२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अलमोडामा गजेप्रेम

योगदान
क्यानटोनमेन्ट बोर्डले अलमोडामा पार्क बनाइदिएको छ– भीसी गजे घले पार्क । अलमोडाको छाउनी परिषद्मा बनाइएको यस पार्कमा घले परिवारले गजेको सालिक राखिदिएको छ । 
विनोद पाण्डे

काठमाडौँ — गजे घले । साहस, वीरता र गौरवका हिसाबमा यो नामै काफी छ । गजेले बेलायत सरकारबाट उच्च बहादुरी पदक भिक्टोरिया क्रसको पदवी पाए । तैपनि उनलाई एउटा अभावले सधैं पिरोलिरहयो । गोरखा, बारपाकमा जन्मेका गजेको बाल्यकाल भेडा चराउँदै र एक साता लगाएर तिब्बतको केलोङ पुगेर नुन ओसार्दैमा बित्थ्यो । यो दैनिकीमाझ उनले क,ख पढ्न कहिल्यै पाएनन् ।

अलमोडामा गजेप्रेम

१६–१७ वर्षे उमेरमै ‘लाहुरे’ बन्ने आसमा उनी भारत छिरेका थिए, उनी गोरखपुरको कुरनघाट पुगेका थिए । भारतीय सेनाको ५ गोर्खा राइफलमा उनी साहसी लडाकु बनेर चिनिए ।

दुई श्रीमतीबाट गरेर ४ छोरा र ५ छोरीका पिता बनेका गजेलाई सधैंभर आफूले पढ्न नपाएकोमा पछुतो रह्यो । यही कारण आफ्ना सन्तान शिक्षाको अँध्यारोमा नपरून् भन्ने उनी चाहन्थे । यही पढलेखको चाहना र अवसर पहिल्याउन भारतीय सेनाबाट अवकाश पाएपछि उनी उत्तराखण्डको अलमोडावासी बने । सन् १९६३ मा घले कार्यरत पल्टन सेकेन्ड फाइभ जीआर अलमोडा केन्द्रमा ‘सिफ्ट’ भएदेखि लगभग उतै बस्दै आएका थिए । अलमोडा आएको दुई वर्षमै अवकाश पाएका गजे सन् १९७६ मा क्यानटोनमेन्ट बोर्डको अध्यक्ष बने । आफ्नो जीवनकालभरि उनी बोर्ड अध्यक्ष थिए । सन् २००० मा दिल्लीमा बितेका उनको दाहसंस्कार अलमोडामै गरिएको थियो । अलमोडावासीले गजेको बिदाइमा ठूलो सम्मान दिएको थियो । उनी बितेको यत्तिका वर्षपछि पनि अलमोडामा ‘गजेप्रेम’ उस्तै छ ।

क्यानटोनमेन्ट बोर्डले अलमोडामा पार्क बनाइदिएको छ— भीसी गजे घले पार्क । नोभेम्बर १४ मा यसको उद्घाटन गरिएको थियो । अलमोडाको छाउनी परिषद्मा बनाइएको यस पार्कमा घले परिवारले गजेको सालिक राखिदिएको छ । ‘क्यानटोनमेन्ट बोर्ड भारतीय सेनाको वरीयतामा दोस्रो नम्बरमा आएपछि केही बजेट आएको थियो, त्यही भएर बोर्डले घलेको नाममा पार्क बनाउने निर्णय गरेको थियो,’ गजेका कान्छा छोरा तारसले सुनाए । पार्क निर्माण अगस्टबाटै सुरु भएको थियो । घले परिवारले त्यस पार्कमा सालिक राखिदिन अनुरोध गरेको थियो । सालिक प्रतिस्थापन गर्दाको हतारोले घलेले लगाउने परम्परागत ‘हयाट’ प्रतिमामा राख्न छुटेको थियो ।

‘गोर्खाको गाउँदेखि भेडीगोठ हुँदै आफ्नो बाल्यकाल बिताएका बुबालाई अलमोडाको पहाडी हावापानीले तानेको थियो । आफूले पढ्न नपाएको पछुतोमा बुबाले आफ्ना बच्चाहरूको पढाइलेखाइकै लागि भए पनि अलमोडा रोज्नुभएको थियो,’ तारसले बुबा गजेको अलमोडा प्रेमबारे सुनाए । पार्क उद्घाटनकै लागि गजेका जेठा छोरा डम्बर, कान्छा तारस लन्डनबाट र साँहिला केशर कालिम्पोङबाट अलमोडा पुगेका थिए । एक दशकयता ललितपुरस्थित निवासमा अस्वस्थ रहँदै आएका साँहिला छोरा एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी वाईबी घले भने पार्क उद्घाटनमा जान सकेनन् । ‘पढाइलेखाइ भन्ने कुरा भिक्टोरिया क्रस पाउनभन्दा कठिन कामा रहेछ,’ गजेले आफ्ना सन्तानलाई सुनाउने गरेका रहेछन् ।

दोस्रो विश्वयुद्धताका बर्माको रंगुनस्थित चिनहिलमा जापानी फौजमाथि ब्रिटिस सरकार मातहतमा रहेको भारतीय सेनाले विजय हात पार्दा गजेले आफ्नो बहादुरी देखाएका थिए । दोहोरो भिडन्त क्रममा आफ्नो टोलीको हतियार सकिए पनि खुकुरीका भरमा १३ जापानी सैनिकलाई उनले छप्काएका थिए । त्यही साहसका लागि उनलाई भिक्टोरिया क्रस दिइएको थियो । त्यही सफलताका लागि नेपाल सरकारको तर्फबाट समेत श्री ३ महाराज जुद्धशमशेरले नेपाल–ताराको पदक गजेलाई लगाइदिएका थिए ।

प्रकाशित : मंसिर ८, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?