२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बास नपाएरै बिचल्ली

सम्झना
गंगा बीसी

काठमाडौँ — जेनेतन ससुराली घरको आँगनमा पाइला टेक्यौं । सासूआमा आँगनमै भेटिइन् । ‘नमस्कार’ टक्रयाएपछि सासूआमाले मुन्टो बटारिन्, घरभित्र छिरिन् । हैट ! के भएको ? एक छिन चुप बस्यौं । केही बेरपछि सासूआमा फेरि बाहिर आइन् । ‘बसौं’ पनि भन्दिनन् । थप केही कुरा बोल्दिनन् पनि ।

बास नपाएरै बिचल्ली

हिन्दु नेपालीलाई दसैं–तिहारले यसरी छोप्छ कि चाहेर पनि ऊ उम्कन सक्दैनन् । ऊ तानिएर जान्छ । अझ भनौं— दसैं र गाउँको सम्बन्ध निकै बलियो छ । चाडबाड लाग्यो भने गाउँमा चहलपहल बढ्छ, सहर रित्तिन्छ । ‘पर्व आए, गाउँ जानू’ उखान त्यसै बनेको होइन । दसैं–तिहारमा गाउँ जान पाइएन भने छटपटी हुन्छ । सहरलाई दसैं जहिले पनि आएकै हुन्छ, जहिले पनि चहलपहल, । गाउँमा चहलपहल बढ्न चाडबाड नै आउनुपर्छ । दसैं–तिहारमा गाउँ चुम्बकजस्ता हुन्छन्, जसले मान्छेलाई तानेर त्यहाँ लैजान्छ ।


स्मरणमा आइरहन्छ एउटा दसैं । त्यो दसैंमा गाउँ जानु थियो, नगई नहुने । बाआमाको करकर पनि हुने नै भयो, किनकि घरभर सन्तान भएपछि दसैं यसै रमाइलो, त्यसै रमाइलो । २०६२ को दसैंमा घर जान अग्रिम लिएको टिकट लिएर काठमाडौंबाट सीधै सल्यानको यात्रा ठीकै भयो । दसैंको यात्रा कति जोखिम हुन्छ भने महिला र बालबालिकालाई सँगै लिएर गाउँ जाँदा थाहा हुन्छ । काठमाडौं गोंगबुबाट दिउँसो एक बजे हिंडेको रात्रिबस अर्को दिन दिउसो १२ बजे सल्यान शीतलपाटी पुग्यो । हामी जानु थियो— रुकुम पश्चिम चौरजहारी–६, खागल । दाङबाट आएको बस छोप्नु थियो । बस आयो पूरै मान्छे र सामानले भरिएर । बसमा खुट्टा हाल्ने ठाउँ थिएन । हामी बच्चासहित चार जना थियौं । अर्को गाडी आउने विकल्प थिएन । त्यो बसमा हामी सल्यानको थारमारेसम्म जानु थियो । त्यो दिनको बास पनि त्यही हुने तय भएको थियो ।


जसोतसो बस चढयौ, कोचिएर गुन्द्रुक भएर । कच्ची बाटो थियो, बसको चाल हाँसजस्तै ढल्कँदै हिंड्ने । दु:ख थियो, तर दसैंमा घर जाने कुराले दु:ख भुलिंदै थियो । साथमा साढे तीन वर्षको छोरा थियो । श्रीमती र छोराको लागि अडेस लाग्ने ठाउँको व्यवस्था भएपछि भान्जा भद्र शर्मा र म बसको छतमा उक्लिएँ । त्यहा पनि भरिभराउ थियो, सामान र मान्छेले । विकल्प केही थिएन । जेनतेन बस्यौं । बसको चाल हाँसको जस्तो छ, कच्ची बाटोमा दायाँबायाँ गर्दै गुड्ने ।


बसमा धेरै मान्छे कालापहाड (भारतको सिमला) बाट आएकाहरू थिए । दिउसै जाँडको रङले लतपतिएका । खुसीले मातेका । उनीहरू यति रमाएका थिए कि उनीहरूको मन आकाशमा उडिरहेका थिए, चराझैं । कच्ची सडकमा ओभरलोड बस आफ्नै गतिमा थियो । आफ्नै गतिमा बगेको शारदा नदीको किनाराको खेतमा पाक्न लागेका धानको ओछयान सुन पोखिएजस्तै थियो । बाटोमा जति यात्रु भए नि थपिरहने हविगतमा कहिले थारमारे आइपुग्ला भन्ने चिन्ता थियो । श्रीमती र छोरा गुन्द्रुक खादिएझंै बसभित्र थिए, हामी भने छतमा झुन्डिएका । बल्लतल्ल राति आठ बजे बस सल्यान थारमारे पुग्यो । हामी खुशीसाथ ओर्लियौं किनकि हाम्रो जोखिम एक पटकलाई भए नि टुंगिएको थियो ।
***

थारमारे बास बस्नु थियो । त्यसबेला सामान्य होटल थिए त्यहाँ । होटलको भुइँतलामा पकाउने र खाने ठाउँ हुन्थ्यो । बाहिरबाट ढँुंगाको सिंढी चढेर माथि सुत्ने ठाउँमा जानुपथ्र्यो । काठमाडौंबाट सल्यान शीटलपाटी र त्यहाँबाट दसैंको बस चढेर थारमारे पुगेका हामीहरू थकित थियौं । जति दु:ख भए पनि घर जाने कुराले डोर्‍याइरहेको थियो । केहीबेर होटलको एक तलामाथि कोठामा आराम गरेपछि खाना खान तल ओर्लन साहुजीले बोलाए । त्यतिबेला थारमारेमा बिजुली बलेको थिएन । हामीसँग टर्चलाइट पनि थिएन । अन्दाजमा ढुंगाको सिंढीबाट तल ओर्लंदा चिप्लिएर श्रीमतीको खुट्टा बेसरी मर्कियो । एकै छिनमा सुन्निएर उधुम । खरानी पकाएर खुट्टा सेक्यौं । केही लागेन । उनलाई हलचल गर्न मुस्किल । त्यतिबेला दुखाइ कम गर्ने औषधि खोज्न थाल्यांै, मेडिकल बन्द थियो । उनी रातभर सुत्न सकिनन्, घर जाने चिन्ताले सताइरहयो । त्यहाँबाट काठमाडौं फर्कने अवस्था पनि थिएन ।


अर्को दिन पूरै दिन १२ घन्टा पैदल हिंड्नु थियो । त्यति नहिंडे घर पुग्न गाह्रो थियो । बीचमा बास बस्ने होटल थिएन । ठूलो झोला थियो । त्यसमाथि छोरालाई ढाडमा बोक्नुपर्ने । जेनेतन अर्को दिनको यात्रा सुरु भयो । हाम्रो यात्रा सुरु भयो घस्रिंदै । साढे तीनवर्षे छोराको आफैं हिंड्ने जिद्दी थामिनसक्नुको थियो । भान्जा भद्र शर्माले छोरालाई काँधमा बोकेर हिंड्ने खोज्थे । ऊ मान्दै नमान्ने । आफंै हिंड्न खोज्ने तर बाटोमै माटो खेल्न थालिहाल्ने । उसलाई फकाउँदै, बाटो नाप्दै ।


भद्र भान्जाले उकालोबीचमा आफन्तको घरमा खाना खाने चाँजो मिलाए । त्यसपछि फेरि सुरु भयो यात्रा । सल्यान नेटा पुगेपछि भद्र आफ्नो घर चौरजहारी लागे । हाम्रो बाटो दुईतिर फाटयो । हामी दार्माको भातमारातिर ओरालो झर्न थाल्यौं । अब गह्रुँगो झोलामाथि छोरा बोकेर हिंड्ने पालो मेरो थियो । हामी लत्रिंदै भातमारे पुग्यौं । एक जना साथीको ससुराल घर पनि त्यही थियो । साथीको ससुरालीमा अरू बेला राम्रै सत्कार पाएको अनुभव थियो । त्यस दिन त्यही अपेक्षा लिएर काँधमा छोरा, पिठयँुमा झोला बोकेर साथीको ससुराली घरको आँगनमा पाइला टेक्यौं । सासूआमा आँगनमै भेटिइन् । ‘नमस्कार’ टक्रयाएपछि सासूआमाले मुन्टो बटारिन्, घरभित्र छिरिन् । हैट ! के भएको ? एक छिन चुप बस्यौ । केहीबेरपछि सासूआमा फेरि बाहिर आइन् । ‘बसौं’ पनि भन्दिनन् । थप केही कुरा बोल्दिनन् पनि । ‘हामी त बास बस्न आएको । आउँदाआउँदै ढिला भयो । घर पुग्न सकिएन’ हामीले आफैं भन्यौ । ‘म चिन्दिनँ तिमी को हौ ? यहाँ बास छैन । तलतिर अरू घरमा बास पाइएला,’ उनले यसो भनेपछि हामी तीनछक पर्‍यौं । राति साढे सात भइसकेको थियो । एक छिन आँगनकै डिलमा शरणार्थीजस्तै उभिरहयौं, शरणका आसमा । आमैको बास दिने छाँट छैन ।
***

साथीकी सासूकी छोरी र मेरी श्रीमती सँगै बसेर दाङ क्याम्पस पढेका हुन् । त्यसबेला ती सासूआमा तीन, चार महिना घोराही बसेकी थिइन् । त्यस दिन त्यो कुरा सम्झाउँदा पनि आमैले सम्झन नसकेजस्तो गरिन् । अब के गर्ने ? अरू नै घरमा बास बस्न जाने कि ? यस्तै कुरा गर्दै थियौं । छोरा थाकेर हातमै निदाएको थियो । अब यो हविगतमा रातमास कहाँ जानु ? नचिने पनि बच्चासहित राति बास माग्न आएका पाहुनालाई पैसा तिराएरै बास दिएको भए नि हुन्थ्यो । मनमा यस्तै अनेक कुरा खेलिरहयो ।


हामीलाई एक रात बास माग्ने कुरा ठूलै भिख मागेजस्तै भइरहेको थियो । गाउँघरतिर बेलुका आउने व्यक्तिलाई पाहुना मान्ने पुरानै चलन हो । ती सासूआमैको चाला भने अर्के । हामी त्यहाँबाट हिंड्ने तरखर गर्दै थियौं । घरको आँगनमा एक पुरुष देखा परे, आमैका अर्का ज्वाइँ । संयोगले ती चिनेका व्यक्ति रहेछन् । उनले हामीलाई ‘कताबाट आएको ?’ भन्दै सोधे । हामीले सबै कुरा बतायौं । यति भनेर हामी हिंड्ने तरखर गर्दै थियौं । ती व्यक्तिले रात परेकाले त्यहीं बस्न आग्रह गरे । हामी आपत्मा थियांै । उनको ‘बसांै’ भनेको वचन मात्रै पनि निकै प्रिय लाग्यो । उनले सासूआमैलाई सम्झाएछन् । हामी जसोतसो त्यही बस्ने पक्का भयो । नमीठो वचनबीच पाएको बास । घरभित्र छिरेपछि आमैले अँगेनामा आगो बालिन् ।
श्रीमतीको खुट्टा सुन्निएर अररो भएको थियो । त्यसकै पिरले ज्वरो पनि थपिएको थियो । आमैले एक भाँडोभरि मकैको पिठो ल्याएर भनिन्, ‘रोटी बनाऊ ।’ थकान र हैरानीका माझ पाहुना स्वयम्ले आफैं रोटी बनाउनुपर्ने ! नाइँनास्ती गर्ने ठाउँ थिएन । श्रीमतीले राति १० बजेसम्म रोटी बनाएर घरकालाई खुवाइन् । आफैं अशक्त, तीमाथि भान्से बनेर मानमनितो
गर्नुपर्ने । त्यो क्षण सम्भँmदा अहिले पनि मन अमिलो भएर आउँछ ।


हामी अर्को दिन बिहानै जहारी खोलामा लड्दैभिड्दै घर लाग्यौं । गाउँघरमा दसैंको माहोल बढ्दै थियो । गाउँलेले रातो माटो र कमेराले घर रङ्ग्याइसकेका थिए । आकाश खुलेको, धान धुलेको र जहारीखोला सलल बगेको देख्दा अघिल्लो दिनको दु:ख–सास्ती कम हुँदै गएको थियो । म एसएलसीसम्म पढेको खोलागाउँ मावि जहारीखोलाको आँगनमा पुग्दा स्कुले दिन आँखाभरि आएपुगे ।


जति घर नजिक पुग्यो, त्यति हतार बढेर आउँछ । बाटाघाटा उनै थिए, गौडा उस्तै थिए । उकालो उसैगरी ढल्किएको थियो । बाटा वरपर बूढा रूख उसैगरी उभिएका थिए । घर नजिक पुगेपछि ती उकालीका गौंडा, बाङ्गाटिङ्गा गोरेटो बाटोमा खुट्टा आफैं चल्थे । काठमाडौं छाडेको तीन दिनपछि बेलुका साविक पूर्तिमकाँडा–५, खागल पुग्दा भने बाटोमा भोगेका सबै दु:ख हराएर गए । छोरा, बुहारी, नाति घरमा आएपछि बाआमाको दौडधुप अचाक्ली । घर पुगेकै दिन बास बसेको कुखुरा काटेर स्वागत । त्यसको अर्को दिन घरमै पालेको खसी ढालेर दसैं भव्य भयो । साढे तीन वर्षको छोरा घरका कुखुरा, भैंसी, बाख्रा देखेर दंग । काठमाडौं बसेको उसलाई ती कुरा नौला थिए ।


यो बीचमा हामी दसैंतिहारमा धेरै पटक रुकुम घर गएका छांै । तर, त्यसबेला दसैं यात्रामा भोगेको दु:ख हरेक वर्ष यहीबेला घोच्न आइपुग्छ । अहिले भने सडक सुविधाले घर जान खास गाह्रो छैन । दु:खै सही— दसैंतिहारमा घर जान पाउँदा खुसी नहुने को होला र ?

प्रकाशित : कार्तिक १०, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?