बहस : शृङ्खला भर्सेज निर्मला 

आफ्नो रुचिको गतिविधि गरेबापत म रुबी, माल्विका, निकिता वा शृङ्खलाको विरोध व्यक्तिगत रूपमा किन गरौं ? मेरो उनीहरूसँग व्यक्तिगत दुश्मनी छैन । मलाई त निर्मला र मेरी छोरीजस्ता लाखौं बालिकाका लागि सुरक्षित समाज चाहिएको छ जसको कारण उनीहरूले शृङ्खलाले जस्तै स्वतन्त्र जिन्दगी बाँच्न पाऊन् । 
सौन्दर्यका परम्परागत मान्यता नपछ्याउनेलाई ‘खतरनाक महिला’ भन्दै मौसमी रिपोर्ट लेख्ने काम सयौं गुणा सजिलो छ ।
सावित्री गौतम

काठमाडौँ — देशमा यतिबेला एक जना किशोरी र एक जना युवतीको सर्वाधिक चर्चा छ । एउटी हुन् चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी महेन्द्रनगर उल्टाखामकी निर्मला पन्त ।

पोखरामा कलाकार सुनील सिग्देलको कलाकृतिको प्रदर्शनीमा आमाको हात समातेर आएका एक जना बालकले कलाकार सिग्देलले निर्मला र मिथककी ‘दुर्गा भवानी’ को फ्युजन गरेर बनाएको चित्र ‘माई गड्डेस लस्ट द ब्याटल’ लाई ढोकाबाहिरबाटै देखाउँदै भन्दै थिए, ‘त्यो त निर्मला होइन ?’

Yamaha

अर्की हुन् हिडन ट्रेजर प्रालि नामक निजी कम्पनीले आयोजना गरेको मिस नेपाल शीर्षकको प्रतियोगिताकी विजेता शृङ्खला खतिवडा जो यतिखेर मिस वल्र्ड प्रालि नामक अर्को निजी कम्पनीले चीनमा आयोजना गरिरहेको विश्वस्तरीय प्रतिस्पर्धा मिस वल्र्डमा प्रतिस्पर्धारत छिन् ।

उनी नेपालमा चिनिइसकेर अब विश्वलाई नै आफ्नो र आफ्नो देशको नाम चिनाउने तरखरमा जोडतोडले लागिपरेकी छन् । वर्षमा पचासौं पटक देश–विदेशका विभिन्न प्रतियोगितामा सहभागी नेपाली र नेपाली मूलका प्रतियोगीलाई भोट गर्ने उत्सव मनाउन पाउने नेपालीहरू यतिबेलाशृङ्खलालाई भोट गरेर विश्वसुन्दरी बनाउन सघाउने मौकाको भरपूर उपयोग गर्दै भोटिङ महोत्सव मनाइरहेका छन् ।

न शृङ्खला हालको नेकपा डबल र उसका ‘भारदार’ का व्यक्तिगत सम्पत्ति हुन् न निर्मला नेकपाइतरका व्यक्तिको सम्पत्ति हुन् । दुवै नेपाली महिलाका अनुहारका दुईवटा पाटा हुन् । एक जनाले बाल्यकालमै गरिबी, छोरी भएको आधारमै बाबुले छोड्नुको पीडाको साथमा बलात्कारसँगै बीभत्स हत्याजस्ता अँध्यारा मात्र भोगिन्, अर्कीले आमाबाबुको प्रशस्त माया र हौसला, सम्पन्नता, उच्चकोटीको शिक्षादीक्षाको साथमा ग्ल्यामरको दुनियाको आँखा तिरमिराउने प्रकाशसँग रमाउने मौका पाइन् ।

बीभत्स मृत्यु भोगिसकेपछि पनि सरकारका कारिन्दाले निर्मलाको शवमाथि समेत बलात्कार र हत्याको सबुत मेटाउनका लागि गरेको ज्यादतीको विरोधमा उल्टिएको सिङ्गो देशका एकएक मान्छेको आँखामा निर्मलाको अनुहार अमिट बनेर रहेको छ । उता शृङ्खलालाई पनि यतिखेर धेरै मान्छेले चिनेका छन् किनकि उनको सहभागिता सुरुदेखि नै रोचक बनेको छ ।

कारण उनी यस्ता प्रतियोगिताले महिलाको वस्तुकरण गर्छ भन्ने विश्वास राख्ने राजनीतिक दलका नेता दम्पतीकी छोरी हुन् । उनका मातापितासहित मर्ज भएको अर्को दल पूर्वनेकपा माओवादीको विरोधका कारण त झन् सन् २००८ को मिस नेपाल प्रतियोगिता स्थगित नै हुन पुगेको थियो ।

निर्मला हत्याकाण्ड नेकपा डबलको दुईतिहाइ सरकार भएको बेला भएको छ । यही कारण निर्मलाको निम्ति न्याय माग्दै सडकमा चार महिनादेखि हिँड्नेहरू नेकपा डबलका केही ‘भारदारहरू’ का नजरमा स्वत: सरकारविरोधी, डलर पचाउने रोजगारी कायमै राख्न उफ्रेका झुन्ड आदि बनेका छन् ।

उता फेरिपूर्व नेकपा एमालेका नेताद्वयकी छोरीले विश्वसुन्दरी प्रतियोगितामा भाग लिएको कारण नेकपा डबलकै केही ‘भारदार’ का लागि विश्वसुन्दरीको ताज प्रतिष्ठाको सवाल बनेको छ । यतिबेला शृङ्खलाभन्दा निर्मला महत्त्वपूर्ण भन्नेहरू पनि ती भारदारहरूको नजरमा स्वत: सरकारविरोधी बनेका छन् ।

विश्व सुन्दरीको ताज देशमा भित्र्याएर देशको देशको शिर ठाडो पार्ने धुनमा धुनधानसँग लागिपरेका नेकपाका भारदार र अन्य केही सर्वसाधारण मनुष्यहरूको सबैभन्दा बढी तारो बनेका छन् हामीजस्ता दुई–चार जना महिला, जसलाई सौन्दर्य प्रतियोगिताको आधारभूत धारणा नै औचित्यहीन लाग्छ ।
***

अर्कातिर छन् ठयाक्क सुन्दरी प्रतियोगिताको सिजन सुरु भएपछि यसको विरोध वा समर्थन गरेका व्यक्तिहरूको विचार जुधाएर सनसनी मच्चाउने दाउमा चिलले सिनो ढुकेको झैं ढुकेर बस्ने सञ्चारमाध्यम । कोटेसन माग्नेहरूलाई यही बेला सुन्दरी प्रतियोगिताविरोधीहरूको धारणा धमाधम माग्नुपरेको छ । माग्नेहरूले त कम्तीमा त्यतिसम्म जाँगर चलाए ।

