परीक्षा पाटो मात्र होइन भाषा

भाषा
रामेश्वरप्रसाद बराल

काठमाडौँ — शिशु मस्तिष्क उघारो र लचिलो हुन्छ । एकभन्दा बढी भाषा जान्न सक्दा उसले आफूलाई अझ फराकिलो बनाउँछ । बहुभाषाले उसमा बढी सोच्ने–बुझ्ने, तिखौरे बन्ने, सम्झिने वा मस्तिष्कमा सँगालिराख्ने क्षमता थपिन्छन् । 

राम्रा विद्यार्थीको परीक्षाफल पनि राम्रो हुन्छ । विद्यालयतह पार गर्दा यिनको प्राप्तांक ८० देखि ९० प्रतिशत र अझ माथिसमेत उक्लिन्छ जुन लरतरो होइन । यो देख्न पाउँदा अभिभावक र गुरुवर्ग भुइँमा न भाँडोमा हुनु स्वाभाविक हो । तर, प्राप्तांक उदेकलाग्दो र आँखा टट्टाउने गरी पनि खुल्छ । दुई–तीन दशकयताका अङ्ग्रेजी र नेपाली विषयहरूमा प्राप्तांक दाँजेर समीक्षा गर्दा एउटा असहज र अनमेल चित्र झल्किन्छ । यो हो, धेरैजसोको अङ्ग्रेजीमा बढी तर नेपालीमा थोरै अंक देखिनु । कहिलेकाहीँँ निकै थोरै र निकै धेरैको अन्तरसमेत हुन्छ ।

यसमा ‘कस्तो ठेप्लो, अधकल्चो ज्ञान !’ भन्न मिल्दैन र परीक्षार्थीको मातृभाषामा दखल रहेन पनि भन्न सुहाउँदैन । एक किसिमले हेर्दा उसले अङ्ग्रेजी पढ्ने/सिक्ने अङ्ग्रेजी कक्षाको अवधि मात्र हो । अनि यहाँ प्रश्न उठ्छ— के त ऊ कक्षा बाहिरसमेत अङ्ग्रेजीका संगतिमा हुने गथ्र्यो र यसमा चाहिँ बढी ल्याउन सक्यो ? के यो उसको पहिलो भाषा (मातृभाषा) हो ? कि नेपालीमा पठनपाठन वा सिकाइ, सधाइ गतिलो भएन वा प्रश्नपत्र अङ्ग्रेजीजस्तो अंक पाउनेखाले भएन ? उत्तरमा भन्नुपर्दा पहिलो चिन्तन ठीक होइन र दोस्रो तर्कसंगत छैन किनभने यसले विवाद निम्त्याउँँछ ।

हाम्रा प्राथमिक विद्यालयहरूमा यता दुुई–तीन दशकदेखि भाषाशिक्षामा आफ्नै चलन भित्रिएको छ । बाह्रखरीमा पहिले नै अङ्ग्रेजी सिकाउने ढर्रा आयो । मन्टेस्सरी वा किन्डरगार्टन नामधारीहरूमा पहिलो दिनदेखि नै शिशुले ए फर यापल्, बी फर ब…ल सिकेर रमाउँदै घर फर्किन्छ । बाबुआमा दंग पर्छन् । विदेशी भाषा चाँडो टिप्न सकेकोमा दंग पर्नु स्वाभाविक पनि हो । उही शिशु फेरि घरपरिवारमाझ मातृभाषामा खेली, हाँसी, रोई गर्छ । यसरी देख्दा उसले दुइटा भाषा सँगसँगै सिकिराखेको हुन्छ । बढ्ने हुर्कने क्रममा विद्यालयतह पनि पार गर्छ । कतै झ्वाट्ट बोल्नुपर्दा उसले ‘पहिले अङ्ग्रेजी सिक्यो र पछि नेपाली’ भने सुुहाउँछ । उता भने दुवैको परीक्षा अंकभार समानरूपले एक सयको हुन्छ । यहाँ दुवै भाषा उत्तिकै श्रेयष्कर भन्ने पनि प्रस्टिन्छ ।

यथार्थमा भाषा एक माध्यम वा सेतु हो जसले विविध विषय सिक्ने, पढ्ने वा सजिलो पार्ने काम गर्दछ । अनुसन्धानले के देखाएको छ भने एकभन्दा बढी भाषा जान्नु विशिष्टता पहिल्याउनु हो । शिशु मस्तिष्क उघारो र लचिलो हुन्छ । एकभन्दा बढी भाषा जान्न सक्दा उसले आफूलाई अझ फराकिलो बनाउँछ । अत: बहुभाषाले उसमा बढी सोच्ने–बुझ्ने, तिखौरे बन्ने, सम्झिने वा मस्तिष्कमा सँगालिराख्ने क्षमता र नौला संस्कृति थाहा पाउनेजस्ता गुण थपिन्छन् ।
राम्रा विद्यार्थीको बढी ध्यान अङ्ग्रेजीले लिएको देखिन्छ । अङ्ग्रेजीका दाँजोमा नेपाली लेख्न अलिकति बढी औंंला घोट्नुपर्ने हुन्छ । नेपालीका प्रत्येक सानाठूला शब्दमा डिको (ऊध्र्वरेखा) हाल्नेदेखि संयुक्ताक्षर/अद्र्घाक्षर र विन्यासलगायतमा आँखा पुर्‍याउनुपर्छ । त्यसो त अङ्ग्रेजीले नियम नखोज्ने होइन । उसको नेपालीमा चाख कम भयो र थोरै आयो रे भन्दैमा दोष दिने ठाउँ पनि छैन । कुराको चुरो अर्कै छ । अङ्ग्रेजी बोल्नु वा यसको क्षमता हुनु सामाजिक प्रतिष्ठा हो भने अर्कातिर बेलाइत, अमेरिका र अस्ट्रेलियाका विश्वविद्यालयमा प्रवेश पाउने तयारीसमेत हो । तथापि यहाँ विद्यार्थीको चाखभन्दा पनि भाषामा टेक्ने–समाउने हाँँगाको चर्चा बढी उपयुुक्त छ ।

तोतेबोलीदेखि नै मान्छेमा भाषा सिक्ने क्षमता असीम हुन्छ । अनुसन्धानले भन्छ ऊ जीवनकालमा पच्चीसवटासम्म भाषामा प्रवीण हुन सक्छ । अनि भाषा कस्तो हुनुपर्छ त ? जवाफमा— मात्र यसैका मापदण्ड यसका सही टेका हुन् । धेरै परिवारमा अचेल शिशुले पढे–लेखेकाको निगरानी पाउँछ । थपमा, यस्तो परिवारका भाषा माझिएको हुन्छ र यहाँ फाट्टफुट्ट अङ्ग्रेजीे पनि चल्छ । टेलिभिजनको सजिलो पहुँचले यसमा हिन्दीसमेत फेरि नौलो रहँदैन । हिन्दीको महत्त्व उसै पनि कम छैन ।

परिवारमाझ शिशुले बोल्ने तालिम पाइरहेको हुन्छ । उसका पारम्परिक लवज यी पनि हुन्—
‘हाक्की ! हाक्की !, सु ! सु !, नुनु !, को खाइ !
को खाइ !’ आदि ।
अझ लामा वाक्यांंंशमा ‘बबो बाँ !, बुबु दे !,
बटेमा !, बाबुलाई !,
हेर, ऊ ! मने, मने ! (बाख्राको पाठा/पाठी),
आइज चरी, काटौँ कान !’’ आदि ।

