को राम्री, के सुन्दर?

परिचर्चा
भगवान् कृष्णले भनेका छन्— आभूषणको आवश्यकता केटाहरूलाई बढी हुन्छ किनकि केटीहरू त सुन्दरताले यसै परिपूर्ण हुन्छन् ।
डा. विपिन अधिकारी

काठमाडौँ — राम्रा–राम्री वा सुन्दरी कसलाई भन्ने ? सुन्दरता रूप मात्र हो कि अरूथोक पनि हो ? सुन्दरता वा पवित्रता एकअर्कासँग सम्बन्धित छन् कि छैनन्— यी सबै प्रश्नहरूको जवाफ सजिलो छैन । यसमा व्यक्तिगत चाहनाका कुराहरू त हुन्छन् नै । सँगसँगै एकातिर यसको विश्वव्यापी परिप्रेक्ष्य छ, अर्कोतिर सामाजिक, सांस्कृतिक परिप्रेक्ष्यले पनि हाम्रो सोचाइलाई नियन्त्रण गरिराखेको हुन्छ । यी विषयहरूमा घन्टौं कुरा गर्न सकिन्छ ।

सुन्दरताको कुरा एउटा गहन विषय हो । राम्रा–राम्री वा सुन्दरताको बयान नभएको संस्कृति हुँदैन । हिन्दु धार्मिक कथा तथा साहित्यहरूमा पनि राम्रा–राम्रीको प्रसंग निकै आउँछ । हाम्रामा केही यस्ता प्रसंग संस्कृत साहित्यबाट चर्चामा आएका छन् । केही अझ पुराना मिथक हुन् । यस्ता कुरा बुझ्नलाई पहिले आफूलाई खोल्नुपर्छ । तैपनि सबैको बयान एउटै नहोला ।


अंग्रेजी भाषाका कवि तथा नाटककार सेक्सपियर भन्छन्, ‘सौन्दर्य हेर्ने मान्छेको आँखामा हुन्छ ।’ त्यसो भए के राम्रो–नराम्रो भन्ने कुरा व्यक्तिगत अनुभूति मात्र हो त ? त्यसोचाहिं होइन कि ? प्रत्येक समाज र संस्कृतिमा कस्तालाई राम्रो वा राम्री भन्ने ? बारे प्रशस्त लेखिएका छन् । नाक–कान, आँखा–मुख, जिउडालदेखि रोगन र हिंडाइबोलाइसम्मका कुरा मूल्यांकनमा पर्छन् ।

Yamaha


समाजको पनि आफ्नो स्तर होला तर व्यक्तिगत चाहना पनि कम महत्त्वको हुँदैन । व्यक्तिगत स्तरमा आइसकेपछि चाहिं सौन्दर्य हेर्ने मान्छेको आँखामा हुन्छ भन्दा भने मिल्छ होला ।


म सानो छँदा मलाई मेरो हजुरआमा कृष्णमाया सबैभन्दा राम्री लाग्नुहुन्थ्यो । गाउँभरिमा सबैभन्दा गोरी, चिटिक्क परेकी, थोरै बोल्ने, धेरै काम गर्ने, सबैको स्याहार गर्ने । अर्की हजुरआमा भुवनेश्वरी बराल (ईश्वर बरालकी आमा) र ठूलोबा मित्रलाल गिरि (प्रदीप गिरिको बुवा) बालकका रूपमा मैले राम्रो देखेको व्यक्तिहरू हुनुहुन्थ्यो । मेरो व्यक्तिव र सोचाइमा यी तीनै जना आज पनि हुनुहुन्छ । पछि मात्र बुझें, राम्रा–राम्री त अरू पनि हुँदा रैछन् ।


पश्चिम आफ्रिकामा एक पटक म र मेरो श्रीमतीले एउटा ’ब्युटी कन्टेस्ट’ हेर्ने मौका पायौं । पैसा तिरेर । सबै काला । तर, काली राम्रीहरूको बीचमा तीव्र प्रतिस्पर्धा थियो । मैले महाभारत सिरियल सम्झिएँ । महाभारत प्राचीनतम साहित्य हो । महाभारतकी पाँच पाण्डवकी पत्नी द्रौपदी धेरै राम्री मानिन्थिन् । उनलाई मन पराउनेको कमी थिएन । उनले पाँच पति स्वीकार गरिन् तर तीमध्ये अर्जुनलाई मात्र मन पराइन् । उनको कालो वर्णले उनलाई नराम्रो बनाएन । राम्रो हुन गोरो नै हुनु नपर्ने रहेछ । धेरै उदाहरणबाट यति कुरा पक्कासँग भन्न सकिन्छ ।


राम्रीहरूको कुरा गर्‍यो कि अप्सराहरूको प्रसंग आउँछ । उर्वशीलाई इन्द्रको दरबारको धेरै राम्री अप्सरा भनी वर्णन गरेको पाइन्छ । मेनकाको रूप झनै थाम्न नसकिने मानिन्थ्यो रे । तिलोत्तमा त्यस्तै नाम चलेकी अप्सरा थिइन् । समाजले तिलोत्तमालाई बिर्सेको छैन । अहिले नेपालमा तिलोत्तमाको नाममा एउटा नगरपालिकाको पनि गठन भएको छ । राम्रीहरू वैवाहिक जीवनमा आबद्ध हुनैपर्छ भन्ने पनि रहेनछ । सामान्यत: अप्सराहरू स्वच्छन्दतामा रमाएका देखिन्छन् । बिहे बन्धनको कुरो छैन । यो अर्को पक्का तथ्य हो ।


राम्रीहरूको आफ्नो किसिमको चरित्र हुन सक्छ । राम पत्नी सीता अप्सरा नभए पनि अति राम्री मानिन्थिन् । रूप र चरित्र दुवैमा उनको चर्चा हुन्थ्यो । उनको स्वयंवरमा धेरै युवराजहरूले भाग लिएका थिए रे । तर, उनले शिवधनुमा ताँदो चढाउन सफल रामलाई नै वरण गरिन् । शिवपत्नी पार्वतीलाई त्रिपुरासुन्दरी भनिएकै छ । उनी हिमवतखण्डकी सबैभन्दा ठूली नायिका भन्दा हुन्छ । गौतम मुनिकी पत्नी अहिल्या राम्री मात्र होइन कि उनलाई १६ वर्षे यौवना रहिरहने वरदान प्राप्त थियो । उनलाई ब्रह्माकी छोरी भनिन्छ । उनी ग्रिक पुराणको ‘हेलेन अफ ट्रोय’ जस्तै प्रसिद्ध हुन् । अन्यगमनमा पनि उनको नाम आउँछ । विष्णु पत्नी सरस्वती धेरै गोरी थिइन् भनिन्छ । उनी गोरी सुकिली मात्र नभई विद्यादायिनी पनि मानिएकी छन् । राम्रा–राम्रीका यी अलगअलग उदाहरण हुन् । उनीहरूको चरित्र, मूल्य मान्यता सबै कुरामा विभिन्नता छ ।


कामदेवकी पत्नी रति राम्री मात्रै नभई कामिनी पनि मानिन्थिन् । शकुन्तलाकी आमा मेनकाको झन् के कुरा गर्नु ।


१६००० वर्षदेखिको ऋषि विश्वामित्रको तपस्या यिनैले आफ्नो रूप र भंगीमाले भंग गराइन् । मोहिनी अर्की सुन्दरी हुन् ( देख्ने जति सबैलाई मोहित पार्ने । जस्तो नाम त्यस्तै गुण थियो उनको । रावणकी पत्नी मन्दोदरी यति राम्री थिइन् कि सुन्दरतामा नाम चलेकी सीता खोज्न लंका गएका हनुमानलाई यिनै सीता हुन् कि ? भनेर झुक्किएको रामायणमा उल्लेख छ । तर, रावण अर्की सुन्दरी रम्भाको जबर्जस्ती करणी गर्न पुग्छन । सुन्दरताले सबैको भोक र रोगको निराकरण भने नगर्ने रहेछ ।


सिन्धु उपत्यकाका अवशेषहरूमा पाइएको यक्षिणीको मूर्तिले पनि सुन्दरताको एउटा नमुना देखाउँछ भन्छन । अजन्ता र एलोराका गुफाहरू पनि सुन्दरीहरूको चित्र कम देखिंदैनन् रे । सुन्दरताको प्रतिमूर्ति भनिने देवदासी र आम्रपाली, वसन्तसेना र चित्रलेखाजस्ता राजनर्तकीहरूको वर्णन पनि साहित्यमा अझै चर्चित छ । मिथक तथा साहित्यहरूमा राम्राराम्री र सुन्दरताको सबै हिसाबकिताबमा विविधता छ ।


केटाहरूलाई को राम्रो ? भन्दा रूपको कुरा नहुन सक्छ । नाम चलेका वीर वा लडाकुहरूको वृत्तान्त पाइन्छ विभिन्न संस्कृतिमा । आक्केडियन धेरै पुराना लडाकुहरू हुन् । हिटीहरू त्यसपछिका मानिन्छन् । रोमन सभ्यता सुरु भएपछि शूरवीरहरूको पंक्तिमा रोमनहरू नै देखिन्छन् । ग्रिक पुराणमा हक्र्युलस सबैभन्दा बलिया योद्धामा पर्छन् । नौवटा टाउको भएको हाइड्रा मारेको उसको बखान छ । ‘ट्रोजन वार’ मा सबैभन्दा सिपालु लडाकुको ठाउँ अचिलसको छ । इथाकाका राजा ओडिस्सस पनि बलिया थिए ।


होमरले ‘इलियाड’ मा यसका बारेमा लेखेका छन् । ‘ओडिस्सी’ मा पनि लेखिएको छ । पर्सियसले गोर्गोन मेडुसा भन्ने भयावह राक्षसलाई मारेको ग्रिक पुराणमा उल्लेख छ । बिचराहरूको सुन्दरताको अभिव्यक्ति भने कतै पाइँदैन । यिनमा कालो गोरोको कुरा पनि देखिंदैन । नेपालका कालु पाण्डे नामैले काला थिए होलान् तर हामीलाई थाहा छैन वीर भक्ति थापा, बहादुर शाह वा जंगबहादुर काला थिए कि गोरा ?


भगवान् कृष्ण र राम दुवै कालै मानिन्छन् । गोरो वर्णप्रतिको आसक्तिले उनीहरूमा कुण्ठा थपेको देखिंदैन । एउटाले धर्म ज्ञानबाट सुन्दरता आर्जन गरे, अर्काले मर्यादा पुरुषोत्तम भएर । पहिलाले राधाको मुस्कानमा जीवन खोजे, दोस्राले सीताको सरलतामा । तर, राम्रो देखिन केटाहरूले पनि बल गरेका छन् ।


राम्रो देखिने लालसाले नै त पुरुषहरूले पनि गहना एवं नानाथरी का वस्त्रहरू लगाएका होलान् । बालक तथा केटौले कृष्णले मयूरपंखी मुकुट र करधनी धारण गरेको देखिन्छ । कृष्णले भनेका छन्— आभूषणको आवश्यकता केटाहरूलाई बढी हुन्छ किनकि केटीहरू त सुन्दरताले यसै परिपूर्ण हुन्छन । भगवान्को कुरा यस्तो छ भने मत्र्यलोकका मनुवाहरू कसरी पछि पर्लान् त ?


हिन्दी फिल्मका प्रसिद्ध नायिकाहरू हेमा मालिनी, वहिदा रहमान वा वैजयन्ती मालामा को राम्री ? निर्णयकर्ताले एउटालाई मात्र छान्दा जस नपाउलान् । अचेलकी ‘टप’ हिरोइन दीपिका पादुकोणे यसै श्रेणीकी नायिका हुन् कि ?


के बाँकी रहयो त अब ? धेरै कुरा बाँकी छन् । प्रेम, धैर्य, त्याग, सर्मपण र सरलताबिना सुन्दरताको अवधारणा धेरै टिकाउ हुँदैन । ईश्वर त्यसैमा हुन्छ । यस अर्थमा सुन्दरता चिरस्थायी हुन्छ । समय बित्दै जाँदा चाउरी पर्ने बेलामा पनि सुन्दरता पखालिन्छ कि भनी पिर मान्नुपर्दैन । यो कुरामा महात्मा गान्धी सही देखिन्छन, ‘वास्तविक सोन्दर्य हृदयको पवित्रतामा हुन्छ ।’ तर के हो यो पवित्रता भनेको ?


कत्तिलाई सुन्दरताको अवधारणा बयान गर्ने कुरा नै लागेन । भगवान् बुद्धले निर्वाण प्राप्त गर्ने कुरालाई महत्त्व दिए । तृष्णा क्षीण भएको अवस्थालाई उनले निर्वाण भनेका छन् । निर्वाण प्राप्तिका लागि हिंसा नगर्ने, सत्य बोल्ने, रक्सी नखाने, सम्पत्ति नराख्ने आदि १० वटा नियम बाँधिदिए । त्यसमा महिलाहरूदेखि परै बस भन्ने नियमले पनि ठाउँ पायो । सांसारिक दु:खबाट मुक्ति खोज्ने हो भने अष्टांगिक मार्गको साधना गर्नुपर्छ भन्ने उनको मान्यता थियो ।


यसमा दृष्टि, संकल्प, वाणी, कर्म, आजीव, व्यायाम, स्मृति र समाधि सबै सम्यक् हुनुपर्छ भन्ने अपेक्षा छ । बौद्ध धर्म अनीश्वरवादी धर्म हो । यसमा आत्माको परिकल्पना पनि छैन । तर यसले पुनर्जन्मको कुरा भने गर्छ । राम्रा–राम्रीको प्रसंगविहीन बुद्ध जीवन शैली नीरस लाग्न सक्छ । तर हृदयको पवित्रताको बोध केवल बुद्धले मात्र गराउन सक्नेछन् । सुन्दरता यदि महत्त्वपूर्ण विषय हो भने बुद्ध प्रसंगविहीन हुने छैनन् । त्यसैले ‘सत्यम्, शिवम्, सुन्दरम्’ भनिएको हो कि ?


तर के हो ‘सत्यम्, शिवम्, सुन्दरम्’ अर्थ ? यदि यो नै सत्य हो भने किन मान्छेहरू शुद्धता, इंन्द्रिय–निग्रह वा सतीत्वको कुरा गर्छन् ? किन यौन संयमको कुरा गरिन्छ ? समाजले विवाहपूर्वको सम्बन्ध वा विवाहबाहिरको सम्बन्धलाई किन आपत्ति गर्ने ? समाजमा किन बिहे (बन्धनको अवधारणा चाहियो ? राम्रा वा राम्री किन सधैं स्वतन्त्र बन्न सक्दैनन् ? नीतिशास्त्रले के भन्छ ? कसले दिने यी सबै प्रश्नहरूको जवाफ ? चाहे हिन्दु धर्म होस् वा बौद्ध, क्रिस्तान होस् वा इस्लाम, कुनै धर्मले पनि राम्रा–राम्री वा सुन्दरीहरूको सम्मान गरेको देखिंदैन । सम्हालिन नसकेको प्रेमलाई कहिले अन्यगमन, कहिले जारी, कहिले पतिलंघन भनिएकै छ । यसले कहिले व्यभिचारको नाम पाएको छ भने कहिले कुकर्मको ।


अरू पक्ष पनि छन् पवित्रताको । किन विवाहिता बीचको सम्बन्ध पवित्र हुन्छ । तर गर्भनिरोध उपाय चाहिं अपवित्र ? रोमन क्याथोलिक्सले त त्यसै भन्छन् । किन हिन्दु वा बुद्ध धर्ममा जोगी, बैरागी वा भिक्षुहरू प्रेममय हुन नपाउने ? कुरानमा पवित्रताको सबैभन्दा प्रसिद्ध उदाहरण भनेको ‘भर्जिन मेरी’ हुन् भनिन्छ । मैथुनिक प्रक्रियामा सहभागी नभई गर्भधारण गर्न सकिन्छ र ? मानौं त्यो त देउता देउतीको कुरा भयो, मान्छेमा त्यो सम्भव छ र ? सनातनी हिन्दुहरू अझ ब्रह्मचर्यको कुरा गर्छन् । दमित इच्छालाई ब्रह्मचर्य भन्न मिल्ला र ? किन यी सबै रुष्ट देखिन्छन् प्रेम र न्यानोपनमा ? यी धर्म कथाहरू प्रतीकात्मक हुन् भने यिनले वास्तवमा के बुझाउन खोजेका हुन् त ?


हो, सुन्दरता वा पवित्रताको कुरा जीवन कसरी बाँच्ने भन्ने प्रश्नसँग पनि जोडिएको छ । रामायणमा एउटा प्रसंग छ । रावणको सुन्दरताको कुरा कतै लेखिएको मलाई थाहा छैन । रावण मरणासन्न अवस्थामा पुगेपछि भगवान् रामले लक्ष्मणलाई रावणसँग अर्ती लिन पठाउँछन् । उनलाई लाग्छ— शत्रु नै भए पनि रावण अदम्य शक्ति, साहस, क्षमता र नीतिशास्त्र बुझेका मान्छे हुन् । उनी बिदा हँुदै छन् । उनको जीवनको शिक्षा उनीसँगै खेर जानु हुदैन ।


दाजैको आज्ञा पालन गर्न गएका लक्ष्मणलाई युद्धमा ढालेका रावणले दुखेसो गर्छन्, ‘हे लक्ष्मण, मलाई लंकाको चारैतिरका सय योजन समुद्रको पानी गुलियो पार्ने मन थियो । म मेरो सुनको लंका हर्हरी वासना आउने बनाउन चाहन्थें । जिउँदै स्वर्ग जाने भर्‍याङ तयार हुनै लागेको थियो । मैले मृत्युलाई पनि वशमा गर्न सक्ने थिएँ । तर, यस्ता जाबो काम भनेर मैले बेलैमा गरिनँ, सिध्याइनँ । आज पूरा गर्न सक्ने यी सबै इच्छा मेरा लागि अतृप्त इच्छा भए ।


त्यसैले अर्ती लिन आएका लक्ष्मणलाई उनले भने— कुनै कामलाई सानो नमान्नू । राम्रो कुरा जतिसक्दो चाँडो गर्नुपर्छ— शुभस्य शीघ्रम् । आफ्नो शत्रुलाई कहिल्यै आफूभन्दा सानो नभन्नू । मैले यिनै भूल गरें । मैले जसलाई साधारण बाँदर–भालु भनें, उनीहरूले मेरो सम्पूर्ण सेनालाई सिध्याइदिए । मैले ब्रह्माजीसँग तपस्याको बलमा अमरताको वरदान माग्दा मान्छे र बाँदर–भालुबाहेक कसैले मेरो वध गर्न नसकोस् भन्ने दम्भपूर्ण वर मागें । मलाई मान्छे र बाँदर–भालु दुवै तुच्छ लाग्थे ।


मेरो बलका अगाडि यी के हुन् र ? भन्ने लाग्थ्यो । मबाट ठूलो गल्ती भयो । आफ्नो सूत्रहरू पनि अरूलाई भन्नु हुँदैनथ्यो । मैले आफ्नो मृत्युको सूत्र भाई विभीषणलाई भन्नु हुन्थेन । गल्ती गरें, भाइले पनि दगा गर्‍यो । तिमीहरूलाई पोल लगायो... इत्यादि । यो त तीन हजार वर्षपहिले लेखिएको राम कथाको कुरा भयो । अब पुरानो लाग्छ । यहाँ के स्पष्ट गर्न खोजिएको हो भने राम्रा–राम्री वा सुन्दरताको कुरोसँगै सत्य र निष्ठा प्रसंगलाई छोड्नु हँुदैन । यो जीवनको आध्यात्मिक पक्ष हो । रावणको सुन्दरता यस्ता कुरामा खोज्नुपर्छ ।


प्रसिद्ध अंग्रेजी नाटककार जार्ज बर्नार्ड शा तथा रूप र लावण्यकी धनी इजाडोरा डंकनबीचको एउटा संवाद उसबेलादेखि नै चर्चामा छ । थाहा छैन यो सही हो कि गलत । हल्ला हो कि वास्तविकता । आफ्नो तिखो दृष्टिकोणका लागि नाउँ कमाएका बर्नार्ड शालाई प्रणययाचना गर्दै डंकनले भनिछन्, ‘यदि तपाईं तयार हुनुभयो भने हामीले यस्तो नानी पाउन सक्नेछौं जोसँग तपाईंजस्तो मस्तिष्क हुनेछ र मजस्तो सुन्दरता । सोच्नुस् त † कति अद्वितीय होला यो मिलन ?’ उमेरले डंकनभन्दा धेरै पाका जर्ज बर्नार्ड शाले नवयौवना डंकनसँग ठट्टा गरेछन्, ‘मूर्ख सुन्दरी † मलाइ डर लाग्छ किनकि हामीले पाउने त्यो नानी तिमीले भने जस्तो नभएर मजस्तो रूपविहीन र तिमीजस्तै मूर्ख हुने सम्भावना पनि उत्तिकै छ नि ?’


हो, राम्रा–राम्री र सुन्दरताको कुरा केवल रूपसँग मात्र सम्बन्धित छैन, यो मस्तिष्कसँग पनि सम्बन्धित छ । संसार अन्तत: मस्तिष्कले चलाउँछ, राम्रा–राम्री वा सुन्दरहरूले होइन ।

अश्लीलता, प्रेम र पवित्रता
केही अघि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र यो लेखकले सिकागो विश्वविद्यालयकी प्राध्यापक वेंडी डोनिजरले लेखेको ‘अन हिन्दुइज्म’ भन्ने किताब सँगै किन्यौं । उबेलाका जर्मन धर्म प्रचारक म्याक्स मुलरदेखि आजका पश्चिमी विज्ञ वेंडी डोनिजर, सेड्डन् पोल्लाक वा मार्था नस्स्सबाम इत्यादि हिन्दु धर्म, संस्कृति र यस क्षेत्रसँग सम्बन्धित विषयहरूमा आलोचनात्मक सोचाइ राख्छन् ।


अधिकांश भारतीय विद्वान्हरू भने उनीहरूजस्तालाई विवादास्पद मान्छन् । नेपालीले हिन्दु धर्म र सभ्यतालाई भारतको जिम्मा लगाइदिएको छ । यहाँ रमिता मात्र हेरिन्छ । यसका बारेमा अध्ययन, चर्चा–परिचर्चा हुँदैन । खासमा डोनिजरले लेखेको ‘द हिन्दुज : एन अल्टरनेटिभ हिस्ट्री’ कतिले मन पराएनन् । अर्काको धर्म र संस्कृतिका बारेमा कुरा गर्दा चाहिने सोमत डोनिजरमा भएन भन्ने उनीहरूको आरोप छ । वेंडीको सम्पूर्ण लेखनको मूल आधार विदेशी गैरहिन्दु सामग्रीहरू नै छन् । यस विषयका विश्लेषकहरूले नै तथ्य कुरा बुझ्लान् ।


यहाँ डोनिजरलाई केवल एउटा उदाहरणको रूपमा लिन खोजिएको हो । वात्स्यायनले लेखेको ‘कामसूत्र’ पनि अंग्रेजीमा उल्था गरेकी डोनिजरलाई हिन्दु धर्मको व्याख्यामा ‘कामसूत्र’ ले जता पनि सताएको देखिन्छ । उनी रामायणले हाडनाता करणीको सम्बन्धको शिक्षा दिन्छ भन्न पछि पर्दिनन् । दशरथका छोरा राम कामुक थिए भन्ने उनको अर्को दाबी छ । बिहे हुनुभन्दा पहिले नै महाभारतकी कुन्तीले छोरा पाएको कुरा उनले उल्लेख गरेकी छन् । सूर्यले जबर्जस्ती गरी उनलाई गर्भाधान गरेको डोनिजरको भनाइ छ ।


सिन्धु वा सरस्वतीको सभ्यताका तस्बिरहरू पवित्र नभएको पनि डोनिजर भन्छिन । हिन्दु देवीहरू केवल ठूला फाँचा भएका महिलाहरू हुन् । ठूला फाँचा यौनकर्मीका लागि जति उपयोगी हुन्छ त्यति नै हिन्दु ईश्वरीहरूका लागि पनि हुन्छ भन्न उनी धक मान्दिनन् । उनको किताबको बाहिरी भोटोमा भगवान् कृष्ण घोडामा चढेको देखाइएको छ । तर, घोडाको जिउ नांगा युवतीहरूबाट बनाइएको छ । ठाडो रूपमा नभने पनि सामान्य हिन्दु पाठकहरूले डोनिजरले हिन्दु धर्मलाई केवल अश्लील साहित्य मात्र हो भनेकै बुझ्छन् ।


अश्लीलतामा न राम्रा–राम्री वा सुन्दरी देखिन्छन् न प्रेम वा पवित्रता । अलिकति ठूलो धरातलमा हेर्न खोजेको भए डोनिजरले यी प्रसंगहरूमा ‘सेक्स’ वा ‘लस्ट’ बाहेक अरू कुरा पनि पाउन सक्थिन् होला । सुन्दरतालाई बुझ्ने चाहना उनले गरिनन् कि ? सत्य जे होला तर धार्मिक सांस्कृतिक विषयवस्तुलाई यसरी अवश्य नै हेरिंदैन ।

‘कुमारसम्भव’ र पार्वतीको बयान
महाकवि कालिदासको रचना ‘कुमारसम्भव’ संस्कृतका मुख्य महाकाव्यहरूमध्ये एक मानिन्छ । झट्ट हेर्दा नेवारीमा ‘स्वस्थानी’ लेख्ने पण्डितले ‘कुमारसम्भव’ बाटै प्रेरणा लिएको हो कि ? भन्ने पनि लाग्छ । यसमा कालिदासले हिमालयवर्णन, पार्वतीको तपस्या, ब्रह्मचारीको शिवनिन्दा, वसन्त आगमन, शिवपार्वती विवाह र रतिक्रिया वर्णन गरेका छन् । उनले हिमकन्या पार्वतीको निकै वर्णन गर्छन्, कहिले बाला पार्वतीको रूपमा कहिले तपस्विनी पार्वतीको रूपमा ।


पार्वती विनयवती पनि देखिन्छिन्, रूपवती पनि देखिन्छिन् । सुन्दरतालाई कालिदासले लट्पटयाउँदै अतिरिक्त क्रियाकलापसम्म पुर्‍याउँछन् । बिचरा शिवलाई मूलपात्रका रूपमा उभिन शक्ति र क्रोधको सहारा लिनुपर्ने अवस्था हुन्छ । कतिपयको भनाइ छ, शिवपार्वतीको गोप्य क्रियाकलाप वर्णन गरेको पाप लागेर कालिदासको जिउमा कुष्ठ उम्रियो । अनि उनले ‘कुमारसम्भव’ लाई आठ सर्गभन्दा अघि लान सकेनन् । त्यो काम अरूले गरे । घुमिफिरी धार्मिक साहित्य सिर्जना पनि सुन्दरताको कल्पनाभन्दा बाहिर जान गाह्रो पर्ने रहेछ ।

विश्वेश्वर र ‘सुम्निमा
पवित्रताको कुरा सति सावित्रीको मापदण्डबाट मात्र हेरिंदैन कि ? समाजको इच्छापछिको कुरा हो । जीवन व्यक्ति व्यक्तिको आफ्नो इच्छाबाट प्रस्फुटन हुन्छ । विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘सुम्निमा’ यससम्बन्धी एउटा सरल अभिव्यक्ति हो ।


प्रेम र पवित्रताको गहिराइ अरण्यवासमा कठोर ब्रह्मसाधनामा हुर्किएको बाहुन सोमदत्त तथा सरल एवं उदात्त जीवनमा हुर्किएकी किराँतकन्या सुम्निमाको प्रेमउन्मुख द्वन्द्वले देखाउँछ । जीवनलाई क्लिष्ट बनाउनु हुँदैन । जीवनको अर्थ बाँच्नुमा छ । दमित इच्छा, भावना एवं मनोद्वेगले बाँच्न दिंदैन । किशोरवयकी कनकवदनी सुम्निमाबाट आफ्नो तपलाई चोखो राख्न प्रयासरत यति कुरा बुझ्न नसकेको सोमदत्तले उसलाई जिउ ढाकेर हिंड्न भन्दछ । उसलाई सुम्निमाको सुन्दरतामा शंका छैन । तर, ऊ त्यसबाट प्रभावित हुन चाहँदैन । ऊ आफ्नो इच्छा दबाउन चाहन्छ । आफ्नो तपस्या प्राकृतिक सुन्दरताकी प्रतिमूर्ति सुम्निमाबाट भंग नहोस् भन्ने चाहन्छ ।


स्वच्छ मनकी सुम्निमाले कृत्रिमताले भरिएको सोमदत्तलाई जवाफ दिन्छे, ‘नाइँ मलाई लाज लाग्छ लुगाले जिउ ढाक्दा, अप्ठयारो लाग्छ, साँच्चै ।’ जीवनको सरलता उसले खुलापनमा देख्छे । ईश्वरले दिएको खुलापन । यो सत्य बुझ्न बाहुन सोमदत्तले लामो जीवनयात्रा पार गर्नुपर्छ । त्यो टुंगिन लाग्दा वर्षौंको झूटो अभिमान बेहोरिसकेपछि भेटिएकी एउटी छोरीकी आमा भइसकेकी सुम्निमालाई उसले गलेको स्वरमा सोध्छ, ‘तिमी सुखी छयौ, सुम्निमा ?’ उसले जवाफ दिन्छे, ‘घाउ लागेको रूख पनि त हुर्किन्छ नि, यदि त्यसमा बाँच्नलाई चाहिने रस बाँकी छ भने र सहज स्वभावमा त्यसले हुर्किन पायो भने । फेरि, मेरो दुल्हा तिमीजस्तै छ, ऊसँग रात बिताउँदा तिमीसँगै छु जस्तो लाग्छ । यस्तै सपनालाई अँगाल्दै त हिंड्नुपर्छ नि बाँच्नु छ भने ।’

(लेखन सहयोग : उमेश गौतम)

प्रकाशित : कार्तिक १७, २०७५ ०८:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निर्मला, तिमी मरेकी छैनौ

कविता
कालीप्रसाद रिजाल

काठमाडौँ — निर्मला ! तिमी मरेकी छैनौकसले भन्छ तिमी मर्‍यौ ?तिमी त करोडौं करोड विवेकशील मान्छेको आाखामाअमर भएर बााचिरहेकी छ्यौ !

निर्मला ! तिमी मरेकी छैनौ
कसले भन्छ तिमी मर्‍यौ?
तिमी त करोडौं करोड
विवेकशील मान्छेको आाखामा
अमर भएर बााचिरहेकी छ्यौ !
यस शताब्दीको अत्यन्त मार्मिक
हृदयविदारक महाकाव्य भएर
चेतनशील मनमस्तिष्कमा
तिमी बााचिरहेकी छ्यौ !

तिमीलाई मर्‍यौ भन्नलाई त
जीवन र मृत्युको
परिभाषा नै फेर्नुपर्छ
तिमीलाई मर्‍यौ भन्ने हो भने
दङ्दङ्ती गन्हाएर निर्लज्ज
कुर्सीमा बसिरहेका
लासहरुलाई के भन्ने?

मर्‍यो त हाम्रो
न्याय व्यवस्था मर्‍यो
सत्य सेवा सुरक्षा मर्‍यो
देश र जनताको नाममा खाएको
सत्य निष्ठाको शपथ मर्‍यो !

मर्‍यो त
आध्यारोको चक्रव्यूहमा परेर
फुल्कन नपाउादै
लालिमाको रगताम्मेमा
एउटा घाम मर्‍यो !
हाम्रो आस्था विस्वाससित
सहिदहरुको सपना मर्‍यो !

यो ऋषिमुनिहरुको पुण्यभूमिमा
धर्म मर्‍यो, मानवता मर्‍यो
महागो शुल्क लिएर
विद्यालयहरुले बेचिरहेको
शिक्षा मर्‍यो !
बुद्ध जन्मेको देशमा
बुद्धि मर्‍यो ज्ञान मर्‍यो !

तिमीलाई मर्‍यौ भन्नेहरुसित
म सोध्न चाहन्छु
अपराधी र मतियारहरुको
मुटुमा ढयाङ्रो ठोक्नेगरी
देशभरि घन्किरहेको
आवाजचाहिं कसको हो त?
तिमीलाई मर्‍यो भन्नेहरुसित
म प्रश्न गर्न चाहन्छु
कसको डरले कुन सन्त्रासले
एकोहोरो साइरन बजाउादै
दौडिरहेका छन्
बुलेटप्रुफ गाडीभित्र
भयभीत अनुहारहरु??

निर्मला, तिमी मरेकी छैनौ
तिम्रा सहपाठीहरुको हूलमा
म अहिले पनि
तिमीलाई देखिरहेको छु
आफ्ना नातिनी छोरीहरुको स्वरमा
म अहिले पनि
तिमीलाई सुनिरहेको छु

तिमी त बस्तीबस्तीमा
बााचिरहेकी छ्यौ
घरघरमा बााचिरहेकी छ्यौ
म विश्वासका साथ भन्छ
निर्मला ! तिमी मरेकी छैनौ

हो यत्तिचाहिं हो कि
अब चेलीबेटी दिदीबहिनीहरुले
जंगलका हिंस्रक जनावरबाट भन्दा पनि
आफ्नै परिवार टोलछिमेकका
पशुहरुबाट
आफूलाई बचाउनुपर्ने भयो !
र न्याय पनि अब मागेर होइन
लडेर, खोसेर लिनुपर्ने भयो !
सम्पूर्ण निर्मलाहरु एकजुट भएर
निर्मलाको नेतृत्वमा !!

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT