बस्तीपुर, गिरी र मुसहर बस्ती

प्रतिक्रिया
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमिला गिरीको बारेमा पढेर मलाई बस्तीपुरको अनायास याद आयो । गिरी परिवारमा प्रदीप गिरीले लेखेको मलाई मन पर्छ, वानीरा गिरीको लेखन मलाई मन पर्छ । प्रमिला गिरीको ‘आर्ट’ चाहिं त्यति बुझ्ने क्षमता नभए पनि उनको व्यक्तित्वको म प्रशंसक छु । गिरी परिवार र बस्तीपुरको नाता छ भनेर दस वर्षअघि थाहा पाउँदा म छक्क परेकी थिएँ ।

किनभने प्रदीप गिरीले त्यहींबाट आफ्नो राजनीति बनाए, ‘उनी अनेक दार्शनिक लेख लेख्छन्, गाँधीका, अनुयायी हुन्’ भन्ने थाहा थियो । तर, उनको परिवारले बनारसम गएर उच्च शिक्षा हासिल गरे पनि सायद उनले ‘बस्तीपुर’ को बस्तीलाई चाहिं बिर्सेजस्तै छ । किनभने म बस्तीपुर पुग्दा कोही पनि दलित, मुसहर, चमार, राय, पासवान, डोम । स्कुलमा आउँदैनथे । डोम त सायद अझै पनि स्कुल जाँदैनन् । ‘बस्तीपुरको स्कुल २००४ सालमा खुलेको थियो । त्यहाँ पढ्न भारतबाट पनि आउँथे रे । तर, वरिपरि भएका दलितहरूका लागि त्यो स्कुल प्राय: ‘निषेधित क्षेत्र नै रहेको थियो,’ एक ७० वर्षीय शिक्षकले भनेका थिए । ‘यो त गिरीहरूको राजनितीक क्षेत्र हो । किन सानो रूपमा भए पनि यहाँका दलितहरूलाई शक्तिशाली परिवारले केही प्रेरणा नदिएको होला ।’ मैले प्रमिला गिरीको बारेमा पढेपछि सम्झें । तर, सायद उहाँहरूले धेरै काम गरे पनि, मुसहर बस्तीसम्म पुगेको पनि हुन सक्छ ।


त्यहाँ तर अहिले औपचारिक रूपमा स्कुल निषेधित त छैन तर धेरै दलित बालिका स्कुल जाँदैनन् । सानैमा गौना गर्छन् । उनीहरूको स्कुल जाने सपनालाई कुनै पनि मधेसका नेताहरूले मुद्दा बनाएजस्तो लाग्दैन, त्यसैले गिरी परिवारले ‘किन वास्ता गरेनन्’ भनेर चित्त दुखाउनुपर्ने त कारण सायद छैन । तर, मानवीय व्यवहार नै हो, जो शक्तिशाली छ ऊसँग सायद बढी नै आशा गरिन्छ । मैले भन्ठानेकी छु ‘सायद हामी टाढाबाट बस्तीपुर हेर्ने मानिसले गिरी जति शक्तिशाली परिवार छ, त्योभन्दा बढी नै अपेक्षा गरेको हो कि ?’

Yamaha


बस्तीपुर बारम्बार जाँदा मैले अनुभव गरेकी हुँ कि कति मुसहर महिला नागरिकता नपाएर सरकारले दलितलाई दिएको सुविधा पाएका छैनन् । सायद ती दलित परिवारले आफ्नो व्यथा गिरी परिवारलाई सुनाउन भ्याएका छैनन् । ‘मधेसमा छोरीहरूलाई नागरिकता दियो भने बाबुको सम्पत्तिमा आफ्नो अधिकारको दाबा गर्छन् भन्ने विचार हुन्छ । लोग्नेले पनि विवाह गरेपछि नागरिकता दिन चाहँदैनन्, सम्बन्धविच्छेद भए लोग्नेको सम्पत्ति माग गर्छन् भनेर ।’ यो वास्तविकता त पक्कै पनि गिरी परिवारलाई थाहा नै छ होला । प्रदीप गिरीले कांग्रेसका नेताको हैसियतले यी समस्या उठाउँदा पनि कतै हामीले नसुनेका त होइनौं ? सायद स्थानीय नेताले राष्ट्रिय स्तरका नेता गिरीलाई यो समस्या भन्न नभ्याएका हुन् कि ? सायद कति नेता भन्छन्, ‘हामीले सम्पूर्ण मधेसको मुद्दा उठाइरहेछौं । यति जाबो एउटा बस्तीपुरको त्यो पनि मुसहर, डोम र चमारको मुदा मात्र उठाउने हो र ?’ तर मलाई लाग्छ साधारण समस्या समाधान नभए कसरी जीवन चल्छ ? द्वन्द्व विशेषज्ञ डा. विण्णु उप्रेतीले एक छलफलको कार्यक्रममा भन्नुभएको थियो, ‘मधेसी दलले मधेसी मुद्दा उठाएका नै छैनन् । भूमिहीन मुसहर, हलियाको जीवनको स्तर अति नराम्रो छ तर मधेसका नेताहरूले कुनै पनि नीति, माग र आन्दोलनले भूमिसुधार गरेर भूमिहीनको जीवन बदल्नका लागि आवाज उठाउँदैनन्, उनीहरू मधेसका महिलाप्रति गरिने मानसिक र शारीरिक हिंसाविरुद्धमा बोल्दैनन् । दाइजो प्रथा र बोक्सीको नाममा मधेसका महिलाप्रति गरिने अति अमानवीय कार्यको विरुद्धमा मधेसीमा नेताहरूले आवाज उठाउँदैन ।’ द्वन्द्व विशेषज्ञको विश्लेषण र विचार पनि सायद मधेसका नेताको कानमा पुग्दैन । दर्शनको बारेमा गान्धीको विचार लेख्ने कुनै सिरहाका नेताले आफ्नो लेखमा बस्तीपुर महिलाले ज्ञानको लाठी लिएर गलत सांस्कृतिक मान्यतालाई हटाउन प्रेरित गरेको देखिएको छैन । कहिले उनीहरूले मुसहरको आवाजलाई स्थान दिएको पाइएको छैन ।