यतिखेर काखेभाषाबाहेक बाहिरी प्रभाव हँुदैन । जब ऊ पाठशालाका खेलसमूूहमा मिसिन्छ, उसमा क्रमश: नयाँनयाँ पद र लवजहरू थपिन थाल्छन् । पुरानो चलनमा अक्षर, मात्राहरू गीतिलयमा पढ्ने/पढाउने काम हुन्थ्यो । जस्तो, अहिले अनौठो लागे पनि पचास वर्षअघिसम्म अदालतमा तमसुक भाका हालेर भट्टयाइन्थ्यो । तात्पर्य, यसरी पढ्दा आफ्नो पाठ चाँडै कण्ठ गर्ने र शिशुको मगजमा चिरकालसम्म बसिराख्ने पनि बन्थ्यो ।

पाठशाला शिशुको अभिन्न थलो हो । यसले आहारपछि उसका भाषाको स्याहार गर्दछ । यस्तोमा सार्थक भनेकै मातृभाषी गुरु हुुन् । गुरु अनुभवी वा तालिमप्राप्त रहन्छन् । दोस्रोमा शिक्षण सामग्री वा पाठ्यपुस्तक हो । सिकारुले आफैँ सिक्ने मौका पाउनु, यस्तो प्रेरणा र वातावरण पाउनुले सिकाइतिर ऊ झन् खारिंंंदै जान्छ । कक्षामा नाचगानजस्ता क्रियाकलापमा गीतका बोलले स्वत: भाषा सिकाइरहेको हुन्छ । भर्खरैको एउटा नौलो प्रयोगमा स्मार्ट बोर्ड पनि हो । हुन त यो खर्चिलो छ तर गतिलो माध्यम हो ।
पाठ्यक्रमका घेराले मात्रै भाषाको स्तर भ्याउँदैन र पाठ्यांंश घोकेर मात्र पुग्दैन । त्यसैले शिक्षकको निगरानीमा बोल्न/वक्तृत्व सिकाउँदै लगिन्छ । साथसाथै अतिरिक्त पठनमा केही समय भए पनि बाहिरी ज्ञाननिम्ति कथा–कविताका पुस्तकवाचन गर्नेे, नाटकमा भाग लिने, चलचित्र देखाउनेजस्ता अभ्यास गराइन्छ । पछि यिनैबारे कुनै न कुनै तवरले चर्चा गर्ने, के कति बुझ्यो वा बुझ्न सक्यो भन्ने सोधपुछ गर्ने, र शिक्षकले यसो गर्ने– उसो गर्ने भन्ने सिकाइराखेका हुन्छन् ।

उमेरसँगै अझ माथिल्ला तहमा क्रमश: अक्षर, अक्षर उच्चारण, मात्रा, ह्रस्वदीर्घदेखि लिंग, वचनजस्ता तत्त्वसमेत थपिंदै जाइन्छ । यो क्रम कक्षा आठसम्म चलिराख्छ । यसपछि उसमा अतिरिक्त विषयहरूको ज्ञान थप्न र बढाउन सहज हुन्छ । माथिल्ला कक्षामा भाषाले व्यावहारिक/उपयोगी मार्ग लिंदै अघि बढ्छ । अन्यथा त्यसमा त्रुटि, अशुद्घि र छ्यासमिसे गुण थपिंंँदै जान्छन् । यो प्रसंगमा अंग्रेजीबारे भन्नुपर्दा जर्ज बर्नार्ड शअ्कालको बेलाइतमा अङ्ग्रेजी भाषा शिक्षित र अशिक्षितमा विभाजित थियो । उनको नाटक ‘पिग्म्यालियन’ मा एउटी पूूmलबेचुवी पात्रलाई बोल्ने तालिम दिएको देखाइएको छ । यसको अर्थ जुनै पनि भाषा पढ्गुुन गरेपछि स्तरीय हुन्छ ।

