२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दधिलाल ठूलाबाका नाममा

न्यायको खोजी
अनुभूति
खाडी भूमी साउदीमा चार बर्ष बेकसुर जेल बसे, चितवनका टीकाराम सापकोटा । उनका बुबा दधिलाल छोरो जेलमा छदै बिते । उनै टीकाराम गाउ फर्केर आएका छन्, न सपना न बिपनाको स्थिती छ यी पात्रसग ।    
जनकराज सापकोटा

काठमाडौँ — व्यक्ति हत्याको झूटो अभियोग र त्यसैका कारण तीन वर्ष दस महिना जेल बसेर टीकाराम मुक्त त भए । तर, उनले जीवनको अमूल्य समय बेकसुर आरोपमा गुमाए ।  उमेरको उपल्लो विन्दुमा टीकारामका बाले अनेकन चिन्ता भोग्नुपर्‍यो र चिन्तैचिन्ताले गलेर उनले धर्ती छाडनुपर्‍यो । 

दधिलाल ठूलाबाका नाममा

एउटा घुर्मैलो दिनको कुरा हो । गोरखा ईपीसेन्टर भएर आएको भूकम्पको ११ औं दिन थियो । म भक्तपुर दरबार स्क्वायर क्षेत्रमा भूकम्पले भत्किएका घर, मन्दिर र सम्पदाबारेमा रिपोर्टिङ गरिरहेको थिएँ । भासिएको स्वरमा बुबाले जब हजुरबा नरहनुभएको खबर सुनाउनुभयो, तब मभित्र कति हो कति रेक्टरको कम्पन पैदा भएको थियो । त्यसको पाँच घन्टा बित्न नपाउँदै घुर्मैलो साँझमा अँध्यारो मन लिएर म चितवन पुगिसकेको थिएँ ।


भुइँकुहिराको बाक्लो पर्दाले ढाकेको बिहान थियो । हजुरबाको सदगत सकिएकै भोलिपल्ट दधिलाल ठूलाबा मलाई भेट्न घरमै आउनुभएको थियो । उहाँले मलाई बारीको एक छेउमा बोलाएर जुन समाचार सुनाउनुभयो, त्यसले मलाई असमन्जसमा पारिदियो । त्यो मानसिक आघात पार्ने भूकम्पको ईपीसेन्टर भने साउदी अरबको जेद्धाबाट सात सय पचास किलोमिटरको दूरीमा थियो । खबर उहाँकै कान्छो छोरा टीकारामको थियो । टीकाराम सापकोटा, जो व्यक्ति हत्याको केसमा साउदी अरबमा पक्राउ परेका थिए । त्यही खबरले दधिलाल ठूलाबाको आँतमुख सुकाइदिएको थियो ।

म सानो छँदा उहाँको र हाम्रो घर नजिकै थियो । पहाडघर बाग्लुङबाट सँगै झरेकाले पनि उहाँको परिवारसँग हाम्रो परिवारको अलग्गै साइनो थियो । त्यसैले म टीकारामको बुबालाई ठूलाबा भन्थे । त्यही पुरानो साइनो र म पत्रकारितामा भएकाले उहाँ केही आशा राखेर एकाबिहानैको हुस्सुको पर्वाह नगरी मेरो घर आउनुभएको थियो ।


साउदी जेलमा व्यक्ति हत्याको अभियोगमा परेका मान्छेलाई छुटाउनु सजिलो कुरा थिएन । घटनाबारे तथ्य बुझ्नु एउटा कुरा, घटनामा उनको संग्लनता थियो कि थिएन भनेर पर्गेल्नु अर्को कुरा । काठमाडौं फर्केपछि बिस्तारै टीकारामको केस मिडियामा आउन थाल्यो । परिवारले पनि सरकारी तवरबाट पहल थाल्यो । टीकारामका शुभेच्छुक, आफन्तले पनि आ–आफ्नोतर्फबाट घटनाबारे बुझे ।


साउदीमा अदालती प्रक्रिया सुरु भयो । अनेक चरणका बयान र तथ्यको परिक्षण सुरु भयो । यता टीकारामका परिवार र बाको छटपटी सकिएको थिएन । के हुने हो कसो हुने हो ? उनीहरू अप्रमाणित तथ्य र व्यक्तिपिच्छेका अनेकन आशंकामिश्रित सूचनाका कारण थकित थिए ।


गत दसैंमा म घर पुगेका बेला थाहा पाएँ, दधिलाल ठूलाबा सिकिस्त हुनुहुन्छ रे । अहो † खबर सुन्नेबित्तिकै म उहाँलाई भेट्न पुगें । उहाँको सिन्कोजस्तो ज्यान ओछ्यानमा पल्टिएको थियो । लामोलामो सास तान्दै उहाँले मसँग टीकारामका बारेमा सोध्नुभयो । उहाँको अनुहारमा रोगसँग लड्दालड्दैको थकान थियो तर उहाँको आँखामा छोराप्रतिको असीम स्नेह छचल्किएको थियो । छोरा साउदीको जेलमा, बुबा बिरामी भएर ओछयानमा । त्यो समयको साक्षी बनिरहन मलाई सकस भइरहेको थियो । मैले टीकाराम छिट्टै छुट्ने बताएँ र केही असत्य कुरा सुनाएर भए पनि उहाँको बिरामी मुहारमा खुसी ल्याउन खोजें ।


दसैं सकिएको केही दिनपछि थाहा पाएँ, बिरामी ठूलाबा बित्नुभयो । यो खबर सुन्नेबित्तिकै मैले साउदी जेलमा रहेका टीकारामलाई सम्झें । उनले खबर थाहा पाएर के गरे होलान् ? कति भक्कानिए होलान् ? टीकारामका छिमेकीसमेत रहेका मेरा साथी दामोदर सापकोटाले उक्त दिनको घटना सुनाउँदै भने, ‘मृत्युभन्दा मृत्युको खबर जेलमा रहेका टीकारामलाई कसरी सुनाउने भन्ने चिन्ता थियो त्यो दिन ।’ दामोदरका अनुसार मृत्युको शोक र बाँचेकाको चिन्ता दुवैले परिवार र आफन्तलाई गहिरोसँग सताएको थियो ।


जेल बसाइको तीन वर्षपछि अन्तत: साउदीको तल्लो अदालतले टीकाराम निर्दोष रहेको ठहर गर्‍यो । घटनामा संग्लन रहेका अर्का नेपाली प्यूठानका सफी उल्लाह मियालाई भने पाँच वर्ष जेल सजाय र दुई लाख रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनायो । फैसला भइसकेपछि पनि टीकाराम तत्कालै जेलबाट निस्कन पाएनन् । झन्झटिलो कानुनी प्रक्रिया र सुस्त साउदी सरकारी अभ्यासले फैसला भएको दस महिनापछि मात्रै टीकाराम नेपाल फर्कने सके । यो बीचमा साउदीको जेद्धास्थित नेपाली महावाणिज्य दूतावासले खेलेको भूमिका प्रशंसनीय थियो । जेद्धास्थित दूतावासबाट टीकाराम थुनामा रहेको जेल जिजान ७ सय पचास किलोमिटरको दूरीमा थियो । तर पनि कन्सुलेट रेवती पौडेलले यति दौडधुप गरे कि त्यसैका कारण टीकाराम सहजै नेपाल आउन सम्भव भयो । कन्सुलेट रेवतीको दौडधुप र आफन्तीले निरन्तर होस्टेमा हैसे गरिरहे ।


व्यक्ति हत्याको झूटो अभियोग र त्यसैका कारण तीन वर्ष दस महिना जेल बसेर टीकाराम मुक्त त भए । तर, उनले जीवनको अमूल्य समय बेकसुर आरोपमा गुमाए । उनको परिवारले यो बीचमा अनेकन सास्ती र हैरानी खेप्नुपर्‍यो । उमेरको उपल्लो विन्दुमा टीकारामका बाले अनेकन चिन्ता भोग्नुपर्‍यो र चिन्तैचिन्ताले गलेर उनले धर्ती छाडनुपर्‍यो ।


नेपाल छाडेको झन्डै पाँच वर्षपछि टीकाराम नेपाल फर्के । सोझै चितवन गीतानगरस्थित घर पुगे र तेह्र दिनसम्म बाबुको किरिया बसे । उनी घर फर्किंदा ५ वर्षको छोरा दस वर्ष र दस वर्षकी छोरी १५ वर्षकी भइसकेकी थिइन् । घर पुगेको बेला टीकारामसँग भेटें, जहाँ तीन वर्षअघि उनका बाले तीन वर्षअघि भेटेका थिए । त्यहीं उभिएर टीकारामले सुनाए, ‘गाउँ त कस्तो बदलिइसकेछ । म आफैं पो उस्तै रहेछु ।’


अरबको इतिहास

सन् २०१० को जुलाईमा एक लाख ३५ हजार खर्चेर साउदी पुगेका टीकाराम साउदी मास्टर बेकर कम्पनीमा गाडी चालक र सेल्सम्यानको काम गर्ने गरी पुगेका थिए । ७ सय रियाल तलब भने पनि उनी ओभरटाइम गरेर झन्डै १५ सय हाराहारी कमाउँथे । २०१४ अगस्टको कुरा हो । काममै रहेका बेला टीकारामलाई साउदी प्रहरीबाट फोन आयो । प्रहरीले केही बुझ्न खोजेको होला भनेपछि उनी आफंै प्रहरीकहाँ पुगे । प्रहरीले उनलाई पक्राउ गर्‍यो । टीकारामले सुनाए, ‘पक्राउको १७ दिनपछि पो मैले पक्राउ पर्नुको कारण थाहा पाएँ ।’


त्यति बेलासम्म टीकारामलाई व्यक्ति हत्याको घटनाबारे थाहै थिएन । न उनले मृतकलाई नै चिनेका थिए । उनले भने, ‘गर्दै नगरेको अपराधको सजाय कसरी हुन्छ र भन्ने सोचेर म ढुक्क थिएँ ।’ तर, टीकारामले सोचेजस्तो भएन । उनको निर्दोषिताको प्रमाण खोज्न वर्षौं लाग्यो । निर्दोष प्रमाणित भइसक्दा उनले तीन वर्ष जेलमा बिताइसकेका थिए ।


जेलभित्र उनलाई सकस थियो । पहुँचवाला कैदीले जेलभित्रै अवैध फोनको व्यापार चलाएका थिए । दुई रियाल तिरेर एक मिनेट फोन गर्न पाइने सुविधा उपभोग गरेर आफन्ती, शुभेच्छुक र परिवारजनसँग कुरा गर्दागर्दै टीकारामले लाखौं रुपैयाँ सके । आफ्नो मुद्दा के भइरहेको छ ? कहाँ पुग्यो ? कसरी सहयोग जुटाउन सकिन्छ भनेर बुझ्दाबुझ्दै उनको फोनको बिल चढिसकेको हुन्थ्यो । टीकारामलाई सहयोग गर्न फेसबुक ग्रुप पनि बनेको थियो । ‘दस रियाल तिरेपछि जेलभित्र गोप्य रूपमा डाटाबाट फेसबुक चलाउन पाइन्थ्यो,’ टीकारामले भने, ‘मुद्दाबारे अपडेट गराउने, सहयोगका निम्ति हारगुहार गर्ने सबै काम फेसबुकबाट गर्थे ।’ टीकारामको हिसाब गर्दै सुनाए, ‘मोबाइल फोन र अन्य सुविधाका निम्ति मात्रै करिब पाँच लाख रुपैयाँ सके होला ।’


जेलभित्र खानाको त सुविधा थियो । तर तेल, दाह्री काट्ने सामान, अतिरिक्त पानी र आफूलाई चाहिने केही कुरा किन्नैपथ्र्यो । उनले सुनाए, ‘जेलले दिने मासिक एक सय तीस रियाल भत्ता त केही पनि नपुग्ने ।’ जेलभित्रै अर्कै संसार थियो । अतिरिक्त खर्च धान्न टीकारामले नेपालबाट पैसा मगाउँथे । यस्तो पैसा जेलभित्रै पहुँचवाला कैदीले उनको हातमा ल्याइदिन्थे । तर, सयकडा बीस प्रतिशत सेवा शुल्क काटेर । यसरी पनि टीकारामलाई खर्च चर्को पर्‍यो ।


टीकारामका निम्ति प्रत्येक दिन र रातको हिसाब थियो । बेकसुर सजाय भोग्दाको सकसको भने कुनै हिसाब थिएन । एक साँझ जब कसैले उनलाई फेसबुकमा बाबुको मृत्युको खबर सुनाइदियो, उनलाई घुमिरहेको संसार टक्क अडिएजस्तो भयो । ‘घरतिरकाले अरू चीज बार्न नसके पनि माछामासु नखाने भनेर सल्लाह दिएका थिए । तर, त्यस्तो त कसरी मिल्नु । सयौं कैदीलाई एउटै भाँडामा पकाएको खानुपर्ने नियम । ‘माछा–मासु सराबरी’ टीकारामले त्यो समय सम्भिँmदै भने, ‘म त्यस्तो अवस्थामा भएको पितृलाई पनि थाहै छ । अब माफ गर्नुहोला भन्ने सोचें ।’


यसरी सकसपूर्ण जेल सजायको तीन वर्षपछि टीकारामले अदालतबाट सफाइ पाए । कागजी प्रक्रिया मिलाएर उनी तीन वर्ष दस महिनापछि नेपाल रित्तो हात स्वदेश फर्के । तर, अब के ? टीकारामसँग अनुत्तरित प्रश्नहरू मात्रै छन् । उनले बेकसुर सजाय भुक्तान गर्दाको क्षतिपूर्ति कसरी होला ? मानव अधिकार र श्रमिक अधिकारको कुनचाहिँ बुँदा उनको निम्ति आकर्षित होला ? के टीकारामको कम्पनीले उनी बेकसुर सजाय भुक्तान गर्दाको अवधिको क्षतिपूर्ति देला ? टीकारामसँग कुनै उत्तर छैन ।


उनले मधुरो स्वरमा सुनाए, ‘प्राण त बचाए, अब न्याय कसले खोजिदेला ?’

प्रकाशित : मंसिर १५, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?