१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दहरमाराको दंगल

स्मृति
दहरमाराको तलतलले एक दिन कक्षाबाट दिउँसै निकाल्यो । गोजीमा तास छँदै थियो ।
यज्ञश

काठमाडौँ — सहरवासीले बजारमा अचानक महँगी बढेपछि चाडबाड आएको थाहा पाएजस्तो तासका कुरा सुरु भएपछि दसैं–तिहार आएको अनुभूत गर्ने समूह छ । दुई–तीन वर्षअघिसम्म यो समूह दसैं र तिहारमा निकै व्यस्त रहन्थ्यो । जुवाकै रूपमा नखेल्ने हो भने तासलाई समय कटाउन सबभन्दा सजिलो कुरा मानिन्छ ।

दहरमाराको दंगल

तर, अब कटाउनका लागि फुर्सदको समय नै कोसँग छ र ? भर्खर हिँड्न सिकेको बच्चाजसरी समय कहाँ कहाँ पुगिरहेको छ, आँखा चिम्लेर दौडिइरहेको छ ।
***

गोजीमा तासको गड्डी हालेर घरबाट निस्केपछि स्कुल जाने बाटो पनि सजिलो लाग्थ्यो । बाटोभरि आफू हिँडे होइन, उडेजस्तो लाग्थ्यो ।

हाम्रा अगाडि दुइटा चुनौती थिए– विश्वामित्र दाइ र दलदले ढाव । एउटाबाट जोगिन अर्काको सामना गर्नुपर्ने थियो । दाइले समाए एक दुई थप्पड पनि लगाउन सक्थे । घर र स्कुलमा खबर पुग्ने त पक्कै थियो । दलदलको फेला परे गड्न सकिन्थ्यो । हामी फँसेका थियौं ।


लमतन्न सुतेको रचनेको बगर । खोलावारि सानो खेत । खोलापारि सिमल र अमराका अग्ला रूख । साँगे खोलाको तिरैतिर बाटो । रूखका टुप्पामा बकुल्लाको झुन्ड हुन्थ्यो भने फेदको झाडीमा स्याङ्ग (सिम) कुखुरा । रातभरि शीत खाएर बसेका गहुँका बाला टिप्दै चपाउने विद्यार्थीको लस्कर । चुइगमलाई ‘बउलिगम’ भनिन्थ्यो । पछि थाहा भयो बबलगमबाट बउलिगम भएको रैछ । त्यही ‘बउलिगम’ को स्वाद फेर्न हामी गहुँ चपाउँथ्यौं ।


सबैका हातमा किताब, खुट्टामा चप्पल । जाडोमा खोलाको चिसो सिरेटाले जति ठिहिर्‍याए पनि गोजीमा भएका तासका पत्तीले मनमा तातो जगाउँथे । पाइन्टको अगाडिका दुई गोजीमा आधाआधा गरेर राख्दा हेर्नेले तास भएको थाहा पनि पाउँथेनन् । यसरी ‘गोजी गरम’ गरेर हिँडेको दिन बाटोभरि एउटै कामना हुन्थ्यो— हाफ टाइमपछि पढाउने सर नआइदिऊन् !


कुनैकुनै दिन त्यो कामना पूरा हुन्थ्यो । अनि सुरु हुन्थ्यो, तास खेल्ने स्थलको तीव्र खोजी । कहिले यो खोजीले कुनै रूखको फेद वा चौतारीमा पुर्‍याउँथ्यो भने कहिले बुटयान र झाडीपछाडिको कुनै थुम्कोमा । दुई–चार हात कलब्रेक, दहरमारा, ट्वान्टीनाइनका कक्षा चलिहाल्थ्यो ।


तासको मजा एकातिर, कसैले देख्ला भन्ने डर अर्कोतिर । कुनै चिनेका नातेदार वा स्कुलका शिक्षक र अरू विद्यार्थी सबैबाट तासलाई जोगाउनुपथ्र्यो । कहिलेकाहीं भने चारै जना जुट्न पनि मुस्किल हुन्थ्यो ।


करिब ४५ मिनेटको बाटो हिँडेर स्कुल गइन्थ्यो । वर्षामा फित्ते चप्पलले फड्कारेको हिलाले सबैका पाइन्ट र सर्ट छिर्केमिर्के बन्थे । हिउँदमा चिसिएको जमिनले चिसो सर्पलाई आफ्नो काखमा लुकाउने बेला चप्पलको फित्ता प्राय: चुँडिइरन्थ्यो । जुन प्राय: रचनेको बगरमा दौडिइरहेकै बेला छिंद्थ्यो । अनि बयरको झ्याङमा चप्पल घुसारेर खाली खुट्टै स्कुल पुगिन्थ्यो । साँझ घर फर्किंदा हातमा झुन्डयाएर ल्याएर फालिन्थ्यो । भोलिपल्ट स्कुल जाने बेला मात्र बल्ल यसको सम्झना हुन्थ्यो । हतारहतार टुकी बाल्यो, चुँडिएको चप्पल गाँस्यो । लगायो, हिँडयो । राम्ररी नजोडिएको चप्पल बयरका झ्याङतिर पुग्ने बेला फेरि चँुडिन्थ्यो । दिनभरि चप्पलले त्यही झ्याङमा विश्राम गथ्र्यो । भोलिपल्ट फेरि गाँस्यो, लगायो ।


यो क्रमलाई कहिलेकाहीं भने योयो र म्याङ्गो टाट चक्लेटका खोलले तोडिदिन्थे । यी चक्लेटका खोल तन्काएर चप्पल बाँध्ने टेक्निक कसैले सुरु गरेको थियो । सानो काठको ठेडी लगाएर बाँधेपछि चप्पल लगाउन मिल्थ्यो । यो टेक्निकले सधैं काम गर्थेन । चप्पल मेरो मात्र चुँडिन्थेन । यसैले बाटोमा फालिएका चक्लेटका खोल सधैं मैले मात्र पाउँथिनँ । तास बोकेको दिन चप्पल चुँडियो भने अर्को संकट आइलाग्थ्यो । चप्पल जसरी तासलाई निस्फिक्री छोड्न मिल्दैनथ्यो । चप्पल सबैसँग थिए, तास थिएन । यस्तोमा खोला तरेर ऐंसेलुको झ्याङमुनि तास लुकाउन पुगिन्थ्यो । किनभने, खोलाको चिसो पानीमा छिरेर ऐंसेलुको झ्याङमुनि कोही पुग्दैन भन्ने हाम्रो टोलीको वैज्ञानिक निष्कर्ष हुनेगथ्र्यो ।
***

भागेर फिल्म हेर्ने लत पनि त्यसैताका भर्खर सुरु भएको थियो । त्यसमाथि चेस र तास थपिएको थियो । स्कुलमा सरहरूलाई र घरमा आमालाई तनाव दिनका लागि यति काफी थियो । मेरा लागि भने यी रोजीछाडी थिए । पैसा पनि छ र साथीहरू पनि तयार छन् भने फिल्म हेर्न दमौली भाग्ने । पैसा छैन तर साथीहरू तयार छन् भने तास खेल्न भाग्ने । पैसा पनि छैन र साथी पनि जुटेनन् भने अम्रेनीको स्कुल पुग्ने । चेस खेल्ने कोही न कोही भेटिहालिन्थ्यो ।


अम्रेनीको इन्दु स्कुलमा चेस बोर्ड र गोटी थिए । चेसको लत लागेको बेला सपनामा पनि ऊँट छड्के हिँड्थ्यो । घोडाले चार कोठा फड्किरहन्थ्यो । म लगातार कक्षा छोडी भागेर आउन थालेको सुइँको पाएपछि हेडसर ज्योतिले छड्के नजर लगाउन थाले । र, एक दिन छलाङ लगाएर उनले चेस बोर्ड र गोटी लुकाइदिए । अनि यो बुद्धिको खेल बन्द भयो ।


तास भने मेरै हातमा थियो । यसैले यो खेल बन्द भएन । कहिले कुनै ठाँटी र पाटी त कहिले कसैका धन्सारमा यो चलिरहयो । दसैं–तिहार लाग्यो कि गाउँमा ठूला मान्छेका खाल नारिन्थे । त्यो कलब्रेकको जमाना थियो, म्यारिजको आक्रमण भइसकेको थिएन । तिहारमा भने मखमलीको माला लगाएका बूढापाकाहरू सत्र खेल्थे, अगाडि मकैका दाना राखेर ।


