३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आश्रममा पत्रकार

व्यक्ति
विराटनगरको सिंघिया खोला किनार छेउको आश्रममा बस्छन् एक पुराना पत्रकार ।
कान्तिपुर संवाददाता

काठमाडौँ — अग्रेजीमा स्नातक हुन्, स्वतन्त्र पत्रकार ७८ वर्षीय रमेश भट्टराई ‘ पाखे’ । ऐतिहासिक युगवाणी साप्ताहिकको सम्पादनदेखि महाकवि देवकोटाको कवितासंग्रह ‘भावना गाङ्गेय’ प्रकाशनमा उनी सक्रिय रहे ।

आश्रममा पत्रकार

हातगोडा मजाले चलुन्जेल सशक्त ढंगले कलम चलाएका यिनी अशक्त भएपछि वृद्धाश्रममा शरण लिइरहेका छन् । घरघडेरी, खेतीपाती र परिवार नभएर होइन । परिवारमाथि बोझ नबनौं भन्ने स्वाभिमानी सोचले चार महिना अगाडिदेखि उनी विराटनगर–८, अशोकचोकस्थित विराटेश्वर वृद्धाश्रमलाई जीवनको सन्ध्याकालमा अन्तिम गनतव्यस्थल बनाएका छन् ।


भक्तपुरको सूर्यविनायकमा उनको घर छ । परिवारजन त्यहीं बस्छन् । उनको श्रीमती पनि छन् । पत्रकार भट्टराईको एक छोरा अमेरिकामा र एक स्वदेशमै बस्छन् । तीन छोरीहरूको बिहेबारी भइसकेको छ ।


‘खान–लाउन नपुगेर यहाँ आएको होइन, श्रीमती/छोराबुहारीमाथि भार बन्न मन नलागेर आश्रमलाई राजेको हुँ,’ भट्टराईले भने । स्मरण शक्ति पनि निकै कमजोर भइसकेको छ । तर, यो अवस्थामा समेत उनको लेखनयात्रा रोकिएको छैन । उनी कापीमा बिस्तारै केही कोरिरहेका हुन्छन् ।
‘पूरा शरीर काम्ने हुनाले एक अनुच्छेद लेख्न पनि धेरै बल गर्नुपर्छ,’ उनले भने, ‘त्यतिकै बसिरहन वा सुतिरहन पनि मन लाग्दैन ।’ अहिले साहित्य अन्वेषक दिवंगत कमलमणि दीक्षितमाथि लेखिरहेको उनले बताए ।


शारीरिक रूपले अस्वस्थ हुँदै गएपछि सात वर्षअघि मात्र भट्टराई पत्रकारिताबाट निष्क्रिय भएका हुन् । उनको हातखुट्टा निकै कमजोर भई काम गर्न छाडेको एक वर्ष मात्र भएको छ । धेरै वर्षसम्म गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस) मा अनुसन्धानमूलक पत्रकारिता गरेको उनले बताए । भट्टराईले उपनाम ‘पाखे’ आफैंले राखेका हुन् । ‘पाखे भन्ने शब्द निकै मन परेर रोजेको हुँ,’ उनले भने ।


पत्रकारिता करियरको आरोहमा उनले थाइल्यान्ड, सिंगापुर र हङकङ घुमे । ‘फिरन्ते थिएँ, घुमिराख्थेँ,’ भट्टराईले भने, ‘दिल्ली र कलकता त गइराख्थेँ ।’ नेपाली र अंग्रेजीबाहेक मैथिली एवं भोजपुरीमा दख्खल राख्ने हुनाले मुलुकको कुनै पनि भूभागमा पुग्दा पनि उनी असहज महसुस गर्दैनन् । उनी तराई–मधेसका मित्रहरूसँग उनीहरूकै लवजमा बोलिरहेका हुन्छन् । ‘मलाई यहाँको बासिन्दा, परिवेश, भेष र भाषा असाध्यै मन पर्छ,’ भट्टराईले भने ।


