कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माछापुच्छ्रे फेदीमा

क्रिकेट
चाइनिजजस्तो अनुहार भएको चिटिक्क परेको मान्छे भूपी शेरचन थिए । उनकै समूहले पुरानो टुँडिखेलमा क्रिकेट खेलिरहेको थियो । सरुभक्तले त्यही लहैलहैमा लागेर केही समय क्रिकेट खेले । भूपीको कवि परिचय उनले अलिक पछि मात्रै पाए ।
विनोद पाण्डे

काठमाडौँ — हिमालैहिमाल भएको तिमीहरूको देशमा क्रिकेट कहाँ खेल्छौ ?’,यस्तै रोमाञ्चित प्रश्नले घेरिएको हुन्थे नेपाल क्रिकेट संघका तत्कालीन अध्यक्ष जयकुमारनाथ शाह । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सभा, सेमिनारमा जाँदा आफूले खेप्नुपरेको यी प्रश्नलाई उनी नेपाल फर्किएपछि बडो सुर मिलाएर सुनाउँथे ।

माछापुच्छ्रे फेदीमा

नेपालले सन् १९९६ मा आईसीसी सदस्यता पाउनुअघि पनि उनी विदेशी सहकर्मीबाट यस्तै प्रश्नले घेरिएका हुन्थे । आखिर हिमालैहिमाल, पहाडैपहाड भएको नेपालमा कहाँ खेलिन्छ त क्रिकेट ? उनीहरूको जिज्ञासा हुन्थ्यो । नेपाल हिमाल र पहाड भएको देश भएकाले त्यस्तो देशमा क्रिकेट खेल्नु असम्भवजस्तै भएको उनीहरूको बुझाइ हुन्थ्यो ।


पोखरामा भइरहेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट हेर्न पाएको भए सबैभन्दा खुसी सम्भवत: उनै शाह हुन्थे । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदमुनि नेपालको सर्वाधिक धनराशि पुरस्कारको फ्रेन्चाइज क्रिकेट भइरहको शाह ती प्रश्न सोध्नेहरूलाई गर्वका साथ सुनाउँथे होला । त्यसै पनि माछापुच्छ्रे तल भइरहेको क्रिकेट देखेर कम्तीमा पनि विदेशी खेलाडी लठ्ठ परेको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिंदै आएको छ ।
***

पोखराको पुरानो टुँडिखेलमा एक चाइनिज अनुहारजस्तो मान्छेसहितको समूहले नयाँ किसिमको खेल खेलिरहेका थिए । २०२१–२२ सालतिरको प्रसंग हो । त्यतिखेर त्यो मैदान पूरै चौर थियो । अहिले त्यो पुरानो टुँडिखेलको रूप परिवर्तन भएको छ, यो विद्यालय अधीनमा छ । उपन्यासकार सरुभक्तको घर त्यही टुँडिखेल छेउमा छ । उनी नजिकै त्यही स्कुलमा पढ्थे । सरुभक्तका अनुसार उनी त्यतिखेर फुटबल खेल्थे ।


नयाँ किसिमको खेल र नौलो मान्छेहरू देखेपछि १०–११ वर्षको उमेर सरुभक्तको ध्यान त्यतै तानिएको थियो । उनलाई केही क्षण हेर्दा उक्त खेल डन्डीबियोजस्तो पनि लागेको थियो । उनले चिटिक्क परेको लुगा लगाएको मान्छे पहिलो पटक खेलिरहेको देखेका थिए । विदेशीजस्तो देखिएकाले सो मान्छेलाई सरुभक्तले याद गरेका थिए । चाइनिजजस्तो अनुहार भएको चिटिक्क परेको मान्छे भूपी शेरचन थिए । उनकै समूहले पुरानो टँुडिखेलमा क्रिकेट खेलिरहेको थियो । सरुभक्तले त्यही लहैलहैमा लागेर केही समय क्रिकेट खेले । भूपीको कवि परिचय उनले अलिक पछि मात्रै पाए ।


सरुभक्तको सम्झनामा पोखरामा क्रिकेट भित्र्याउने उनै भूपीको समूह थियो । वीरेन्द्रसिंह गुरुङ, महेन्द्रसिंह थापा त्यसपछिका पुस्ता थिए पोखरेली क्रिकेटलाई निरन्तरता दिने । तराईमा जुन हिसाबमा क्रिकेटको रफ्तार थियो त्यसअनुरूप क्रिकेट पोखरामा खासै जम्न सकेको थिएन । नेपालको राष्ट्रिय क्रिकेट प्रतियोगिता २०३८ को राष्ट्रिय खेलकुदबाट सुरु भएको हो । २०४० मा पोखरामा राष्ट्रिय खेलकुदको दोस्रो संस्करणका लागि आइपुग्दा क्रिकेट आयोजना गर्न टर्फ विकेटको सट्टा अलकत्राको पिच बनाइएको इतिहास पनि छ ।


कामचलाउ स्थितिमा रहेको पोखराको क्रिकेट एकाएक सन् २००३ तिर आएर जुर्मुराउन लाग्यो । आईसीसीले नेपालमा ग्लोबल क्रिकेट एकेडेमी बनाउने निर्णय गर्‍यो । त्यसमा एक दाबेदारस्थल पोखरा थियो । काठमाडौं र पोखराको दाबेदारिता थियो । यसले क्रिकेट पदाधिकारीमै विभाजन ल्यायो । आईसीसीले ग्लोबल एकेडेमीलाई नेपालबाट हात झिक्नुमा पदाधिकारीको खिचातानी पनि एक थियो । जे होस् पोखराले ग्लोबल क्रिकेट एकेडेमीका लागि भनेर पोखरा रंगशालाभित्रको जग्गा पाइसकेको थियो ।


पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनाउन नेपाल क्रिकेट संघले खर्च गर्दै आइरहेको थियो । त्यसले मुहार फेर्न सकिरहेको थिएन् । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले पीपीएल एकाएक पोखरा ल्याउने भयो । क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाका अनुसार पहिला त मैदान बनाउन आउँदा जंगलजस्तै थियो । उनलाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लको साथ थियो । ३ महिना समय छँदै मैदानको रूप नै परिवर्तन भयो । मैदानलाई अहिलेको स्थितिमा ल्याउन मात्र पीपीएलले २० लाखभन्दा बढी खर्च गरिसकेको लामा बताउँछन् ।


पीपीएलको बहानामा पोखरा रंगशालाको क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरको बनिसकेको छ । पीपीएलको एउटा विशेषता त्यही मैदान भएको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई दर्शक बनाउँदै खेल्दै गरेको दृश्यमा सबैजसो मोहित भएका छन् । अर्थात् पीपीएल र हिमालको साझेदारी झन् जमेको छ । १० वर्षअघिजस्तो स्थानीय खेलकुदप्रेमी एवं फोटो पत्रकार सुदर्शन रञ्जितले एसियाली क्रिकेट परिषद्बाट पुरस्कार पाउँदै यो साझेदारीको सम्भावना देखएका थिए । माछापुच्छ्रेको फेदमुनि क्रिकेट खेलिरहेको उनले खिचेको तस्बिर उत्कृष्ट भएको थियो ।


पीपीएल खेल्न आएका यूएईका कप्तान रोहन मुस्ताफा हुन् वा इंग्ल्यान्डका घरेलु क्रिकेटका अनुभवी पिटर ट्रेगो, स्वदेशी तथा विदेशी खेलाडी पोखराका यस मैदानबाट लठ्ठिएका छन् । हिमालमुनि खेल्न पाएको फरक अनुभव बोक्दै उनीहरू यस मैदानलाई पृष्ठभूमि बनाएर नेपाल तटस्थ भूमि क्रिकेट राष्ट्र बन्न सक्नेसमेत तर्क राख्छन् । पीपीएल मार्फत क्रिकेटको आगमनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई नेपालको पयर्टकीय मात्र नभई खेलकुदको राजधानी बनाउने दाबी गर्छन् ।


यही मैदानले पोखराको मात्र नभई नेपालको क्रिकेटलाई उकास्ने विश्वास लिन लागिएको छ । नेपालको क्रिकेट पूरैजस्तो काठमाडौंको कीर्तिपुर मैदानले धानेको छ । राष्ट्रिय प्रतियोगिता मैदान अभावका कारण मोफसलमा जान सकिरहेको छैन । पीपीएलसँगै विशाल स्वरूप पाएको पोखरा मैदानले त्यो अभावलाई पुर्न सक्छ । कीर्तिपुरको मैदानबाट अमन भएर होला नेपाली टोली २०१३ मा बन्द प्रशिक्षणका लागि पोखरा आएको थियो । तर, राम्रो विकेट नपाउँदा नेपाली टोली गतिलो प्रशिक्षण गर्न नपाई फर्किएको थियो । पोखरामा पीपीएल ल्याउन पारस र ज्ञानेन्द्रको त्यही अनुभव पनि काम लागेको थियो ।


पोखरा आफैंमा क्रिकेटको ठूलो संस्कार भएको क्षेत्रमा गनिदैन । फुटबल र भलिबलको दबदबा रहेको पोखरामा पीपीएलले राम्रै जग बसालेको छ । फ्रेन्चाइज क्रिकेटमा ‘गेट मनी’ आमन्दानीको राम्रो स्रोत हो । पीपीएलमा भने दर्शकलाई कुनै टिकट राखिएको छैन् । त्यसको एउटा मुख्य कारण पोखरामा क्रिकेटका दर्शक कम छन् । पीपीएल जारी रहँदा आयोजकले अनपेक्षित अनुभव बटुलेका छन् । दिनहुँजस्तो खेलमा हजार–पन्ध्र सय दर्शक पीपीएल हेर्न आएका छन् । राष्ट्रिय स्तरका सबैजसो खेलाडी पहिलो पटक पोखरामा यति ठूलो प्रतियोगिता खेल्न आएकाले पनि दर्शक लोभिएका छन् ।


नेपालमा फ्रेन्चाइज क्रिकेटको लहर छ । धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगपछि पीपीएल जन्मेको हो । फ्रेन्चाइज क्रिकेटको मामिलामा नेपाल टेस्ट खेल्ने राष्ट्रभन्दा कम देखिँदैन । प्रतिस्पर्धाको होडमा पीपीएलले नगदको हिसाबमा आफूलाई नेपालको सबैभन्दा ठूलो प्रतियोगिताको रूपमा उभ्याएको छ । आगामी संस्करणमा कहलिएका विदेशी खेलाडीको आगमनसँगै पीपीएलले नयाँ उचाइ लिने विश्वास गर्न सकिन्छ ।
***

यू–१९ टोली २००२ को विश्वकप न्युजिल्यान्ड खेल्न जाँदासम्म पनि नेपाल क्रिकेट राष्ट्र भनेर अझैं चिनिएको थिएन् । हिमालको देश भनेर उनीहरू आफ्नै देशका एडमन्ड हिलारी तथा तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेको प्रसंग निकाल्थे । उनीहरूको प्रश्न उही हुन्थ्यो— आखिर हिमाल र पहाडको देशमा क्रिकेट कहाँ खेल्छ ?


प्रतियोगिताको निर्देशक थिए— मार्टिन स्निडन । एक समय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा महँगा बलरमा उनको नाम जोडिएको थियो । उनले नेपालका प्रशिक्षक रोय डाएसलाई देख्नेबित्तिकै सोधिहाले, ‘नेपालमा तिमी के गरिरहेका छौं ?’ स्निडनको भाव थियो, हिमाल र पहाडको देश नेपालमा तिमीले क्रिकेटमा के गर्न सक्छौ भन्ने खालको थियो । डायसले केही उत्तर दिएनन् । नेपालले सो यू–१९ विश्वकपमा पाकिस्तान र बंगलादेशलाई पराजित गरी सनसनी मच्चाउँदै जायन्ट क्लिर्सको उपनाम पायो । नेपाल प्लेट फाइनलमा पुगेपछि डायसले नर्फाएको उत्तर स्निडनले सम्भवत आफैं पाइसकेका थिए ।


‘जंगल’ लाई मैदान बनाउँदा लामासहित उनको पीपीएल टोलीले प्रश्नै प्रश्नले घेरिएको थियो । झाडीले छोपिएको मैदानमा के पीपीएल सम्भव छ ? पोखरामा क्रिकेट संस्कार देखिन्छ र ? पहिलो पटककै प्रतियोगितामा पोखरा क्रिकेटको मैदानको विकेटले यत्रो विकेट थेग्ला ? पीपीएल जसरी चलिरहेको छ त्यसले यो सबैको जवाफ धेरै मात्रामा फर्काइसकेको छ ।
Twitter : @dearbinod

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?