एउटा अखडा यस्तो थियो, जसलाई न दसैं चाहिन्थ्यो न तिहार । यहाँ मकैका गेडा पनि होइन, पाँच दसका नोट नै राखेर खाल चल्थ्यो । काफ्ले फाँटको पुछारमा थियो समी भट्टी । जुवा अड्डा । एउटा ठूलो समीको रूख मुन्तिर किराना प्लस भट्टी थियो । यहाँ तास खेल्नेभन्दा हेर्ने ‘ठेलुवा’ हरूको संख्या धेरै हुन्थ्यो । खेल्नलाई पैसा नहुनेहरू तर तासको लत लागेकाहरू हेरेरै पनि चित्त बुझाउँथे । यसरी तास खेलेको हेर्नेको साँझको भीडमा म पनि मिसिन थालेको थिएँ ।
***

स्कुल वरपर लुकेर तास खेल्दा सरहरूको भन्दा बढी डर विश्वामित्र दाइको हुन्थ्यो । हाम्रो स्कुल नजिकै घर भएका उनको जिउडाल मात्र नभई स्वर पनि ठूलो । उनको एक डाकोमै हाम्रो सातो जान्थ्यो । एक दुई पटक हाम्रो तास ग्याङ उनको फेला परिसकेको थियो ।


दहरमाराको तलतलले एक दिन कक्षाबाट दिउँसै निकाल्यो । गोजीमा तास छँदै थियो । केशव, रुद्रमणि काकाहरू र अरू साथीहरू थिए । स्कुलदेखि थोरैमाथि भतेरी गाउँ थियो । खोलापारि बेलबोटे फाँट । बेलबोटेकै शिरको चौतारो त्यस दिन घटनस्थालका रूपमा चुनियो ।


मूलबाटोबाट छेलिने भएकाले यहाँ कसैले देख्ने डर थिएन । विश्वामित्र दाइको घरभन्दा टाढा भएकाले उनको पनि डर थिएन । दरहमारामा कति कोट लगाइयो, उल्टो कोट पनि लागे । चार बजे स्कुल छुटेर अरू विद्यार्थी घर फर्किने बेला भएपछि भने खेल उठयो । अरूसँग मिसिएर घर फर्कियो कसैले भागेको शंका गर्थेनन् । अन्यथा, बाटोभरि नानाथरी मानिसले अनेक प्रश्नले झटारो हान्थे ।


खेल सकेर उठेपछि बल्ल हामीलाई स्थान छनोटमा भएको आफ्नो भयंकर गल्तीको बोध भयो । किनभने, जुन विश्वामित्र दाइको डरले बेलबोटे आइएको थियो उनी त हाम्रो घर जाने बाटोमै थिए । साँगे खोला तीरको दलदले ढावको माथिपट्टि उनी गाईबस्तु चराइरहेका थिए । अब हाम्रा अगाडि दुइटा चुनौती थिए— विश्वामित्र दाइ र दलदले ढाव । एउटाबाट जोगिन अर्काको सामना गर्नुपर्ने थियो । दाइले समाए एक दुई थप्पड पनि लगाउन सक्थे । घर र स्कुलमा खबर पुग्ने त पक्कै थियो । दलदलको फेला परे गड्न सकिन्थ्यो ।


हामी फँसेका थियौं । बग्दैबग्दै खुँगामा छिरेको माछाजसरी !


के गर्ने भन्ने दुविधा चलिरहेकै बेला केशव काका उठेर हिँडे । हामीमध्ये ठूला उनी हकी स्वभावका पनि थिए । उनी हिँडेपछि बाँकी पनि टोली उठयो । खेतका आलीआलीमा सम्हालिएर, अनुहारलाई किताबले छोपेर नचिनिने गरी लुसुक्क हिँडिरहेका बेला एक्कासि विश्वामित्र दाइको ठूलो स्वर सुनियो, ‘ओइ, पख !’


मेरो सातो उडयो । उनले मलाई चिनिसकेका थिए । उनले नामै लिएर बोलाउन थाले, ‘ओइ यज्ञश पर्खी, तँलाई दिनभरि तास खेलेर आइस् हैन, तेरी आमालाई भन्दिन्छु, तेरो स्कुलमा भन्दिन्छु । पख्लास्...’ उनको स्वर झन्झन् नजिक आइरहेको थियो । उनी बोली मात्र रहेका थिएनन्, हामीतिरै आइरहेका पनि थिए । चुँडिरहने चप्पल हातमा लिएर हामी अब बेपत्ता कुद्न थालेका थियौं । उनको डरले दलदललाई बिर्साइदिएको थियो । हामी दौडिंदै खोला किनारको ढावतिर पुगिसकेका थियौं । विश्वामित्र दाइको थर्काइ भने कम भएको थिएन ।


जीवनका कतिपय संकटहरू नभोग्दै ठूला लाग्छन् । परेपछि सजिलै पार लाग्ने हुन्छन् । त्यस दिन त्यस्तै भयो । निकै डराएको दलदले ढाव हामीले डरैडरमा पार गर्‍यौं । आलीआली दौडिँदा सन्तुलन नमिलेर खेतमा झरे पनि कोही त्यसमा गढेनन् । दलदलले हामी कसैलाई पनि तानेन । त्यस दिन थाहा भयो— यो खासमा दलदल नै होइन रैछ । ढाव मात्र रहेछ ।


ढाव कटेर भतेरी निस्किएपछि हामी ‘शेर’ भयौं । उनको थर्काइ जारी थयो । तैपनि, खुँगामा हामी परिसकेका थिएनौं, फुत्किएका थियौं । रुद्रमणि काका र मलाई डर अलि बढी थियो । किनभने उनले स्कुलका सर मात्र होइन हाम्रा आमाहरूलाई पनि यो खबर पठाउन सक्थे ।


यो डर भोलिपल्ट स्कुल आउँदा दोब्बर भएको थियो । अब तास नखेल्दा पनि उनलाई देख्यो कि डर लाग्ने हुन थालेको थियो । स्कुल आउँदा मैले तास बोकेर ल्याउने गरेको कुरा ऐंसेलुको झ्याङमा स्याङ कुखुरो कराएजसरी कक्षामा फैलिन थालेको थियो ।


एक दिन स्कुलबाट फर्केर हेर्दा ऐंसेलुको झ्याङमुनि छाडेका चुँडेको चप्पल र तास थिएनन् । सायद कुनै स्याङ कुखुरा सिकारीले यसैलाई आफ्नो सिकार बनाएको थियो ।


त्यसैताका तासको लतलाई फिल्मले जित्दै लग्यो । फिल्म हेर्न भाग्ने क्रम बढेसँगै सपनामा हिरोका फ्लाइङ किक र मोटरसाइकलका स्टन्टहरू बढी आउन थाले । चिडीको चौकाको बेला र मौकामा मात्र दर्शन हुन थाल्यो । स्कुल सकेर आईए पढ्न दमौली आएपछि त जीवन चौबीस रिलमै घुम्न थाल्यो ।
***

हालै समाचार आयो— प्रहरी अधिकारीकै संरक्षणमा राजधानीमा जुवा अड्डा सञ्चालित । हरेक वर्ष चाडबाडको पूर्वसन्ध्यामा जुवाडे पक्राउ परेको समाचार आउँछन् । जुवाको खालबाट भाग्दा मानिस मरे पनि । यिनको संकट हाम्रो दलदले ढावजस्तो सोच्दा मात्रै भयंकर थिएन । यो साँच्चिकै दलदल थियो, जसमा ती मानिसहरू डुबे ।


केही वर्षअघि संकटकालको बखत भने गाउँघरमा तास नियिन्त्रत थियो । बिस्तारै डढेलोको रूप लिँदै गएको माओवादी सशस्त्र संघर्षको आगो समी भट्टीमा पनि आइपुगेको थियो । संकटकालको एक दिन अग्निवर्षक कमरेडहरूले जुवा खालमा धावा बोलेको खबर काठमाडौंसम्म आइपुग्यो । अन्य ठाउँमा जस्तै उनीहरूले जुवाडेहरूलाई तास निल्न आदेश दिएछन् । र, सोधेछन् ‘केसँग लिनुहुन्छ ? पानीसँग कि चियासँग ?’


यसरी कमरेडहरूले मृत्युपश्चात् रावण राममा समाहित भएजसरी तासका पत्तीहरूलाई तसेडीहरूमै समाहित गरिदिएछन् । त्यसपछि समी भट्टीले आफ्नो सह गुमायो । भगवान् नभएको मन्दिरजसरी यसको आकर्षण बिस्तारै गुम्दै गयो । सडक खुल्दै गएपछि बाटो पनि अर्कैतिर मोडियो । अन्तै पसल खुले । खोला किनारको यो पसल एक्लो भयो ।


मोटरबाटो खुलेपछि रचनेको बगर पनि सुनसान भयो । अहिले यो बाटोमा कोही हिँड्दैन ।

खोज्ने हो भने बयर र ऐंसेलुको झ्याङमुनि अब केवल हाम्रा स्मृतिहरू मात्र भेटिन्छन् होला ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?