मधेसको कुनै पनि आन्दोलनमा कुनै पनि डोम, चमारलाई सँगै लिएर हिँड्नुपर्ने कुरालाई बल दिएका छैन । कुनै दलितका किशोरीहरू कलिलो उमेरमा आमा नबनुन् र स्कुल जाउन् भनेर कुनै मधेसी नेता प्राय: बोल्दैनन् । कुनै पनि मधेस आन्दोलनले मधेसका जिल्ला अस्पताल राम्रो व्यवस्थापन होस् भनेर आवाज उठाउँदैन । तराईका केही भागको मातृ मृत्यु दर कर्णालीमा उच्च छ भनरे तथ्यांक आउँछ, तर त्यहाँक नेताहरू प्राय: यो विषयमा बोल्न रुचाउँदैनन् कि आन्दोलन जीवनसँग जोडिंदैन भन्ने नेताको विचार छ ? प्रदीप गिरीको विचार छ ?
राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनिएको बस्तीपुरको गिरी परिवारका र प्रमिला गिरी, वानीता गिरी र प्रदीप गिरीजस्ता हस्तीहरूले दलित जीवन, शिक्षा, स्वास्थ र उनीहरूको गरिबीबारे बोलिदिए र केही काम गरिदिए बस्तीपुरका ‘चमार’ र ‘पासवान’ का जीवनमा केही उज्यालो आउँयो कि भन्ने आशाचाहिं मलाई भइरहन्छ । यो आशा गर्नुहुन्न भन्ने थाहा पाउँदापाउँदै ।
मधेसका महिलाको आन्दोलनले कुनचाहिं यस्तो मानवीय मुद्दा उठाएको छ जुन मुद्दा सफल भयो भने मधेसका महिला र मुसहर मूल प्रभावमा लाग्न सक्नेछन् ? कुनचाहिं मधेसका नेताले तराईमा भएका हिंसा र बलात्कारको सिकार भएका किशोरीको न्यायका लागि मुद्दा उठाएको छ र मैले प्रदीपजीसँग आशा गर्नु ।


कुनचाहिं मधेस र थारूहरूको आन्दोलनले कैलाली र दाङका पूर्वकमलरीहरूको जीवनमा परिर्वतन ल्याउन कोसिस गरेको छ । मैले गिरी परिवारसँग आशा गर्नु ।


कागजमा हटिसकेको कमलरी र कमैया प्रथा वास्तविक जीवनमा अझै छ र १५ वर्षकी कमलरी स्कुलमा जान खोज्दा कनै सहयोग नपाएर घरेलु काममा फर्केको उदाहरण मधेसका नेता र थारू नेतालाई भए पनि मौन छन् । त्यसैले बस्तीपुरका मुसहरका लागि आवाज उठाउन गिरी परिवारले किन बोल्नुपर्‍यो र ?


घरभित्र शौचालय नभएर राति मात्र महिला ‘खेतमा’ जानुपर्ने बाध्यता कम गर्न कुन नेताले ध्यान दिएका छन् ? दिउसो खेत जान नसक्ने भएकाले आधा पेट मात्र खाएर बस्नुपर्ने मधेसी महिलाको कुपोषण के मधेसी नेताले देखेका छन् ? नेताका परिवारका आमा, बुबा, दिदीबहिनीलाई खेतमा जान पर्दैन, मधेसमा रहेका अस्पताल जानु पर्दैन, कुपोषणको सिकार भएर अकालमा मर्नुपर्दैन त्यसैले त उहाँहरूलाई किन वास्ता हुन्थ्यो त मुसहर महिला समूहको जीवन सुधार्ने वास्ता हुँदैन ।


