कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एक प्रोफेसरको कथा 

यथार्थ
‘मी–टु’ त सफा मन र व्यवहारका पुरुषप्रति लक्षित हुँदै होइन नि है ? महिला हिंसाविरुद्धको सोह्रदिने अभियानको अवसरमा यसलाई पनि एउटा लेख बनाएर प्रकाशित गर्नुस् न है भन्दै सरले कुरो टुंग्याउनुभयो । 

काठमाडौँ — उसले डाक्टरसँग प्रारम्भिक छलफल गरिसकेकी रहिछे । ब्रेस्ट क्यान्सर हो भन्ने थाहा भएकै बेला अपरेसन गरेर स्तन फाल्नुपर्ने कुरा डाक्टरले सुझाएका रहेछन् । जीवनको सुरुआती क्षणमा नै स्तन फाल्नुसँग अविवाहित उनलाई बडो कठिन भएको रहेछ । जीवन महत्त्वपूर्ण हो, बाँच्नुलाई प्राथमिकता दिनुपर्छ भनेर सम्झाउन थालेँ । नेपालमा वार्षिक थपिने झन्डै ४ हजार क्यान्सरका बिरामीमध्ये झन्डै पन्ध्र प्रतिशत स्तन क्यान्सरका हुने देखिएको कतै अध्ययन प्रतिवेदनमा पढेको थिएँ । 

एक प्रोफेसरको कथा 

विश्वविद्यालयमा पढाउँछु । कक्षामा पढाउने, परीक्षाका पेपरहरू चेकजाँच गर्ने, थेसिस सुपरभाइज गर्नेजस्ता कामहरू भइराख्छन् । त्यसोत नेपालको विश्वविद्यालयमा पढाउने काम खासै बोझिलो हुँदैन । अहिले सेमेस्टर प्रणालीमा गएपछि विश्वविद्यालयमा पहिलेको तुलनामा अलि बढी व्यस्त भइन्छ । विद्यार्थीका टर्म–पेपरहरू चेकजाँच, आन्तरिक मूल्यांकन आदिले समय गएको पत्तै हँुदैन । पढाउनुका अतिरिक्त अध्ययन अनुसन्धानमा पनि संलग्न हुन्छु । त्यसो त विश्वविद्यालयले अध्ययन अनुसन्धानमा शिक्षकहरूलाई खासै प्रोत्साहन गर्दैन । अलिअलि हुने रिसर्चका काममा पनि राजनीतिक खिचातानी हुन्छ । यस्तो खिचातानीमा लागेर रिसर्च काम हात पार्नेतर्फ मलाई खासै रुचि छैन । कहिलेकाहीँ मन्त्रालय तथा त्यसअन्तर्गतका विभागहरूबाट अध्ययन अनुसन्धानका कामहरू आउँछन् । गैससका लागि पनि अध्ययनका कामहरू गरिरहेको हुन्छु । विशेषगरी निजामती सेवा तथा गैससमा कार्यरत मेरा पूर्वविद्यार्थीहरू मार्फत यस्ता कामहरू आउँछन् । कमाइ पनि हुने र पब्लिकसँग प्रत्यक्ष संवाद पनि हुने हुँदा अध्ययन अनुसन्धान, फिल्ड सर्भे रमाइलो लाग्छ ।


विद्यार्थीहरूसँग घुलमिल हुने मेरो स्वभाव छैन । काम परेको मात्र बोल्छु । तर, उनीहरूप्रति चासो भने लाग्छ । एक त उनीहरूमा अहिलेको समयको ताजा तस्बिर देख्छु भने अर्कोतर्फ कक्षाकोठाका विद्यार्थीहरूले सम्पूर्ण नेपालको प्रतिनिधित्व गरेजस्तो लाग्छ । किनभने केन्द्रीय विश्वविद्यालय हुनाले यहाँ झन्डै देशैभरिका विद्यार्थीहरूको उपस्थिति हुनेगर्छ । कुनै विषयमा छलफल हुँदा एउटा सचेत मिनी नेपालजस्तै लाग्छ क्लासरुम । तर, यसले लैंगिक प्रतिनिधित्व भने गर्दैन । खै किन हो, समाजशास्त्र विभागमा छात्राहरू बढी छन् । केही पुरुष शिक्षक साथी विश्वविद्यालयमा छात्राहरूको चरित्र चित्रणमा रमाउने गर्छन् । त्यति मात्र होइन, विद्यार्थीको आन्तरिक मूल्यांकन तथा थेसिस सुपरभाइजका लागि विद्यार्थी छनोट गर्दा राजनीतिक झुकावलाई प्राथमिकता दिने शिक्षकहरू पनि प्रशस्त छन् । मलाई भने त्यसप्रति कहिल्यै चासो भएन । पारिवारिक रूपमा भने जीवनसँग सन्तुष्ट छु । सुसंस्कृत श्रीमती छिन् । दुई सन्तान छन्, उनीहरूको पढाइ सिकाइ राम्रो छ । जीवनसँग अतिरिक्त चाहना नराखेर पनि होला, आर्थिक दृष्टिले पनि खासै अप्ठ्यारो झेल्नुपरेजस्तो लाग्दैन ।


अध्यापनसँग रुचि छ । कक्षामा जाँदा विशेष तयारी गरेर जान्छु । पढाउँदै गर्दा विद्यार्थीहरूको अनुहारमा देखिने जिज्ञासाले भोलिको क्लासका लागि अझै राम्रो तयारी गर्न प्रोत्साहन गर्छ । त्यस्तै विद्यार्थीको अनुहारमा झल्किएको पढाइसँगको सन्तुष्टि र शिक्षकप्रतिको आभारले अतिरिक्त सन्तुष्टि दिन्छ । दसैँ–तिहारका बेला विश्वविद्यालयमा एक महिनाभन्दा लामो बिदा हुन्छ । बिदा सुरु भएको भएको तेस्रो दिन एक छात्राको फोन आयो । उनले भेट्न चाहेको कुरा बताइन् । कुनै जरुरी छ भने घरमा आउनू— मैले सहज ढंगमा भनें । तर, उनी घरमा आउन मानिनन् । बाहिर कतै भट्ने कुरा गरिन् ।

‘हजुरसँग भेट्न जरुरी छ । सहरको कोलाहलभन्दा अलि बाहिर कतै, शान्त र एकान्तमा,’ उनले कुरा टुंग्याइन् ।

मन झसंग भयो ।


मैले कक्षामा उनको अनुहार सम्झिएँ । सुन्दरी थिइन् । केही दिनयता उनको कक्षामा उपस्थितिको समय सम्झिएँ । मसँग अलि बढी नै केन्द्रितजस्तो लागेको थियो । उनका लगातार मतर्फ टोलाएका आँखाले, केही अप्ठ्यारो पनि महसुस गरेको थिएँ । विद्यार्थीहरूको शिक्षकसँगको एक किसिमको आकर्षण स्वाभाविक पनि हो । यस्तोमा शिक्षकले आफूलाई संयमित राख्नुपर्छ । त्यसैले उनको मतर्फ लगातार केन्द्रित आँखातर्फ खासै ध्यान दिएको थिइनँ ।


मोबाइलमा नयाँ म्यासेज देखियो, ‘हजुरसँग जरुरी छ । सहरको कोलाहलभन्दा अलि बाहिर कतै, शान्त र एकान्तमा । प्लिज समय मिलाउनुस् है, म पर्खिरहेकी छु ।’ फेरि उनै थिइन र कुरो उही थियो अलि जोडबलका साथ ।


यस पटकको म्यासेजपछि ममा दुई किसिमका विचार आए । जाऊँ कि क्यारे, के नै पो होलाजस्तो पनि लाग्यो । अर्कोतर्फ, विश्वभर नै तरंग ल्याइरहेको ‘मी–टु’ को प्रसंगले मन भरंग भयो । मनमा धेरै कुराहरू आए । ‘म संयमित हुनैपर्छ,’ मनले भन्यो । यस्तै कुरा मनमा खेल्दाखेल्दै निदाएँ । सपना पनि नराम्रो देखेँ, ऐठन पनि भयो । बिहान ब्युभँmदा पसिनाले निथ्रुक्क भिजेको थिएँ ।


बिहानसम्म मोबाइलमा तीन कल ‘मिस्ड’ भइसकेको रहेछ, उनैको । झन् अप्ठ्यारो लाग्यो । श्रीमतीसँग सबै कुरा सेयर गरेँ । उनले पनि बाहिरफेर नभेट्न नै राम्रो हुन्छ भनिन् । विश्वविद्यालय खुलेपछि नै भेट्न उपयुक्त हुने उनको सल्लाह मलाई पनि ठीक लाग्यो ।


‘कलब्याक’ गरेँ र कलेज खुलेपछि नै भट्ने कुरा गरेँ । पारिवारिक कामले अलि व्यस्त छु भनेर झूट पनि बोलेँ ।

छठपछि विश्वविद्यालय खुलेको पहिलो दिन, विभागमा मिटिङ थियो । त्यो दिनको छलफल झन्डै चार घन्टा चल्यो । औपचारिक छलफल सकिएपछि अनौपचारिक कुराकानी हुँदै थियो, एक सहकर्मी शिक्षकले बाहिर कुनै विद्यार्थी मलाई पर्खिरहेको सुनाए ।

म बाहिर निस्किएँ ।


उनै रहिछिन्, जो मसँग एकान्तमा भेट्न चाहन्थिन् । कसोकसो अप्ठ्यारो पनि लाग्यो । आफूलाई सामान्य बनाउँदै हालखबर सोधेँ ।

‘हजुरसँग समय भए बाहिर कतै जाउँm न,’ उनले सोझै भनिन् ।

‘यतै कतै क्यन्टिनमा बसे हँुदैन,’ म टक्टकिएँ ।

‘अहिले हजुरको समय छैन भने बरु अर्को कुनै

दिन,’ ऊ ।


‘साँच्चै केटीहरू बडा जिद्दीवाल हुन्छन्,’ यो वाक्य मनमनै भनें । यो जिद्दीपनसँग म सक्दिनँ ।

‘ल जाऊँ न त, कता जाने ?’ मैले भनें ।

उसले स्कुटर स्टार्ट गरी र मलाई पछाडि बस्न संकेत गरी । म बसेँ ।

स्कुटर चोभार नजिकै पिच उप्किएको उवडखावड बाटोमा पुगेपछि उसले भनी, ‘के छोइएला जस्तो पर बस्नुभएको, अलि नजिक सजिलोसँग बस्नुस् न ।’


मैले राहत महसुस गरेँ र अलि नजिक सरेँ । मनमा भने ‘मी–टु’ का कुराहरू जोडतोडले आइरहेका थिए । के म पनि अरू केही शिक्षक साथीजस्तै आफ्ना सारा मर्यादा भुलेर एउटी छात्रासँग ‘डेट’मा गइरहेको छु ? के मलाई कसैले पछ्याइरहेको त छैन ? के यो ‘एक्स्ट्रा म्यारिटल अफेयर’ हो ? मनमा यस्तै कुराहरू आइरहे ।


टौदह पुगेपछि स्कुटर रोकियो । पोखरीको किनारैकिनार उनी हिंडिरहिन्, म नबोलीकनै पछि लागेँ । केही बेरमा नै डुब्न लागेको तर पहारिलो घामतर्फ ढाड पारेर हामी बस्यौं । उसले झोलाबाट चिजबल्स निकालेर पोखरीमा फाल्न थाली । माछाहरू झुरुप्प जम्मा भए । म

चुपचाप हेरिरहेँ ।


‘कति बिजी है सर हजुर त ?’ ऊ बोली ।

‘खासै त्यस्तो त होइन, अलिअलि काम त भइहाल्छ नि,’ म ।

‘हजुरलाई भेटेर कुरा गर्न चाहेको दुई महिना भयो, बल्ल आज मौका मिल्यो,’ ऊ ।

‘अँ भन्नुस् न त, अब,’ म अलि हाँस्ने प्रयत्न गर्दै भनें ।


‘कुरो अलि पर्सनल हो । खासमा कुरो के भने सर, आ’म सफरिङ फ्रम ब्रेस्ट क्यान्सर, एन्ड नाउ इट्स इन सेकेन्ड स्टेज’ । डायग्नोसिस भएको त्यस्तै तीन महिना भयो । सुरुमा कसैलाई भन्न सकिनँ । कसलाई भनौं कसलाई भयो, त्यत्तिकै चुप रहेँ । सारै एक्लो महसुस भइरह्यो । र ‘फाइनल्ली यु आर द राइट पर्सन टु सेअर’ जस्तो लाग्यो र हजुरलाई फोन गरेको दसैँअघि... ।


खै, ऊ के के बोल्दै थिई, मैले केही बुझिनँ, केही सुनिनँ, सायद उसका ओठहरू चलिरहेका भने थिए । समय टक्क रोकिएजस्तो भयो । कताकता कुनै गह्रांै भारीले थिचेजस्तो भयो ।


मैले केही बोल्नै सकिनँ । मात्र यति भनें, ‘रश्मी, आ’म स...री, आई एम रियल्ली सरी ।’ यति भन्दै गर्दा हामी एकअर्काको अँगालोमा बेसरी कसिएका थियौं । हामी त्यसरी एकाअर्काको अँगालोमा रहिरह्यौं । उसको छातीको ढुकढुकी मैले पूरै महसुस गरिरहेको थिएँ । तर, त्यहाँ बासना थिएन ।

एक छिनपछि हामी सम्हालियौं । आँसु र सुक्सुकाहट समस्याको समाधान हुनै सक्दैनथ्यो । उसले भेट्न चाहेको आग्रहको अपव्याख्याले उनको उपचारमा दुई महिना ढिलो भइसकेको थियो । आफ्नो मनभित्रको बाघले एउटी युवतीको सुन्दर जीवन खतारामा पर्दै गएकाले ग्लानी महसुस भइरहेको थियो । आफूसँग भएको जानकारीको आधारमा तत्काल इन्डियाको राजीव गान्धी हस्पिटल गएर परामर्श लिन उसलाई सुझाएँ ।


उसले डाक्टरसँग प्रारम्भिक छलफल गरिसकेकी रहिछे । ब्रेस्ट क्यान्सर हो भन्ने थाहा भएकै बेला अपरेसन गरेर स्तन फाल्नुपर्ने कुरा डाक्टरले सुझाएका रहेछन् । जीवनको सुरुआती क्षणमा नै स्तन फाल्नुसँग अविवाहित उनलाई बडो कठिन भएको रहेछ । जीवन महत्त्वपूर्ण हो, बाँच्नुलाई प्राथमिकता दिनुपर्छ भनेर सम्झाउन थालेँ । सामान्यत: ४० देखि ५० वर्ष उमेर समूहमा स्तन क्यान्सरको जोखिम रहने बताइए पनि अरू उमेरमा पनि यसको जोखिम रहने कतै पढेको सम्झिएँ । नेपालमा वार्षिक थपिने झन्डै ४ हजार क्यान्सरका बिरामीमध्ये झन्डै पन्ध्र प्रतिशत स्तन क्यान्सरका हुने देखिएको कतै अध्ययन प्रतिवेदनमा पढेको थिएँ ।


‘आजको समयमा तिम्रा उमेरका युवतीहरू प्रदर्शनका लागि सिलिकन भरेर स्तन उन्नत बनाउने गर्छन् तर तिमी स्तन फाल्नका लागि अभिशप्त छौ । तिम्रो युवती मनमा के खेलिरहेको होला म अनुमानसम्म गर्न सक्छु । तर, यो त्यति ठूलो विषय होइन रश्मी, जति तिमी सोचिरहेकी छौ । जीवन पहिलो हो र बाँकी सबै सहायक । क्यान्सरले गाँजेको स्तनसँग कुनै मोह नराख । तिम्रो जीवन बचाउनका लागि म जस्तोसुकै सहयोग गर्न तयार छु ।’

उनले सकारात्मक मुन्टो हल्लाइन् । ‘दोस्रो चरणको क्यान्सर हो सर्जरी, पछि निको हुनेमा झन्डै शतप्रतिशत विश्वास गर्न सकिन्छ रे । मैले अब अपरेसन गर्ने नै ‘डिसिजन’ गरेँ । थ्याङ्क्यु भेरी मच फर योर सपोर्ट सर’ । उनी दृढ देखिइन् । मैले ठूलो राहत महसुुस गरेँ ।


सरले कुरोको बिट मार्दै भन्नुभयो, ‘मी–टु’ को झस्काले झन्डै रोकेको त्यो समयसँग म प्रायश्चित्त गरिरहेको छु अहिले । ‘मी–टु’ त सफा मन र व्यवहारका पुरुषप्रति लक्षित हुँदै होइन नि है ? महिला हिंसाविरुद्धको सोह्रदिने अभियानको अवसरमा यसलाई पनि एउटा लेख बनाएर प्रकाशित गर्नुस् न है भन्दै सरले कुरो टुंग्याउनुभयो ।


म नि:शब्द उहाँको अनुहारमा टोलाइरहेँ । उहाँको आँखामा नारीप्रतिको अपार सद्भाव र विश्वास छचल्किरहेको देखेँ ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?