१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चिबोकमा हिक्मत

पुस्तक
कान्तिपुर संवाददाता

काठमाडौँ — हिक्मत थापा मूलत: गैरआवासीय नेपालीका अभियन्ता हुन् जो एक दशकयता अफ्रिकी मुलुक नाइजेरियाका गैरआवासीय बासिन्दा बनेका छन् । खाद्य प्रविधिका जानकार र त्यही बिषयका विद्यार्थी भएर पनि हिक्मतले मानवीय संवेदनाका आरोह–अवरोहलाई रोक्न सकेका रहेनछन् भनेर अलिक ढिलो पुष्टि भएको छ ।

चिबोकमा हिक्मत

उनले झन्डै ३ दशकको समय अन्तरमा लेखेका झन्डै ३ दर्जन कविताको संग्रह हालै प्रकाशनमा आएको छ— चिबोकका केटीहरू ।


नाइजेरियाको चिबोक भन्ने सहरको भित्री बस्तीमा आतंकवादी समूह बोकोहरामले अपहरण गरेका स्कुले छात्राहरूको स्मरण र संवेदनामा बुनिएर कवि थापाले आफ्नो पुस्तकको नामकरण गरेका छन् । कृतिको नाम अफ्रिकी संवेदनामा जोडेर दिए पनि अधिकांश कविता नेपाल–नेपाली सन्दर्भका छन् । धरानको बिद्यार्थी छँदै कविता लेख्न थालेका हिक्मत धेरै अर्थमा भूमिगत कविझैं रहे । तर, अहिले एकाएक उनको छायाछवि चिनिएका छ— कविजीका रूपमा । कवि थापाको २०४६, चैतमै ‘मधुपर्क’ मा छापिएको कविता (धरान) यस्तो रहेछ—

‘युगौंदेखि निश्चल सुब्बा बाजेको
अस्थिपञ्जर बोकेर
मलाया र हङकङको यात्रापछि
थकाइ मार्नमा नै व्यस्त छ,
फेसन र बोतलको परिवेशभित्र
जिउँदै लोग्नेकी बिधवा ऊ
चुम्बन र आलिंगनमा नै मस्त छ ।’
अरूझैं कविता कृतिमा भरमारको भूमिका लेख्ने–लेखाउने लोभमा कवि हिक्मत पनि तानिएका देखिन्छन् । लघु आकारको ८० पृष्ठको कवितासंग्रहमा कवि सुविद गुरागाई र साम्ब ढकालका झन्डै २० पृष्ठ पृष्ठभूमि/टिपोट राखिएको छ । कविताको गुण–दोषभन्दा पनि ‘थापाजीका कविता सदावहार, सार्वकालिक र धरातलीय यथार्थ निकट छन्’ भनेरै शब्द खर्चिरहेको भूमिकाले कविको चिनारी विस्तारित गराउनेभन्दा आम–कविकै रूपमा स्थापित गराउने डर रहन्छ ।


कवितामा हिक्मतले धेरै प्रयोग गरेका छैनन्, संवेदना र भावनाका तरंगलाई सर्सर्ती कवितामा उतारेका छन् । नाइजेरिया बसेर उनले लेखेको ‘म परदेशी’ कविता होस् अथवा उतै बसेर लेखिएको ‘सम्झनामा दसैं’— अर्थ र भावका हिसाबमा अब्बल कविता छन् । तर, यसो भन्दैमा हिक्मतको यो संग्रहलाई ‘भूतो न भविष्यति’ भनेर सह्राआना मात्रै गर्ने हो भने कविजीको कलम रोकिन सक्छ, यसमा समीक्षकले ध्यान राख्नु जरुरी छ । सांग्रिला बुक्सले निकालेको लघु संग्रहको मूल्य २२५ रुपैयाँ छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?