कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सपनाजस्तै सोल

यात्रा
विमानस्थलको मनी एक्सचेन्जरमा कोरियन वन साटयौं । एक सय डलर साट्दा एक लाख सात हजार कोरियन वन भएको थियो । एकाएक लखपति भएजस्तै अनुभूति भयो । 
विद्या राई

काठमाडौँ — हालैको अक्टोबर पहिलो साता दक्षिण कोरिया पुगेर पहिलो विदेश यात्राको अनुभव गरियो । हङकङ ट्रान्जिट हुँदै सोल पुग्ने तालिकाअनुसार रातको करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल एकबाट यात्रा सुरु भयो । 

सपनाजस्तै सोल

हङकङ अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा बिहानी भइसकेको थियो । विमानस्थल पूर्वपट्टि उदाउँदो घामको लोभलाग्दो दृश्य बयान गरिसाध्य थिएन । किनकि म काठमाडौं बस्न थालेको आठ महिना बित्दासम्म त्यसरी उदाउँदो घाम हेर्ने मौका कहिल्यै जुरेको छैन । म निकै मन्त्रमुग्ध बनें । दुई/चार ‘स्न्याप’ तस्बिर पनि क्यामरामा कैद गरें । उपत्यकाजस्तो लाग्ने समुद्री किनारमा विमानस्थल । माथितिर ठूलासाना पहाड । काठमाडौं उपत्यका र माथितिर चन्द्रागिरि डाँडालाई सम्झिएँ ।


हङकङमा करिब दुई घन्टाको ट्रान्जिट समय कटयो । हङकङ विमानस्थलको टर्मिनल एकबाट साढे तीन घन्टामा कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल एकमा पुगियो । ‘मनी एक्सचेन्जर’ मा कोरियन वन साटयौं । एक सय डलर साट्दा एक लाख सात हजार कोरियन वन भएको थियो । ‘एकाएक लखपति भैयो नि’ हामीमध्येको निमेन्द्र शाही दाइले ठट्टा गर्दै भन्नुभयो । झ्याप्पै लाख रुपैयाँ गोजीमा सानै बेग्लै । तर, धेरै टिकेन ।


विमानस्थलबाट होटलसम्म जानलाई बसको टिकट काट्दा काउन्टरमा १६ हजार थमाउनुपरेपछि चकित भैयो । निमेन्द्र दाइका भाषामा एकैचोटि हजारपति भैयो । कोरियन वन १६ हजार नेपाली १६ सय रुपैयाँ बराबर हुन्छ । बसले करिब एक घन्टामा हामी बस्ने हिल्टन होटल पुर्‍यायो । विमानस्थलदेखि होटलसम्मको दूरी सरदर ७६ किमि छ । त्यहाँको करिब ३ बजेको थियो होटल पुग्दा । त्यसबीचमा देखेका दृश्यहरूले मन मात्रै लोभ्याएनन् आश्चर्यमा पनि पारे ।



सरसफाइमा सान

विमानस्थलबाट बस चढेर होटल जाँदै गर्दा सडक र वरिपरिका दृश्य देख्दा लाग्थ्यो, दृश्यपानको पनि पैसा तिर्नुपर्ने पो हो कि ! चिटिक्क सडक । सुतौंसुतौं लाग्ने । टेक्दा पनि चप्पल–जुत्ता खोलेर मात्रै टेकौं लाग्ने । सरसफाइको कुरै नगरौं । सडकका दायाँबायाँ हरियाली जंगल । सोललाई नजिकैबाट नियाल्दा हाम्रो केन्द्रीय राजधानी काठमाडौंलाई तुलना गर्दै गएँ । तर, धेरै कुरा अतुलनीय लाग्यो ।



रूखमा टेको

आश्चर्यको कुरो त के भने टेको नलाएका कुनै रूख थिएनन् । टर्मिनल एकदेखि नियाल्दै होटलसम्म पुग्दा अनि सोल टावर र नाम्सान पार्क घुम्दा टेको नलगाएको र नबागिंएका कुनै रूख थिएनन् । मूर्ख मनले सोच्दा कोरियालीहरूको कामै छैन । रूखलाई टेको लाउँदै बस्दा र’छन् । हामी नेपाली भएका रूखलाई पनि विकास, इन्धन, आवासका नाममा ढाल्छौं, डोजर लगाएर फँडानी गर्छौं । उनीहरू टेको लाएर मरिहत्ते गरेर जोगाउँदा रहेछन् ।


कोरियामा पाँच बर्ष काम गरेर फर्केका छिमेकी गाउँका काका (इन्द्र थापा) ले मनमा खेलेको द्विविधा हटाइदिनुभयो । कोरियालीहरू हामीले जस्तो साना बिरुवा रोप्दा रहेनछन् । ठूलै झाङ रोप्छन् । त्यसलाई टेको लाएर अड्याउँछन् । रूख सरे पनि टेको भने जस्ताको तस्तै राख्ने चलन रहेछ । उनीहरूले चाहे भने उजाड ठाउँलाई रातारात हरियाली बनाउँदा रहेछन् ।



विकासको गति

सडक दाँयाबायाँ हराभरा जंगल । कतै फूलबारी । कतै लहलह धान झुलेका खेत । टनेलै टनेलमा उत्पादनयोग्य कृषिउपज । फराकिला, चिल्ला सडक । ठुला चिटिक्क परेका पुल । ती सुविधायुक्त भौतिक पूर्वाधारका बीचमा प्राकृतिक सुन्दरताको तालमेल साँच्चिकै मनोरम देखिन्थ्यो । स्वर्गको एक टुक्राझैं भान हुन्थ्यो ।


हुन त सन् १९६० को दशकसम्म कोरिया गरिब देशका रूपमा चिनिन्थ्यो । त्यसयता समृद्धिको बाटो पहिल्याएको हो । त्यही समृद्धिको प्रतीकमध्ये एक हो– सोल टावर । नामसान पहाडमाथि बनेकाले स्थानीयले नामसान टावर भन्छन् । सोल केन्द्रमा रहेकाले सोल टावर भनिन्छ । सन् १९६९ मा निर्माण थालिएको थियो भने १९८० बाट सार्वजनिक गरिएको थियो । अहिले पनि कोरियन सञ्चारमाध्यमहरू यही टावरबाट प्रसारण हुन्छ ।


२५ वर्षदेखि कोरियामा बस्दै आएका नेपाली केपी सिटौलाका अनुसार ‘अहिले जुन विकास देखिन्छ, २५ वर्षअघि ३० प्रतिशत मात्रै थियो, त्यसयता ७० प्रतिशत विकास भएको हो ।’ राष्ट्रसंघीय पछिल्लो तथ्यांकमा कोरियाको जनसंख्या ५ करोड १२ लाख २२ हजार चार सय १८ छ । बार्षिक आय प्रतिव्यक्ति २९ हजार सात सय डलर छ । कोरिया सरकारले ईपीएसमार्फत मजदुरी गर्न गएका नेपालीको मात्रै पनि मासिक न्यूनतम तलब १७ सय तोकेको छ । कोरिया समृद्ध हुनुको पछाडि कोरियालीहरू आफ्नो कमाइलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिहाल्छन् ।


यहाँ सन् १९९१/९२ देखि विदेशी आउन थालेका हुन् काम तथा भ्रमणको सिलसिलामा । अहिले नेपालजस्तो विकासोन्मुख देशहरूका लागि वैदेशिक रोजगारीको उत्कृष्ट गन्तव्य बनेको छ । पर्यटकीय हिसाबले पनि उत्कृष्ट छ । सोलमा सुरम्य डाँडामाथिको २ सय ३६ मिटर अग्लो टावरले कोरियाको केन्द्रमा पर्यटनलाई मजबुत बनाएको छ । त्यहाँबाट सोल र टाढाका दृश्य हेर्दाको मज्जा बेग्लै । ‘हर्ट लक स्टेसन’ मा प्रेमिल जोडीहरूको रोमान्टिक दृश्य ।


नेपाल बिर्साउने रेस्टुराँ

नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष रञ्जनराज कुँवरका अनुसार काम गर्न गएका, कोरियनसँग विवाह गरी गएका, अध्ययन गर्न गएका तथा स्थायी बसोबास भएका करिब ४५ हजार नेपाली कोरियामा बस्छन् । २००८ देखि कोरियामा नेपालीहरू ईपीएसमार्फत काम गर्न जान थालेपछि संख्या वृद्धि हुँदै आएको हो । कुँवर आफैं पनि कोरिया बस्न थालेको १० वर्ष भइसक्यो ।

विदेशी भूमि भए पनि नेपालीबीचको मेलमिलाप, मितव्ययिता, अपनत्व नेपालमा जस्तै छ । सोलको दोङदेमुन नेपालीको ‘जक्सन’ मानिन्छ । चाडबाड, बिदाको समयमा यहीं भेला भएर नेपालीहरू रमाउँछन् । यहाँ एभरेस्ट करी, दुर्गा, पूजा, नमस्तेलगायत १६ वटा नेपाली रेस्टुरेन्ट छन् । यीसहित कोरियाभर सयभन्दा बढी नेपाली रेस्टुरेन्ट छन् । कोरिया पनि नेपाली खानाको स्वाद दिने यी रेस्टुराँले नेपाल बिर्साउँछन् । धानको चामल, दाल र नेपाली स्टाइलमा पकाइने मासुका परिकार स्वादिष्ट हुन्छन् ।


आचरण, अनुशासनले कुराले कोरियालीहरूको परिचय दिएको छ । जस्तो त्यहाँका सडकमा ट्राफिक व्यवस्थापनका लागि प्रहरी हँुदैनन् । र पनि बाटो काट्ने र सवारी चलाउनेहरूले नियम मिचेका हुँदैनन् । हाम्रो भने अलिकति खाली देख्न हुँदैन । बाटो काट्न दौडिहाल्ने चलन छ । त्यहाँ सीसीटीभीको निगरानीमा डिजिटल ट्राफिक सिंग्नलको पालना हुन्छ । यहाँ चालकको मापसे चेक हुन्छ । त्यहाँ चालक आफैं सतर्क भएर सीमित पिउँछन् ।

प्रकाशित : मंसिर १, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?