तस्बिरको राजनीति 

समीक्षा
राजेन्द्र महर्जन

काठमाडौँ — क्लिष्ट लेखन किताबको पठनीयताका लागि अवरोध हुन सक्छ । जटिलभन्दा सरल र बुझिने लेखाइ/अनुवाद जरुरी देखिन्छ । प्रत्येक वाक्यमा प्रश्न उठाउने र मथिंगल घुमाउने क्षमताको हुनु यसको लेखन विशेषता हो ।

तस्बिरको राजनीति 

तपाईं हीरा पार्कीलाई चिन्नुहुन्छ ? डोटीको शैलेश्वरी मन्दिरमा ट्याम्को बजाउने वृद्ध दलित । उनले दस वर्षको उमेरदेखि ६४ वर्षसम्म बाजा बजाए, तर पनि मन्दिर पस्न दिइएन । २०६३ सालमा दलित अभियन्ताहरूले संघर्ष गरेर मन्दिर प्रवेशको अधिकार जिते, तब उनलाई मन्दिर प्रवेश गर्न डर लाग्यो । अभियन्ताले घिसारेर मन्दिरभित्र लैजाँदा उनी मर्ने डरले बेहोस भए ।


जर्मन मनोविश्लेषक एरिक फ्रमले सुझाएझैं ‘स्वतन्त्रताको भय’ बिनाको जीवन भनेको आत्मसम्मानसहितको जिन्दगी हो । तीन हजार वर्षदेखि अछूत भनिने लाखौं जनताले ‘दलित’ पहिचान बोक्दै आत्मसम्मानले भरिएको जिन्दगी जिउने संगठित प्रयास गरेको पनि जुग भइसक्यो । यसबीचमा अनेक विष्ट–बराजु र शासक फेरिए, दलन–उत्पीडनसँगै संघर्षका रूप पनि फेरिए, तर आत्मसम्मानको लडाइाको सार भने फेरिएको छैन । यही प्रतिरोधको सचित्र गाथा हो, ‘दलित: अ क्वेस्ट फर डिग्निटी’ (दलित : आत्मसम्मानको खोजी) ।


यसका शब्द र तस्बिरले वर्णव्यवस्था–जातभात विरुद्ध संघर्ष गरेका अम्बेडकरदेखि टीआर विश्वकर्मा र उमादेवी वादीसम्मका संघर्षको कहानी देखाएका छन् । कसको तस्बिर खिच्ने, कसको फोटो कहाँ झुन्ड्याउने, कसको छायाछविले शासन गर्ने भन्ने प्रक्रियामाथि प्रश्न उठाएको छ । यस अर्थमा नेपाली समाजको तस्बिरले ‘तस्बिरको राजनीति’ माथि पनि सवाल उठाउँदै नयाँ सदृश्य डिस्कोर्स सिर्जना गर्न खोजेको छ ।


सिंहदरबारभित्र टाँसिएका फोटोबाट र टाँसिन बाँकी जीवित तस्बिरबाट शासित छन् हाम्रा मनमस्तिष्क । दुई वर्षअघि नै पाटन दरबारमा उभिएका तस्बिरले सोधेका थिए : सिंहदरबारमा झुन्ड्याइएका तस्बिरमा बाहुन–क्षत्रीका अनुहार मात्रै किन भए, किन भएनन् ‘शूद्र’ र ‘अछूत’ का मुहार पनि ? आज पुस्तकका रूपमा जीवन्त भएका तस्बिर सिंहदरबारको संरचनामा मात्रै होइन, त्यहाँ झुन्ड्याइने तस्बिर र सिंहदरबारबाहिरका आम मान्छेबीच, शासक र बहुजनबीचको सम्बन्धमा हेरफेरका लागि न्यायोचित उत्तर खोज्ने कोसिसको सदृश्य दस्तावेज हुन् ।


हेर्ने र नहेर्ने, शुद्ध र अशुद्ध, सम्मान र अपमान : जातप्रथाको दिनचर्याका अनेक आयाम हुन् । पूजक र पूजितका आखा आमुन्नेसामुन्ने नहोउन्, पूजित देवीदेवता नबिटुलियोस् भनेरै ‘अछूत’ लाई मन्दिर पस्न निषेध गर्ने परम्परा बसाइएको देखिन्छ । ‘देवत्व’ सँग साक्षात् सम्बन्ध बनाउन वञ्चित गर्न नै निषेधमार्फत अपमान गर्ने जारी छ । जारी छ मन्दिर प्रवेशको प्रयास पनि, देवत्वसँग साक्षात्कार गर्ने आस्तिक कोसिस पनि । यस्ता कोसिससँगै विभेदकारी धर्ममाथि प्रश्न उठाउने क्रम पनि जारी छ । दलित अभियन्ता जवाहर रोक्काले सोधेका थिए, ‘जहाँ हाम्रो अपमान हुन्छ, त्यहाँ हामी किन जाने ?’


राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा, सामन्तवादबाट पुँजीवादतिर जवाइको क्रममा भएका अनेक संघर्षका कारण छुवाछूत र जातीय विभेद घटेका छन् तर नयाँ खालका दलन र उत्पीडनसँगै अपमानको सिलसिला भने जारी छ । हिजोका मासिन्या (दास बनाउने हुने) अछूतहरू आज कम ज्याला र धेरै अपमानसँगै श्रमिक जिन्दगी जिउन विवश छन् । उनीहरूको सम्मानपूर्ण जीवनका लागि आधारभूत अधिकार मात्रै सुनिश्चित गरेर पुग्दैन, त्यसभन्दा अझै थप केही गर्नुपर्छ । ‘यसका लागि दलित श्रमका विभिन्न स्वरूपलाई समाजप्रति महत्त्वपूर्ण र अर्थपूर्ण योगदानको रूपमा आकलन गर्न सक्ने मूल्यमान्यताको व्यवस्था पनि चाहिन्छ ।’


‘दलित हुनु भनेको जीवन र श्रमका लागि समानता, स्वतन्त्रता तथा न्यायका सिद्धान्तमा आधारित मूल्यमान्यताको नयाँ संरचना निर्माण गर्ने उद्देश्य लिनु पनि हो ।’ यही उद्देश्यका लागि भएका प्रयास र संघर्ष क्रममा हिजो विष्ट–बराजु, मालिक र शासकहरूबाट अछूत एवं मासिन्याजस्ता नकारात्मक पहिचान पाएका मानिसहरूले ‘दलित’ को गौरवपूर्ण पहिचान भिरेर प्रतिरोध गरिरहेका हुन् । यही पहिचानका साथ आफ्ना श्रम, सीप, कला र व्यक्तित्वको सम्मानका लागि चलाएका संघर्षकै कारण उनीहरूमा ‘स्वतन्त्रताको भय’ ले कम शासन गर्न थालेको आभास हुँदै छ ।


यही संघर्षसँगै अन्य आन्दोलनका कारण वर्णव्यवस्था र जातभातको हिंसा सार्वजनिकबाट निजी ठाउँमा खुम्चिँदै छ । नयाँ रूपरङमा गाउँदेखि सहरसम्म अपमान गर्ने क्रम पनि अनुभूत गर्न सकिन्छ । वर्णव्यवस्था र जातभातबाट मुक्त नभएको राजनीतिक, आर्थिक र सांस्कृतिक सत्ताको मूलधारले दलितको ओजपूर्ण प्रतिनिधित्व सहजै स्विकार्न नखोजे पनि ठाडै नकार्न सक्ने हालत अब छैन । त्यसैले तीनवटै सत्तामा ‘वार अफ पोजिसन’ मार्फत मानवीय र लोकतान्त्रिक धरातल निर्माणको क्रम जारी छ ।


शब्द र तस्बिर पनि ज्ञानका अन्य विधाजस्तै दोधारे तरबार हुन् । चाहे हीरा पार्की हुन् या उमादेवी बादी, जोकसैमा पनि यस किताबका शब्द वा तस्बिर हेर्दा आत्मसम्मानको भाव जाग्न पनि सक्छ । तर, मानव बेचबिखन, चरम दुव्र्यवहार र गुलामी भोगेका बादी महिलाको तस्बिरपछि कन्डमको तस्बिर राख्दा आत्मसम्मानमा ठेस लाग्न सक्छ ।


क्लिष्ट लेखन किताबको पठनीयताका लागि अवरोध हुन सक्छ । जटिलभन्दा सरल र बुझिने लेखाइ र अनुवाद जरुरी देखिन्छ । प्रत्येक वाक्यमा प्रश्न उठाउने र मथिंगल घुमाउने क्षमताको हुनु यसको लेखन विशेषता हो । आलोचनात्मक शब्द र तस्बिरको सम्मिश्रणले सामाजिक रूपान्तरणका अनेक विषयमा नयाँ बहस सिर्जना गर्न सक्छ । यसले स्वतन्त्रताप्रतिको भय भगाउन र आत्मसम्मानपूर्ण मानवीय लोकतान्त्रिक जीवन बनाउन सघाउ पुर्‍याउने आशा गर्न सकिन्छ ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?