१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

धार्मिक कथाको पुनर्लेखन

तर्क

काठमाडौँ — ऋषिका तपस्या भंग गर्न अप्सराहरू पठाइने पौराणिक कथा र हाकिमहरूलाई खुसी पार्न सुरा–सुन्दरीको व्यवस्था गरिने आजका (लुकेका) यथार्थमा हामीले समानता भेट्छौँ । सतहमा परिवर्तन देखिए होलान् तर समाजको मूल चरित्रमा बद्लाव नआएको आडम्बरी समाजको प्रमाण हो यो ।

धार्मिक कथाको पुनर्लेखन

म हुर्केको समाज, समुदायमा दसैँ केटाकेटीलाई खुसीको बहार लिएर आउँथ्यो । पन्ध्र दिनको स्कुल बिदा हुनाले पढ्नु नपर्ने, त्यसमाथि नयाँ लुगा, मीठो खाना र पिङ खेल्ने अवसर आदिले त्यतिखेरका हाम्रा बाल मस्तिष्कमा दसैँ अद्वितीयजस्तै थियो । अन्य विशेषताले तिहार पहिलो नम्बरमा आए पनि छोटो बिदाका कारण तिहार दोस्रो लाग्थ्यो ।


कवितामा पढेको जस्तै शारदीय हावा आफैँले महसुस गर्न सकिन्थ्यो । मन्दिरतिर बज्ने घण्टहरू, पूजापाठ, भजनकीर्तन र उज्याला अनुहारहरू यी सबैले दसैँमा रंग भर्थे, मन फुरुंग हुन्थ्यो । घरअगाडिका मकैबारी र फर्सीका झाडीहरू फालिएका हुन्थे । बारीहरू साग तोरी छर्नसफा गरिएको हुन्थ्यो । काँक्राका झाङमा दसैँका लागि भनेर साँचेर राखिएको पाकेको काँक्रो हुन्थ्यो । खुलेको आकाश र उज्यालो धर्तीमा सुनौला रङको सुन्दर सिउर भएको चरा आक्कलझुक्कल देखापथ्र्यो । दसैँचरा भन्थ्यौँ । दसैँको आसपासभन्दा अरू समयमा मैले कहिल्यै देखिनँ त्यो चरा ।


टीकाको दिन झनै विशेष लाग्थ्यो । टीका लगाएपछि पाउने दक्षिणाले पनि खुसी थप्थ्यो । हाम्रोतिर छोरीलाई मात्र दक्षिणा दिने चलन थियो, आफूले दक्षिणा पाएपछि नपाएका दाइ, भाइको अनुहार हेरेर जिस्काउन पनि रमाइलो लाग्थ्यो । त्यस्तै हाम्रोतिर, छोरीहरूलाई खुट्टामा ढोग्ने चलन छ, छोराहरूले भने ढोगिदिनुपर्छ ठूलालाई । यसले पनि विशिष्ट महसुस गराउँथ्यो छोरी हुनुको । टाढा भएकाले मामाघर जान प्रत्येक वर्ष सम्भव हुन्थेन । मामाघर गएको वर्ष दसैँ झनै विशेष बन्थ्यो ।


दसैँ धार्मिक पर्व हो । यस अवधिमा दुर्गा सप्तशती (चण्डी) पाठ तथा नवदुर्गाको पूजा हुने गर्छ । धर्मग्रन्थहरूमा पुरुष देवताहरूको पुरुषार्थका कथाहरूको वर्चस्व रहेकोमा चण्डीमा देवीका पराक्रमका कथा उल्लेख गरिएको छ । देवी दुर्गाका नौ अवतारहरू क्रमश: शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीलगायतका देवीहरूले ब्रह्माण्डको कल्याणका लागि देखाएका वीरताको कथा भनिएको छ । विविध अवतारका देवीहरूको युद्धकलाको वर्णन छ । मधुकैटभ, महिषासुर, शुम्भ, निशुम्भ, चण्डमुण्ड आदिका वधका कथाहरू छन् ।


दसैँ सांस्कृतिक पर्व हो । यसका सुन्दर पक्षहरू छन् । खेती किसानीको लामो श्रमपछि केही समयको विश्राम र रमाइलोको महत्त्व हुने नै भयो । त्यसमाथि पारिवारिक भेटघाटको अवसरले पनि दसैँको महत्त्व उच्च राख्छ । दसैँ मान्यजनसँग टीका थाप्ने र आशीर्वाद लिनेजस्तो उच्च संस्कारको चाड हो । आशीर्वादको सन्दर्भमा केटाहरूलाई ‘आयु द्रोणसुते, श्रयम दसरथे... कीर्तिश्च नारायणे’ भनिन्छ भने केटीहरूलाई ‘जयन्ती मंगला काली भद्रकाली...नमोस्तुते’ भन्ने गरिन्छ । संस्कृतका यी आशीर्वचनका पूरा अर्थ नबुझे पनि सुन्दा रमाइलो लाग्थ्यो ।


समय फेरिंदै गयो, उमेर बढयो । बिस्तारै भूमिकाहरू फेरिँदै गए र बुझाइ पनि । आजभोलि भने यी आशीर्वचनमा पनि लैंगिक विभेद पाउँछु । छोरामान्छेका लागि भनिने आशीर्वचनहरूमा दीर्घजीवन, मानसम्मान, धन ऐश्वर्य प्राप्ति आदिजस्ता कामनाहरू राखिएका छन् । तर, छोरीका लागि त्यसरी स्पष्ट अर्थ खुलेका, जीवनसँग प्रत्यक्ष सरोकार राख्नेजस्ता आशीर्वचनहरू छैनन् । आशीर्वचनमा शाब्दिक रूपमा देवीहरूको नाम उल्लेख गरिए पनि दीर्घजीवन, धनधान्य आदिको आशीर्वाद छोरीहरूलाई छैन् । समाज निर्मित आशीर्वचन पनि पुरुष केन्द्रित भएझैँ लाग्छ ।


त्यसो त आशीर्वादको नाममा भनिने केही शब्दहरूमा के छ (?) भन्ने पनि लाग्न सक्छ । तर, यसका प्रभावहरू हुन्छन् । हामी केटाकेटीदेखि नै टेलिभिजनमा महाभारत, रामायण आदि टेलिफिल्महरू हेरेर हुर्कियौँ । देवताका पराक्रमहरू देख्यौँ । ‘शिव धनुष’ उठाएर सीतासँग विवाह गर्ने राम, पानीमा प्रतिविम्ब हेरी लक्ष्यक्षेदन गरी द्रौपदीसँग विवाह गर्ने अर्जुनको पराक्रम पनि टेलिभिजनका स्क्रिनहरूमा हेर्‍यौँ । यी कथाहरूमा सीता वा द्रौपदीसँग विवाह योग्य हुन आवश्यक मापदण्ड पनि पुरुष बनाउँथे भने मापदण्ड पूरा गर्ने पनि पुरुष भइहाले । जहाँ महिलाका भूमिकाहरू स्वीकार गर्ने मात्र थिए । केटाकेटीमा यस्ता कथाहरू सुन्दै गएपछि नारी–पुरुषको भूमिका यस्तै हुँदो रहेछ भन्ने छाप पर्दै गयो ।
आजभोलि पनि कुनै समस्या पर्दा समाधानको उपायको अपेक्षा गर्दै म ऊ (श्रीमान्) सँग सुनाउने गर्छु । तर, त्यस्तै प्रकृतिको कुनै समस्या पर्दा समाधानको सहायताका लागि ऊ (श्रीमान्) भने कुनै साथीसँग भनिरहेको हुन्छ, म पछि थाहा पाउँछु । मलाई किन नभनेको भन्ने मेरो प्रश्नमा ऊ भन्छ, ‘तिमीलाई किन तनाव दिऊँ भनेर ।’ यो व्यक्ति म वा उसको भन्दा पनि समाज निर्मित सोचको उपजजस्तो लाग्छ ।


इन्टरनेटमा पहुँचसँगै आजका केटाकेटी विभिन्न कार्टुनहरू हेर्छन् । मूलत: महाभारत, रामायणका विभिन्न कथा तथा पात्रहरूमा आधारित यी कार्टुनहरूमा पनि पुरुषप्रधान कथाहरूको बाहुल्य छ । पुरुष श्रेष्ठताको कथाको छाप केटाकेटी अवस्थादेखि नै पर्दै गएपछि लैंगिक समानताको कुरा बुझ्न हाम्रो पुस्तालाई जति समय लाग्यो आजका केटाकेटीलाई पनि त्यत्तिकै समय लाग्न सक्छ । यसले समानताको समाज निर्माणको लागि अझै बढी समय लाग्ने जोखिम बढाउँछ ।


समाज निर्माणका विविध पक्षहरूमध्ये बुझाइ पनि एक हो । त्यसोत समाज आडम्बरी छ । अर्थात् भन्छ एउटा, गर्छ अर्को । हाम्रो सभ्यताका आधार धार्मिक ग्रन्थहरू हुन् । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:, सँगै ‘सीताको अग्निपरीक्षा’ र ‘द्रौपदीको चीरहरण’ पनि पढाइयो । त्यसैले त


सतहमा हेर्दा नेपाली राजनीतिका परिदृश्यहरू बद्लिएका छन् । देशमा राष्ट्रपति महिला छिन् । केही अगाडिसम्म सभामूख तथा प्रधानन्यायाधीश पनि महिला नै थिए । संकेतको रूपमा त यो सुखद थियो । तर, जसरी सबै छिटाएका पानीहरू झरी बन्दैनन्, त्यसरी नै केही संकेतहरूले परिणाम नदेखाउने रहेछन् । त्यसैले त पहिलो संविधानसभाको चुनावमा प्रत्यक्षतर्फ १२.५ प्रतिशत महिला प्रतिनिधित्व रहेकोमा दोस्रोमा प्रत्यक्षतर्फ ४.६ प्रतिशत मात्र रहन पुग्यो । त्यस्तै पछिल्लो निर्वाचनमा प्रदेशसभामा प्रत्यक्षतर्फ कुल ३३० निर्वाचितमध्ये १७ महिला (५.२ प्रतिशत) निर्वाचित भएका छन् भने केन्द्रमा प्रत्यक्षतर्फ कुल १६५ मध्ये ६ जना महिला (३.६ प्रतिशत) मात्र निर्वाचित छन् । पहिलो संविधानसभाको चुनावले देखाएको संकेत परिणाममा नपुगेको प्रमाण हो यो ।


त्यसो त विभिन्न तहमा निर्वाचित हुने जनप्रतिनिधिहरूमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता संविधानले गरेको छ । अहिले स्थानीय, प्रदेश र केन्द्रमा भएका कुल निर्वाचित जनप्रतिनिधिमा झन्डै ४१ प्रतिशत महिला रहेका छन् । समग्रमा हेर्दा तथ्यांक उत्साहप्रद लाग्छ । स्थानीय तहमा कुल निर्वाचित ३५०४१ मध्ये १४३५२ महिला छन् । तर, प्रदेश तथा संघीय व्यवस्थापिकामा संवैधानिक व्यवस्थाअनुसारको न्यूनतम एकतिहाइ प्रतिनिधित्व पूरा गर्न समानुपातिक प्रणालीको उपयोग गरिएको छ । नेपालमा समानुपातिक प्रतिनिधित्व कसरी गराइएको छ भन्नेमा निर्वाचित हुने र गराउने दुवै भलिभाँती परिचित छन् । यो कर्मकाण्डीय छ भन्नेकुरा समानुपातिकको ‘डाडु–पन्यु’ हातमा हुनेले महिला आवाजलाई ‘टयाउँटयाउँ’ भन्नुले छर्लंग हुन्छ ।


यो वर्ष पहिलोपल्ट चण्डी पाठ गरेँ । देवीहरूका वीरताका कथा र देवीले वीरता प्राप्त गर्न देवताहरूको योगदानजस्ता कुराहरू लेखिएका रहेछन् । यसले देवी तथा देवताको सहअस्तित्व र सहकार्य देखाएको बोध भयो । हाम्रा धार्मिक कथाहरूमा गोमा, अहिल्या सीता र द्रौपदीहरूका कथा मात्र होइन दुर्गा, काली, नित्या, गौरी, धात्री, अम्बिका, चण्डिकाजस्ता वीरांगनाका कथाहरू पनि रहेछन् भनेर गर्वको महसुस भयो । तर, पुस्तकमा जुन पुरुषले ‘यो पाठ गर्ला उसको सम्पूर्ण दु:खहरण होला वा उसले यो प्राप्त गर्ला’ भनी पटकपटक उल्लेख गरिएको रहेछ । सायद यो पुस्तक नारीले पढ्ने परिकल्पनासमेत गरिएको रहेनछ । त्यति मात्र होइन, यस पुस्तकको मूर्तिरहस्यम खण्डमा देवीका स्तन, नाभिस्थलको समेत वर्णन गरिएको रहेछ । पृथ्वी रक्षाका लागि देवीहरूका योगदानको कथा भनिए पनि अन्तिम खण्डतिर नारीको शरीर वर्णनमा अल्झिएको यस पुस्तक पुरुषद्वारा रचिएको कर्मकाण्डीय नारीकथाजस्तै लाग्यो । अब नारी वा नारीको सम्मानपूर्ण सहअस्तित्वको स्वीकार र पैरवी गर्ने पुरुषबाट यस्ता कथाको पुनर्लेखनको आवश्यकताको महसुस गरिरहेको छु अहिले ।


र अन्त्यमा, बलात्कृत बालिका तथा नारीहरूको चीत्कारले शोकसन्तप्त समयमा परेको दसैँमा, कुरुसभाको भीडभाडमा द्रौपदीको चीरहरण गर्न लगाउने दुर्योधनको जस्तै मान प्राप्त (मानन्च दुर्योधने) होस् भन्दै आशीर्वादचाहिँ नदिनोस् है ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?