गरिदिएको थियो । तथापि पूर्वराजा ज्ञानेन्द्रले न्यायालयलाई छोएका थिएनन् । तर, देउवा नेतृत्वको तत्कालीन सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धमा आईजीपी नियुक्ति प्रकरणलाई आधार बनाएर महाअभियोग दर्ता गर्‍यो ।


हामी सबैले सुनेको, पढेको र बुझेको अन्तर्राष्ट्रियस्तरमै खराब छवि बनाएका घटनाहरु हुन्— सुडान घोटाला काण्ड, गुप्ता भ्रष्टाचार मुद्दा, सिलवाल मुद्दा, अख्तियार थुनामा कनकमणि, राजा त्रिभुवनको सालिक, फास्ट ट्रयाक विवाद, गोदावरी मार्बल मुद्दा, कोख भाडामा दिने मामला आदि । यी सबै राष्ट्रिय–अन्तर्राष्ट्रिय मुद्दा–मामलाहरूको उहापोह ‘न्याय’ पुस्तकमा समेटिएको छ ।


यो स्वाभाविक छ— आईजीपी प्रकरण नहुन्थ्यो भने सुशीला कार्कीलाई ‘महाअभियोग’ लाग्ने थिएन । महाअभियोग नलागेको थियो भने सायद यो पुस्तक नजन्मन पनि सक्थ्यो । सामान्य मान्छेले थाहा पाएको बाहिर आएका सूचनाको आधारमा भन्नुपर्दा महाअभियोग मूल कारण आईजीपी प्रकरण मात्रै नहुन सक्छ । त्यसभित्र गुजुल्टिएका कतिपय घटनाक्रम तथ्य र वास्तविकता यो पुस्तकमार्फत उजागर भएको छ । यद्यपि पुस्तकमा नलेखिएका थुप्रै सत्यतथ्य अझै बाहिर आउदै जालान् । वास्तवमा त्यसबेला इतिहासमै पहिलोपल्ट प्रधानन्यायाधीशमाथि महाअभियोग नै लगाएर हटाउनुपर्ने खास कारण भने अझै पनि ‘रहस्यमय’ छ ।


यो किताब पढ्ने जो कोहीले पनि निर्धक्कसाथ भन्न सक्छ, नेपालको राजनीतिक गतिविधि सार्वभौमिक देशको जस्तो छैन । यसको चरित्र पनि प्रजातान्त्रिक भइसकेको छैन । संसदीय प्रणालीअन्तर्गत जनताबाट अनुमोदित भए पनि राजनीतिले जनताको अपेक्षा पूरा गर्नेतर्फ खासै चासो राखेको छैन । भ्रष्टाचार, दुराचार दलीय साख जोगाउने हतियार बनेका छन् । न्यायालयजस्तो सार्वभौम र स्वायत्त निकायमा राजनीतिक दलहरू ठाडो हस्तक्षेप गर्छन् । दलहरूको भागबन्डाले न्यायालयलाई न्यायालयजस्तो मात्र रहन दिएको देखिंदैन । प्रसंगमा ८० न्यायाधीश नियुक्तिको प्रकरणलाई उदाहरणको रूपमा लिन सकिन्छ । प्रसंगमा बार एसोसिएसन प्रतिनिधिले ‘मलाई बीस जना न्यायाधीश चाहिन्छ’ भन्ने दाबी राखेको मामला उठाउन सकिन्छ । यो प्रसंगले के स्पष्ट पारेको छ भने क्षमतावान र योग्य न्यायाधीश ल्याउनुभन्दा पनि दलीय भागबन्डा आधारमा न्यायाधीश आएका छन् । यही कारण न्यायालय कमजोर बनेको छ । जहाँ न्यायालय कमजोर र विवादित हुन्छ, त्यहा लोकतान्त्रिक अभ्यासको अपेक्षा कमै गर्न सकिन्छ । यसैले पनि राजनीतिक दलको लोकतान्त्रिक चरित्र निर्माण नभएको स्पस्ट देखिन्छ ।


पुस्तकमा उल्लेख भएअनुसार लोकमानसिंह कार्की र गोपालप्रसाद पराजुलीजस्ता पदीय भारका लागि ‘अयोग्य’ व्यक्तिलाई दलहरूले काँधमा बोकेर हिंड्नुको रहस्य के छ ? भ्रष्टाचार, जनतामाथिको बेइमानी, अपराधलाई सामान्यीकरण, सत्तालिप्सा, राज्य दोहन हँुदै नैतिक पतनका उस्तादहरू राज्यसत्तामा पुगेपछिको देशको अनुहार कस्तो बन्ला ? यो पुस्तकमा अनेक दृष्टान्त झल्किएको छ । नेपालमा अपराधलाई स्थायीकरण गर्न सक्ने व्यक्ति सबैभन्दा शक्तिशाली किन भएका छन् ? कानुन मिच्न सक्नेहरूकै ‘डंका’ ठूलो किन भएको हो ? जनसाधारणमाझ बारम्बार उब्जने प्रश्न हुन् यी । नैतिकवान, चरित्रवान, सादा जीवनशैलीका हिमायती र कानुनसम्मत कर्म गर्नेलाई राजनीतिक दलहरूले मन नपराउनुको कारण के हो ? यो प्रश्न थाती रहेको छ ।


पुस्तक पढ्दै जाँदा कानुन निर्धा जनताका लागि मात्र बनेको हो कि जस्तो भान हुन्छ । कुखुर वा काँक्रा चोर मात्र ‘चोर’ हो कि झैं कानूनमा देखिन्छ । गतिला चोरलाई कानुनले छुन पनि सकेको छैन । किन ? प्रश्नले बिथोलिरहन्छ ।


स्वतन्त्र र स्वायत्त न्यायालयलाई न्यायालय रहन किन दिंदैनन् राजनीतिक दल ? राजनीतिक दलको कार्यशैली उब्जाएका केही प्रश्नहरू छन् । के यहाँ जनताका लागि लोकतन्त्र आएको छ ? माओवादीले केका लागि यतिका मान्छे मारेको थियो ? सार्वभौमिक भनिएको देशमा कमजोर र मूर्ख शासकको हालीमुहाली किन छ ?


गुप्ताको भ्रष्टाचार मुद्दाले तत्कालीन माओवादी, कांग्रेसबीचको सम्बन्ध कस्तो छ भन्ने चित्र देखाउँछ । यो कांग्रेस र माओवादीको मात्र हैन, सबै राजनीतिक दलको आमचरित्र हो ।
२०४८ सालदेखि २०५९ सालसम्म नेपाली कांग्रेसमा रहेका जयप्रकाशप्रसाद गुप्ता ११ वर्षसम्म लगातार सांसद, मन्त्री र प्रेस सल्लाहकारको रूपमा रहे । कांग्रेसलाई त्यागेर मधेसवादी दलमा लागेका गुप्तालाई २०५९ सालमा भ्रष्टाचार मुद्दा लाग्यो । अदालतले भ्रष्टाचारी ठहर गर्‍यो । मुद्दा फैसलापछि ‘दोषी’ ठहर हुने नै थियो । त्यसबेला सरकारमा बाबुराम भट्टराई प्रधानमन्त्री र नेकपा माओवादी दलमा अध्यक्ष प्रचण्ड थिए । ‘भ्रष्टाचार अभियोगमा यदि जेपी गुप्ता दोषी ठहरिए बाबुरामको सरकार ढल्छ’ भनेर प्रचण्डले लिएको चिन्ता पनि पुस्तकमा उल्लेख गरिएको छ ।


पुस्तकभित्रका यी हरफ पढेपछि जो कोही पनि एक छिन अडिन्छ । अनि सोच्नेछ, जेपी गुप्ता पूर्वकांग्रेस र मधेसवादी दलमा लागेका । डा. भट्टराई दस वर्ष युद्ध गरेर शान्ति सम्झौतापछि जनताबाट चुनिएका प्रधानमन्त्री तर, अदालतले भ्रष्टाचार ठहर गरेको व्यक्तिलाई कारबाही हुँदा सरकार ढल्ने कस्तो खालको ‘सिस्टम’ भित्र हामी छौं ? प्रचण्ड जसले १० वर्षसम्म भूमिगत आन्दोलन गरे, जसको नीतिले समृद्ध नेपालको परिकल्पना गरेको थियो । १६ हजार व्यक्तिले बलि दिएपछि बनेका नेता एउटा भ्रष्टाचारी नेता कारबाहीमा पर्दा डराउँछ भने हाम्रो देशको सरकारको घाँटी कसले पक्रेको छ भनेर सोच्न निकै बाध्य बनाउँछ ।


अर्को प्रसंग छ, प्रचण्ड संयोजक रहेको टोलीले नै लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख आयुक्तमा नियुक्ति गर्न सिफारिस गर्‍यो । त्यसविरुद्धमा रिट दायर भयो । तत्कालीन प्रधानमन्त्री प्रचण्डले सुशीला कार्कीसँग अनुरोध गरेका छन्, ‘मेरो कार्यकाल सात महिना मात्र बाँकी छ । उनको मुद्दा सारिदिनुस् ।’ लोकमानले प्रचण्डसँग आएर बुरुकबुरुक गर्दा प्रचण्ड आत्तिनुपर्ने कारणको रहस्य के हो ?


नेपालमा न त प्रजातन्त्रवादीसँग नैतिक बल छ । न त वामपन्थीसँग नैतिक बल बचेको छ । बरु यहाँ सरकारको प्रतिपक्ष भनेको जनता हो । प्रजातन्त्रको उदयपछि पनि सरकार र जनताको मनोभावनाको बीचमा तालमेल नहुनुको दुर्गन्ध न्यायालयसम्म पनि पुगेको छ ।
***

जीवन सुखसँग बाँच्न जान्नु सुन्दर कला हो । कलायुक्त जिन्दगी बाँच्न सक्नु सफलताको कसी हो । सादा जीवनशैलीले सुखको बाटो बढाइदिन्छ । बाँच्नका लागि धनसम्पत्ति आवश्यक त छ नै तथापि धनभन्दा पनि मनसँग सुख जोडिएको हुन्छ । मान्छेलाई कतिसँग धनसम्पत्ति पैसा हुन्छ, आराम र शान्ति हुँदैन । कतिसँग शान्ति हुन्छ, पैसा र धनसम्पत्ति हुँदैन । आफूसँग जे छ, त्यसैलाई मिलाएर सहजसँग बाँच्न जान्नु चानचुन कला हैन ।


महँगीले आकाश चुलिएको समय हो यो । सामान्य नागरिकको आम्दानी र बजार भाउबीचको तालमेलमा गडबड छ । क्षमतावान मान्छेहरू पनि बाँच्ने संघर्ष गर्दागर्दै ऊर्जा रित्याउन बाध्य छन् । खासगरी मध्यमवर्गीय र निम्नमध्यमवर्गीय परिवारको मुख्य तनाब बाँच्ने संघर्षको लडाइँ हो । असहज परिस्थितमा सीमित खर्चले सहजसँग बाँच्न जान्नु एउटा कला हो ।
यो पुस्तकको अर्को सुन्दर पाटो छ । हरेक सफल पुरुषको सफलता गाथासँग महिलाको हात जोडिएको हुन्छ । भन्छन्, ‘यो सफलताका पछाडि मेरी श्रीमतीको हात छ ।’ तर, नेपाली इतिहासको एउटा ज्वलन्त उदाहरणले यो आहानलाई ठीकविपरीत दिशाबाट मोडिदिएको छ । एउटी श्रीमतीको सफलताको पछाडि श्रीमान्को हात छ । सुशीला कार्कीको सफलताका पछाडि दुर्गा सुवेदीको हात छ ।


मान्छेले साथी पाउँछ, माया पाउँदैन । माया पाउँछ, साथ पाउँदैन । साथी र माया एकसाथ नपाएर कतिपय हाम्रा वैवाहिक जीवन धमिलिएका छन् । कति जीवन टुंगिएका छन् । श्रीमान्–श्रीमतीले एकअर्कालाई मन, वचन र कर्मले सहयोग गर्‍यो भने एक जनाले कतिसम्म प्रगति गर्न सक्छ भन्ने स्पस्ष्ट उदाहरण प्रधानन्यायाधीश कार्की हुन् ।
नेपाली समाजका आम पुरुषले झैं घरका चारघेराभित्र घेरेरै राखेको भए सुशीला कार्कीको यो क्षमता र इमानदारी त्यसै विलीन हुने थियो । तर, दुर्गा सुवेदीको नि:सर्त सहयोगले पाएको अवसरले उनी प्रधानन्यायाधीश हुन सफल भएकी हुन् ।


सुशीला कार्की प्रधानन्यायाधीश मात्र होइनन् । एक असल आमा, असल श्रीमती, कर्तव्यनिष्ठ नेपाली नागरिक पनि हुन् । हामी आम नेपाली महिलाले बिर्सनै नहुने र सफलताका लागि ख्याल गरिरहनुपर्ने बाटो हुन् सुशीला कार्की ।


त्यति मात्र हैन एउटा बच्चाका लागि उसको घर पहिलो विश्वविद्यालय हो । अभिभावकले बच्चैदेखि दिने संस्कारले पनि ऊ हिंड्ने भविष्यको बाटो तय गरिदिन्छ । सुशीला कार्कीको परिवार त्यो असल उदाहरण हो । सुशीला कार्की एकदमै कम भाग्यमानी श्रीमतीमध्येकी एक हुन् जसका श्रीमान्ले घरको काममा काँध थापेर श्रीमतीलाई काम गर्न पठाउने विशाल छाती बनाउँछ । नेपाली समाजका आम पुरुषले दुर्गा सुवेदीको चरित्रलाई अनुसरण गर्नु बेस हुनेछ । सामान्य जीवनशैलीसँग बाँचेका र मानव–गुणले भरिएका दुर्गा सुवेदीलाई यिनै अक्षरबाट श्रद्धासहित नमन गर्दछु ।


धर्तीमा सयौं मान्छे आउँछन् र जान्छन् । तर, जीवनलाई असल बाटोमा हिंडाउने मान्छे एउटा व्यक्ति मात्र होइन । एउटा सिंगो युग हो । एउटा असल मान्छेले अवलम्बन गरेको बाटो आम मान्छेका लागि जीवनको अपूर्व दर्शन पनि हो । नेपालको इतिहासमा सुशीला कार्की एउटा युग हुन् । उनी आम मान्छेको एउटा दर्शन हुन् ।


मान्छेले जीवनभर कर्म गरे पनि खुबै कठिनसँग आर्जन गर्ने कुरा भनेको उसको नैतिक बल हो । त्यो नैतिक बलले मान्छेको आत्मालाई जितेको हुन्छ । उसलाई कहींकतै डर लाग्दैन । त्यसैले महान्यायाधीशजस्तो पदमा बसेर महाअभियोग लाग्दा पनि नडराई उच्च आत्मबलका साथ बाँचेकी थिइन् । त्यो उच्च नैतिक मनोबल सुशीला कार्कीको मात्र हैन, न्याय पक्षधर हरेक नेपालीको बल हो ।


नैतिक पतनको डढेलाले सल्किएको राजनीतिक चरित्रले नेपालीको मेरुदण्ड पिल्सिएको छ । ‘न्याय’ पढेपछि निकै राहत हुन्छ, अझै नैतिकवानहरू मरेका छैनन् भनेर । यो पुस्तकभित्र केही प्रसंग छन् लोकमानसिंह कार्कीले ‘चाँदीको खड्कुलामा गोडा धुन्छु’ भनेर आफूलाई पवित्र पार्न खोजेको प्रसंग । ‘दस करोड रुपैयाँ भाइ हो कि को होमार्फत लोकमानले दिएको भन्ने हल्ला छ नि’ भनेर प्रचण्डले सोधेको प्रसंग पुस्तकमा छ । नभन्दै सुशीला कार्कीलाई ल्याइदिएको दस करोड रुपैयाँ दुर्गा सुवेदीले गेटबाट नै फर्काइदिएका थिए । यो घटनाले नेपालको न्यायालयलाई राजनीतिक दल र स्वयं सरकार सञ्चालकको अनुहारको रूप उदांगिएको छ ।


