२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कोइरालापीडितको बकपत्र

समीक्षा
दुर्गा खनाल

काठमाडौँ — ‘हामीजस्तो देश र प्रजातन्त्रका लागि आत्मोत्सर्ग गर्न चाहने युवाहरूलाई भारतीय खुफिया संयन्त्रको हतियार बनाउने काम गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो भने त्यो क्रान्ति र प्रजातन्त्रको नाउँमा कलंकित सवाल हो । भारतको खुफिया विभागसँग हातेमालो गरेर प्रजातन्त्रको नाउँमा खेलिएको यस्तो खेलले नेपाली जनताको राष्ट्रिय स्वाभिमानमाथि आघात परेको यहाँ स्मरण गर्न जरुरी छ ।’

कोइरालापीडितको बकपत्र

बीपी कोइराला र गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका ‘टावरिङ पर्सनालिटी’ हुन् । नागरिक अधिकार, स्वतन्त्रताका लागि उनीहरूले तत्कालीन शासकविरुद्ध क्रान्तिको शंखनाद गरे । भूमिगत बसे, जेलनेल खेपे । धेरैलाई गोलबन्द गरेर निरंकुश व्यवस्था परिवर्तनमा योगदान पुर्‍याए । त्यसैले इतिहासमा कोइरालाहरूले गरेका संघर्ष र उपलब्धिका कथामा आधारित धेरै साहित्य छन् । ती साहित्यमा कोइरालाहरूको महानता बढी झल्किएको पाइन्छ । नेताहरू वितेर गएपछि महानता मात्र देखाउने तर उनीहरूको कमजोरीका पाटालाई लुकाइदिने आम लेखकीय प्रवृत्तिमा क्रमभंग गरेका छन्— दुर्गा सुवेदीले, आफ्नो संस्मरण ‘विमान विद्रोह’ मार्फत् ।


पुस्तकको मुख्य बिषय कोइरालाहरूको बानी–व्यवहार नभई, कांग्रेसले पञ्चायती शासनविरुद्ध सशस्त्र क्रान्तिका लागि गरेको विमान अपहरणको नालीबेली हो । तर, यो नालीबेलीसँगै सुवेदीले लोकतान्त्रिक आन्दोलनका नेता बीपी र गिरिजाप्रसादको एक सहयोद्धाप्रतिको व्यवहार कतिसम्म अलोकतान्त्रिक थियो भन्ने खोतलिदिएका छन् ।


कोइरालाहरूकै निर्देशनमा २०३० सालमा सुवेदीको नेतृत्वमा नेपाल एयरलाइन्सको जहाज अपहरण गरी भारतको फारबिसगन्ज पुर्‍याइयो । नेपाल राष्ट्रबैंकको ३० लाख भारु लुटियो । क्रान्तिका लागि आर्थिक स्रोत जुटाउन नेताहरूको आज्ञाकारी बन्दै त्यत्रो जोखिम उठाउन तयार हुने सुवेदीको राजनीतिक भविष्य भने तिनै कोइरालाहरूले समाप्त पारिदिए । बीपीलाई गरेको एक प्रश्न र कार्यकर्तालाई पठाएको एउटा चिठ्ठीका कारण सुवेदी कसरी राजनीतिबाट किनारा लाग्नुपर्‍यो भन्ने पुस्तकले उजागर गरेको छ ।

विमान विद्रोह
(एउटा राजनीतिक अपहरणको बयान)
विधा : संस्मरण
प्रकाशक : किताब पब्लिसर्स
पृष्ठ : ३१२
मूल्य : ५८० रूपैयाँ


२०३१ पुस १ मा बीपीको निर्देशनमा कांग्रेस कार्यकर्ताले ओखलढुंगा कब्जाको प्रयास गरे । क्याप्टेन यज्ञबहादुर थापाको नेतृत्वमा भएको त्यो हमलामा राम, लक्ष्मणलगायतका २२ कार्यकर्ता मारिए । सुजाता कोइराला, शेखर कोइराला, शशांक कोइरालाहरू भारतमा बसेर पढ्ने अनि राम–लक्ष्मणजस्ता युवा मारिएको सुन्दा सुवेदीको मन कँुडिएको थियो । त्यसैले एक भेटमा उनले बीपीसँग यो विषयमा कुरा गरे । युद्ध कौशल, तालिम र हतियारविहीन निर्दोष कार्यकर्तालाई हचुवाका भरमा हमला गर्न पठाएको भन्दै सुवेदीले बीपीलाई प्रश्न गरेका थिए । बीपीले, ‘क्रान्तिमा यस्तै हुन्छ’ भन्ने जवाफ दिए । बीपीको जवाफमा चित्त नबुझेपछि सुवेदीले प्रतिप्रश्न गरे, ‘त्यसो भए गिरिजा, सुशील र तपार्इंका सन्तानहरू नजाने, हामीचाहिं मर्नुपर्ने ?’


मनमा खड्केको यही कुरा सुवेदीले अन्य साथीहरूलाई पत्राचार गरे । त्यसरी पत्र पठाउनुलाई अनुशासनबाहिरको काम ठानियो । पत्रबारे केरकार गर्ने क्रममा बीपीले सुवेदीलाई गालामा दुई थप्पड हाने । त्यही समयमा गिरिजाको नेतृत्वमा वसन्त भट्टराई, विजय गच्छदारहरूको बैठक बसेर सुवेदीलाई कारबाही गर्ने निर्णय गरिसकेका थिए ।
यही प्रकरणपछि सुवेदीले पार्टी छोडे । पछि २०३७ फागुन १० मा सुवेदीले निकालेको एउटा पत्रिकामा छापिएको कार्टुनको निहुँमा आक्रमण भयो । गिरिजाप्रसादको निर्देशनमा विमान अपहरणका सहयोद्धा वसन्त भट्टराई र उमेश गिरीले भारतको जोगवनी रेलवे स्टेसनमा आक्रमण गरे । कोइरालाहरूले अनुशासनको प्रश्न उठाएर भौतिक आक्रमणसमेतको हर्कतमा उत्रिंदा पनि सुवेदी भने आफ्नो राजनीतिक ‘मिसन’ र इमानको अनुशासनबाट बाहिर नगएको पुस्तकबाट झल्किन्छ ।


किनभने उनले भारतमा पक्राउ परेपछि जेलमा कैयौं यातना पाउँदा पनि विमान अपहरणमा बीपी र गिरिजाप्रसादको संलग्नता खुलाएनन् । बीपी र गिरिजाको संलग्नता खुलाएको भए ‘विमान अपहरण’ अन्तर्राष्ट्रिय रूपमै फौजदारी अभियोग ठानिने थियो । बीपीलाई राजनीतिक नेता नभई अपराधीको रूपमा स्थापित गर्न सकिन्छ भन्ने राजा र पञ्चहरूको योजना सफल हुन्थ्यो । एक इमानदार र कुशल राजनीतिक योद्धाको भूमिका सुवेदीले यो सन्दर्भमा निर्वाह गरेको पुस्तकका अंशमा भेटिन्छ ।


पछि जोगवनीमा गिरिजाको निर्देशनमा सांघातिक हमला हुँदा पनि सुवेदीले उनीहरूविरुद्ध उजुरी लेखाएनन् । उनले राजनीतिक कारण भन्दै छोडिदिए । गिरिजासँगको ईख सुवेदीले २०५१ को मध्यावधि निर्वाचनमा मोरङ–१ बाट उम्मेदवारी दिएर साधेको देखिन्छ । उनी गणेशमान सिंह अभियानको तर्फबाट गिरिजाविरुद्ध उभिंदै मोरङ–१ को उम्मेदवार बनेका थिए । यद्यपि सुवेदीले चुनाव जितेनन् । उनले पार्टी छोडेको घोषणा गरे पनि यही उम्मेदवारीपछि कांग्रेसले औपचारिक रूपमैं कारबाही गर्‍यो ।


कैयौं यातना पाउँदा पनि पञ्चायतकालमा सुवेदीले विमान अपहरणमा बीपी र गिरिजाको संलग्नता खुलाएनन् । तर, प्रधानमन्त्री भएका बेला गिरिजाप्रसादले भारतीय केन्द्रीय गुप्तचर निकाय ‘र’ को सहयोगमा हवाई अपहरण गरेको भन्दै बोलेको एउटा प्रसंगले भने सुेवदीलाई अझै पोलिरहेको देखिन्छ । त्यसैले पुस्तकको लेखकीय अशंबाटै गिरिजाप्रसादको राष्ट्रिय स्वाभिमानप्रति सुवेदीले प्रश्न उठाएका छन् । ‘र’ सँग क्रान्तिका लागि पैसा मागेको तर ‘र’ प्रमुखले ‘नेपालमै पैसा छैन, बैंक छैनन्’ भन्ने सल्लाह दिएपछि बैंक अपहरण गर्ने जुक्ति आएको कोइरालाले कान्तिपुर टीभीसँगको अन्तर्वार्तामा बोलेका थिए । त्यही प्रसंगलाई जोडेर सुवेदीले गिरिजाको राष्ट्रिय स्वाभिमानमा प्रश्न उठाएका हुन् ।


‘हामीजस्तो देश र प्रजातन्त्रका लागि आत्मोत्सर्ग गर्न चाहने युवाहरूलाई भारतीय खुफिया संयन्त्रको हतियार बनाउने काम गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो भने त्यो क्रान्ति र प्रजातन्त्रको नाउँमा कलंकित सवाल हो’,सुवेदी पुस्तकको लेखकीय अंशमा अगाडि थप्छन्, ‘यसरी भारतको खुफिया विभागसँग हातेमालो गरेर प्रजातन्त्रको नाउँमा खेलिएको यस्तो खेलले नेपाली जनताको राष्ट्रिय स्वाभिमानमाथि आघात परेको यहाँ स्मरण गर्न जरुरी छ ।’


भारतमा बसेर नेपालमा क्रान्ति गर्दा त्यहाँ समाजवादी नेता चन्द्रशेखर, जयप्रकाशलगायतले गरेको सहयोग पुस्तकमा सुवेदीले उल्लेख गरेका छन् । भारतकै सुरक्षामा बसेर सुरुमा सशस्त्र क्रान्ति थालेका बीपी कोइराला अलिक पछि मेलमिलापको नीति लिंदै नेपाल फर्किए । तर, उनी नेपाल फर्किनुको मुख्य कारण भारतमा नेपालको क्रान्तिप्रतिको धारणामा आएको बदलाव र त्यहाँको राजनीतिक परिस्थिति थियो भन्ने सुवेदीको पुस्तकमा भिन्न राय भेटिन्छ । ओखलढुंगा हमला असफल भएपछि सशस्त्र आन्दोलन बढ्न सकेको थिएन । भारतमा संकटकाल लागू भएपछि भारतीय समाजवादी नेताहरू चन्द्रशेखर, जयप्रकाश नारायणहरू गिरफ्तार भएका थिए । कांग्रेसको दिल्लीस्थित कार्यालय खानतलासी गरी कार्यकर्ता पक्राउ गरिएको थियो । इन्दिरा गान्धी सरकारले सिक्किमलाई विलय गराइसकेको थियो । यही कारण त्यहाँ स्थिति अनुकूल नदेखेर बीपी स्वदेश फर्केको सुवेदीको ठम्याइ छ ।


नेपालमा पछिल्लो समय माओवादीले सशस्त्र आन्दोलन गर्‍यो । तत्कालीन कम्युनिस्टहरूले पञ्चायतकालमा झापा सशस्त्र आन्दोलन गरे । सुुवेदीले पुस्तकमा उल्लेख गरेका घटनाक्रम हेर्दा बीपीले गरेको पञ्चायतकालको सशस्त्र आन्दोलनको शैली कम्युनिस्टहरूले गरेको सशस्त्र आन्दोलनको शैलीसँग मिल्दो देखिन्छ । पुस्तकमा क्रान्तिको सिकार जहिले पनि निर्दोष जनता हुनुपर्ने, नेताहरू मौलाउँदै जाने, इमानदार कार्यकर्ता पाखा लाग्दै गर्ने राजनीतिको अनुदार चरित्रको सिकार सुवेदी आफैं भएको भेटिन्छ ।


विमान अपहरणबाट पैसा कब्जा गरेपछि कोइराला परिवारको जीवनस्तर बदली भएकोदेखि भारतीय प्रहरीको आँखाबाट बच्न भागेका एवं पक्राउ परेपछि विभिन्न जेलमा पाएको यातनासम्मको प्रसंगमा सुवेदीले क्रान्ति क्रममा खेपेको दु:ख दर्द झल्किन्छ । त्यसबाहेक अन्य केही रोचक प्रसंग पनि छन् । त्यसमध्येको एउटा रोचक प्रसंग हो— भारतमा इन्दिरा गान्धीलाई छुटाउन भएको विमान अपहरण प्रकरण । गान्धी गिरफ्तार भएपछि उनका कार्यकर्ताले विमान अपहरणको योजना बनाए । तर, विमान अपहरण गर्ने तरिका जानेका कोही थिएनन् । त्यसैले उनीहरू नेपालको विमान अपहरण गरेको अनुभव भएका सुवेदीलाई खोज्दै आए । उनीहरूले ‘विमान अपहरण’ गरिदिन अफर गरे । सुवेदीले आफैं अपहरणमा संलग्न भएनन् । तर, अपहरणको तरिका सिकाइदिए । सुवेदीबाट ‘आइडिया’ लिएर गएका गान्धीका कार्यकर्ताले सन् १९७८ मा लखनउबाट दिल्ली जाँदै गरेको इन्डियन एयरलाइन्सको जहाज अपहरण गरे । यो अपहरणका ‘गुरु’ सुवेदी नै थिए ।


पार्टीसँगको सीधा सम्पर्क टुटे पनि भारतमा रहँदा उनी कुनै न कुनै रूपमा पञ्चायती शासनविरुद्धको अभियानमै संलग्न रहेको देखिन्छ । प्रदीप गिरिदेखि बाबुराम भट्टराईसँग पञ्चायतकालदेखि नै गहिरो संगत रहेको पुस्तकमा झल्किन्छ । कोइरालाहरूको कोपभाजनमा परेपछि पार्टीभित्र कृष्णप्रसाद भट्टराई, गणेशमानहरूको समूह र उनीहरूले लिएका राजनीतिक लाइनलाई उनले समर्थन गरेको पुस्तकमा उल्लिखित प्रसंगले स्पष्ट पार्छन् । पहिले आफैं सशस्त्र आन्दोलनमा लागेका सुवेदी पछि माओवादी सशस्त्र युद्धको शान्तिपूर्ण रूपान्तरण गर्ने घटनाक्रममा एक महत्त्वपूर्ण सहयोगीसमेत बने । २०५६ सालमा भट्टराईको सरकार बनेपछि माओवादीसँगको वार्ता सूत्रधारको भूमिका खेलेको र बाबुराम प्रचण्डहरूसँगको भारतमा भएका कुराकानीका प्रसंग सुवेदीले उल्लेख गरेका छन् ।


राजनीतिका उहापोहले गर्दा सुवेदीको व्यक्तिगत जीवन धेरै सुखमय भएन । मोरङ कलेज पढ्दाताका आफ्नै पार्टीकी कार्यकर्ता रहेकी सुशीला कार्कीसँग विवाह गरेपछि उनी करिब घर सम्हालेर बसे । कार्की पछि नेपालको पहिलो प्रधानन्यायाधीश भइन् । श्रीमतीको व्यस्ततालाई बुझेर उनले छोराको रेखदेख र घर सम्हालेको प्रसंगको विस्तार वर्णन पुस्तकमा उल्लेख गरेका छन् ।


श्रीमती कार्की सर्वोच्च अदालतको न्यायाधीश भएपछिका दिनमा उनले विमान अपहरणपछिकै जस्तो अनिश्चित दबाब बेहोर्नुपरेको पुस्तकमा खुलाएका छन् । विशेषगरी जयप्रकाशप्रसाद गुप्ताको भ्रष्टाचार मुद्दा र लोकमानसिंह कार्कीको अयोग्यतासम्बन्धी मुद्दामा ‘मिलाइदिनुपर्‍यो’ भन्नेहरूको दबाब सुवेदीमाथि धेरै थियो । लोकमानले सुशीलालाई दिदीको साइनो लगाउँदै ‘१० करोड गोडधुवा’ प्रस्ताव पठाएको प्रसंग पनि सुवेदीले रोचक रूपमा उल्लेख गरेका छन् ।


विगतको सम्बन्धका कारण कांग्रेसका सबैजसो शीर्ष नेताले मुद्दा मिलाइदिनका लागि सुवेदीलाई दबाब दिने गरेको प्रसंग उल्लेख छ । तर, एमाले नेताले कहिल्यै यस्तो प्रस्ताव नगरेको सुवेदीले उल्लेख गरेका छन् । आफूले भनेअनुसार, काम नहुने भएपछि श्रीमान्श्रीमतीको सम्बन्धमा पनि फाटो ल्याउने प्रयत्नसमेत केही नेताहरूले गरेको उल्लेख छ । तर, को नेताले त्यस्ता प्रयास गरे पुस्तकमा खुल्दैन । अनेक गर्दा पनि सुशीलाको इमानदारी डगमगाएन । त्यसैले आफू अनुकूल बनाउन नसकेपछि संसद्मा सुशीलामाथि महाअभियोग ल्याएको सुवेदीले उल्लेख गरेका छन् ।


किताब पब्लिसर्सले प्रकाशन गरेको यो पुस्तकले पञ्चायती कालको कांग्रेसी राजनीति र नेताहरूका भूमिगत गतिविधिमा पर्दा उघारेको छ । नेपाली राजनीति र नेताको प्रवृत्ति उजागर गरेको छ । इमानदार राजनीतिक योद्धाको हालत कस्तो हुन्छ भन्ने झल्काएको छ । पुस्तकले इतिहासको एउटा सग्लो चित्र उतारेको छ ।

प्रकाशित : कार्तिक १०, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?