उनी आश्रममा पनि रमाइरहेका भेटिए । ‘विराटनगरको सिंघिया खोला किनार छेउको यो आश्रम राम्रो लाग्यो,’ उनले भने, ‘अन्तिम सास, बास र यात्रा यही टुंगिनेछ ।’ पुराना पत्रकार भट्टराईले यो ठाउँलाई रोजेकामा खुसी लागेको उक्त आश्रमका संस्थापक अध्यक्ष जगतप्रसाद अज्र्यालले बताए । ‘आश्रितभन्दा पनि सल्लाहकार पाएको झैं महसुस भएको छ,’ उनले भने ।


भट्टराईको बाल्यकाल र युवावस्था भारतको बनारसमा बितेको हो । उनी ८/१० जनाको संयुक्त परिवारमा हुर्केका हुन् । राणाबाट लखेटिएर उनको परिवार बनारस पुगेको थियो । उनको पिता नारायणप्रसाद युगवाणी साप्ताहिकका सम्पादक थिए । पिताजीको प्रभावका कारणले भट्टराईले १० वर्षको उमेरदेखि लेखन थालेका थिए । तीन छोरा र तीन छोरीमध्येमा पत्रकार भट्टराई जेठा थिए । उनको माहिला भाइ विराटनगरमा गृहस्थ जीवन बिताइरहेका छन् । काठमाडौं बस्ने कान्छा सरकारी जागिरे हुन् ।


बुबा नारायणप्रसादको ५५ वर्षमा निधन हुँदा उनी युवा थिए, पत्रकारको रूपमा चिनारी बनाइसकेका थिए । उनका बुबा चार दाजुभाइमा माहिला थिए । सबै जना पत्रकारिता र राजनीतिमा सक्रिय थिए । मिलेर युगवाणी साप्ताहिक निकाल्थे । साहिंला काका गोपालप्रसाद भट्टराई गोरखापत्रका प्रधानसम्पादकसम्म भए । युगवाणीको नेतृत्वसमेत गरेका कान्छा काका कृष्णप्रसाद भट्टराई मुलुकका प्रधानमन्त्री भए । भट्टराईको जेठो काका वटुकप्रसाद लेखनमै सक्रिय रहे ।


बनारसबाट काठमाडौं फर्केर भट्टराई परिवारले ९ वर्ष पत्रिका चलाए । पत्रकार भट्टराईले आफैं सम्पादक भएर विराटनगर र काठमाडौंबाट केही समय युगवाणी निकाले । महाकवि लक्ष्मीप्रसाद देवकोटा बनारसमा यिनै भट्टराईको घरमा बस्थे । ‘देवकोटा पनि लखेटिएर धेरै ठाउँमा दु:ख पाउँदै बस्नुभयो, कान्छो काका कृष्णप्रसादले अनुरोध गरेर बोलाएपछि हाम्रोमा बास लिनुभयो,’ उनले भने । देवकोटाको अप्रकाशित कवितासंग्रह ‘भावना गाङ्गेय’ मित्र जयप्रकाश पाण्डेसँग मिलेर निकालेको उनले बताए ।


भट्टराई परिवारको सुनसरीको चक्रघटीमा १ सय ६० बिघा जग्गा थियो । स्वदेश फर्केर खोजबिन गर्दा ६० बिघा मात्र बाँकी रहेको उनले बताए । कोसी नदी र अतिक्रमणमा जग्गा मासिएको भट्टराईले बताए । सय बिघामा बाँडफाँड हुँदा पत्रकार भट्टराईको नाउँमा चार बिघा पर्‍यो । ‘दुई बिघा कोसीमा विलीन भयो, बाँकी दुई बिघामा अरूले अँधियामा खेती गर्छन्, मेरो भाग नगदमा भुक्तानी गर्छन्,’ उनले भने ।
—जितेन्द्र साह

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?