अरू कतिपयले त सामाजिक सञ्जालमा हामीले साथीसँग गरेका संवादलाई नै बिनासोधपुछ वा निर्लज्जतापूर्वक छापिदिएर हामीलाई ‘शृङ्खलाका विरोधी’ करार गरेका छन् । उदाहरणका लागि कान्तिपुर एफएममा काम गर्ने साथी स्वर्णा ताम्राकारले मिस नेपालको परिचयात्मक भिडियोमा ‘स्क्रिप्टबाहेक सबै ठीक छ, किन पढ्न असाध्यै जान्ने थिएँ भन्नुपरेको’ भनेर टिप्पणी गरिन् ।

मैले त्यसमा थपें, ‘स्क्रिप्टमा भएको’ एउटी ‘बोरिङ’ पढन्ते यतिखेर मिस नेपाल भएकी थिई’ भन्ने आशयको वाक्यले ‘मिस नेपाल बौद्धिकताको प्रतिस्पर्धा हो’ भन्ने आयोजक र प्रतिस्पर्धीको सदाबहार दाबीप्रति विरोधाभास देखाउँछ । ‘हामीमाथि मिस वल्र्डका लागि बनाइएको परिचयात्मक भिडियोजस्तो कुनै सार्वजनिक कन्टेन्टमा टिप्पणी गरेबापत कुरूप र ईष्र्यालु फेमिनिस्ट, महिला भएर अर्की महिलाको बारेमा पँधेर्नीले जसरी कुरा काट्ने र फेरि महिलाले हेपेको भन्दै हिंड्नेजस्ता तुच्छ टिप्पणी त पहिल्यै गरिएका थिए जुन कुनै प्रतिक्रियाका लायक थिएनन् ।

यसमा प्रतिक्रिया दिनैपर्ने स्थितिचाहिं एउटा सञ्चारमाध्यमको हर्कतका कारण बन्यो । हामी दुईको यो संवादलाई स्क्रिनसट गरेर गरिएका सयौं गालीमध्येको एउटा टिप्पणी ‘तिनीहरूले यस्तो भन्ने हिम्मत कसरी गरे, शृङ्खलालाई आफ्नो उपलब्धि बताउने पूर्ण अधिकार छ’ आशयको भनाइसँग मिसाएर प्रकाशित गरेर बीबीसी नेपालीजस्तो ‘प्रतिष्ठित’ सञ्चारमाध्यमले लेखेको छ, ‘सामाजिक सञ्जालमा शृङ्खलाको विरोध र प्रतिरक्षा दुवै गरिएको छ ।’

‘नेपालकी ग्ल्यामर गर्ल शृङ्खला खतिवडा मिस वल्र्ड उपाधिको कति नजिक’ (२२ नोभेम्बर २०१८) को बीबीसी नेपाली समाचारशृङ्खलाको विरोध थियो वा स्क्रिप्टप्रतिको मात्रै चित्त नबुझाई, उनलाई हराउनेषड्यन्त्र थियो वा कुनै सार्वजनिक सामग्रीमाथि साथीसाथीले गरेको सामान्य हाँसोठट्टायुक्त गफ ? त्यो फिचर तयार पार्ने बीबीसीका पत्रकारले त्यतिसम्म सोध्ने जाँगर पनि चलाउन सकेनन् ।

(सोधेका भए थाहा पाउँथे, कम्तीमा स्वर्णाचाहिं मिस नेपालजस्ता प्रतियोगिताको विरोधी त पटक्कै होइनन् बरु उनको नजरमाशृङ्खला आजसम्मका मिस नेपालमध्ये उत्कृष्ट हुन् रे ।)
***

‘हामी गणतन्त्र र खुला समाज भएको देशमा बस्छौं, यस्ता समाजमा खेलकुदका, ग्ल्यामरका, लेखपढका गतिविधि समानान्तर रूपमा भइरहन्छन् । त्यसैले शृङ्खलाले कुनै गैरकानुनी काम गरेकी छैनन् । उनी आफ्नो रुचिको काम गर्न स्वतन्त्र छन् ।

मलाई त्यससँग सरोकार छैन तर म आफूचाहिं व्यक्तिगत रूपमा सौन्दर्य प्रतियोगिताले व्यक्तित्व विकास हुन्छ भनेर मान्दिनँ ।’ एउटा दैनिक पत्रिकामा फिचर तयार पार्दै छु भनेर फोन गरेकी पत्रकारलाई मैले यस्तो जवाफ दिएपछि उनले भनिन्, ‘भनेपछि आज न्युट्रल (तटस्थ) बस्ने विचार गर्नुभयो ?’ ‘म सधैं न्युट्रल छु’ उनीप्रति उत्तेजित नभईकन जवाफ दिएँ । किनकि उनले हाम्राबारे गरिने टिप्पणीको आधारमा हामीलाई ‘छुच्चा आइमाई’ को रूपमा नै चिनेकी छन् भनेर म सजिलै बुझ्थें ।

यतिखेरकै कुरा गर्दा जसजसलाई हामीलाई सुन्दर र कोमल महिलालाई देखी नसहने कुरूप र छुची महिलाको रूपमा प्रस्तुत गर्नुपरेको छ उनीहरूले हाम्रा विचारहरूबाट जति चाहियो त्यति जसरी प्रस्तुत गर्न मन लाग्यो, त्यसरी आफ्नो कोणबाट प्रस्तुत गरिरहेका छन् ।

बीबीसीपछि अर्को एउटा अनलाइन ‘सारंगी न्युज’ भन्नेले सेतोपाटी अनलाइनमा मैले लेखेको ‘सौन्दर्यको सिमसारमा हामी’ शीर्षकको लेखबाट त्यति नै भाग निकालेको छ जति निकाल्दा हाल म शृङ्खला खतिवडाको खुँखार विरोधीजस्तो देखिन्छु ।

उक्त हिस्सालाई अरू केही व्यक्तिको फेसबुक पोस्टसमेतसँग मिसाएर छापिएको छ (विश्वसुन्दरी ताज : सर्वश्रेष्ठ सुन्दरी कि बिकेको माल ? सारंगी न्युज डट कम (मंसिर ८, २०७५) लेखबाट साभार हो भनिएको छैन, बकायदा मेरो फोटोसहितको लिंक मलाई नै फेसबुकमा टयागसमेत गरिएको छ । साभार भनेर लेख्ने त परको कुरा, यसबाट तपाईंको विचार यति निकाल्यौं है भनेर सोध्ने वा जानकारी दिनेजस्तो सामान्य नैतिकतासमेत पालना गरिएको छैन ।

आफ्नो रुचिको गतिविधि गरेबापत म रुबी, माल्विका, निकिता वा शृङ्खलाको विरोध व्यक्तिगत रूपमा किन गरौं ? देशको संविधान र कानुनले सौन्दर्य प्रतियोगितालाई बन्देज गरेको छैन र मेरो उनीहरूसँग व्यक्तिगत दुश्मनी पनि छैन ।

मलाई त निर्मला र मेरी छोरीजस्ता लाखौं बालिकाका लागि सुरक्षित समाज चाहिएको छ जसको कारण उनीहरूले सुरक्षित हुर्कन पाऊन् र शृङ्खलाले जस्तै स्वतन्त्र जिन्दगी बाँच्न पाऊन् । तर, मलाई सौन्दर्य प्रतियोगिताको आधारभूत धारणा, त्यस्ता प्रतियोगिता जित्नुलाई उपलब्धि भनेर गरिने वर्णन र त्यस्ता प्रतियोगितालाई सरकारविरोधी र सरकारमुखी मुद्दा बनाएर झगडा गरिनु, भोट गर्नुलाई राष्ट्रिय चाड वा महोत्सव जसरी मनाउनु हास्यास्पद लाग्छन्, त्यत्तिचाहिं पक्का हो ।

कुनै नागरिकले आफूले चाहेको क्षेत्र रोज्ने अधिकार छ । त्यसैले यसमा उसका बाबुआमालाइ जोडेर गरिने बहससमेत बेकार छ । तर, बहसको मुद्दा के चाहिं हो भने कुनै दम्पती जसले सारा जीवन महिलाको वस्तुकरणको विरोध गर्ने ‘कम्युनिस्ट’ भनिने राजनीतिक दलमा आबद्ध भएर बिताएकी आफ्नै छोरीले घरमा कुन ‘कम्युनिस्ट स्कुलिङ’ पाइन् र दुई–चार प्रश्नका उत्तर रटाएर, शरीरको नापजाँच गरेर घोषित गरिने सुन्दरी प्रतियोगितामा भाग लिन मन लाग्ने बनेर हुर्किइन् ? ल छोरीलाई कम्युनिस्ट स्कुलिङ मञ्जुर थिएन मानियो ।

अझ अनौठो त आज आफ्नी छोरीले प्रतिस्पर्धा गर्नेबित्तिकै कुनै ‘प्राइभेट लिमिटेड’ ले सञ्चालन गर्ने सामान्य इभेन्टमा भाग लिने सन्तानको चाहनालाई ‘यो उनको प्राइभेट कुरा हो’ भन्न नसकेर ‘शरीरको मात्र प्रतिस्पर्धा होइन बुद्धिको पनि हो’ भनेर जोडतोडका साथ भोट माग्ने लेबलमा स्वयं कम्युनिस्ट बाबुआमा कसरी पुगे ?

यो कुनै व्यक्तिविशेष र उसले कुन चुनावचिह्नमा भोट हाल्छसँग नभई समाजले निर्माण गरेको हाम्रो चेतनामाथि गरिनुपर्ने प्रश्न हो । यो प्रश्न र बहस वर्षैभरि जरुरी छ । सिजन लागेपछि दुई–चार जनालाई बोल्न–लेख्न लगाउने, जुधाउने, कुनै ‘कमरेडद्वय’ की छोरीलाई जिताउन लागिपरेका दलका बफादार चाटुकारहरूले दुई–चार जना ‘कुरूप महिला’ लाई अमर्यादित गाली गर्ने वा सञ्चारमाध्यमले गालीको पृष्ठभूमि तयार पारिदिनेजस्तो हल्का विषय होइन ।

तर, सम्बन्धित टिप्पणीकर्तालाई सोध्ने सामान्य नैतिकतासमेत पालन नगरीकन, उनीहरूको विचारको पुष्टि नगरीकन, अनुमतिसमेत नलिईकन सामाजिक सञ्जालमा अभिव्यक्त विचार छापेर काम चलाउने अल्छीहरू भएको देशमा यस्ता सामाजिक मुद्दाबारे उन्नत सार्वजनिक बहसहरू हुने सम्भावना हाललाई कमै देखिन्छ ।

किनकि यसमा गम्भीर बहस चलाउनुभन्दा सौन्दर्यका वा घर व्यवहारका परम्परागत मान्यता नपछयाउने, त्यसमा विश्वास नगर्ने महिलालाई ‘खतरनाक महिला’ को रूपमा चित्रित गरिदिएर मौसमी रिपोर्ट लेख्ने काम सयौं गुणा सजिलो छ ।
***

निर्मलाको बलात्कार र हत्या सम्बन्धमा नेपाल सरकारको गृह मन्त्रालय र त्यसअन्तर्गतको नेपाल प्रहरीले देखाएको नकचरोपनाको वर्णन यहाँ गरिरहनु जरुरी छैन, हजारौं पटक भइसकेको छ ।

निर्मला एउटा प्रतीक मात्र हुन् देशमा महिलामाथिको हिंसाको भयावह स्थितिको, असुरक्षित हाम्रा आमा, हामी र छोरी तीनै पुस्ताको, हिंसामा परिसकेपछि पनि उचित न्याय नपाइने दयनीय अवस्थाको । दिनको तीन जनाको दरले भइरहेका बलात्कारको तथ्यांक केही वर्षदेखि स्थिर छ ।

बिहान–दिउसो–साँझ, विद्यालयमा, होटलमा, घरमा, कार्यस्थलमा जतासुकै बलात्कृत हुने र मारिने स्त्रीलिंगीहरूको संख्या र उमेर हेर्दा कोही पनि कहीं पनि सुरक्षित छन् भनेर ढुक्क हुन सकिंदैन ।
साना छोरीहरूका आमाको मुटुको चाल त कैयौं महिनादेखि स्थिर हुन सकेको छैन । एकातिर देशमा समृद्धिको रटान लगाइएको छ र अर्कोतिर देशका ५१ प्रतिशत जनसंख्या अर्थात् महिलामा घरभित्रसमेत आफू कसरी सुरक्षित हुने र छोरीहरूलाई कसरी सुरक्षित राख्ने भन्ने त्रास छ ।

वर्षौंदेखि देशको आधाभन्दा बढी जनसंख्या असुरक्षित छ, देशको विकास र उत्पादन प्रणालीसँग जोडिन पाएको छैन ।

यतिखेर त सुरक्षाको माग गर्दै महिनौंदेखि सडकमै छ । समृद्धिको यात्रामा आधा मात्र जनसंख्या सहभागी भएपछि सरकारले कल्पना गरेको समृद्धि कसरी आउँछ र कस्तो खालको आउँछ महिलामाथिको हिंसा महिलालाई तल्लो वा सहायक दर्जाको लिंगको रूपमा हेरिने चलन हो भनेर सोच्ने, घर चलाउने, देश चलाउने, धर्म संस्कृति वा सुन्दरताका परम्परागत व्याख्या र तरिकाहरूसँग सहमत नहुने, तिनको बारेमा प्रश्न गर्ने महिलालाई घर समाजमा मात्र होइन राजनीतिक दलका उच्च तहका मिटिङहरूमा समेत बडेबडे ‘मर्द’ हरूले ‘टयाउँटयाउँ नगर्न’ निर्देशन दिन्छन् ।

यस्तोमा देशको इज्जत कुनै निजी कम्पनीले वितरण गरेको सुन्दरीको ताजले कसरी ढाक्ला ? देशको आधाभन्दा बढी जनसंख्या यौनहिंसा र त्यसपछिको हत्याको त्रासबाट मुक्त नहुनु, सामाजिक सुरक्षा प्रत्याभूत नहुनु, उनीहरूले बाँच्नका लागि ढुक्क महसुस नगर्नु देशको बेइज्जती सूचकभित्र पर्छ कि पर्दैन ? देशको इज्जत त कुनै ताज भित्र्याएर नभई यी सबै कुराको प्रत्याभूति भएपछि बढ्छ ।

देश चलाउनेहरूप्रति हाम्रो इज्जतचाहिं निर्मला हत्याकाण्डजस्ता घटनाको शृङ्खला रोकिएको दिनबाट बढ्न सुरु हुनेछ । देश चलाउनेहरूले हामीबाट इज्जत त्यो दिनदेखि कमाउलान् जुन बेला देशका ५१ प्रतिशत जनसंख्याले सुरक्षित महसुस गर्न सुरु गर्लान्, निर्धक्क हिंड्न–डुल्न, काम गर्न पाउलान् । देशको उत्पादन प्रणाली र विकाससँग जोडिएलान् र देशलाई समृद्ध बनाउने यात्रामा आफू पनि सहभागी हुन पाएकामा गर्व गर्लान् ।

रूपरंगका र पारिवारिक–सामाजिक–राजनीतिक संरचनाका परम्परागत व्याख्यासँग सहमत नहुने महिलालाई बाहिर आउटर स्पेसमा जति कटाक्षको, प्रश्नको, लाञ्छनाको सामना गर्नुपर्छ सामाजिक सञ्जालजस्ता साइबर स्पेसमा त्योभन्दा बढी सामना गर्नुपर्छ । समग्रमा गरिने गाली, बाझाबाझ र आलोचनात्मक धारणा राख्ने महिलालाई महिला भएकै आधारमा गरिने अश्लील र हिंस्रक गालीगलौजमा फरक छ ।

कुनै सार्वजनिक विषयमा समेत विचार व्यक्त गरेकै आधारमा अमर्यादित र यौनसँग सम्बन्धित फोहोरी भनेर चिनिएका शब्द प्रयोग गरेर गरिने टिप्पणीको सिकार हुनुपर्दा हामीले केही कुरा व्यक्त गर्ने कि नगर्ने भनेर दस पटक सोच्नुपर्नेजस्तो भएको छ । आउटर स्पेसमा भौतिक असुरक्षाका कारण हाम्रो हाम्रो हिँडडुलको र साइबर स्पेसमा अमर्यादित टिप्पणी सुन्नुपर्दा लाग्नुपर्ने झिंझोले हाम्रो अभिव्यक्ति स्वतन्त्रताको परिधि साँघुरिएको जस्तो भएको छ ।

त्यसमाथि सुरक्षा संयन्त्र बाहिर त यति बेजिम्मेवार छ, साइबर दुनियाँमा उसलाई जिम्मेवार हुनुको दरकार किन रहोस् । बलात्कार र हत्याका अपराधीलाई त सजाय दिलाउन नसकेको लाचार सुरक्षा संयन्त्रबाट हामीले साइबर स्पेसमा सुरक्षाको ग्यारेन्टी, निर्धक्क भएर आफ्नो धारणा व्यक्त गर्न पाउने अवस्थाको प्रत्याभूतिको आस कसरी राख्नु ।

तर, पितृसत्ताका बफादार ठेकेदार र सरकारी भारदारहरूले बुझ्नुपर्ने कुरा के भने यो सबैका बाबजुद हामी रोकिनेवालाचाहिं छैनौं । देशका, समाजका र साइबर दुनियाँका सबैखाले सार्वजनिक वृत्त प्रयोग गरेर प्रश्न गर्ने अधिकार हाम्रो पनि उत्तिकै छ ।
***

नीलो ताजका दाबेदार सुन्दरीहरूले रटेका प्रश्न–उत्तरले महिलाको सशक्तताको कत्तिको ग्यारेन्टी गर्छ थाहा छैन तर निर्मलाहरूको शृङ्खला नरोकिएसम्म, संसार सबैका लागि सुन्दर नभए पनि सबैका लागि कम्तीमा बाँच्नलायक संरचना नहुन्जेल प्रश्न गर्न रोक्नुहुन्न भनेर बुझ्नेजत्तिको सशक्त मेरी छोरीचाहिं बनेकी छ ।

मेरो अनुपस्थितिमा पनि उसले यी प्रश्न कायमै राख्नेछ भन्ने विश्वास छ । दलअनुसारका सरकार फेरिएलान्, सरकारी भारदारका पनि अर्का टोली आउलान् तर हाम्रो प्रश्न त समाजको आधारभूत संरचना, ज्ञान र चेतनाको निर्माण प्रक्रियासँग, स्रोत र अधिकारको बाँडफाँडसँग हो जुन उत्तर नपाएसम्म रोकिंदैन ।

जुनसुकै दलका भारदारले लाञ्छित गरे पनि रोकिंदैन । आउटर वा साइबर स्पेस दुवैमा गरिने अमर्यादित तुच्छ टिप्पणीले रोकिने त झन् कुरै भएन । जुन दिनसम्म यो समाज, देश, संसार, यसका स्रोतहरू, राजनीतिक सामाजिक अधिकारहरू, अभिव्यक्ति स्वतन्त्रताका अवसरहरू, सामाजिक सुरक्षाका प्रत्याभूति आदिको समान वितरण हुँदैन, त्यतिन्जेल ‘कुरूप’ र ‘खतरनाक’, ‘समाज भाँड्ने’ आदि उपाधि पाएका महिलाहरूको यो टयाउँटयाउँ रोकिंदैन।

प्रकाशित : मंसिर १५, २०७५ ०८:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भक्तपुरे रानीपोखरी 

सभ्यता
विचारणीय कुरा के छ भने नेपालमण्डलका कुनै एक मल्लकालीन सहरमा जे सम्पदा छ, त्यो अन्य सहरमा पनि हुनुपर्छ भन्ने कुरालाई समग्रमा बिर्सनुहुन्न । त्यो सम्पदाभित्रको एउटा अंश भक्तपुरको रानीपोखरी पनि हो । 
पुरुषोत्तमलोचन श्रेष्ठ

काठमाडौँ — भौतिक सम्पदा निर्माण गरेसँगै त्यसलाई अभौतिक सम्पदाले समेत अपरिहार्य रूपमा सांस्कृतिकीकरण गर्दै लानु नेपाली संस्कृतिको अतुल्य विशेषता रहेको छ । प्राचीन/मध्यकालीन सहरी सुन्दरता र प्रतिष्ठालाई आज पनि उत्तिकै बढाइरहेका तात्कालिक नेपालमण्डल (काठमाडौं उपत्यका) का अन्य पोखरीलगायत भक्तपुरको रानीपोखरी पनि यस कुराको अपवाद होइन ।

यी खुला स्थानका खुला सम्पदा हुन् । कैयनकालदेखिका धूलोमाटो, घाँस, झारपातले ढाकेर जीर्ण अवस्थामा पुगिसक्दा आज पनि यो उत्तिकै सुन्दर देखिन्छ । यसको सुन्दरताले पनि सहरको शोभा बढाएको छ । तर, योसित यसको स्थापनाकालदेखि गाँसिँदै आएको धार्मिक–सांस्कृतिक सम्बन्ध वा संस्कृति वर्तमानमा खुम्चिन पुगेको छ, केही त लोप भइसके । केही सांंस्कृतिक–सास भने कुनै न कुनै रूपमा अझै चलिरहेको छ ।

भक्तपुरको मध्यकालीन मूल सहरीबस्ती बाहिर पश्चिममा, सल्लाघारी थुम्कोमै, मूल सडकको उत्तरपट्टि यो पोखरी रहेको छ । पूर्व–पश्चिम लाम्चो परेर आयताकार देखिने यस पोखरीको चारैतिर, भित्र बाहिरका पर्खालका भित्तामा माछाकाँडे शैलीमा ठाडो इँटा छापेर बनेका अग्ला डिल छन्, जुन सडकभन्दा माथि छन् । त्यसो हुँदा सडकबाट यो पोखरी नदेखिएको हो । अर्को कुरा सो पोखरीको दक्षिणपट्टिको सतह घाँस झारपातले लगभग पूरै ढाकिएको र त्यतापट्टि पोखरी पस्ने मूल प्रवेशद्वारसहितको सत्तललगायतका अन्य कलाकृति पाताल भइसकेकाले पनि त्यतातिर के छ भन्ने ध्यान कसैको जाँदैन । र, यो पोखरीलगायत यसको आसपासका बृहत् खुला स्थान, पुतलीबगैंचा, गौचर आदि विसं २०४० सालदेखि नेपाली सेनाअन्तर्गतमा गएको छ र पोखरी परिसरका खुला स्थानमा सैनिक आवासीय महाविद्यालयका भवनसमेत उठेका छन् । त्यसो हुँदा सो पोखरी, खुला स्थान, गौचरलगायत ती सम्पदासित गाँसिएर आएको सांस्कृतिक जीवन क्रमभंगको संघारमा पुगेको छ ।

विचारणीय कुरा के छ भने नेपालमण्डलका कुनै एक मल्लकालीन सहरमा जे सम्पदा छ, त्यो अन्य सहरमा पनि हुनुपर्छ भन्ने कुरालाई समग्रमा बिर्सनुहुन्न । त्यो युग कला वास्तुकला एवं अनेक नूतन शैलीहरू एकसाथ प्रवाहित हुन पुगेको प्रयोगात्मक युग थियो र अनुकरणको यस्तो प्रतिस्पर्धात्मक युगसमेत थियो जहाँ एकले अर्कोलाई उछिन्ने गरी बनेका सुन्दर एवं बेजोड कलाकृतिले विस्मयकारी रूपमा नेपालमण्डलको भण्डार भरिन पुगेको थियो । त्यो भण्डारभित्रको एउटा अंश भक्तपुरको रानीपोखरी पनि हो ।
***

भक्तपुरको रानीपोखरी नेसं ७५० (विसं १६८७) मा तत्कालीन भक्तपुरका राजा जगज्योतिर्मल्लले बनाउन लगाएका हुन् । यस भेकका बृहत् खुला स्थानमा वा भनौं गढरूपको राजधानी सहरको पश्चिमपट्टिका गढपर्खाल र ढोकाबाहिरका नाकामा पहिले नै तीनवटा ठूला पोखरीहरू (इन्द्र दह/त:पुखु/सिद्धपोखरी : नेसं २३९/वि.सं.११७६), न:पुखु/गुह्यपोखरी नेसं २८९/विसं १२२६), भाज्या पुखु (सोह्रौं शताब्दीको पूर्वाद्र्ध इसं) बनिसकेका थिए । यसो हुँदा जगज्योतिर्मल्ललाई यहाँ पोखरी बनाउन ती पुराना सुन्दर भव्य पोखरीहरूले प्रेरित गरेको देखिन्छ । मल्लकालीन सहरी सुरक्षा वास्तुतिर दृष्टि दिँदा तत्कालीन समयमा सहर पस्ने, सहर बाहिर जाने पश्चिमतर्फका दुई मजबुत किल्लाका प्रवेशद्वारमध्ये भार्वाचोढोका समीपमा बनेको पोखरी ‘भाज्यापुख’ु थियो भने इताछेंढोका समीपमा बनेको पोखरी ‘न:पुखु’ थियो । अचम्मको कुरा देखिन्छ भने न:पुखुको सीधा ठीक पश्चिममा त:पुखु र लगभग त:पुखुको पनि सीधा पश्चिममा उस्तै दूरीमा यो रानीपोखरी बनेको छ । रानीपोखरीको मध्यभागमा गाडिएको काष्ठस्तम्भमा सुनको वासुकिनाग पनि प्रतिष्ठापित थियो । यसरी समान दूरीमा रहेका यी तीन पोखरीका अवस्थानबारेमा विचार गर्दा रानीपोखरीको निर्माणले अन्य दुई पुराना पोखरीलाई समेत पूर्णता प्रदान गरेको प्रतीत हुन्छ । यसैकारण यो पोखरीलाई भक्तपुरको सांस्कृतिक जीवनले पश्चिमतर्फ फर्केको एक विशाल नागको शिर, त:पुखुलाई सो नागको शरीर र न:पुखुलाई सोही नागको पुच्छर भनी (मान्दै) आस्थाभाव प्रकट गर्दै आएको विदित हुन्छ ।

मल्लकालमा, विशेषगरी कान्तिपुरका राजा प्रताप मल्ल र उनका समकालीन भक्तपुरका राजा जगतप्रकाश मल्लबीचको राजनीतिक सम्बन्ध राम्रो थिएन । प्रताप मल्ल शैव तथा बौद्ध तान्त्रिक राजा थिए । भक्तपुरको रानीपोखरी बनेपछि चलेको लोक–आहान सायद उनले पनि सुनेका थिए । यसो हुँदा आफ्नो राज्यतिर लक्षित नागको शिर र अन्य सुन्दर सम्पदाले सुशोभित यो पोखरी भताभुंग पार्ने दाउमा उनी थिए भन्ने अनुमान हुन्छ ।

ललितपुरसित मिलेर पहिले भक्तपुर जित्ने र त्यसपछि ललितपुरलाई पनि जितेर सिंगो नेपालमण्डलको चक्रवर्ती सम्राट् बन्ने ठूलो इच्छा प्रताप मल्लको थियो । सोहीअनुरूप उनले ललितपुरका राजा श्रीनिवास मल्लसित मिलेर भक्तपुरमा लगातार भनेजस्तै आक्रमण गर्न थाले । प्रताप मल्लले भक्तपुरमा आक्रमण गर्दा जहिले पनि वनदुर्गको रूपमा रहेको, भक्तपुरको पुस्तैनी अधिकारमा परेको भए तापनि लामो समयसम्म आफ्नो अधिकारमा पार्न सफल भएको चाँगुलाई सैनिक मुकाम बनाएको देखिन्छ । यहीँबाट उनले नेसं ७८१(विसं १७१८) मा ललितपुरको समेत साथ पाएर, सैन्य तयारीका साथ भक्तपुरको उत्तरी किल्लाको रूपमा रहेको महाकालीपीठसम्म अधिकार गर्न पुगेका थिए । र, यहीँबाट उनले नालालगायतका पूर्वी भेग पनि हान्न पुगेका थिए । तर, सिंगो भक्तपुर सहर यक्ष मल्लको पालादेखि नै (सोह्रौं शताब्दीको आरम्भदेखि) गहिरा खाई र अग्ला पर्खालले घेरिएको मजबुत गढ भएको हुनाले गढ–पर्खाल फोडेर सहरभित्र पस्ने हिम्मत भने उनले गर्न सकेनन् । त्यसो भए तापनि उनले आफ्नो अधिकार भक्तपुर सहरको उत्तरी भेगसम्म जमाउन आएको कुरा सांकेतिक रूपमा समेत जनाइराख्न एउटै बेहोराका दुईवटा शिलालेख (नेसं ७८१) महाकालीपीठमा राख्न लगाए । ती शिलालेख अद्यापि छन् । त्यसपछि कायल भएर उनी कान्तिपुरतिर लाग्ने क्रममा भक्तपुरको सुरक्षा पर्खालबाहिरका भूभाग जस्तै : व्यासी, खौमाढोका र इन्द्रायणीपीठ, कालीदह, इताछेँढोका र न:पुखु, भाज्यापुखु र सिद्धपोखरी हुँदै रानीपोखरी पुगे । यहाँ पुगेपछि उनलेआफ्नो राज्यतिर लक्षित नागको शिरको रूपमा रहेको रानीपोखरीलाई बिगारेर भक्तपुर जित्न नसकेको रोषलाई शान्त मात्र पारेनन्, यहाँका सुन्दर कलाकृतिलगायत सुनको नागसमेत उठाएर लगी हनुमानढोका दरबार सजाए ।
***

कान्तिपुरको रानीपोखरी प्रताप मल्लले नेसं ७९० (विसं १७२७) मा, आफ्ना दिवंगत पुत्र चक्रवर्तीन्द्र मल्लको स्मृतिमा बनाउन लगाएका थिए । भक्तपुरको रानीपोखरी कान्तिपुरको रानीपोखरीभन्दा चालीस वर्षअघि बनेको थियो । र, त्योभन्दा पनि पुरानो भाज्या पुखु थियो जुन रानीपोखरीहरूभन्दा एक शताब्दीअघि नै बनेको थियो । भाज्या पुखुको मध्यभागमा शिखरशैलीको सुन्दर मृन्मयमन्दिरसमेत थियो । कान्तिपुरको रानीपोखरीमा जस्तै सो पोखरीको मन्दिरमा पुग्नका लागि उस्तै आकर्षक पुल पनि बनेको थियो । यसप्रकार भक्तपुर सहरबाहिरका यी भव्य पोखरीबाट प्रेरित भएर प्रताप मल्लले आफ्नो देशमा पनि रानीपोखरी बनाउन लगाएको दृष्टिगोचर हुन्छ । भक्तपुर र कान्तिपुरका यी रानीपोखरीसित सम्बद्ध लिखित इतिहासमा (शिलालेखलगायतका अन्य अभिलेखीय सामग्री) पोखरीलाई ‘पुष्करणी’/‘पुखुरि’/‘पोषरि’ मात्र सम्बोधन गरिएको पाइन्छ । मौखिक इतिहासका दृष्टिले भने, राजाहरूले बनाउन लगाएकाले होला, ती पोखरीहरू स्वत:स्फूर्त रूपमा लौकिक जीवनमा ‘रानी पुखु’/‘रानीपोखरी’ नामले प्रख्यात रहिआएको जानिन्छ ।

भक्तपुरको रानीपोखरी जगज्योतिर्मल्लले सहरी सुन्दरता, शोभा र प्रतिष्ठाका लागि मात्र नभएर विशेषगरी पोखरीसित धार्मिक–सांस्कृतिक अर्थ जोड्न चाहेका थिए । यो कुरा सो पोखरी परिसरमा प्रतिष्ठापित कुलदेवता/देवालीदेवताका आधारमा पनि जान्न सकिन्छ । प्रत्येक वर्ष अक्षय तृतीयाको दिनमा र त्यसपछि आउने पहिलो आइतबार वा बिहीबारका दिनमा भक्तपुरको विविध जात वा थरका समुदायले सिद्धपोखरी, भाज्यापोखरी, कमलपोखरीलगायत यस रानीपोखरीमा आएर धुमधामका साथ कुलपूजा/देवालीपूजा गर्छन् । त्यसैगरी पाँच दशकअघिसम्म पनि सिद्धपोखरी, भाज्या पोखरीलगायतमा समेत पनि स्नान कर्म, देवतर्पण, श्राद्ध, पितृतर्पण गर्न आउने चलन रहेको ज्ञात हुन्छ । सिद्धपोखरीमा यो परम्परा आज पनि कायम छ ।

नेपालमा उत्तरलिच्छविकालतिर स्वतन्त्र रूपले चलेका, तान्त्रिक स्वरूपका अनेक शैव सम्प्रदाय, उपसम्प्रदायहरूमध्ये एउटा वीरशैव वा लिंगायत सम्प्रदाय पनि थियो । शरीरमा शिवलिंग धारण गर्नु यस सम्प्रदायको खास विशेषता हो । यस सम्प्रदायका आचार्य जंगम (लिंगीब्राह्मण) हुन् । भक्तपुरमा यस सम्प्रदायको गहिरो धार्मिक–सांस्कृतिक प्रभाव सातौं शताब्दीदेख रहिआएको देखिन्छ । विश्वेश्वर, वीरभद्र/विश्वनाथ भैरव+भद्रकाली वीरशैवहरूका कुलदेवता हुन् । भक्तपुरको प्रसिद्ध विस्केट जात्राका देवता पनि विश्वनाथभैरव+भद्रकाली हुन् । बिस्केट–संस्कृति यही सम्प्रदायको लोकप्रियताको उपज थियो भन्दा अतिशयोक्ति नहोला । नेपालमा यस सम्प्रदायको एक मात्र प्रधान मठ ‘जंगममठ’ हो जुन भक्तपुर राजदरबार समीपस्थ दक्षिणस्थित टौमढीटोलमा छ । जस्तो भारतको काशीस्थित जंगमबाडी मठ, उस्तै नेपालको भक्तपुरस्थित जंगममठ । दुवै देशका उही भैरवनाथ । उही भैरवनाथको शिर भने नेपालको भक्तपुरमा र शरीर भने भारतको काशीमा † भक्तपुरको सांस्कृतिक जीवन मात्र नभएर तात्कालिक मल्ल राजाहरूसमेत वीरशैव मतबाट प्रभावित थिए । यसैले यो सम्प्रदायलाई पनि राजकीय संरक्षण प्राप्त थियो । विश्व मल्ल, गंगा रानी, त्रैलोक्य मल्ल, त्रिभुवन मल्ललगायत जगज्योतिर्मल्ल उदाहरणीय छन् । जगज्योतिर्मल्लले रानीपोखरी बनाउन लगाएपछि यस पोखरीमा प्रतिष्ठापित चतुर्मुख शिवलिंग, भवानीशंकरलगायत वासुकिको नित्य एवं वार्षिक पर्व पूजा गर्ने अभिभारा जंगममठलाई दिएको विदित हुन्छ । भक्तपुर जंगममठका पूर्वमठाधीश स्व.राममणि जंगम, भरतमणि जंगमहरूका अनुसार करिब चार दशकअघिसम्म पनि सो परम्परा चलेको थियो । तर, नेपाली सेनाले विसं २०४० सालतिर त्यहाँ तारबार लगाएपछि भने बाहिरबाट पूजा गर्न सम्भव नभएपछि टुटेको छ ।

राजधानी सहर र यसको आसपासका अनुपम कलाकृतिको संरक्षण, संवद्र्धन गर्दै नूतन कलाकृतिसमेत थपेर सहरलाई सुन्दरीकरण गर्ने भक्तपुरका एक प्रसिद्ध राजा जितामित्र मल्ल पनि हुन् । यस कुराको एउटा उदाहरण रानीपोखरी पनि हो । ४८ वर्षअघि, आफ्ना बाजेका पालामा, कान्तिपुरका राजाले बिगारिदिएको रानीपोखरीलाई उनले नेसं ७९८ (विसं १७३५), माघशुक्ल श्रीपञ्चमीका दिनमा जीर्णोद्धार गरी यसको सुन्दरता फर्काउन सफल भए । त्यस अवसरमा ‘मालश्री’ राग/भजनकीर्तनसँगै आफूले निमन्त्रण गरेका कान्तिपुर र ललितपुरका राजाहरूलाई हर्षोल्लासका साथ स्वागत गरेका थिए ।

जसरी भक्तपुरको रानीपोखरी भक्तपुर राजदरबारदेखि पश्चिममा रहेको छ, उसैगरी कान्तिपुरको रानीपोखरी हनुमानढोका राजदरबारदेखि पूर्वमा छ । यताबाट तत्कालीन समयमा जो कोही पनि सजिलैसित ती पोखरीहरू हुँदै हेर्दै, पवित्र तीर्थस्थलकै रूपमा तीर्थस्नान, दर्शनपूजन गर्दै देश वा सहर जान आउन सक्थे र सोही अभिप्रायले समेत बनेका थिए भन्ने कुरा विदित हुन्छ । त्यसैगरी मल्लकालमा राजनीतिक एवं कूटनीतिक दृष्टिले समेत सिद्धपोखरी रानीपोखरीहरू महत्त्वपूर्ण थिए । सहरी सीमाबाहिरका नाकामा यी पोखरीहरू खुला आकाशमुनिका खुला स्थानमा भएकाले कान्तिपुर, ललितपुर र अन्य राज्यका राजा, मन्त्री, भारदार आउँदा भक्तपुरका शासकहरू यहाँसम्म आएर स्वागत गर्दै देशभित्र लान्थे । स्थानीयबासीका अनुसार यहाँ उहिले रानीपोखरीको नगरप्रवेश नाकामा दायाँ–बायाँ एक जोडी विशाल प्रस्तरसिंह स्थापित नगरप्रवेशद्वारसमेत बनेको थियो । यो द्वार भत्किएपछि त्यहाँका प्रस्तरसिंहहरू उठाएर ल्याई हालको भार्वाचोढोकाका दायाँ–बायाँ राखिएका थिए जुन अद्यापि देख्न सकिन्छ । नेपालमण्डलका मल्ल राजाहरू राजनीतिक, कूटनीतिक वार्ता गर्ने उपयुक्त थलो रानीपोखरी एवं पोखरीको डिलका सत्तल थिए । विदेशबाट स्वदेश फिरेका, तीर्थयात्राबाट सकुशल फर्केका आफन्तहरूलाई सिद्धपोखरी, रानीपोखरीसम्म सांस्कृतिक–जुलुसले धुमधामका साथ बाजागाजा बजाएर लिन गई देश वा सहर भित्र्याउने चलन चार–पाँच दशकअघिसम्म पनि खुब चलेको थियो । बदलिँदो परिवेशमा यो संस्कृतिले पनि अन्तिम सुस्केरा हालिसकेको छ ।

मल्लकालको अवसानसँगै हजारौं वर्षदेखि समृद्ध रहिआएको उच्चकोटिका, एकले अर्कोलाई उछिन्ने गरी बनेका कला वास्तुकलाको बेजोड लहर पनि शान्त हुनपुग्यो । त्योसँगै विश्वश्रेणीका शिल्पी हातले पनि विश्रान्ति पाउँदै आए । रानीपोखरीले पनि त्यही नियति छ, रानीपोखरी मध्यभागमा वासुकिनाग पनि छैन । त्यहाँ वासुकिनाग रहने काष्ठस्तम्भको ठूटो अवशेष मात्र छ । पोखरीको दक्षिणपट्टि प्रतिष्ठापित भवानीशंकर, चतुर्मुख शिवलिंगका सुन्दर मूर्तिहरू शिरविहीन सालिक, पद्माकृति, सत्तलका अवशेष आदि यत्रतत्र छरिएर, झारपातले पुरिएका छन् । ढुंगेसिँढी खोज्नुपर्ने अवस्थामा पुगेको छ ।
***

समयको मारले निकै जीर्ण भइसकेको एउटा मल्लकालीन सत्तल रानीपोखरीको दक्षिणपट्टिको डिलको मध्यभागमा थियो । उहिल्यै जीर्ण भएर ठाउँ–ठाउँमा यसका छाना, गारो भ्वाङ पर्दै ह्वाङह्वाङती देखिन थालेपछि सात दशकअघिका लोकजीवनले यसलाई ‘ह्वाङ्ह्वाङ्–पाटी’ भन्न थाले । यो अरू सत्तलभन्दा केही भिन्नै शैलीस्वरूपमा बनेको अनौठो, सुन्दर सत्तल थियो । यसको मोहडा दक्षिणतर्फ फर्केको दुईतले थियो भने उत्तरतर्फ यो एकतले थियो । यसको दक्षिणपट्टि छिँडी तलामा अर्धगोलाकार, प्रस्तरनिर्मित प्रवेशद्वार बनेको थियो । सो द्वार छेपु, मकराकृति आदि सुन्दर आकृतिहरूले सजिएको कलात्मक द्वार थियो । पोखरी पस्ने मुख्य द्वार पनि यही थियो । सो द्वारबाट भित्र पसेपछि बनेको ठाडो ढुंगेसिँढी हुँदै पोखरीमा पुगिन्थ्यो । सो सत्तलको उत्तरपट्टिको भित्तामा जगज्योतिर्मल्ल र उनका नाति जितामित्र मल्लले राख्न लगाएका शिलालेख थिए । मलाई लाग्छ, अत्यन्त जीर्ण अवस्थामा पुगेर पनि खडा रहेको सो सत्तल मैले हेर्दाहेर्दै प्रत्येक वर्षको वर्षात, घाम र हावाहुरीका मारले गल्दै गयो र विसं २०४० सालपश्चात् कुन बेला गल्र्याम्मै ढलेर पाताल हुन पुग्यो पत्तै पाइएन । यसका अवशेष ता अद्यापि त्यहीँ छन् र जगज्योतिर्मल्ल र जितामित्र मल्लले राख्न लगाएका शिलालेखहरू पनि त्यही अवशेषमा पुरिन पुगेका छन् र खोतलेर हेरेको खण्डमा पुन: पत्ता लाग्नेछन् भन्ने कुरा निश्चितप्राय: छ ।

ललितपुरको हरसिद्धि नाच, कान्तिपुरको नरदेवी नाच बाह्र वर्षमा एकपल्ट भक्तपुर राजदरबारमा देखाउन ल्याउने चलन छ । उहिले यी प्रसिद्ध नाचका गणहरू भक्तपुर आउँदा सर्वप्रथम रानीपोखरीको यही सत्तलमा विश्राम गर्थे र औपचारिक सूचना पाएपछि उनीहरूलाई स्वागत गरी सहरभित्र लाने प्रबन्ध हुन्थ्यो । धार्मिक–सांस्कृतिक महत्त्व बोकेको सो सत्तल जीर्ण भएर ह्वाङ्ह्वाङ्–पाटीमा परिणत भएसँगै त्यो संस्कृति पनि हराउन पुग्यो ।

मल्लकालमा नेपालमण्डलका राजा, मन्त्री, भारादार आदि उच्चपदस्थ व्यक्तित्वहरूसमेत जम्काभेट हुने यो सत्तल पाताल भएसँगसँगै योसित जोडिएको एउटा संस्कृति पनि सुस्ताउन पुग्यो जुन संस्कृति मल्लकालको अवसानपछि भने उदाउन पुगेको देखिन्छ । विसं १८२६ मा गोर्खालीहरूले भक्तपुर पनि जितेपछि मल्लकालीन भक्तपुर राजदरबारको राजनीतिक महत्त्व रहेन । मल्लहरूको मूल राजकीय बासस्थान यही दरबार थियो । यसैले यो नेपालमण्डलको सांस्कृतिक मूल थलोको रूपमा पनि रहिआएको थियो । मल्ल वंशको अवसान भए तापनि शाह वंशको ‘राजतन्त्र’ ले निरन्तरता पाएको थियो ।त्यसपछि कान्तिपुर नेपालको राजधानी भयो र सोहीअनुरूप मल्लकालीन हनुमानढोका राजदरबार नयाँ वंशको राजकीय बासस्थान बन्न पुग्यो । भक्तपुरको सांस्कृतिक पहिचान बोकेको एक विशिष्ट पर्व बिस्केट जात्रा हो । यो जात्रा आरम्भ हुनु एक दिनअघि हनुमानढोका राजदरबारबाट राजप्रतिनिधिको रूपमा राजकीय खड्ग ल्याउने चलन थियो । सो खड्ग विधिवत् यही रानीपोखरीको सत्तलमा ल्याएर राखिन्थ्यो । त्यसपछि भक्तपुरतर्फका सम्बद्ध सांस्कृतिक समूहले त्यहाँ पुगी मुहाली बाजा (पञ्चेबाजा) बजाएर सहर भित्र्याउने चलन थियो । अब त्यो सत्तल हाम्रोसामु छैन, त्यो सित गाँसिएर बाँचेको संस्कृति पनि छैन ।

व्यवस्थित बस्ती बसाइ र खुला स्थान एउटै सिक्काका दुई पाटा हुन् । परम्परित धारा, कुवा, पोखरी, मठ, मन्दिर, चैत्य, विहार, सत्तल, पाटीपौवा गौचरन/चउर, खुला आकाशमुनिका खुला सम्पदा हुन् । ती हाम्रो देशका खुला संग्रहालय पनि हुन् । ती रहेसम्म सांस्कृतिक जीवनले सास फेर्न पाउँछन् र नरहे मर्छन् । पाँच दशकअघिसम्म पनि नेपालमण्डल संस्कृति र प्रकृतिको अनुपम मेलले सिँगारिएको सुन्दर बगैंचा थियो । आज यो अनेक कारणले कसरी कुरूप बन्दै गइरहेको छ त्यो सबैमा विदितै छ । यो बगैंचाका सुन्दर सम्पदाहरूमध्येको एउटा रानीपोखरी पनि हो । यो सम्पदा पहिले सांस्कृतिक जीवनको हो र त्यसपछि मात्र सरकार र सेनाको हो भन्ने कुरालाई पनि बिर्सनुहुन्न । यसैले नेपाली सेनाले पनि तारबार लगाएर हैन, हटाएर, सांस्कृतिक जीवनसित कुममा कुम मिलाएर यसलाई पुनर्जीवन दिने पुण्य कार्यमा लाग्दा सबैको कल्याण हुनेछ भन्ने कुरामा दुईमत नहोला ।
सम्पदालाई बिगारेमा पाप लाग्ला, सपारेमा पुण्य मिल्नेछ भन्ने कुरा जगज्योतिर्मल्ल र जितामित्र मल्लले राख्न लगाएका शिलालेखमा खुलाएका छन् । सिद्धपोखरीको उद्धार गर्नमा अपार सफलता पाएको भक्तपुर नगरपालिकाले अहिले यस सहरका अनेक सम्पदालगायत भाज्यापुखु र यही रानीपोखरीको पुरानै शैली स्वरूपमा उद्धार गर्ने पुण्य कार्यमा लागिपरेको छ । भक्तपुर नगरपालिकालाई निश्चय नै पुण्य मिल्नेछ । बिनाविवाद कान्तिपुरको रानीपोखरीले पनि पुरानै शैलीमा सँगसँगै उठ्ने अवसर पाओस् ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT