कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गौतमको गम्भीर पाइला

खेलाडी
गौतम गम्भीरले क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । यी ओपनर क्रिकेटका जबरदस्त खेलाडी हुन्, जसले जति चर्चा पाउनुपर्ने हो, त्यो भने पाएनन् । 
हिमेश

काठमाडौँ — कसैले गौतम गम्भीरबारे किन लेख्नुपरेको पनि भन्लान् । यी भारतीय क्रिकेट खेलाडीलाई मन नपराउने पनि उत्तिकै होलान् । पाकिस्तानी क्रिकेट समर्थक हो भने त यी बायाँहाते ब्याट्सम्यान झनै मन नपर्न सक्छ । तर, यी सबैले उनीबारे एउटा तथ्य भने पक्कै मान्न तयार हुनेछन् र यो हो, यी ओपनर क्रिकेटका जबरदस्त खेलाडी हुन्, जसले जति चर्चा पाउनुपर्ने हो, त्यो भने पाएनन् । 

गौतमको गम्भीर पाइला

यति बेला चर्चा भने किन त ? किनभने उनले भर्खरै सबै खाले क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले अब आफू खेल्ने छैन भनेर सुनाउन पनि क्या गज्जब शब्दहरू रोजे । उनले भनेका छन्, ‘कसैले मेरो खेल जीवनबारे पटकथा लेखिरहेको थियो तर अहिले लाग्छ, उनको मसी नै सकियो ।’ यो त साहित्यिक पारा नै भयो । खासमा उनको खेल पनि यस्तै छ, साहित्यिक

पाराको । उनको ब्याटिङमा भद्दापन र जबरजस्ती देखिन्न ।


उनको खेल हेर्न पक्कै मज्जा आउँछ, जसरी मीठो पटकथाले बुनिएको सिनेमाजस्तो । उनको खेल साँच्चै कस्तो छ त ? त्यसका लागि पुराना भिडियो रेकर्ड नै हेर्नुपर्ने हुन्छ, त्यसलाई शब्दले बुन्न सकिन्न । तर, उनका खासखास उपलब्धिलाई भने शब्दमा बयान गर्दा उनको खेलाडी व्यक्तित्वको छेउछाउ पुग्न सकिन्छ । भारतले पछिल्लोपल्ट दुई विश्वकप जितेको छ, एक वान डेको । अर्को ट्वान्टी ट्वान्टीको । सन् २००७ मा भारतले वल्र्ड ट्वान्टी–ट्वान्टी जित्यो ।


त्यसको फाइनलमा गम्भीरले सर्वाधिक ७५ रन बनाए र पाकिस्तान पाँच विकेटले पराजित रह्यो । त्यसको चार वर्षपछि सन् २०११ को वान डे विश्वकप फाइनलमा उनले ९७ रन बनाए । उनी जति बेला क्रिजमा आएका थिए, भारत कमजोर स्थितिमा थियो, सचिन तेन्दुलकर र वीरेन्द्र सहवागलाई सस्तोमा गुमाएर । त्यो स्थितिमा श्रीलंका खुबै बलियो देखिएको थियो तर गम्भीरको ब्याटबाट के रनहरू निस्कन थाले, खेल अर्कोतर्फ मोडियो ।


सहवाग र गौतम दुवै दिल्लीका हुन् । दुवै प्रारम्भिक ब्याट्सम्यान पनि । त्यति मात्र होइन, उत्तिकै सफल जोडी पनि । भारतका लागि उनीहरूले सन् २००४ देखि २०१२ बीच ८७ इनिङ्समा ४ हजार २ सय १२ रन बनाएका छन्, जुन कीर्तिमान हो । सहवागले नै गम्भीरबारे अहिलेसम्मकै सबैभन्दा उच्च दर्जाको प्रशंसा गरेका छन् । उनी भन्थे, गम्भीर सुनील गावस्कर बराबरका प्रारम्भिक ब्याट्सम्यान हुन् । उनले आफ्नै आँखाअगाडि नजिकबाट गम्भीरले खेलेको देखेका थिए ।


सन् २००९ भारतीय क्रिकेटका लागि सबैभन्दा सफल वर्ष हो । त्यति बेला भारत टेस्ट क्रिकेटमा नम्बर १ टिम थियो । त्यो वर्ष गम्भीर खुबै लयमा थिए र जिते, आईसीसीको टेस्ट प्लेयर अफ द इयरको उपाधि । त्यही वर्षको छेउछाउ त हो, गम्भीरले टेस्ट क्रिकेटमा लगातार पाँच शतक प्रहार गरेको । अहिलेसम्म यस्तो प्रदर्शन कुनै भारतीय ब्याट्सम्यानले गर्न सकेको छैन । अझ सन् २००८ देखि २०१० बीच ११ टेस्टमा लगातार अर्धशतक पनि बनाए ।


यसअघि यस्तो उपलब्धि कसले र कहिले हात पारेको थियो भन्दा उत्तर आउँछ, वेस्ट इन्डिजका भिभियन रिचर्ड । समय सन् १९७६–७७ । गम्भीरले भारतीय टिमको नेतृत्व गर्न नपाएका पनि होइनन् । सन् २०१०–११ मा भारतले उनको कप्तानीमा छ वान डे खेलेको थियो । यी सबै खेलमा भारत विजयी रह्यो । यस्तोमा उनको कप्तानीको सफलता दर शतप्रतिशत हुन्छ । खासमा उनी उत्तिकै राम्रा योजनाकार थिए, जुन गुण क्रिकेटको कप्तानमा हुनुपर्छ ।


त्यसैले त उनको नेतृत्वमा कोलकाता नाइट राइडर्सले दुई अवसरमा इन्डियन प्रिमियर लिग (आईपीएल) जित्यो । वर्ष थियो, सन् २०१२ र २०१४ । यी यस्ता केही उपलब्धि हुन्, जसले उनलाई सफलतम खेलाडीको दर्जामा राख्छ । तर, मूल प्रश्न भने जहाँको त्यहीं रहन्छ, उनले जति श्रेय पाउनुपर्ने हो, त्यो भने पाएनन् । यसको उत्तर सजिलो भने छैन । एक युगमा यस्ता एक खेलाडी हुने गर्छन् । सायद यस्तो हुनुको कारण उनले खेलेको समय–काल हुन सक्छ ।


जति बेला उनले खेल्न सुरु गरे, भारतीय टिममा तेन्दुलकरदेखि लिएर शौरभ गांगुली, राहुल द्रविड र भीभीएस लक्ष्मण थिए । त्यसमा लगत्तै सहवाग पनि जोडिए । पछि त्यसमा थपिए, महेन्द्रसिंह धोनी र विराट कोहली । विशेषत: भारतीय मिडिया यिनै खेलाडीको चर्चामा व्यस्त रह्यो, गम्भीर कता हो कता छुटिहाले । जति बेला गम्भीरले खास इनिङ्स खेलेको हुन्थे, त्यति बेला त्यसको चर्चा नभएर यिनै तेन्दुलकर, गांगुली, द्रविड, लक्ष्मण, धोनी र कोहलीमा सबै अल्झे ।


नत्र ५८ टेस्ट, १ सय ४७ वान डे, ३७ ट्वान्टी–ट्वान्टी । त्यसमध्ये टेस्टमा ४१.९५ को औसतले चार हजारभन्दा बढी रन । सँगै ११ शतक । कसैका लागि पनि गर्व गर्नलायक स्कोर हो, यो । सञ्जय भारद्वाज उनका सुरुआती दिनका प्रशिक्षक हुन् । भनिन्छ, गम्भीर कस्ता खेलाडी हुन्, उनलाई जत्तिको कसैलाई थाहा छैन । त्यसैले यी प्रशिक्षकले ठीकै भनेका हुन्, ‘गौतम क्रिकेटका ज्ञानी विद्यार्थी हुुन् । यिनले नामका लागि कहिले पनि खेलेनन् ।’


यी ३७ वर्षीय गम्भीरले पछिल्लो समय घरेलु क्रिकेटमा निकै राम्रो खेले पनि । त्यो पनि लगातार । तर, उनले भारतीय टिमबाट फेरि फर्कने र खेल्ने अवसर देखेनन् । न त भारतीय छनोटकर्ताले उनमा भविष्य देखे । सन् २०१६ मा उनले अन्तिम पटक इंग्ल्यान्डविरुद्ध टेस्ट खेलेका थिए । त्यसयता उनको काम कहिले टिममा बोलाउनेछ र जानेछु भन्नेमै रह्यो । समय पनि बित्यो । जति बेला उनले यो चाल पाए, संन्यास लिने समय आइसकेको थियो ।


त्यसैले उनकै भाषामा पनि संन्यास लिने निर्णय सजिलो थिएन तर संन्यास नलिएर सुख पनि थिएन । गम्भीरका अवगुण पनि उत्तिकै थिए । उनी चाँडै रिसाइहाल्थे र झगडा गरिहाल्थे, मैदानमै । गम्भीरले मैदानमा झगडा गरेको विवरणले मात्र अर्को कुनै लामो कथा बन्छ । उनको पाकिस्तानी खेलाडीसँग कहिल्यै राम्रो सम्बन्ध रहेन, ३६ कै आँकडा रह्यो । उनी पाकिस्तानी खेलाडीविरुद्ध ट्वीटरमा युद्ध छेड्थे र समाचारको कारण बन्थे, जब कि समाचारको कारण बन्नुपथ्र्यो, उनको ब्याट र त्यसबाट निस्केको रन ।

खासमा त्यही कम भयो । पछिपछि गएर उनले यो तथ्य पनि बुझेको भान हुन्छ । त्यसैले पनि उनले भनेका छन्, ‘म खुसीखुसी निकै सुन्दर खेल क्रिकेटबाट बिदा हुँदैछु ।’ उनीसँग गुनासो नै केही रहेन । आईपीएलमा उनले कोलकाताका लागि खेले पनि उनको मन भने सधैं दिल्लीमै थियो । उनले दिल्लीको फिरोज कोट्ला मैदानबाट आफ्नो खेल जीवन सुरु गरे र त्यहीं अन्त्य गर्दै छन्, यसै सप्ताहन्त रणजी ट्रफीको खेलबाट । यसबीचको यात्रा भने वास्तवमै सम्झनलायक रह्यो, भलै त्यसको चर्चा त्यति भएन ।

twitter : @himeshratna

प्रकाशित : मंसिर २२, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?