१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आँखा र मनको यात्रा

पुस्तक
कान्तिपुर संवाददाता

काठमाडौँ — कवि तथा समीक्षक चिनारी राख्दै आएका छविरमण सिलवाल ‘ग्रिनविचको साँझ’ शीर्षक पहिलो नियात्रासङ्ग्रह लिएर पाठकसामु आएका छन् । कृतिमा दसवटा नियात्रा छन् । एक साताको लन्डन यात्रालाई केन्द्र बनाई लेखिएको यस कृतिका नियात्रामा अनुभूति, दृश्य र यात्रा एकसाथ जोडिएको छ ।

आँखा र मनको यात्रा

प्रस्तुत सङ्ग्रहका नियात्रामा विशेष गरी साहित्यिक, सांस्कृतिक र पारिवारिक सन्दर्भहरू आन्तरिक परिवेशका रूपमा आएका छन् । आँखा र मन दुवैले हेरिएका दृश्यको वर्णनले पाठकलाई सम्मोहित बनाउने क्षमता राख्ने यी नियात्रामा नियात्राकारका संवेदना घोलिएका छन् । यात्रा र अनुभूतिको सुन्दर संयोजन गरी लेखिएका यी नियात्राहरू रोचक लाग्नुका साथै नियात्रा पढ्दा पाठकलाई आफू स्वयं यात्रा गरिरहेको अनुभूति हुन्छ ।


नियात्रा पढ्दै जाँदा पाठकलाई कौतूहल जगाउन सक्ने सामथ्र्य छ । सरल भाषा र प्रस्तुतिमा पनि गम्भीर भाव सम्प्रेषण गर्न सक्नु नियात्रामा पाइने अर्को विशेषता हो । नियात्राकारले आफ्ना निजी धारणा, विचार, दृष्टिकोण, विश्लेषण, तुलना–प्रतितुलना आदिलाई पनि लेखाइमा बुनेका छन् । नियात्रामा लन्डनको समृद्धि र वैभवको चित्रण गरिए पनि त्यहाँको कोरा प्रशंसा मात्रै छैन ।


लेखकको हार्दिकता नियात्रामा देखिन्छ । क्रिस्चियन मुलकमा भव्य हिन्दु मन्दिर देख्दा होस् या महान् नाटककार सेक्सपियरको जन्मस्थल भ्रमण गर्दा होस्— लेखकमा आएको हार्दिकता र भावुकताले पाठकलाई संवेदित तुल्याउँछ । लन्डनलाई एउटा स्वाभिमानी नेपाली पर्यटकले हेर्दा कस्तो देख्छ, ठीक त्यस्तै रूपमा लेखिएका हुनाले पनि यस कृतिमा विश्वदृष्टि आएको देखिन्छ । शाब्दिक बुक्सले छापेको नियात्रा संग्रह ‘ग्रिनविचको साँझ’ को मूल्य २ सय रुपैयाँ छ ।
ज्ञानु अधिकारी

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?