कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गुमनाम गायिकाहरू

पवित्रा सुब्बा, देविका बन्दना, सत्यकला राई, प्राश्ना शाक्य, प्रीति कौर, मौसमी गुरुङ, मल्लिका कार्की, आगन्तुक खरेल, रेश्मा सुनुवार, आस्था तामाङ मास्के आदि गायिका हराएसरह छन् ।
सजना बराल

काठमाडौँ — गीत खासै नचले पनि लगातार संगीत जगतमा रहिरहनेहरू एक ठाउँमा छन् । कोही भने दर्जनौं हिट गीत गाएर पनि पलायन भएका छन् । यसरी हराउने गायिकाको संख्या ठूलो छ । कुन्ती मोक्तान भन्छिन्, ‘मेरा थुप्रै गायिका साथीहरू यो क्षेत्र छाडेर अन्यत्र लागेका छन् । धेरैजसोले बिहे गरेपछि गाउनै छाडे ।’

गुमनाम गायिकाहरू

कुनै बेलाकी चर्चित तर अहिले गुमनाम बनेकी गायिकामध्ये एक हुन्— सपना श्री । फिल्म र अन्य गरी सपनाले मनग्गे गीत गाएकी थिइन् । तर, सबैथोक छाडेर उनी अमेरिका लागिन् । नयाँ गीत ननिकालेको पनि जुग भयो । ‘हेरेको तिमीलाई...’, ‘सागर बरु...’, ‘किन हजुर नबोलेको...’ जस्ता चर्चित गीत गाएकी उनी अचेल अमेरिकामै हुने सांगीतिक कार्यक्रममा सुनिन्छिन् । स्वदेश नआएको वर्षाैं भइसक्यो । सामाजिक सञ्जालमा समेत खासै सक्रिय छैनन् ।


अमेरिकामै बस्छिन् अर्की परिचित गायिका— नलिना चित्रकार । क्यालिफोर्निया राज्यमा बसोबास गर्ने नलिना कार्यक्रमका लागि डुलिरहेकी हुन्छिन् । दसैंछेकको यो सिजनमा अमेरिकी सहरहरू डुल्नमै उनी व्यस्त छिन्, सांगीतिक कार्यक्रम लिएर । पछिल्लो पटक नयाँ गीत ननिकालेकी नलिना अझै पनि आफ्ना उही पुराना सदावहार गीत सुनाइरहेकी छन् । उनलाई ‘गोरी काली सानी मोरी...’, ‘पानीपानी भयो...’, ‘रङ कसैको...’ ‘जिन्दगी जिन्दगी...’ लगायत गीतका लागि चिनिन्छ ।


‘म त काली सुन्दरी...’ गाउने अञ्जना गुरुङले पनि अमेरिकामै घरबार जोडेकी छन् । सपना, नलिना र अञ्जना लामो समयदेखि उतै छन् । तर, पप–रक संगीतमा राम्रो ख्याति कमाएकी सिने गुरुङ अमेरिका गएको धेरै भएको छैन । मेटल विधामा स्थापित उनका पति राजेश र सानी छोरीसहित सिने करिब एक वर्षअघि अमेरिका उडेकी थिइन् ।


‘यहाँ हामीजस्ता धेरै कलाकार हुनुहुन्छ,’ उनले फेसबुकमार्फत भनिन्, ‘हामी पनि उहाँहरूले जस्तै नेपाल आउने–जाने गर्नेछौं अब ।’ अरेन्जमेन्ट र रेकर्डिङका धेरै काम बाँकी रहेको भन्दै उनले नेपाल आएका बेला ती पूरा गर्ने बताइन् । सिनेका अनुसार गायन क्षेत्रमा रहिरहन निकै चुनौती छ । यहाँ छँदा उनी कन्सर्ट र गीतमा व्यस्त हुने गरेकी थिइन् । ‘राम्रा गीत निकालिरहन सक्नुपर्छ,’ उनले भनिन्, ‘सकिएन भने हराइन्छ ।’ दसैं–तिहारजस्ता पर्वमा परिवारबाट टाढा हुँदा नरमाइलो लागिरहेको सिनेले बताइन् ।


पवित्रा सुब्बा, देविका बन्दना, सत्यकला राई हुँदै प्राश्ना शाक्य, प्रीति कौर, मौसमी गुरुङ, मल्लिका कार्की, आगन्तुक खरेल, रेश्मा सुनुवार, आस्था तामाङ मास्केलगायत अन्य थुप्रै गायिका पनि अहिले हराएसरह छन् । कार्यक्रमतिर फाट्टफुट्ट गाए पनि उनीहरू पहिलेझैं संगीतमा सक्रिय छैनन् । केही गायिकाले भने बेलाबखत गीत सार्वजनिक गर्दै गरेको देखिन्छ । तर, यीबारे खासै खोजीनीति हुँदैन । न त तिनका गीत पहिलेझैं चर्चित छन् ।


‘हामी प्रचारप्रसार गर्दै हिँड्दैनौं, मिडिया पनि हामीलाई खोज्न आउँदैन,’ गायिका मौसमी गुरुङ भन्छिन्, ‘तर, आफ्नो काम गरिएकै छ । मैले एक वर्षअघि नयाँ गीत निकालेकी थिएँ । युट्युब च्यानल पनि खोलेकी छु । आफ्नै स्पिडमा काम गर्ने बानी छ मेरो ।’ मौसमीले गाएका ‘चोरेर लग्यो...’, ‘परेलीमै छौ कि कसो...’, ‘च्याङ्बा होई च्याङ्बा...’, ‘लाउन त लाइदिएँ माया...’ जस्ता गीत आ–आफ्नो समयमा राम्रो चलेका थिए ।


तर, पछिल्लो गीत ‘भोक र तिर्खा...’ भने चल्दै चलेन भने पनि हुन्छ । नयाँ आर्टिस्टले झैं गरी प्रचार गरेको भए पनि राम्रो प्रतिक्रिया नपाएको मौसमीले सुनाइन् । ‘नयाँ अनुहार थपिए, हामी पुरानो हुँदै गयौं,’ उनले भनिन्, ‘घरायसी काममा अल्झिन थालियो । प्रोग्राममा नहिँडेपछि सबैसँग कन्टयाक्ट टुट्दो रहेछ ।’ कतिले त उनी विदेश पलायन भएको ठान्दा रहेछन् । यहीँ भएको चाल पाउँदा आश्चर्य मान्ने गरेको बताइन् ।


आफ्नै कारणले पछि परिएको हो कि भन्ने महसुस भएपछि मौसमी अब फुर्तिलो बन्ने तरखरमा छिन् । अल्छीपन धपाएर फटाफट काम गर्ने बताइन् । उनले नयाँ गीत तयार पारिसकेकी रहिछन् । अरेन्जमेन्टका लागि दिएको र चाँडै रिलिज गर्ने जानकारी दिइन् । ‘यो गीत पहिलेको भन्दा भिन्न छ,’ उनले भनिन्, ‘एक्स्ट्रा गर्न खोजेकी छु, पक्कै राम्रो होला ।’ नयाँ गीतलाई लिएर आशावादी मौसमी पहिलेझैं एक्टिभ हुने मुडमा छिन् ।


मौसमीकै मिल्ने साथीसमेत रहेकी गायिका एञ्जिला गौचनचाहिँ बाह्र वर्षमा खोला फर्किन्छ भनेझैं संगीतमा फर्किएकी छन् । तेह्र वर्षपछि उनी नयाँ एल्बमसहित गत महिना श्रोतामाझ आइन् । आफ्नै नामको एल्बममा संगृहीत ‘त्यो पहिलो नजर...’ बोलको रोमान्टिक पपगीतबाट राम्रै प्रतिक्रिया पाइरहेको बताइन् । यसमा उनले आँचल शर्मालाई भिडियोमा खेलाएकी छन् ।


‘व्यापार–व्यवसायतिर लागेर गाउन छाडेकी थिएँ’, एञ्जिला भन्छिन्, ‘रेस्टुरेन्ट चलाउँथें । थकाली समाजमा पनि आबद्ध भएँ । गीत सिक्न छोडेकी थिइनँ ।’ संगीतको नशाले पुन: यही क्षेत्रमा ल्याएको उनको भनाइ छ । यत्तिका वर्षपछि कमब्याक गर्दासमेत थकाली समुदायमा नयाँ गायिका नथपिएको देखेर उनी छक्क छिन् । ‘म एक्लो थकाली गायिका रहेछु,’ उनले भनिन्, ‘हाम्रो समुदायको प्रतिनिधित्व गरिराख्न पनि मैले गाउन जरुरी छ ।’


विसं २०६१ मा पहिलो एल्बम निकालेकी एञ्जिलाले बीचमा ‘मैले एउटा...’, ‘थाहा पाएँ तिम्रो बानी...’ लगायत गीत गाएकी थिइन् । योलगत्तै उनी संगीत क्षेत्रबाट हराइन् । यत्तिका वर्षपछि फर्किंदा धेरै परिवर्तन देखिरहेको बताइन् । ‘पहिला सजिलो थियो,’ उनले भनिन्, ‘कलाकारहरू थोरै थियौं । चाँडै नोटिस भइन्थ्यो । अहिले कलाकारै–कलाकार भएछन् । पुराना कलाकारले धेरै खट्नुपर्छ अहिले ।’


हङकङ बस्दै आएकी गायिका पवित्रा सुब्बा पनि अहिले स्वदेशतिरै छिन् । नयाँ गीतको तयारी गर्दै गरेको बताइन् । उनले ‘तिमी तारेभीर...’, ‘याङ्जी नाना...’, ‘सिरानीले बिझायो कि....’, ‘हिउँ खोलाको पानी...’ जस्ता गीत गाएकी थिइन् । उनलाई गम्भीर गायिका मानिन्थ्यो । तर, संगीत क्षेत्र चटक्कै छोडेर विदेशतिर लागिन् । यसरी नै बिदेसिनेमा पर्छिन् आगन्तुक खरेल । उनी यूएईमा छिन् । श्रीमान्को व्यवसायका कारण विदेश आएको बताइन् ।


‘नेपाल आउने–जाने गरिरहन्छु,’ आगुन्तकले भनिन्, ‘गीत गाउन छाडेको छैन । यतैका सोहरू गर्छु । पहिलेजस्तो एक्टिभचाहिँ हुन सकिएको छैन । सबै सधैं सक्रिय हुँदैनन् पनि, आ–आफ्नो समय हुन्छ ।’ उनी अर्को महिना नेपाल आएर नयाँ गीत रिलिज गर्ने सोचमा रहिछन् । संगीतकर्मी साथीभाइ भेटिरहने भएकाले यो क्षेत्रबाट टाढिएको आभास हुने बताइन् ।
दशकौंदेखि संगीत क्षेत्रमा रहिआएकी कुन्तीका अनुसार गायिकाहरू विशेषत: आर्थिक र पारिवारिक कारणले संगीतमा सक्रिय रहिरहन सक्दैनन् । संगीतमा गरिएको लगानी फिर्ता नआउने भएपछि धेरै कलाकार निराश भएर अन्यत्र लाग्ने गरेको बताइन् । ‘कमाइ छैन, लगानी मात्रै गर्दा–गर्दा दिक्क भइन्छ,’ उनले भनिन्, ‘छोरी मान्छेलाई अलि घच्घचाउनु पनि पर्छ । आफ्नै लगनशीलता कम भएर पनि कतिपयले बाटो मोड्ने गरेका छन् ।’

प्रकाशित : कार्तिक १०, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?