२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

हाम्रो नेपाली

हाम्रो भाषाका हकमा मौलिक लिपि हराउनु सीमा अतिक्रमणभन्दा पनि डरमर्दो हो । लिपि लोप हुनु वा मिचिन्छ कि भन्ने डर हुनुले भने आङ सिरिंग हुन्छ ।
रामेश्वरप्रसाद बराल

काठमाडौँ — हाम्रो आनीबानी पनि अनौठै छ । आर्थिक भ्रष्टाचारका कुरा आए कि कान ठाडा हुन्छन् । मच्चीमच्ची अर्काको कुरा काट्न सिपालु छौँ । भाषामा पनि उस्तै विचलन छ । तर, यसको चर्चा कमै हुन्छ ।

हाम्रो नेपाली

कोही उसैउसै मैंमत्त छौँ । ‘वेदोक्त हो र ? यस्ता तुलेगाँडा भन्देउको कसले मगज खपाओस् ? म त खुट्टा हल्लाई–हल्लाई खान्छु । भाषा छिल्लियोस् कि खुइलियोस् । खल्तीबाट के पो जान्छ र ? मेरो फाँटमा मै पारखी, मै पोख्त । बोक्रियोस्, कसले के पो लछारपाटो लाउला !’ यस्ता पण्डित पनि हाकिम छन् । गुदी होस् नहोस्, यिनले थरी पण्डितको पगडी गुथेकै छन् ।
नेपालीवाची पनि धेरै थरीका छन्् : (क) राष्ट्रभाषी (मातृभाषी), ख) राष्ट्रभाषी (विमातृभाषी) अर्थात् दुवै राष्ट्रभाषी । (ग) विभाषी जो मुलुकबाहिरका विदेशीभाषी हुन् । ‘ग’ को संवाद झलक यस्तो हुन सक्छ : ‘इता ताक्नोस् जी, कल बन्दर ने मेरो खिड्की से झाँक्यो ।’


तथापि यहाँ विभाषीको नियत असल छ । उनले हाम्रै भाषामा बुझाउन खोजेको हो र हामी बुझ्छौँ पनि । अनि गौरव मान्छौँ— उनले यसरी सिक्न खोजेकामा । तर, ‘ग’ कै संवाद ‘क’, ‘ख’ समेतमा झल्कियो भने त्यो भ्रष्टाचार हो । कारण यिनले विद्यालय तहदेखि राष्ट्रभाषामा पढेका हुन्छन् । राष्ट्रभाषीले पनि ‘ग’ को सिको लिंंदा भाषा तत्त्व होइन, भाषासत्त्व
खोज्नुपर्ने हुन्छ ।


घाउ भयो भने उकुच पल्टेला, अझ बढे अंगभंग होला । भाषा अपचलन भनेको लेउ, काई र खिया हो । हँुदै जाँदा यो जब्बर भएर टाँसिन्छ, अनि मेट्न, सफा पार्न पुस्तौँ लाग्छ ! यसलाई धोएर पखालेर मात्र पुग्दैन, कोटयाएर, उक्काएर, खुर्केर नफयाँकी धरै छैन ।


बालीको ‘बहासा’ भाषाबारे एउटा सन्दर्भ छ । बाली इन्डोनेसियामा पर्छ र यो एसिया महादेशको समुद्रतट हो । यता आएर यसको मौलिक लिपि बिलाएसरह छ र रोमन लिपि (अंग्रेजीका एबीसीडी) ले यसको ठाउँ ओगटेको छ । हाम्रो भाषाका हकमा यो सीमा अतिक्रमणभन्दा पनि डरमर्दो हो । लिपि लोप हुनु वा मिचिन्छ कि भन्ने डर हुनुले भने आङ सिरिंग हुन्छ ।


गल्ली–गल्छेंडा, ढोकाढोकामा छयास्छयास्ती खुलेका पुस्तक पसलले यस्तो हविगत देखाइरहेका छन् । सरकारी, अद्र्घसरकारी र अरू धेरै प्रकाशक यसमा लागिपरेका छन् । यो झलक्क देख्दा मान्नु पनि पर्छ— नेपालीमा धेरैको पहुुुुुुँच छ तर चित्त बुझाउने ठाउँ भने छैन । यसले व्यापारीलाई मनग्गे लाभ थपियो होला, उता छात्रछात्राका ज्ञानमा चाहिँ मात्र ‘मिथ्यांक’ थपिएको छ । कारण, यिनमा मापदण्ड र वर्ण–व्याकरण के हुन्, बुझ्नै अन्योल छ । सरकारका मात्र यस्ता दुई–चार सय करोडका पुस्तक अहिले बजारमा छरिएका छन् रे ! यता सरकारले यी सबै त्रुटि पहिचान गरी सकेको र सुधार गर्नुपर्ने स्वीकारसमेत गरिसकेको छ । यो सन्तोषको कुरा हो ।


भनिन्छ— राष्ट्र समृद्घिमा खाना, नाना र छाना सँगसँगै डोरिनुपर्छ । तर, यो तानाबानामा चौथो पाना पनि गाँसिन्छ— त्यो हो लेखपढ, बोलीचालीको पाना । ‘नेपालीत्व’ राष्ट्रभाषासमेतको घेरो हो । नगद जिन्सी केही हरायो भने हामी प्रहरीमा पुुग्छौँ । भाषा हराएमा कहाँ पुग्ने ? भाषामा राजनीति होइन, यथार्थमा चाहिन्छ राजनीतिमा भाषा ।

प्रकाशित : कार्तिक १०, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?