कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ओडार सरेको छाउगोठ 

आवाज
छाउगोठ भत्काउने अभियानले धेरै महिलामाथि थप संकट उब्जाएको छ । गोठ भत्काइएकै रिसमा उनीहरू ओडारको बास बस्न बाध्य भएका छन् । 
झुमा लिम्बू

काठमाडौँ — सुदूरपश्चिमका गाउँघरतिर चलेको ‘छाउगोठ भत्काऊ अभियान’ ले सानाठूला उमेरका धेरै महिलामाथि थप संकट उब्जाएको छ । गोठ भत्काइयो तर घर पस्न पनि दिइएन । यो घडी छाउगोठ भत्काएर अभियन्ताहरू घर फर्किरहेका छन् भने महिनावारी भएका महिलाहरू ओडारतिर पसिरहेका छन् । गोठबाट ओडारतिर हुने यो भयातुर बसाइ–सराइ नै के आमूल परिवर्तन हो त ?

ओडार सरेको छाउगोठ 

आजकलको मान्छेको औसत आयु करिब ६५ वर्ष होला । कोही कम बाँच्छन् त कोही अलि बढी । सुविधासम्पन्न ठाउँका मान्छे धेरै र अभावमा हुर्केकाहरू कम बाँच्ने तथ्य पनि छँदैछ । जति वर्ष बाँचे पनि, आफ्नो जीवनकालमा मान्छे एक्लै बाँच्दैन । बाँच्दाबाँच्दै उसले समाज पनि बनाउँछ । मान्छेले नै बनाएको समाजले नियम र चलनको अनेक घेरा बनाउन थाल्छ, त्यही घेरामा उनिएर रनभुल्ल पर्ने पनि उही मान्छे हुन्छ । समाजले बनाएको चालचलन सबै खराब हुँदैनन्, सबै राम्रा पनि हुँदैनन् । मान्छे र समाज बाँच्ने प्रक्रियाको क्रम उपक्रममा समय वा पुस्ताअनुसार चालचलन र नियम परिस्कृत पनि हुँदै जान्छन् । समय बित्दै जाँदा अनेक कारणले पुराना नयाँ मान्यताहरू बन्दै, भत्किँदै जान्छन् ।

मासिकश्राव भएको महिलालाई छाउघर वा छाउगोठ राखिने छाउपडी प्रथा पनि यस्तै एउटा मान्यता हो । नेपाली मिडियामा ‘छाउपडी’ बारम्बार दोहोरिरहने शब्द हो । विदेशी मिडियाका लागि समेत नेपालको छाउपडी ग्लामरस विषय हो । अनेक कथा र उपन्यासहरूसमेत लेखिसकिएको विषय हो यो । नेपाल सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि प्राथमिकता दिएर लाखौंलाख रकम खर्चिएको क्षेत्र पनि हो— छाउपडी ।

सुदूरपश्चिमको बझाङ, मध्यपश्चिमको हुम्ला र आसपासका केही जिल्ला घुम्ने क्रममा मैले पनि यो विषयमा प्रत्यक्ष देख्ने/सुन्ने मौका पाएँ । आफ्नो कर्म क्षेत्र गीत सङ्गीतबारे सोधखोज गर्ने भए पनि, त्यो गीत सङ्गीत उठ्ने लोकमा के–कस्ता चलन छन्— त्यो मेरा लागि रुचिको विषय हुने नै भयो । यसरी डुल्ने क्रममा, वर्षौंदेखिको बहुपक्षीय चासो र सरोकार हुँदा पनि छाउपडी समस्या सुल्झिनुको साटो झन्झन् बल्झेको पो हो कि भन्ने लाग्यो मलाई ।

आजको आधुनिक मानिएको समयमा छाउघर वा छाउगोठमा बस्नु कसैका लागि पनि सुखद कुरा हुँदै होइन । घरभित्रको कोठाबाट निकालिएर बाहिर गोठमा बस्नुपर्ने जो कोहीलाई अपमानित महसुस हुँदो हो । समाजकै लागि पनि यो लज्जाको विषय हो । प्राकृतिक रक्तश्रावलाई धर्मसँग जोडेर गलत व्याख्या गरिएकाले धेरै महिलाले अनाहकमा यस्तो अपमान र कष्ट भोग्नुपरिरहेको छ ।

यस्तो चलनलाई विकृति वा पछौटेपना मानेर नेपाल सरकार र राष्ट्रिय/ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले यसका विरुद्ध विभिन्न गतिविधि चलाएको पनि धेरै भइसक्यो । पछिल्लो समय यो समस्या समाधान गर्ने भनेर ‘छाउगोठ भत्काऊ’ अभियानसमेत चलाइयो । यो अभियान निरन्तर चलिरहेकै छ ।

हो, यो अभियानको उद्देश्य आफैंमा गलत छैन । तर माथि भनिसकियो— हाम्रा संस्कार वा चालचलन एकै दिनमा बनेका होइनन् । समाजमा व्याप्त विकृत चलन फेर्नुअघि त्यसका प्रभावहरूबारे गम्भीर रूपमा सोच्नु जरुरी छ । तर, पश्चिमका विकट जिल्ला वा गाउँबस्तीमा घुमिरहँदा धेरैजसो सरोकारवालाहरूले छाउगोठ भत्काउने अभियान हचुवा र लहडको तालमा चलाएको महसुस गरेको छु मैले ।

छाउघर भत्काउ अभियानमा स्थानीय समाजसेवी र राजनीतिक अभियन्ताको भूमिका पनि उदेकलाग्दो छ । समाज र समुदाय विशेषका व्यावहारिक जटिलताबारे यिनले अलि बढी सोच्नुपर्ने हो । तर, चर्चा र भोट पाउने मोहले हो कि यिनीहरू पनि लहैलहैमा लागेर छाउपडी प्रथाको उन्मूलनको अल्पकालीन समाधानको सूत्र जपिरहेका छन् । छाउघर भत्काइएपछि महिनावारी भएका महिलाले भोग्नुपरेको थप पीडाबारे यिनीहरू थप जिम्मेवार हुनुपर्ने हो । तर, व्यवहारमा यसको ठीक उल्टो भइरहेको छ ।

छाउघर वा छाउगोठ भत्किँदैमा समाजले महिनावारी बार्न बाध्य पार्ने चलन फेर्न सहज छैन । किनकि कतिपय समुदायले यसलाई अझै अनिवार्य सामाजिक नियमका रूपमा लिएको अवस्था छ । यस्तो नियममाथि धर्म र संस्कारजन्य विश्वासले बल पुर्‍याइरहेको छ ।

हाम्रोजस्तो परम्परागत समाज जहाँ कानुन हैन धर्मको हैकम चल्छ, त्यसलाई चुनौती दिन परिपक्व निर्णयको खाँचो पर्छ । हामीकहाँ लिखित कानुन त छ तर यसको कार्यान्वयन कमजोर छ । दूर नेपाल र सुदूर नेपालका जनतामाथि राज्यको कानुनभन्दा त्यहीँको परम्परागत रीतिथितिको शासनको प्रभाव बढी छ । परम्परा र रुढीको नियन्त्रण बलियो छ । त्यहाँ ज्ञान र विज्ञानभन्दा पाप र धर्मको व्याख्याले बढी अर्थ राख्छ । प्राकृतिक र कृत्रिम कुराको भेदलाई त्यहाँ देवता वा राक्षस लागेको रूपमा बुझिन्छ ।

यस्तो बुझाइ र मान्यताले राज गरिरहेको समाजमा बाहिरी ज्ञानलाई हुबहु उतार्ने अभ्यासले सफलता पाउन सजिलो छैन । त्यहाँ त छाउपडी पाप र धर्मको विषय नभई शरीर विज्ञानको विषय हो भन्ने कुरा बुझाउने प्रयास भए पो त्यसले अर्थ राख्छ । छाउपडीजस्ता महिलालाई दु:ख दिने कुरा किन अन्त गर्नुपर्छ भन्ने नयाँ र पुराना दुवै पुस्ताबीच विमर्श चलाए पो त्यसले रूपान्तरणमा सकारात्मक प्रभाव पार्छ । पुस्तौंपुस्ताले सहस्र स्विकारेको यो प्रथालाई हटाउन पुस्तैनी प्रयासको खाँचो पर्ने देखिन्छ । नत्र त्यो समाजको जीवनशैली थप अप्ठ्यारोमा पर्ने खतरा रहन्छ ।

यी भेगका केही गाउँहरू (लिमी उपत्यका) मा अझै पनि साँझ परेपछि नयाँ मान्छे गाउँ आउँदा भूत–प्रेत आएर गाउँमा दु:ख दिन्छ भनेर बास नदिने चलन रहेछ । पश्चिम र सुदूरपश्चिममा छुवाछूत र भेदभाव धेरै भएका ठाउँमा छाउपडी समस्या बढी छ । समाजमा विद्यमान जातीय र आर्थिक विभेदको अन्त्य गर्ने अन्य पूर्वाधार तयार नभईकन छाउपडी हटाउने अभियान प्रभावकारी हुन सक्दैन । किनकि हाम्रा सामाजिक सांस्कृतिक समस्याहरू एकआपसमा जेलिएका जो छन् ।

महिला स्वास्थ्यको सबैभन्दा महत्त्वपूर्ण/संवेदनशील समय हो— महिनावारी । सहरमा बस्ने म आफू दिनमा दुई–तीन पटकसम्म प्याड फेर्छु, प्याड फेर्दैपिच्छे धुनुपर्छ । महिनावारीको बेला गाउँघरमा प्याडको सट्टा पुरानो कपडालाई साना–साना टाला बनाएर पटयाएर लगाउने चलन छ । कतिपय त त्यही टालोसमेत बनाएर लगाउन नसक्ने अवस्थामा छन् । तिनको प्राथमिक आवश्यकता के हो ? यसबारे अभियन्ता र सरोकारवालाहरूले खासै ध्यान दिएको भेटिएन ।

पश्चिमी भेगका पहाडी र हिमाली जिल्लामा पानीको अभाव साझा समस्या हो । कतिपय गाउँमा महिनावारीका बेला प्रयोग गरिने टालो धुने पानीसमेत हुँदैन । त्यो टालो फाल्यो भने अर्को महिना लगाउने टालो हुँदैन । छाउघर वा छाउगोठमा सरसफाइ र सुरक्षाको अभाव छ । चिसो लाग्ने र सर्पले डस्ने खतरा छ । अझ यस्तै दु:खमा बलात्कार र बलात्कारी मनोवृत्तिको भय झनै खतरनाक समस्या हो ।

त्यसै पनि रक्तस्रावले शरीर कमजोर भएको बेला छाउघरभित्र भुइँमा डस्नाबिना गुन्द्रीमा ५–७ दिन घाम नदेखी बस्दा कस्तो हुन्छ ? एउटा गोठ जहाँ बत्ती छैन, पानी छैन, न्यानो छैन, मान्छे भएर बाँच्नुपर्दाको आधारभूत चीजबीज छैन । कल्पना गर्नुस् त । यस्तो अभाव र समस्यामा बाँचिरहेका दिदी, बहिनी, आमा र भाउजूहरूका तत्कालीन आवश्यता सम्बोधन कसले गर्ने ? कसरी गर्ने ? छाउघरबिनै महिनाबारी बार्न कहाँ जाने ?

यसको क्रान्तिकारी उत्तर छाउप्रथा नै नमाने भइगयो भन्ने हुन सक्छ । यस्तो हुन सके त कति वेश हुन्थ्यो । तर पनि मेरो प्रश्न छ— छाउ नै नमान्ने समाज निर्माण कसरी गर्ने ? कसले गर्ने ? छाउगोठ भत्काउँदैमा छाउ बार्ने चलन रोकिएको छ त ? पक्कै छैन ।

बरु, ‘छाउगोठ भत्काऊ अभियान’ ले साना ठूला उमेरका धेरै महिलामाथि थप संकट उब्जाएको छ । गोठ भत्काइएकै रिसमा उनीहरू ओडारको बास बस्न बाध्य भएका छन् । झनै ठूलो तिरस्कार र त्रासको सिकार बनेका छन् । छाउगोठ भत्काएर अभियन्ताहरू घर फर्किन्छन् भने महिनावारी भएका महिलाहरू ओडारमा पुग्छन् । गोठबाट ओडारमा हुने यो भयातुर बसाइ–सराइ नै परिवर्तन हो त ?

परिवर्तन दुईखाले हुन्छ होला । एउटा सुधारात्मक, अर्को क्रान्तिकारी । सांस्कृतिक कुरामा सुधार ल्याउन क्रान्तिकारीजस्ता लाग्ने तर व्यावहारिक समाधानबिनाका क्षणिक गतिविधिले समस्याको सतही समाधान मात्र खोज्छ । बरु सुधारात्मक लाग्ने दीर्घकालीन सोचसहितको व्यावहारिक पहलले छाउपडी प्रथाजस्तो जरो गाढेको समस्यासँग जुध्न सघाउने हो कि !

‘अग्रगामी’ र ‘क्रान्तिकारी’ जस्तो लाग्ने छाउगोठ भत्काऊ अभियानको सतही काम देख्दा, सुन्दा म भने यही निष्कर्षमा पुगेकी छु । यो कटुसत्य बाहिर ल्याउँदा अवश्यै निन्दा र भत्र्सना सुन्नुपर्ला तर सत्य तीतो छ । म यो सहरमा ‘छाउबोध’ गर्ने युवती हुँ, दुरदराज गाउँमा ओडारमा छाउ बसिरहेका दिदीबहिनीको पीडाबोध गरेरै कथित विकासे अभियानको विरोधमा उभिएकी हुँ ।

प्रकाशित : मंसिर १, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?