कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गौरी र काली

बहस
‘‘स्त्री सौन्दर्यको मापदण्ड मृगमरीचिका हो, जति नजिक आए पनि कहिल्यै नभेटाइने क्षितिजजस्तो ।’’
भूषिता वशिष्ठ

काठमाडौँ — हाम्रा मिथहरूमा अनौठो लयात्मकता छ, जो हाम्रो एकाकी संस्कृतिवादी समाजले अनुसरण गर्न सक्तैन । नवदुर्गाको मिथमा गौरी र काली सतहमा विपरार्थी देखिए पनि वास्तवमा एउटै देवीका स्वरूप हुन् । स्वच्छन्द, निर्भीक र स्वाधीन नहुन्जेल स्त्रीमा वास्तविक ममत्व, करुणा र स्निग्धता सम्भव छैन ।

गौरी र काली

मलाई तराईको गर्मी साह्रै मन पथ्र्याे । हजुरआमा भन्नुहुन्थ्यो, ‘घाममा नहिँड्, डढेर मजस्तै विरूप हुन्छेस् ।’


हजुरआमाका धेरै कुराहरू मेलै मानिनँ, सीताराम मामासँग टन्टलापुर घाममा मीठा पानको रमरम मत्याइँमा बजार डुल्नुको मज्जा नै अर्को थियो । कलिला धानको बीउको हरियो, बडहरको केशरी रङ, मालती फूलको फुस्रो गुलाफी, केतकी फूलको शुभ्र सेतो, जामुनको गाढा बैजनी रङ, तराईको ग्रीष्म वसन्तभन्दा रंगीन हुन्छ । अटेर गर्दै म दिनभर गाउँतिर बरालिन्थें । बेलुकी घर आइपुग्दा मेरो छाला पोटिलो लालगेडीझैं हुन्थ्यो । आमा मुख बिगार्नुहुन्थ्यो, मेरो अटेरी स्वभाव सगर्व आफ्नो विजयमा फुल्थ्यो ।


हजुरआमा म सात वर्ष पुग्दा नपुग्दै बित्नुभयो । झरी परेको रात थियो, चटयाङ परेझैं हजुरआमा बितेको समाचार रातको नीरवतालाई चिर्दै खस्यो । चटयाङले प्रकाशित पारेको रातझैं, हजुरआमाको सम्झनाले निमेषभरलाई मन उज्यालो भयो । तर, त्यसपछिको अँध्यारोमा बिलाउनुभएकी हजुरआमा फेरि धेरै वर्षसम्म मेरो स्मृतिपटमा उदाउनुभएन ।


धेरै वर्षपछि अस्तिको साल म फेरि मामाघर गएँ । बाटा वरिपरिका लालगेडी र धतुरे फूलका ­बुटा हराएछन्, सडक चौडा भएछ । बच्चा बेलामा भीमकाय लाग्ने बडहर र जामुनका रूख होचा लागे । तर, नबद्लिएको रहेछ सीताराम मामाको लालगेडी वर्णको छाला । म्ोरो आफ्नै छाला भने पाकेको गहुँजस्तो गोरो भएको थियो । आमाका धेरै कुरा नमाने पनि ठूली हुँदै जाँदा मेलै मानिछु, कालो हुनु भनेको विरूप हुनु हो । हाम्रो भाषाले पनि सायद यो धारणालाई पृष्ठपोषण गर्‍यो होला । कसैलाई गिराउनुपर्‍यो भने भनिन्थ्यो— त्यसको मन कालो छ । बिस्तारै–बिस्तारै मलाई घामसँग डर लाग्न थाल्यो । किशोरवयमा सुन्दर हुने चाह सबैलाई हुन्छ तर, हाम्रो परिवेशमा सुन्दरता अंग्रेजीमा ‘स्किनडिप’ भनिएझैं वास्तवमै छालाको सतहसम्म मात्रै सीमित थियो । यो भ्रान्त धारणाका कारण दिनभरि जनलाई कजाएर सेतो भएको छालामा लेखिएका श्रम शोषणका कथा म पढ्न सक्तिनथें । न म बुझ्थें सुन्दरताका नाममा रचिइएको महिलाहरूको नजरबन्द जीवन । दिउँसो हामी घामका डरले घर छोड्दैनथ्यांै, कालो राज्य हाम्रा लागि सुरक्षित थिएन ।


असोजमा दसैंको मेला लाग्थ्यो । बजारबीच ठूलो पालमुनि लामबद्ध देवीका मूर्तिहरू राखिएका हुन्थे । बन्दाका दिनमा काला माटाका ती मूर्तिहरू हाम्रोजस्तै वर्णका हुन्थे । बनिसक्दा तिनका छाला चुनमाटे सेता हुन्थे । तर त्यो लाममा पनि एउटा दुब्लो, कालो मूर्ति हुन्थ्यो, जसको रातो जिब्रो झन्डै छातीसम्म लर्किएको हुन्थ्यो । त्यो मूर्ति मलाई विरूप लाग्थ्यो, मेरी हजुरआमाजस्तै । पोहोर साल मेलामा त्यही कालीको मूर्तिले हजुरआमाको यादलाई बौरायो । म आमाभन्दा धेरै गोरी थिएँ तर ममा पनि किटेर आफूलाई सुन्दर छु भन्ने आँट थिएन । बिस्तारै मैले बुझ्दै जाँदै थिएँ, स्त्री सौन्दर्यको मापदण्ड मृगमरीचिका हो, जति नजिक आए पनि कहिल्यै नभेटाइने क्षितिजजस्तो । हाम्रा शास्त्रहरूमा सुन्दर स्त्रीहरूको वर्णन गर्दा हरिणका जस्ता बाटुला आँखा, बारुलाको जस्तो छिनेको कम्मर तर भारी नितम्ब भएकी, सुकोमल हात–गोडा तर बेलजस्तो कठोर स्तन भएकी, मीतभाषी अर्थात् कम बोल्ने, गजगामिनी, सुवर्ण कमलजस्तो पीत वर्ण भएकी, एक योजनसम्म नीलकमलको जस्तो सुगन्ध आउने स्त्रीलाई जनाइन्छ ।


अल्जेरियन दार्शनिक डेरिडाले शक्तिको संरचना बुझ्नलाई कुनै पनि सामाजिक वा राजनीतिक धारणा कसको दृष्टिकोणबाट निर्धारण गरिएको छ, त्यो बुझ्न जरुरी ठान्छन् । गोराहरूले लेखेको भाषामा फेयर अर्थात् सेतो भन्ने शब्दले सुन्दर पनि जनाउँछ र नैतिक पनि । भाषा शासकहरूको सबैभन्दा ठूलो हतियार हो । जर्ज अरवेल ‘१९८४’ पुस्तकमा चरम अधिनायकवादको यस्तो समाज परिकल्पना गर्छन् जहाँ शब्दकोशबाट नकारका सबै शब्द हटाइएका हुन्छन् । त्यो समाजमा विद्रोहको कुनै गुञ्जायस रहँदैन किनभने जनताका चित्तमा विद्रोह गर्न सक्ने चेतना नै छैन । हाम्रो सामाजिक चेतनामा पनि सुन्दरताको धारणा पुरुषकीय दृष्टिकोणबाट स्थापित गरिएको छ । एक योजनसम्म सुगन्ध कसैको शरीरबाट आउँदैन, परन्तु यी भ्रान्त धारणका कारण हरेक स्त्रीलाई लाग्छ— ऊ अपूर्ण छे । धेरैलाई लाग्न सक्छ, आजको जमानामा कसले यस्ता पौराणिक कुरा सुनेर बस्छ तर आधुनिक लोकसंस्कृतिले निरुपण गरेको सुन्दरताको धारण पनि उत्तिकै असामान्य छ । आधुनिक महिला आफ्नो शरीरको रौं, छालाको रङ, केशको प्रकार, आफ्नो कद सबै चीजसँग असन्तुष्ट छे । यही असन्तुष्टिको उपज हो— सौन्दर्य प्रशाधनको फस्टाउदो बजार । विश्व बजारमा कस्मेटिक बजार सबैभन्दा नाफामूलक बजार हो ।


यस वर्षकी कनिष्ठ नवधनाढय काइली जेनरलाई उनको सफलताको राज सोध्दा उनले जवाफ दिएकी थिइन्— म बजारमा पाइने लिपस्टिकका रङहरूसँग असन्तुष्ट थिएँ, त्यही रङ खोज्दाखोज्दै आज यहाँ आइपुगें । हाम्रो आफ्नो शरीरसँग कत्रो असन्तुष्टि होला, जहाँ केवल लिपिस्टिक बेचेर मान्छे अर्बपति बन्छन् । हाम्रो ओठ हुनुपर्ने जति रातो छैन, हाम्रो छालामा उमेरका धर्सा छन्, दाग छन् जसलाई नलुकाई हामी सुन्दर हुँदैनौं, हाम्रा कम्मर बारुले छैनन् । संक्षिप्तमा हामीजस्ता छौं, त्यस्तै काफी छैनौं । कहाँबाट आयो यस्तो सौन्दर्यको यस्तो अप्राप्य मानक ? हामीले यदाकदा सुन्ने गरेका छौं, विद्या वालनले सिल्क स्मिथाको भूमिका निर्वाह गर्न आफ्नो वजन बढाएको वा आमीर खानले गजिनी सिनेमाका लागि वजन घटाएको । तर, स्त्रीहरूको त सारा जीवन नै कोही पटकथामा लेखिएको भूमिका निर्वाह गर्दै बित्छ । तर, कसले लेख्यो त्यो भूमिका ?


यो कुरालाई बुझ्न लरा मल्भीको मेल गेज अर्थात् पौरुषीय हेराइको अवधारणा बुझ्नु आवश्यक छ । उनका अनुसार सिनेमामा महिलाहरूलाई चित्रित गर्दा उनीहरू कुनै स्वायत्त व्यक्ति नभई, पुरुष पात्र तथा दर्शकहरूको कल्पना–पात्रको रूपमा प्रस्तुत गरिन्छ । उनीहरूको पहिरन, हँसाइ, बोलाइ, नचाई स्वाभाविक नभई पुरुषको कामनालाई उत्तेजित गर्ने वा तुष्ट पार्ने हेतुले निर्देशित गरिएको हुन्छ । तसर्थ सिनेमामा महिलालाई स्वाभाविक रूपमा नभई, पौरुषीय कामनाको दृष्टिकोणका आधारमा चित्रित गरिन्छ । यही धारणा हाम्रा शास्त्रीय साहित्यमा पनि पाइन्छ । महाभारतमा एक ठाउँमा द्रौपदी गहिरो शोकमा रहेको अवस्थाको वर्णन गर्दैगर्दा कसरी उनको आँसुका धारा बहेर उनका चिल्ला गालाबाट खस्दै उनका पुष्ट स्तनबीच हरायो भन्ने दृश्यलाई विशेष जोडका साथ देखाइएको छ । यो साहित्यका सर्जक पनि र ग्राहक पनि पुरुष हुन् । यही तथ्यलाई मनन गर्दै फ्रान्सेली लेखिका ऐलेन सिक्क्षु भन्छिन्— जबसम्म महिलाले आफ्नै लागि साहित्य लेख्दैनन्, आफ्नै भाषा र व्याकरण रच्दैनन्, पुरुषले पुरुषका लागि लेखेको साहित्यको अधीनमा रहेर महिला कदापि स्वायत्त हुन सक्तैनन् । जर्ज अरवेलको १९८४ मा जस्तै, यी साहित्यमा महिलाले सौन्दर्यको नाममा आफूमाथि लादिएको हीनग्रन्थिलाई बुझ्ने क्षमतालाई शून्य पारिएको हुन्छ ।


हीनताबाट पीडित महिलाको यो भीडमा निशाको प्रखर कालिमाले प्रदीप्त कालीको त्यो प्रतिमा देखेर मलाई अचम्म लाग्यो । त्यसपछि बिस्तारै म कालीको मिथप्रति आकर्षित हुँदै गएँ । हाम्रा ग्रन्थहरूमा गौरी र कालीलाई विपरार्थी विम्बको रूपमा देखाइन्छ । गौरी, जसको शाब्दिक अर्थ गोरी हुन्छ, एक गृहस्थ महिलाको प्रतीक हुन् । उनी शिवकी पत्नी हुन् । उनले आएर शिवको अस्तव्यस्त जिन्दगीलाई व्यवस्थित गराइदिइन् । हेर्नमा राम्री, घर सजाउनमा निपुण, लोग्नेको दीर्घ आयुका निम्ति उपासना गर्ने गौरी निसंकोच रूपमा गृहस्थ जीवनको पर्याय बनिन् । अर्कातर्फ, काली शिवकी प्रेयसी थिइन् । आफ्नो स्वतन्त्रता त्यागेर कसैको पत्नी बन्न उनलाई स्वीकार्य थिएन । अरण्यमा रमण गर्ने उनलाई, न सुन्दर बन्नमा रुचि थियो न शिवलाई रिझाउनमै । गौरीलाई जोतेको खेतसँग र कालीलाई निष्कण्टक वनसँग तुलना गरिन्छ । जोतेको खेत उब्जाउ हुन्छ, तर त्यो उब्जाउ खेत हमेसा अर्कैको अधीनमा हुन्छ । वनको कोही स्वामी हँुदैन, उनको सन्निकट कुनै सुरक्षा हँुदैन अपितु हरनिमेष भय र रोमाञ्चले भरिएको हुन्छ । स्वाभाविक रूपमा स्वछन्दताकी प्रतीक काली पितृसत्तात्मक समाजमा ओझेलमा पर्दै गइन् । यहाँसम्म कि काली भन्ने शब्द नै विरूप स्त्रीको प्रतीक बन्न गयो ।


वर्षौं फेयर एन्ड लवली लगाएर र कडा चियामा एक थोपा दूध मिसाएपछिको निरीह रङजस्तो छाला भएका गौरीहरूबीच उभिएर कालीको त्यो विकराल मूर्तिको दर्शन गर्दा पहिलोपटक मलाई गौरीको नौनीजस्तो छाला निस्तेज लाग्यो । हरितगृहमा उमारिएको बिरुवाजस्तो, जो हेर्दामा राम्रो भए पनि जीवनको धार थाम्नै नसक्ने गरी कोमल । हाम्रा शास्त्रहरूमा महिलालाई लतासँग तुलना गरिन्छ, जो बलिष्ठ रूखको साहराबिना अस्तित्वहीन हुन्छन् । तर, विडम्बना के छ भने जबजब असुरहरूका अघि शिवलगायत समस्त देवता परास्त हुन्छन्, तब काली आएर जगको उद्धार गर्छिन् । ऐरिक फ्रोम भन्छन्, ‘स्वाधीनता अनुभव नगरेकी माताले शिशुको पराधीनतामा ठूलो गौरव पाउँछिन् । अचेतन रूपमा बच्चा सधैं आफूमै आश्रित होस् भन्ने चाहन्छिन् । यसरी एक रुग्ण र पराश्रित समाज बन्छ जहाँ व्यक्ति कहिले बाबु, कहिले हाकिम, कहिले नेता, कहिले अभिनेताको निर्देशनबिना स्वर्निणय लिन सक्दैन । तसर्थ जति स्वाधीन माता त्यति नै स्वस्थ समाज बन्छ ।’


मैले धेरै दिनसम्म आमालाई सम्झिराखें । आमालाई भन्न मन थियो, ‘घामले कालो बनाउँदैन आमा, घामले बडहरमा केशरी रङ भर्छ, जामुनमा कलेजी रङ, केतकीमा सेतो र मालतीमा गुलाफी । घामले जसको जे रङ छ, त्यही निखार्छ । घामले मेरो सौन्दर्य गलाउँदैन, अझ बढाउँछ । जिन्दगीसँग बचेर जोगाइने सौन्दर्य सौन्दर्य हैन, गुलामी हो ।’


तर, आमाले के मान्नुहुन्थ्यो र ? मेरा कुरा आमालाई सधैं बेतुकको लाग्थ्यो । हैन, म सायद भन्ने थिएँ, ‘मलाई काली धेरै मन पर्छ आमा । मलाई तपाईं धेरै राम्री लाग्छ ।’

प्रकाशित : आश्विन २७, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?