किताबका हरेक प्रसंगमा ‘लेखकले मैले भ्रष्टाचार गरेकी छुइनँ’ भनेर पटकपटक भनेकी छन् । कतै पनि भ्रष्टाचारमा नचुक्नु नै उनको नैतिक बल हो । मान्छेको सबैभन्दा ठूलो सम्पत्ति नैतिक बल पनि हो । अग्रजहरूको नैतिक बल पछिल्ला पिंढीका लागि गर्वका विषय हुन् ।
***

आत्मकथामा अनेकन भन्न नसकिने कुराहरू पनि भनिनुपर्छ । कमजोरी मानवको प्रमुख गुण हो । मान्छेले जीवनमा पश्चात्ताप गर्नुपर्ने कामहरू गरेकै हुन्छ । सानातिना अपराध जानीनजानी गरेकै हुन्छ । मान्छेका सम्पूर्ण प्राकृतिक गुणलाई अस्वीकार गर्नकै लागि सभ्य मानव समाज बनेको हो । मान्छेका मनमा लागेका र गर्न मन लागेका काम गर्नु हो भने मान्छे असभ्य, अनाचारी, असामाजिक, अपराधी हुन्छ । तर, जीवनका कुनै न कुनै मोडमा पुगेपछि समाजद्वारा वर्जित, भन्न नसकिने काम धेर थोर गरेकै हुन्छ । गर्छ नै । त्यति पनि गरेन भने त्यो मान्छे के मान्छे ?


लेखक भनेको एक किसिमले समाजभन्दा अलिक परतिर बसेर केही बेर भए पनि सोच्ने गर्छ । अझ आत्मकथा लेख्नु भनेको चानचुने आँट होइन । समाजलाई उपयोगी निजी भोगाइ र देखेका कुरा साथै निजी जीवन या सामाजिक जीवनसँग जोडिएर आएका विषय जुन कुरा समाजमा सामान्य अवस्थामा भन्नै मिल्दैन । भन्न सकिंदैन । तर, आफ्नो आत्मामा त्यो कुरा प्रमुख भएर रहेको हुन्छ । बिर्सनै सकिंदैन । ती कथाको उद्घाटनको अपेक्षा पनि आत्मकथाले गर्छ । आत्मकथा भनेको आत्मालाई पनि ढाँट्न नसक्ने कुरा लेख्नु हो । तर, आत्मकथा भनेर लेखिएका पुस्तकमा त्यस्ता विषयको समावेश देखिंदैन । सामान्य अवस्थामा यस्ता भन्न नसकिने कुराहरूलाई पनि किताबमा भन्न सकिएको देखिंदैन । आफ्नो क्षेत्रमा लामो समयसम्म सफल रूपमा काम गरेर सफलता हासिल गर्नेहरूबाट यस्तो ‘कन्फेसन’ अपेक्षा गरिनु पनि हुँदैन । कन्फेसन चानचुन कुरा होइन । त्यसैले लेखक अरूभन्दा फरक प्राणी हो । यस्ता पुस्तकलाई हामीले आत्मकथाको विधा भन्नुभन्दा पनि अनुभव विधामा राखियो भने अत्यन्त सकारात्मक छाप पर्छ ।


आफ्नो कार्यक्षेत्रबाट अवकाश पाएपछि आफूले देखेका र भोगेका विषयमाथि लेख्ने जुन परम्पराको थालनी भएको छ, त्यो अत्यन्त सराहनीय विषय हो । तर, विधागत रूपमा यी सबै अनुभवलाई आत्मकथा भनिनुभन्दा ‘अनुभवकथा’ विधाअन्तर्गत राखियो भने पाठक भ्रममुक्त हुने थिए ।


बजारमा आएका आत्मकथा भनिएका कतिपय पुस्तकहरू आत्मकथाको खास चरित्रभित्र नअटेको देखिन्छ । यस्ता अनुभवहरूलाई प्रकाशनमा ल्याउनुपर्छ । तर, यस्ता लेखनहरूलाई आत्मकथा भन्नुभन्दा ‘अनुभवकथा’ नयाँ विधाको रूपमा विकसित गर्नुपर्छ ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?