मधेसको अहिलेको आन्दोलनमा आएमा नेतृत्व वर्गमा कति जना मुसहर/पासवान/डोम महिलाहरू छन् ? कुनचाहिं मुसहर महिलाले यो आन्दोलनमा मलाई उमेर पुगेपछि मेरो नै नागरिकता पाउनु मेरो अधिकार हो । र, म १६ वर्ष पुगेपछि नागरिकता पाउन सक्छु मेरो खातामा मैले कमाएको पैसा राख्न सक्छु भनेर आवाज उठाउन सकेका छन् । उनीहरूले यो आवाज उठाउन सक्दैनन् किनभने उनीहरूको आवाज दबिएको छ । जसले आवाजमा शक्ति भर्ने हो ऊ चुप छ ।


विकासका लागि यस्ता कुरा उठाएर भनिदिए हुन्थो । कति डोमको घरमा शौचालय छ र आन्दोलनले उनीहरूलाई के दिनेर भनेर हेरे, उनीहरूलाई सोधौँ कसरी उनीहरूले चुलोमा आगो बलेको छ बुझिदिए त हुन्थ्यो ।


असाध्य सुन्दर कला बनाउने, सुन्दर लेख्न, सुन्दर भाषण दिने बस्तीपुरका ठूला नेताले बस्तीपुरका मुसहर बस्तीमा केही सुन्दरता ल्याउन सके हुन्थ्यो ।
—डा. अरुणा उप्रेती
काठमाडौं

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

निर्मला, तिमी मरेकी छैनौ

कविता
कालीप्रसाद रिजाल

काठमाडौँ — निर्मला ! तिमी मरेकी छैनौकसले भन्छ तिमी मर्‍यौ ?तिमी त करोडौं करोड विवेकशील मान्छेको आाखामाअमर भएर बााचिरहेकी छ्यौ !

निर्मला ! तिमी मरेकी छैनौ
कसले भन्छ तिमी मर्‍यौ?
तिमी त करोडौं करोड
विवेकशील मान्छेको आाखामा
अमर भएर बााचिरहेकी छ्यौ !
यस शताब्दीको अत्यन्त मार्मिक
हृदयविदारक महाकाव्य भएर
चेतनशील मनमस्तिष्कमा
तिमी बााचिरहेकी छ्यौ !

तिमीलाई मर्‍यौ भन्नलाई त
जीवन र मृत्युको
परिभाषा नै फेर्नुपर्छ
तिमीलाई मर्‍यौ भन्ने हो भने
दङ्दङ्ती गन्हाएर निर्लज्ज
कुर्सीमा बसिरहेका
लासहरुलाई के भन्ने?

मर्‍यो त हाम्रो
न्याय व्यवस्था मर्‍यो
सत्य सेवा सुरक्षा मर्‍यो
देश र जनताको नाममा खाएको
सत्य निष्ठाको शपथ मर्‍यो !

मर्‍यो त
आध्यारोको चक्रव्यूहमा परेर
फुल्कन नपाउादै
लालिमाको रगताम्मेमा
एउटा घाम मर्‍यो !
हाम्रो आस्था विस्वाससित
सहिदहरुको सपना मर्‍यो !

यो ऋषिमुनिहरुको पुण्यभूमिमा
धर्म मर्‍यो, मानवता मर्‍यो
महागो शुल्क लिएर
विद्यालयहरुले बेचिरहेको
शिक्षा मर्‍यो !
बुद्ध जन्मेको देशमा
बुद्धि मर्‍यो ज्ञान मर्‍यो !

तिमीलाई मर्‍यौ भन्नेहरुसित
म सोध्न चाहन्छु
अपराधी र मतियारहरुको
मुटुमा ढयाङ्रो ठोक्नेगरी
देशभरि घन्किरहेको
आवाजचाहिं कसको हो त?
तिमीलाई मर्‍यो भन्नेहरुसित
म प्रश्न गर्न चाहन्छु
कसको डरले कुन सन्त्रासले
एकोहोरो साइरन बजाउादै
दौडिरहेका छन्
बुलेटप्रुफ गाडीभित्र
भयभीत अनुहारहरु??

निर्मला, तिमी मरेकी छैनौ
तिम्रा सहपाठीहरुको हूलमा
म अहिले पनि
तिमीलाई देखिरहेको छु
आफ्ना नातिनी छोरीहरुको स्वरमा
म अहिले पनि
तिमीलाई सुनिरहेको छु

तिमी त बस्तीबस्तीमा
बााचिरहेकी छ्यौ
घरघरमा बााचिरहेकी छ्यौ
म विश्वासका साथ भन्छ
निर्मला ! तिमी मरेकी छैनौ

हो यत्तिचाहिं हो कि
अब चेलीबेटी दिदीबहिनीहरुले
जंगलका हिंस्रक जनावरबाट भन्दा पनि
आफ्नै परिवार टोलछिमेकका
पशुहरुबाट
आफूलाई बचाउनुपर्ने भयो !
र न्याय पनि अब मागेर होइन
लडेर, खोसेर लिनुपर्ने भयो !
सम्पूर्ण निर्मलाहरु एकजुट भएर
निर्मलाको नेतृत्वमा !!

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT