३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नट फर सेल

पात्र
विगतमा ललितकला एकेडेमी हुनुपर्छ भनेर आवाज उठाउनेमा हामी नै थियौं । तर, यो एकेडेमी कहिले खुल्यो, कसरी र कुन तरतिवमा खुल्यो–अहिले हामीलाई नै थाहा भएन ।
देवेन्द्र भट्टराई

काठमाडौँ — दर्गादिशा थाहापत्तो नलाग्ने कुनै निर्जन रेगिस्तानी भूमिमा हराइरहेका बेला एकाएक दिशा–दूरी देखाउने यन्त्र भेटिएमा के हुन्छ ? निर्दिष्ट योजनाबिनै कोलकाता पुगेर चित्र र मूर्तिकलाको अध्ययन गर्न थालेपछि नवयौवना प्रमिला गिरीलाई ठीक त्यस्तै भयो, दर्गादिशा खुटयाउने यन्त्र भेटेझैं  । यो आधा शताब्दीअघिको कुरा हो  ।

नट फर सेल

सिरहा, बस्तीपुरभित्र एक जना २५ वर्षे उमेरकी महिला थिइन्, एकल महिला । बूढयौली उमेर नभए पनि उनी कसैकी हजुरआमा थिइन् । तर, बोलाइन्थ्यो ‘अर्की आमा’ को नाममा ।


‘मेरो बाल्यकालमा सबैभन्दा बढी जोडिएकी शक्ति हुन्— अर्की आमा अर्थात् मेरी हजुरआमा । सक्दो निर्भीक हुने र अन्याय कहिल्यै नसहने चेतना अर्की आमाले भरिदिएकी थिइन् जो २५ वर्षे उमेरमै विधवा भएकी थिइन् । तैपनि आफ्नो हक, अधिकार र सम्पत्तिको भोगाधिकार पाउन अर्की आमा काठमाडौंसम्म धाएकी थिइन् । राणा शासक र हुकुमसँग लडेर आफ्नो अधिकार लिएरै छाडेकी थिइन् । त्यो जमानाको यो घटना मेरा लागि आफैंमा एउटा उत्प्रेरणा थियो । झन्डै ७० वर्षअघिकी मेरी अर्की आमाको दुस्साहस आजकै हिसाबमा पनि अनौठो थियो, अलग थियो ।’


यसरी एकदमै अलग लाग्ने इतिहास र त्यसैको नाभिमा जोडिएको आफ्नो लेखान्त सुनाइरहेकी थिइन्, प्रमिला गिरी । प्रमिलाको अर्की आमाको कान्छो छोरा (डा.जयनारायण गिरी) त्यसबेला १ वर्षका मात्रै थिए, ती आमाका ४ छोराछोरी थिए । तिनलाई पढाउन–बढाउन सम्पत्ति अधिकार त चाहियो नै । न्यायका लागि लडेरै अर्की आमाले ४० बिघा जमिन पाएकी थिइन्, त्यो जमानामा । अन्यायका विरुद्ध लड्ने बस्तीपुरकी योगमाया थिइन्, अर्की आमा अर्थात सावित्री गिरी ।


उनै अर्की आमाको आडभरोस र आँटिलो हुने मन्त्रणाले प्रमिला ‘आम केटी’ हुनबाट जोगिइन् । सिरहा, बस्तीपुरमा घुर तापेरै बित्यो उनको बाल्यकाल । नजिकैको सरकारी विद्यालयमा ७ कक्षासम्म पढेर गिरी परिवारसँग जोडिएको राजनीतिक र अन्य कारणले माध्यमिक तह पढ्न उनी बनारस पुगिन् । त्यहाँबाट उच्च शिक्षा लिन कोलकाताको शान्ति निकेतन पुगिन् । चित्र कोरेर वा मूर्ति कुँदेर नामकाम रहला अथवा गरिखान सकिएला भन्ने जमानै थिएन । तर, कलाको भूत चढेकी प्रमिला पछि हट्नेवाला थिइनन् । रकफेलर फेलोसिप पाएर उनी अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी पुगिन्, मास्टर्स अफ फाइन आर्ट्स पूरा गरेर सन् १९७६ मा नेपाल फिरिन् ।

***

आर्किटेक्ट श्रीमान् हयान्स क्रिस्टी बियोनेस्का साथमा प्रमिला ।


‘म सम्झन्छु— अमेरिकाबाट फर्केर आएपछि म सिंहदरबार गएकी थिएँ । त्यहाँ परराष्ट्र मन्त्रालय थियो । खासमा केही काम माग्न र मूर्तिकलाको ‘आइकन’ काम गर्नका लागि ठाउँ माग्न म गएकी थिएँ । मन्त्रालयका वरिष्ठ अधिकारीले मलाई तलदेखि माथिसम्मै नियालेर हेरेर भने— मूर्ति बनाउने ? कति पैसा लाग्छ ?’

‘त्यो त साइज, स्वरूपमा भर पर्छ । धातु, मार्बल, सिमेन्ट केको बनाउने ? यसमा पनि भर पर्छ । मानौं, सिमेन्टको १२ फुट जतिको बनाउने हो भने ५० हजार रुपैयाँ लाग्ला ।’
‘ओहो, ५० हजार ? यति पैसाले त एउटा घरै बन्छ । भइगयो, तपाईं जानुहोस् ।’

ती वरिष्ठ अधिकारीको कोठामा महँगो कार्पेट थियो, सोफा थियो, टेबल–फर्निचर भरिभराउ थियो । तर, भित्तो खाली थियो । वरपर कलाका, संकेत–विम्बका केही चीज थिएनन् । एकदमै उराठ स्पेस थियो । सरकारका ठूला अधिकारीका सामु जब मैले कला सृजनाको कुरा गरें, तब हामी गरिब भइहाल्यौं । ‘पैसै नभएको’ बनिबनाउ जवाफ आइहाल्यो ।
अनि म आफ्नो बाटो लागें ।

***

फेरि बस्तीपुर फर्कौं । त्यो समयमा, सानै उमेरमा कसरी सहशिक्षा विद्यालय (को–एड) मा छोरी पढ्न पठाउने भनेर गिरी परिवारमा मतान्तर चर्किएको रहेछ । तर, प्रमिलाका पिताको भरोसा र अडानका कारण उनी घरबाट बाहिर जान सकेकी रहिछन् ।

‘मेरी छोरीको पढाइमा रुचि छ, कलामा रुचि छ । अरूभन्दा पनि मलाई मेरी छोरीमाथि विश्वास छ’ भनेर पिताजी मित्रलाल गिरीले पढ्न पठाएका रहेछन् । ‘गान्धीवादी मेरो बाबाको त्यो कदमले मलाई ‘म’ बन्नमा सघायो । त्यसरी म हिंडेको बाटोमा शान्ति निकेतन आइपुग्यो । कलामा आधुनिकता र स्वतन्त्रता भित्र्याउने प्रमुख पायोनियर संस्थाका रूपमा म निकेतनलाई सम्झन्छु,’ प्रमिला भन्छिन् ।

काठमाडौं फिरेर ‘एकला चलो रे’ को शैलीमा प्रमिला अनेक मन्त्रालय र तिनका अधिकारीकहाँ धाइरहिन्, कामको खोजीमा । कतै इच्छा हुन्नथ्यो, कतै पैसा । अझ मूर्तिकला त निर्जीव ढुंगो वा धातु न हो, यसको मूल्य कसरी बुझाउने ? त्यही भाले भिडन्त चलिरहेकै बेला ललितकला क्याम्पस खोल्ने क्रममा प्रमिला अभियन्ताझैं बनिन्, त्यहीं पढाइन् झन्डै दुई दशक । आफ्नै पहलमा (कुनै कोटेसन वा बोलपत्र भिडेर होइन) भृकुटीमण्डपमा वातावरण थिमको मूर्ति, अमेरिकी सूचना केन्द्रमा ‘अवतार’, इन्डियन एयरलाइन्स कार्यालयमा ‘मुक्ति’, बिमा कार्यालयमा ‘तेस्रो आँखा’, नेपाल वायुसेवा निगम परिसरमा ‘यती’, फुकुओका म्युजियम (जापान) मा ‘भैरव’, नेपाली दूतावास (दिल्ली) मा ‘प्रोटेक्टर’ आदिका मूर्ति इमेज ठडयाउन सकिन् । कतै सशुल्क, कतै नि:शुल्क । चित्र र मूर्ति दुवैतर्फ भएका राष्ट्रिय कला प्रतिस्पर्धामा ‘गोल्ड मेडलिस्ट’ हुन् प्रमिला ।

शान्ति निकेतन, कोलकातामा पण्डित जवाहरलाल नेहरूका साथमा प्रमिला ।

रेखाशास्त्र, कल्पना विधि र कला स्वरूपमा डुबेरै प्रमिलाको अहिलेको दैनिकी बित्ने गरेको छ । सृष्टि, समर्पण र ध्यान उनको कलाको विशेषता हो । आध्यात्मिक सौन्दर्यसँगै इच्छा, आकांक्षा र सपनाका अनेक ‘भैरवी संकेत’ वरपर प्रमिला घुमिरहेकी हुन्छिन् । मधुर संगीतको पृष्ठभूमिमा उनी काम गरिरहेकी हुन्छिन्— उमेर अथवा थकान नभनी । चित्र र मूर्तिका ६० भन्दा बढी कला सृजना जोडेर आर्ट काउन्सिलमा यो साता चलिरहेको प्रदर्शनी ‘माई रुट्स’ का पछाडि सबैभन्दा दह्रो आडभरोस जीवनसाथी हयान्स क्रिस्टी बियोनेस्को रहेको प्रमिला सुनाउँछिन् । ‘मेरो आर्ट क्युरेटर मेरो श्रीमान् हयान्स नै हो । उनी आर्किटेक्टसमेत भएकाले मलाई धेरै सजिलो भएको छ । म आर्ट बेचौं भन्छु, श्रीमान्ले बेच्न दिनुहुन्न । नट फर सेल,’ उनी भन्छिन् ।

यसकारण प्रमिलाका अनुसार, जीवन ब्युटिफुल रहयो, त्यसरी नै बित्दै छ । कला बुझ्ने साथी पर्खिएकै कारण अलिक ढिला बिहा भयो । तर, यसमा पनि खासै पछुतो छैन ।
प्रमिलालाई आफ्नो जीवनसँग होइन, यो समाज र शक्तिपूजक तप्कासँग अलिक असन्तुष्टि छ । अरू भनेको यस्तै हो । चल्तीका नाम जिन्दगी ।

***

फेरि बस्तीपुरतिर फर्कौं । प्रमिला सानैदेखि घरमा राखिएका राम, सीताका फोटाहरूको कपी गर्न (ट्रेस) वा क्रस–स्टिच गर्नमा रुचि राख्थिन् । यसमा ‘थ्रेड वर्क’ (धागो आकृति उतार्ने काम) पनि जोडिन्थ्यो । यस्तो काम गर्न प्रोत्साहित गर्ने ‘अर्की आमा’ पनि साथमै थिइन् । ‘एक पटक हाम्रो धान मिलमा आगलागी हुँदा घर छाडेर भाग्नुपरेको थियो । सबैले आ–आफ्ना महत्त्वपूर्ण सामान, कागजात बोकेर घर छाडेका रहेछन् । म भने आफूले चित्र उतारेको भगवान् इमेजको (ट्रेस) कागज बोकेर कता हो कता दौडेकी रहिछु । शायद त्यो मेरो श्रीसम्पत्ति थिएछ,’ वर्षौंपछि आफ्नो अतीत सम्झिरहेकी छन् प्रमिला ।

यतिखेर वर्तमानको हविगत र कुरोको चुरो भने अर्कै छ । काठमाडौंमा राजनीतिक अभीष्टले भरिपूर्ण ललितकला एकेडेमी छ । अरू एकेडेमीहरू पनि छन्, सबै राजनीतिमय । तर, सही साधक र कलाकर्मीलाई यसमा खासै मतलब छैन । ‘आफ्नै लयमा काम गर्ने मजस्तालाई त्यो एकेडेमी हुनु वा नहुनुको कुनै अर्थ छैन । विगतमा ललितकला एकेडेमी हुनुपर्छ भनेर आवाज उठाउनेमा हामी नै थियौं । तर, यो एकेडेमी कहिले खुल्यो, कसरी र कुन तरतिवमा खुल्यो— अहिले हामीलाई नै थाहा भएन,’ प्रमिलाको ठाडो भनाइ छ, ‘यो म आफूले कुनै पद पाउनुपर्छ अथवा कुनै स्पेस चाहिन्छ भन्नका लागि भनेको होइन, तर अहिले बनेको एकेडेमीको अर्थ र भूमिका के हो, त्यो त कम्तीमा थाहा हुनुपर्‍यो नि ।’

फेरि उनलाई लाग्छ— म प्रशासनयन्त्रमा किन जाउँm ? म प्रशासक किन बनांैं ? अथवा, कुनै ठूला अधिकारी, सरकारका प्रतिनिधि वा मन्त्रीलाई भेट्न जाऊँ भने सुरुमै सोधिन्छ— तपाईं कुन पार्टीको मान्छे ? जबकि मेरो पार्टी भनेकै ‘कला पार्टी’ हो । यसलाई अनर्थ र अन्यथा नठानियोस् तर पञ्चायतकालमा अलिक बढी कला, कलाकार र कलाकर्ममा सम्मान मिल्थ्यो । अहिले यत्रतत्र पार्टी–पोलिटिक्स मात्रै छ । लाग्दै छ— मसँग पार्टी सदस्यता छैन भने केही पनि छैन ।

***


तैपनि हार मान्ने कुरै छैन । यो जगत्मा केही सुझबुझ भएका पात्रहरू पनि हुन्छन् नै । कला सृजनामा बोलपत्र आह्वान र कोटेसन नमाग्ने सत्पात्रहरू प्नि यदाकदा भेटिन्छन् नै । जस्तो, प्रमिला पनि कलामा ‘कोटेसन’ गरेर काम खोज्ने वा बोलपत्रमा लड्भीड गर्ने रुचि राख्दिनन् । उनलाई लाग्छ— मूर्तिकला आजका लागि होइन, यो कामको अबको १ सय वर्षपछि मूल्यांकन हुनेछ । आजको यही कला एक शताब्दीपछि परम्परागत कला हुनेछ ।

एकैसाथ खुशीको कुरा पनि छँदैछ । अहिले मूर्तिकलाका विद्यार्थी र कला सर्जकको समूह बन्न थालेको छ । पहिलेको जस्तो ‘एकला चलो रे’ अवस्था त्यति छैन । प्रमिलालाई केही आर्थिक सहायता मिल्ने गरी नर्वेको एउटा ठूलो म्युजियमले केही काम उनलाई दिएको छ । कामको कमी छैन तर काम हेर्ने र बुझ्नेको भने खडेरी छ । प्रमिलाको विशालनगरस्थित सानो घर पुग्ने हो भने मूर्ति र चित्रको उरुङ देखिन्छ । ‘खोइ, मैले कतिवटा कला सृजना आफूसँग राख्ने ? यी मेरा सम्पत्ति कहाँ राख्ने ? हाम्रो कला एकेडेमी कहाँ होला ?’ उनी भन्छिन् ।

यहाँ व्यक्तिको कुरा छाडौं । सिस्टमले नै पनि कला बुझेको छैन । प्रमिला दुई वर्षअघिको आफ्नो कला प्रदर्शनीबारे अवगत गराउन र निम्तो दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएकी रहिछन् । राष्ट्रपतिसँग संयोगले भेट भएछ पनि । झन्डै आधा घन्टा वार्तालाप गर्ने मौका मिलेछ । राष्ट्रपतिले प्रमिलाको काम र कला प्रदर्शनीमा चासो राख्दै उद्घाटनमा आउने वचन पनि दिएकी रहिछन् ।

तर, पछि जब प्रशासनयन्त्र र आसेपासे आइपुगे, कुरा एकाएक फेरियो । राष्ट्रपतिबाट उद्घाटनमा सहमति पाइसकेपछि समय र प्रक्रिया मिलाउन एक साता धाएपछि एक जना अधिकारीले आफ्ना कोठामा बोलाएर प्रमिलालाई सोधेछन्, ‘तपाईं को हो ?’
‘म यत्रो दिनदेखि यहाँ धाइरहेकी छु, मैले राष्ट्रपतिलाई पनि भेटिसकें । म कलाकार प्रमिला गिरी हो ।’
‘समय मिल्दैन राष्ट्रपतिज्यूको । तपार्इंजस्ता कलाकारहरू यहाँ कति आउँछन् कति...’
अनि प्रमिला आफ्नो बाटो लागिछन् ।
***

‘फेरि फर्कांै बस्तीपुरतिर जहाँ यो जाडो याममा म घुर तापेर आफ्नो न्यानो बिहानी सुरु गर्थें । बस्तीपुरको खेतखलियान, धानका मचान र फराकिला घरआँगनहरू खुबै सम्झिरहन्छु । कतिसम्म हुन्छ भने म नर्वेको भित्री सहरमा कामको थकानपछि सुतिरहेकी हुन्छु । एउटा ठूलो विमान आउँछ मेरो छेवैमा । म चढछु, अचम्म त्यो जहाज नर्वेबाट सीधै वस्तीपुरको खुला घरआँगनमा आएर बस्छ । अनि म सपनाबाट झल्याँस्स हुन्छु ।’

प्रमिलाले जब यो सपना सुनाइन्, आडैमा बसिरहेका पतिदेव जीवनसाथी हयान्स क्रिस्टी बियोनेस्ले मायालु बनेर भनिहाले— सपना भनेको सपनै हो ।

उमेर र यौवनमा प्रमिला अलिक अन्तर्मुखी थिइन्, मनको कुरो भन्नै नसक्ने । तर, अहिले भने समय, परिस्थिति र परिपक्वताले उनी थोरै बहिर्मुखी बनेकी छन्— लागेको कुरा भनिहाल्ने । उनलाई बुढयौली उन्मुख यो उमेरमा आएर यतिखेर लाग्न थालेको छ— भोलि आफ्ना बालबच्चा कसले पालिदेला ? कसले हेरिदेला ? हो, सबैले आफ्ना बालबच्चाका लागि याद गर्छन् नै ।

लालनपालनको कुरा गर्छन् नै । शिक्षादीक्षा भन्छन्, भविष्य भन्छन् । ‘मेरा लागि यी मूर्ति र चित्रहरू नबोल्ने बच्चाहरू हुन् । म यी बच्चामा जीवन भर्न चाहन्छु । यी बच्चाहरू हाँसीखुसी बाँचेको हेर्न चाहन्छु,’ प्रमिलाको एउटै आलापविलाप छ— ‘यिनलाई ओत चाहियो, सुरक्षा चाहियो । सरकार र राज्यको मुख ताकिरहने हो भने यी बच्चाहरू अकालमै मर्नेछन् ।’
यी बच्चाको माया लाग्छ, त्यही भएर भनेकी हुँ— नट फर सेल ।
– देवेन्द्र भट्टराई

प्रकाशित : कार्तिक १०, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?