१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अस्तित्ववादी औंठी 

कालिदासको ‘अभिज्ञानशाकुन्तलम्’ हाम्रो मिथकीय इतिहास जस्तो लाग्छ भने ‘शकुन्तलाको औंठी’ अहिलेको विसंगत जीवनको फेहरिस्त । ‘शकुन्तलाको औंठी’ हेरिसकेपछि ‘मेथड एक्टिङ’ नाटकको प्रक्रियाबारे बोध हुन्छ । 
फूलमान वल

काठमाडौँ — औंठीले सम्बन्ध जोड्छ । यो एउटा मान्यता हो । एक हिसाबले औंठी सांस्कृतिक प्रतीक हो । माया–प्रेम, सम्बन्धहरूको बजबुती र त्यसको स्थायित्वकरणजस्ता वैयक्तिक सन्दर्भलाई सामाजिक बनाउने क्रममा अहिले पनि प्रयोग हुन्छ औंठीको ।

अस्तित्ववादी औंठी 

यो रामायण र महाभारतकालमा पनि थियो, अहिले पनि छ । यतिबेला नेपाली रंगमञ्चमा भने अर्कै औंठीको चर्चा छ, ‘शकुन्तलाको औंठी’ । कालिदासले उहिल्यै लेखेको संस्कृत नाटक ‘अभिज्ञानशाकुन्तलम्’ को पुनर्परिभाषित टेक्स्ट हो यो । अस्तित्ववादी रङ पोतिएको यो नाटक अहिले हाम्रै समयको, हाम्रै जीवनको अनेकौं पीडा, दु:ख र क्लेशहरू बोकेर मञ्चन भइरहेको छ— बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ।

के औंठीले सम्बन्ध जोड्छ ? नाटक हेरेपछि मनमा प्रश्न उठ्छ । अहिले पनि औंठीलाई सम्बन्ध जोड्ने प्रतीककै रूपमा हेरिन्छ हाम्रो संस्कृतिमा, मान्यतामा । तर, के औंठी लगाएर जोडिएका सम्बन्धहरू खास अर्थमा दिगो छन् ? ती मिठासपूर्ण लयमा अघि बढिरहेका छन् ? अहिलेको समय, मानिसहरूको प्रेम–सम्बन्धलाई औंठीले मात्रै जोड्छ कि अरू पनि थुप्रै तत्त्व यसका कारक बनेर उभिन्छन् ? सफलता, खुसी, आनन्दजस्ता मानवीय भावको मापन आज औंठीमा जोखिन्छ कि अरू नै प्राप्तिमा ? नाटकले मनमा हिर्काउँछ । सायद यो एउटा अस्तित्ववादी प्रभाव हो ।

बीसौं शताब्दीमै ज्या पाल सात्र्र र अल्बर्ट कामुहरूले जीवनलाई नयाँ सन्दर्भ, अर्थ र नयाँ मानवीय मूल्यका साथ हेर्दै भनेका थिए— ‘मान्छेले अस्तित्वको खोज र त्यसको बोध आफ्नै पीडा, दु:ख, क्लेश र विसंगतिकै माझबाट गर्छ ।’ नाटक ‘शकुन्तलाको औंठी’ मा कलाकारहरूले त्यसरी नै आफ्नै जीवनका दु:ख र तिनका अर्थ खोजेका छन् । नाटकभित्र अर्को नाटक भेटिन्छ । चरित्रभित्र अर्को चरित्र उजागर हुन्छ । अनि, जीवनभित्र अर्को जीवनको बोध हुन्छ । एउटा क्लासिक क्यानभासमाथि अरू थुप्रै सामयिक रङहरूको क्यानभास खप्टिएको विसंगत कोलाजजस्तै बनेको छ, ‘शकुन्तलाको औंठी’ ।

कालिदास र अहिलेको समय

नाटक ‘शकुन्तलाको औंठी’ मा दुईवटा समयरेखा छन् । एउटा महाभारतकालीन समय । अर्को अहिलेको समय । कालिदासको ‘अभिज्ञानशाकुन्तलम्’ को रिहर्सल हुँदै गरेको पौराणिक समयको धागोमा कलाकारहरूको निजी जीवनमा उत्पन्न हुँदै जाने घटनाक्रमहरूको आधुनिक माला उनिएको छ नाटकमा ।


भारतीय लेखक सुरेन्द्र बर्माले कालिदासकै क्लासिक टेक्स्टमा अहिलेको समयको मान्यता, मनोदशा र मानवीय मूल्यहरू जोडेर ‘शकुन्तलाकी अंगुठी’ लेखेका थिए । यसैलाई एक्टर्स स्टुडियोका सुरज मल्लले नेपाली अनुवाद गरेर निर्देशनसमेत गरेका हुन् ।

कालिदासको नाटक ‘अभिज्ञानशाकुन्तलम्’ भित्र शकुन्तला र दुश्यन्त छन् । हस्तिनापुरका राजा दुश्यन्त सिकार खेल्दै कण्व ऋषिको आश्राममा पुगेपछि ऋषि कन्या शकुन्तलाबाट मोहित हुन्छ । गन्धर्व विवाहसँगै शकुन्तला गर्भवती हुन्छे । तर, कण्व ऋषि नभएकाले पछि कुनै समय लिन आउने वाचा गर्दै दुश्यन्त राजकाज सम्हाल्न हस्तिनापुर फर्कन्छ । एक दिन भिक्षा माग्दै ऋषि दुर्वासा आइपुग्छ आश्रममा ।


विछोड र विरहमा हराइरहेकी शकुन्तलाले दुर्वासाको उपस्थितिको भेउ पाउँदिन । परिणामत: रिसाएर दुर्वासाले श्राप दिन्छ– ‘तिमी जसलाई सम्झिरहेकी छ्यौ, उसले तिमीलाई बिर्सिनेछ ।’ त्यस्तै हुन्छ । लामो समय स्मृति गुमाएका राजा दुश्यन्त एक दिन माझीबाट शुकुन्तलाको औंठी पाएपछि मात्रै झस्किन्छ । र, आफ्नो छोरा र शकुन्तलासँग उसको पुनर्मिलन हुन्छ । के नाटकमा जस्तै अहिलेको जीवनमा त्यस प्रकारको पुनर्मिलन सम्भव छ ? नाटक ‘शकुन्तलाको औंठी’ ले प्रश्न गर्छ ।

यो प्रश्न कलाकारहरूको आफ्नै जीवनको पनि हो । नाटक हेरिरहँदा दर्शक स्वयंको भोगाइप्रतिको प्रश्नजस्तो पनि लाग्छ यो । नाटकभित्रको नाटकमा दुश्यन्त र शकुन्तलाको भूमिका गर्ने कुमार र कनकले हाम्रै समयको दु:ख सुनाउँछन्, प्रेम गर्छन्, वियोगमा पर्छन् । तिनका सपना फरक छन् ।


खुसी प्राप्ति र मापनको मान्यता फरक छन् । खासमा अहिलेको नयाँ समय र चिन्तनले, नयाँ सपना र आकांक्षाले विघटित बनाउँदै लगेको पुरानो सम्बन्ध र विचारहरूको चेपुवामा ठूलो दु:ख र पीडाका साथ डुबेका छन्, ‘शकुन्तलाको औंठी’ का पात्रहरू ।

कालिदासका पुराना पात्रहरू रूखका पातबाट तप्केको शीतका थोपा र फूलका थुंगाबाट निस्कने कुमारी परागसित निर्मग्न खेल्छन् र लामो समय प्रेमी–प्रेमिकाको पर्खाइमा बस्छन् । ‘शकुन्तलाको औंठी’ का नयाँ पात्र कनक र कुमारको मनोदशा भने भिन्न छ ।


कनक र कुमारको पुस्ता त अहिले प्लास्टिकको फूल र बोन्साइ गमलाहरूमा रमाउँछ र अमेरिकी फेलोसिपको सपना देख्छ । तिनका लक्ष्यका अघिल्तिर परम्परागत सम्बन्धका मूल्यहरू स्खलित छन् । यही दुईवटा समयको भिन्न मनोदशा नाटकको सौन्दर्य हो । कालिदासको ‘अभिज्ञानशाकुन्तलम्’ हाम्रो मिथकीय इतिहास जस्तो लाग्छ भने ‘शकुन्तलाको औंठी’ अहिलेको विसंगत जीवनको फेहरिस्त ।


एमेच्योर थिएटर

पछिल्ला वर्षहरूमा नेपाली रंगमञ्चमा नयाँ नयाँ समूह जन्मिरहेका छन्, नयाँ गतिविधि र सिर्जनात्मक कार्य भइरहेका छन् । सिकारु समूहहरू बर्सेनि थपिँदै छन् । विषयगत हिसाबले नाटक ‘शकुन्तलाको औंठी’ ले रंगमञ्च प्रवेश गर्न चाहने एमेच्योर कलाकारहरूको दु:ख, संघर्ष र उनीहरूको व्यक्तिगत समस्या र मनोवैज्ञानिक उतार–चढाव जस्ताको तस्तै उजागर गर्छ । नाटक खासमा कालिदासको ‘अभिज्ञानशाकुन्तलम्’ को रिहर्सल हो ।


सुरुमा दर्शकलाई नाटक हेर्न नभई अचानक रिहर्सलमा पुगेको महसुस हुन्छ । त्यसपछि क्रमैसँग आउने कलाकारहरूको वैयक्तिक कथाव्यथा, उनीहरूले गर्ने संघर्ष र अवरोधहरूले नाटकलाई गति प्रदान गर्दै लान्छन् । कलाकारहरूको वैयक्तिक दु:ख र संघर्षसँग जसरी नाटककार बर्माले कालिदासको ‘अभिज्ञानशाकुन्तलम्’ को प्लट जोडेका छन्, त्यसरी नै निर्देशक सुरज मल्लले दृश्य भाषाबाट कुशलताका साथ रंगमञ्चमा उतारेका छन् । प्रकाश, अभिनय, ध्वनि र संगीतको संयोजन सुन्दर लाग्छ ।

रंगमञ्चलाई फिल्ममा छिर्ने भर्‍याङ बनाउन चाहनेदेखि नाटककै कारण जागिर धरापमा पर्नेसम्मको कथाव्यथा छ ‘शकुन्तलाको औंठी’ मा । नयाँ केटी कलाकारको रूपमा आउनेबित्तिकै फकाएर जोडी कस्न मरिहत्ते गर्ने पुरुष मनोवृत्तिदेखि नाटक फेस्टिभलको बिल उधारो राखेर भाग्ने आयोजकसम्मका सन्दर्भ छन् नाटकमा ।


आफ्नो स्वार्थका लागि सिंगो नाट्य समूहको मिहिनेतलाई धरापमा पार्ने निर्देशकप्रति झनै ठूलो झटारो हान्छ नाटकले । यी यति वास्तविक लाग्छन् कि नाटक ‘शकुन्तलाको औंठी’ भन्दा बाहेक पनि यस्ता सन्दर्भहरू सुन्न सकिन्छ, चिया पसलदेखि भट्टीसम्म । एमेच्योर थिएटरको दु:ख त यो हुँदै हो, स्थापित थिएटरहरूकै कथाकहानी पनि त्यस्ता चियापसल र भट्टीहरू सुनिन्छ अचेल । यो हिसाबले नाटक ‘शकुन्तलाको औंठी’ ले नेपाली रंगमञ्चको ‘भित्री’ अनुहार उजागर गरेको छ ।

स्तानिस्लाभस्की र दिया

‘शकुन्तलाको औंठी’ हेरिसकेपछि स्तानिस्लाभस्कीको ‘मेथड एक्टिङ’ अन्तर्गत कसरी नाटक तयार पारिन्छ भन्ने पूर्ण प्रक्रियाको पनि बोध हुन्छ । रुसी रंगकर्मी एवं रंगमञ्च सिद्धान्तकार कोन्स्तानतिन स्तानिस्लाभस्कीले प्रतिपादन गरेको मेथड एक्टिङले खासमा ‘चरित्रको अनुभूतिको साँचोपन’ लाई प्राथमिकतामा राख्छ । अनुभूतिको गहिराइमा डुबाउन आफ्नै जीवनमा भएको घटनालाई चरित्रको भावसित एकाकार गराउन लगाइन्छ कलाकारलाई । यसरी काम गर्दा अभिनय (नक्कल) भन्दा पनि यथार्थ निस्किन्छ भन्ने मान्यता हो मेथड एक्टिङको । अनुप बरालको एक्टर्स स्टुडियोले अभिनयको यही स्कुलिङ पछ्याउँदै आएको छ ।


नाटक ‘शकुन्तलाको औंठी’ अभिनयको हिसाबले अब्बल हुनुको पछाडि कलाकारको मिहिनेतसँगै मेथड एक्टिङको पनि कमाल हो । नाटकमा यसको प्रोसेस पनि देखाइन्छ । यो क्रममा कनक बनेकी अभिनेत्री दिया मास्केले दुश्यन्तले नचिनेको दृश्यमा दर्शक रुवाउने गरी अभिनय गर्छिन् । आफैंले जीवनमा भोगेको विछोडको कथालाई दियाले दुश्यन्तको कथासित एकाकार गर्छिन् । दियाले अभिनयमा देखाएको ‘एडजस्टमेन्ट’ निकै लोभलाग्दो लाग्छ । एउटा भावबाट तत्काल उनी अर्को भावमा सजिलै प्रवेश गर्छिन् । साँच्चिकै आँसु बगाउँदै रोइरहेकी उनी निमेषभरमै अर्को दृश्यमा फरक चरित्रमा प्रस्तुत हुन्छिन् ।


कुमार (दुश्यन्त) को रूपमा निर्देशक सुरज स्वयंले अभिनय गरेका छन् । प्रकाश परिकल्पना, दृश्य कम्पोजिसन, मञ्च परिकल्पना, ध्वनि र संगीत सबै हिसाबले नाटक अब्बल लाग्छ । स्टेजमा फरक–फरक परिवेश देखाउन प्रयोग गरिएको काठको त्रिकोण खाँबाहरू र त्यसैमा फरक समय र भूगोल दर्सिने चित्रहरूको उपयोगिता निकै सिर्जनात्मक लाग्छ । अनुप बरालले फेरि मञ्च परिकल्पनामा नयाँ प्रयोग गरेका छन् ।


बिक्रीमा औंठी

कुमार : तिमीले गड फादर पढ्यौ ?

कनक : पढनु नै किन पर्‍यो र ? शकुन्तला र गड फादर यी दुवै पुरुषहरूले लेखेका हुन् । नारी र पुरुषबीचको सम्बन्धलाई फरक समय र फरक मानवीय मूल्यको तुलोमा तौलिन खोजिएको ‘शकुन्तलाको औंठी’ ले यसरी सम्बन्धहरूको पुनर्परिभाषाको प्रश्न उठाउँछ । प्रेम, समाज, अर्थतन्त्र होस् या राजनीति, पुरानो सम्बन्धहरूमा विरोधाभास आइरहेको समय हो यो । नाटकभित्र उहिलेको समयमा देउताहरू आकाशवाणी गर्छन् । अहिलेका मानिसहरू दूरदूरबाट भिडियो कल र च्याट गर्छन् । उहिले दुर्वासाहरूले आफ्नो स्वार्थ पूरा नहुँदा कमन्डलु बोक्दै श्राप बाँडेर हिँड्थे, अहिलेका मानिसहरू आफूले भनेबमोजिम भएन भने फेसबुक र ट्वीटरमा सत्तोसराप गर्छन् । अर्थात् दुर्वासाहरू फेसबुक चलाउँछन्, ट्वीट गर्छन् । मूल्य–मान्यताहरू यसरी नै बदलिएका छन् । पुनर्परिभाषित भएका छन् ।

‘शकुन्तलाको औंठी’ यस्तै पुनर्परिभाषित रंगमञ्चीय प्रस्तुति हो । यहाँसम्म कि यो नाटकमा औंठीले सबै सम्बन्ध जोड्दैन । रिहर्सलकै क्रममा निर्देशक कुमारसित प्रेम परेर गर्भवती भएकी कनकको सम्बन्धमा औंठीले खासै अर्थ राख्दैन । कुमार त नाटक पूरा नहुँदै अमेरिकी फेलोसिपका लागि उड्छ । बहुदेशीय सपना देख्ने अहिलेको नयाँ पुस्तालाई के औंठीले मात्रै जोड्न सक्छ ? तिनलाई जोड्ने सम्बन्ध त सायद अब बजार र अवसरले तय गर्छ । बजार भनेको लिलाम बढाबढ हो, तल–माथि भई नै रहन्छ ।

सबैभन्दा रोचक त नाटकमा प्रयोग हुने शकुन्तलाको औंठी नै साँच्चिकै लिलाम बढाबडमा राखिएको छ । जुनसुकै दर्शकले बढी पैसा हालेर त्यो किन्न सक्छ । केही दिनअघिसम्म त्यसको मूल्य सात हजार रुपैयाँ थियो । सम्बन्धलाई जोड्ने औंठीकै पुरातन मान्यतामाथि यो अर्को अस्तित्ववादी झटारो हो । व्यंग्य हो ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?