यहाँ बिझ्ने/खट्किने कुरा एउटा अर्को पनि छ । त्यो हो भाषामा आधिकारिकता । यसले भाषाको स्तरीयता कायम गर्छ । सर्वप्रथम भाषानीति स्पष्ट र बुझ्नलायक हुनुपर्छ । भाषा ठेट होस् भन्न र छ्यासमिस हुन नदिन अरू भाषाका नियामकले पनि उस्तै किसिमले निर्देशन एवम् नियन्त्रण गरिराख्छन् । यसले एकातिर भाषामा एकरूपता आउँछ भने अर्कातिर यसको सूक्ष्म विकासक्रम पनि अध्ययन भइरहेको हुन्छ । यो भनेको सबै तरहले दृष्टि पुर्‍याउनु हो । त्यस्तो दृष्टि नपुगेकामा हालमा चलनचल्तीका एक–दुई पदहरू लिन सकिन्छ— नेपालको राजधानी नामको शब्द विन्यास । अहिले यो विभिन्न विन्यासमा आएको छ— काठमान्डू, काठमाण्डौ, काठमान्डौ, काठमाडौँ, काठमाण्डौंं, काठमान्डो, काठमाडौंं, काठमाडौँ आदि । यथार्थमा ‘राजधानी महानगर’ को नाम विन्यास किटानी गरिदिंदा सबैलाई सजिलो हुनेछ । त्यस्तै, ‘हामी श्रीमान्/श्रीमती हौं’ का ठाउँमा ‘पति/पत्नी हौं’ भन्ने चिनारी प्रस्ट अर्थ खुल्ने र शोभनीय हुन्छ ।
भाषा चुनौतीमय हुन्छ । यसमा छेकबार र गलपासो भिर्ने होइन सट्टामा आधार खडा गर्नुपर्छ । कारण, हामीसँग यसको आधिकारिक नियामक/निर्देशक सूत्र छैन जसको खट्टै खाँचो भइसक्यो । यस्तो निकायले कार्यमूलक विद्वान्समूहको समन्वय/सहकार्य खोज्छ र यसमा धेरै अंगको काम पर्छ— शिक्षा मन्त्रालय, विश्वविद्यालयहरू र यिनका शिक्षक, भाषा/साहित्य प्रतिष्ठान/प्रकाशनगृह, कानुन र सञ्चारकर्मीहरू, जहाँ भाषाको निरन्तर उपयोग छ । अत: गर्ने कार्यहरूमा यसले पहिलो, जुटेर व्याकरणमा शोध गर्ने र सोहीअनुरूप शब्दकोश सम्पादन गर्ने, दोस्रो, यिनलाई विद्युतीय सञ्चारबाट हेर्न/पढ्न सजिलो बनाउने, तेस्रो, दूरशिक्षा शिक्षणबाट रेडियो, टेलिभिजनमा प्रसार गर्ने । हालसालै औन–लाइन् र युट्युबको चलन पनि लोकप्रिय बन्दै आएको छ । कुनाकन्दरा, भीरपाखामा यस्ताको उपयोगले शिक्षकहरूको सीप र आत्मबल थपिनेछ ।

यता–न–उतिको पीडा खेप्ने आखिरमा विद्यार्थीले नै हो । राष्ट्रका कुनाकाप्चासम्म उनले एकै ढंगबाट सिक्न, पढ्न पाए भने प्राप्तांक उसै उक्लिन्छ तथा सहर र गाउँको भाषादूरीसमेत मेटिन्छ ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:४२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दंशभित्रको दंश

पुस्तक
सङ्ग्रहका प्राय: कथाले ‘दंश’ शब्दले बोक्ने अर्थलाई ध्वनित गर्छन् । केहीलाई छाडेर यी कथाले कुनै न कुनै रूपले व्यक्तिजीवन अथवा ऊ बाँचेको समयका पीडा बोलेका छन् ।
विजय सापकोटा

काठमाडौँ — ‘दंश’ कथासङ्ग्रहमा समेटिएका कथामा बुनिएका विषयवस्तुले दिनमानलाई वर्तमानका कथाकारका रूपमा उभ्याएका छन् । उनका कथाका विषय र चरित्र विविध छन् । उनी तत्कालको घटनालाई पनि कथामा भावभूमि बनाइहाल्छन् ।


यतिखेर देशमा बलात्कारको आतङ्क छ । जनसामान्य आतङ्कित छ तर ठूला सपना बाँडिरहेको शासक र उसका मातहतका संयन्त्रलाई यो स्वाभाविक लागिरहेको छ । यी घटनाबारे संवेदनशील तदारुकताको झिनो संकेत पनि राज्यले देखाइरहेको छैन । प्रहरी नै मुछिएको निर्मला पन्तको घटनाले त यो व्यवस्थाको न्याय प्रणालीप्रति नै धेरै सवाल जन्माएका छन् । यो सन्दर्भमा कथाकार दिनमान गुर्मछानको हालै प्रकाशित ‘दंश’ कथासङ्ग्रहको शीर्ष कथा ‘दंश’ ले सोच्ने एउटा ठाउँ दिएको छ । जनसाधारण माथि भइरहेका बलात्कारका घटनालाई संवेदनशील नजरले नहेर्ने अझ विभिन्न लेनदेनमा दोषीलाई उन्मुक्ति दिलाउने एउटा ठूलो गिरोहलाई बोकी हिँडेको पुलिस प्रशासनकै परिवारमा यस्तो घटना भयो भनेचाहिँ त्यसको प्रतिक्रिया कस्तो होला ? अवश्यै पनि दु:ख अथवा संवेदनाको रङ र आवाज त एउटै हुन्छ । गुर्मछानको कथाले यतातिर संकेत गरेको छ ।

सङ्ग्रहका प्राय: कथाले ‘दंश’ शब्दले बोक्ने अर्थलाई ध्वनित गर्छन् । केहीलाई छाडेर यी कथाले कुनै न कुनै रूपले व्यक्तिजीवन अथवा ऊ बाँचेको समयका पीडा बोलेका छन् । ती पीडा राज्य व्यवस्थाजन्य, व्यक्तिगत अथवा कुनै प्राकृतिक संयोगद्वारा दिलाइएका छन् । कथाभित्रका प्राय: सबै मूलचरित्रहरू कुनै न कुनै रूपले दंशित छन् । त्यो दंशले जन्माएको पीडा, छटपटी, अन्योल अनि अँध्यारो जुन हामी बाँचेको समयको सग्लो चित्र पनि हो, त्यसको उठानको प्रयास कथाहरूमा भएका छन् । तर, दिनमानका कथाहरू एउटै वैचारिक आयामभित्र व्यक्तिन्नन् । तिनमा विविधता छ ।

‘दंश’ कथाहरूको जग सामयिक जीवन हो । प्रस्तुतिगत विविधताका कारण कतिपय कथामा कल्पनाको उडान अलिक बढी भेटिन्छ । तर, रूपगतपक्ष जे जस्ता भए पनि तिनले युगजीवनलाई नै बोलेका छन् । चाहे ‘घुर’, ‘योद्धासँगको केही पल’, ‘मधेसको गर्मी’, ‘दंश’, ‘छाडेको फूल’, ‘नागरिकता’ जस्ता सीधा रेखामा अघि बढेका सरल कथा हुन् अथवा ‘त्यो रात’, ‘नीलो गुलाब’ आदि जस्ता कल्पनाप्रेरित कथा, तिनले हाम्रो समयकै अनेक पक्षलाई मुखरित गरेका हुन्छन् ।

हिजोको क्रान्तिकारिताको स्खलन ‘महामारी’ कथामा ध्वनित हुन्छ । क्रान्तिकारी नेताको पुरानो विम्ब दिमागमा बोकेर उसले आफ्नो गाउँको समस्या समाधान गरिदिने विश्वासमा आएको एउटा बूढो मानिसले खेपेको हन्डर (महामारी), अपराधीसित नाम मिलेकै आधारमा सजाय पाएको एउटा निरपराध गरिब मजदुरको लाचार जीवन (नागरिकता), झन्डैझन्डै प्रेमचन्दको कथा ‘कफन’ को हाराहारीको गरिब मुसहर परिवारको गरिबीको कारुणिकता (घुर), वैदेशिक रोजगारीको बाध्यताले ध्वंस बनाएको जिन्दगी (संक्रमण), मधेस आन्दोलनभित्रको सत्यको एउटा पाटो (मधेसको गर्मी), बलात्कारको पीडा (दंश) हाम्रो समयका केही प्रतिनिधि अँध्यारा पाटाहरू हुन् । यिनलाई कथाकारले मार्मिक किसिमले प्रस्तुत गरेका छन् । यी प्रतिनिधिमूलक सन्दर्भबाहेक वैयक्तिक जीवनका विविध पाटोहरू प्नि उनका कथामा उनिएका छन् । जनयुद्धको समयमा पुलिस अफिसरको जीवनमा भएको एउटा दुर्घटनाद्वारा लखेटिएको वर्तमान (अनुहार), यौवनको प्रेमको स्मृतिदंश बृद्धावस्थामा पनि बोकिरहेको मान्छे (बलिहाङको प्रेम), भूकम्पमा ढलेको धरहरामा सकिएको प्रेम सम्बन्धको दंश (प्रेमको धरहरा), उपभोक्तावादी समयको प्रेमको वियोग (छाडेको गुलाब), द्वैध सम्बन्धमा अल्झिएको भावनात्मक प्रेमको दु:खान्त (पलिना, इन्द्रावती र बगरको यात्रा), दैहिक आकांक्षालाई परिपूर्ति गर्न खोज्नेको घृणित मानसिकता (वेब तृष्णा), प्रेम प्राप्तिको आकांक्षाले समस्यामा फसेको प्रेमीको दुर्दशाको तिलस्मी वर्णन (नीलो गुलाब) दंशका कथामा आएका छन् ।

‘चियाको बाफ’ र ‘पुरुष’ कथाले विपरीत विचारलाई अभिव्यक्त गर्दछन् । ‘चियाको बाफ’ कथाले स्त्रीबिनाको संसारको परिकल्पना गरेर स्त्रीप्रति पूर्णरूपले आश्रित पौरुषत्वको धज्जी उडाउँछ भने ‘पुरुष’ कथामा पुरुष वेश्या (जिगलो) को हीनताबोध छ । प्राय: सबैजसो कथाले दुर्बल पक्षलाई विषयवस्तु बनाए पनि थोरै कथा मात्रै जीवनको सबलतालाई प्रकाशित गर्छन् । त्यस्ता कथामा ‘अनुहार’ ले विगतको दुर्घटनालाई वर्तमानमा सहज बनाउन गरेको प्रयास आएको छ । ‘पराजित’ मा जीवनको अर्थ नदेखेर आत्महत्या गर्न उद्यत चरित्रले पत्नीको दैहिक सामीप्यमा कसरी जीवनको मिठासलाई ग्रहण गर्न पुगेको छ, त्यसको रोचक कथा कहिएको छ भने योद्धासँगको केही पलमा हिजो परिवर्तनका लागि कलिलैमा युद्धमा होमिएको एउटा चरित्रको इमानदारी र वैचारिक प्रस्टताको प्रशंसा गरिएको छ ।

‘दंश’ कथासङ्ग्रहमा समेटिएका कथामा बुनिएका विषयवस्तुले दिनमानलाई वर्तमानका कथाकारका रूपमा उभ्याएका छन् । उनका कथाका विषय र चरित्र विविधतामय छन् । उनी तत्कालको घटनालाई पनि कथामा भावभूमि बनाइहाल्छन् । जस्तै जनयुद्ध, मधेस आन्दोलनदेखि भुइँचालोसम्मका सन्दर्भहरू कथामा आउनुले उनको लेखनको उद्देश्य र कथा छनोटको तरिकालाई प्रस्ट पार्दछ । प्राय: सरलरेखीय कथाहरू लेखे पनि कतिपय प्रस्तुतिमा उनले हल्का नयाँपन ल्याउने प्रयास गरेका छन् । विशेषगरी मधेसको भावभूमिमा लेखिएका कथाहरूमा स्थानीय रङ आउँछ, यो दिनमानको कथाकारिताको एउटा सबल पक्ष हो ।

सबैभन्दा बलियो पक्षचाहिँ उनका कथाको अन्त्य नै हो । आफ्ना कथाको अन्त्य उनी यति हठात् र अप्रत्याशित रूपमा गरिदिन्छन् कि एउटा अन्त्य सोचेर बसिरहेको पाठक चकित हुन सक्दछ । कतिपय कथामा महान्् कथाकार ओ हेनरीको जस्तो ‘सरप्राइजइन्डिङ’ को झल्कोसमेत आउँदछ । यसले गर्दा सुरुमा सामान्य लागेको कथाले पनि पढिसकेपछि लामै प्रभाव पाठकलाई दिलाउन सक्दछ । यो क्षमता दिनमानका कतिपय कथाले राख्दछन् । मधेस तराईको भावभूमिमा लेखिएका कथाले पछिल्लो समयको बोली बोलेका छन् । स्थानीय माटोको सुगन्ध कथामा आउनु स्तुत्यकुरा हो ।

जीवन र जगत्का यथार्थ लेख्ने हो भने त्यसमा सतहको यथार्थ जानेर मात्रै हुँदैन, त्यसभित्र गाँजिएका राजनीतिक, सामाजिक–सांस्कृतिक, आर्थिक एवम् तिनद्वारा निर्मित मनोवैज्ञानिक यथार्थको पनि आधारभूत जानकारी हुनुपर्दछ । दिनमान गुर्मछान राम्रा कथाकार हुन् तर उनका कतिपय कथा त्यसको अभावमा चुकेका छन् । कतिपय कथामा चरित्रको गतिशीलता अझै धेरै हुन सक्थ्यो । चरित्रको मनोद्वन्द्वको चित्रणमा पनि कतिपय ठाउँमा जान सक्ने किसिमको गहिराइ नपक्डेका कारण केही कथा अझै उम्दा हुनबाट चुकेका छन् । गम्भिर विषयवस्तु रुचाउने पाठकलाई उनका कतिपय कथा फिल्मी शैलीका हलुका पनि लाग्न सक्छन् । पहिलो कथासङ्ग्रह भएकाले पनि होला कथाकार विविध शैली, विचारका कथाहरूमार्फत फरकफरक किसिमका पाठकसित अन्तक्र्रिया गर्न चाहन्छन् कि जस्तो पनि देखिन्छ ।

पचासको दशकपछि नेपाली कथा लेखन संख्या र गुण दुवै हिसाबले क्रमश: ओरालो लाग्दै गरेको गुनासो छ । कतिपय सन्दर्भमा यो असान्दर्भिक र अनुपयुक्त पनि लाग्दैन । संख्यात्मक हिसाबले कम देखिए पनि साठीको दशकमा केही भरोसालाग्दा कथाकार उदाएका छन्, जो कथालेखनमा सक्रिय छन् । साठीको दशकको मध्यतिरदेखि देखा परेको नवीन राजनीतिक र सामाजिक परिवर्तन एवम् सँगसँगै कथालेखनमा पनि नवीनता आएको छ । यही परिवर्तित समयलाई बाँधेर कथालेखनमा सक्रिय दिनमान गुर्मछान यो समयका भरोसालाग्दा कथाकार हुन् ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT