२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जर्जर जनकपुर

सहर
जनकपुरको दुर्भाग्य– न कुनै पूर्वराजा न कुनै नेताहरू, कसैले पनि यसको विकासका लागि चासो देखाएनन् । जो कोही पनि चिन्तित  हुने जर्जर अवस्था छ यस सहरको ।  
रामदयाल राकेश

काठमाडौँ — थाइल्यान्डका राजा भूमिबल राज शिरोमणि जनकको दर्शनबाट यति प्रभावित र प्रेरित थिए कि उनले थाई भाषामा एउटा पुस्तक पनि लेखे, जसको अनुवाद अंग्रेजी भाषामा भएको छ– ‘द स्टोरी अफ महाजनक’ ।

जर्जर जनकपुर

मिथिला सभ्यताको एउटा केन्द्र– जनकपुर । यस प्राचीन सहरको परिचय आज उस्तै छैन ।

धूवाँ र धूलो । हिलो र फोहोरको डंगुर । गन्दा नाला र प्रदूषित पानीले भरिएका पोखरीहरू । मच्छर र झिँगाहरूले म्लान मन्दिरहरूको मैलो सहर । गर्मी याममा अधिकतम तापक्रमको तप्त सहर । वर्षायाममा मुख्य सडकमै हिँड्दा नदी तर्नुको आलो अनुभव । मच्छर, उपियाँ र उडुसले उजाड एवं उदासीन नगर ।


सडकबीचमै खाल्टाखुल्टोको खाडी । र, त्यसमा बेवारिस गाईहरूको बास । बाहिरबाट आएका आगन्तुकलाई उदेक लाग्दो सहरको रूपमा आफ्नो परिचय दिन आतुर । बाटोभरि रूख बिरुवाको शीतल छाया नदारद । शौचालय त खोजेर पनि नपाइने ।

जनक चोक र रामानन्द चोक, बिहान–बेलुकी तातो चिया खाएर तातै राजनीतिक बहस गर्ने थलो । पान खाएर सडक र नांगो भित्तामा पिच्चपिच्च थुक्ने स्थलका रूपमा आफ्नो परिचय प्रस्तुत गरिरहेको छ । सिनेमाहलको भित्ता पानकै पिकबाट रंगीन छ ।

बिहान र बेलुकी सुप्रसिद्ध जानकी मन्दिरको प्रांगणमा निरुद्देश्य र निराश युवाहरूको जमघट । यस निष्प्राण र निराश वातावरणमा केही अल्पसंख्यक भक्तहरूको भक्तिभावना बिहान र बेलुकाको आरतीबाट अभिव्यञ्जित ।

आज जनकपुरमा कहीँ आकर्षण छ भने ती जानकी मन्दिर र राम मन्दिर हुन्, जहाँ भक्तजनहरूको भीड हेर्न सकिन्छ । कहिलेकाहीं भारतीय भक्त पनि देखा पर्दछन् । यी मन्दिरमा बिहान–बेलुका एक क्षणका लागि भए पनि वातावरणमा धार्मिक सुवास फैलिन्छ । धार्मिक भावनाको आभास दिन समर्थ हुन्छ । विशेषगरेर जाडो याममा विवाह पँचमीको शुभ अवसरमा र गर्मीयाममा रामनवमी र जानकी नवमीको सुखद उपलक्ष्यमा ।

भारतीय दर्शनार्थीका लागि यहाँ एउटा यात्री निवासको निर्माण भएको छ । त्यो पनि भारतीय सहयोगमा तर यहाँ तिनीहरू बस्दैनन् । किनभने त्यहाँ राजनीतिक कार्यकर्ताको एउटा अड्डा जमेको हुन्थ्यो । अहिले त्यो यात्री निवास बहालमा दिएकाले तिनीहरूको बिगबिगी कम भएको छ । धनुषा र महोत्तरी जिल्ला विकासका लागि बृहत्तर जनकपुर विकास परिषद्को गठन भएको दशकौं भइसक्यो । तर, त्यसले गरेको विकास हेर्न दिउँसो दियो बाल्नुपर्ने हुन्छ । यस परिषद्का उपाध्यक्षहरूले गरेको भ्रष्टाचारको भण्डाफोर भएको धेरै भएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा बल्ल पुगेको छ । यसका विगतका केही उपाध्यक्षलाई पत्र लेखेर यिनीहरूले गरेको भ्रष्टाचार रकम असुलउपर गर्न खोजिएको छ ।


परिषद्का लागि विकास बजेट विनियोजित गरेको बजेट आफ्नो तलब भत्ता खान परिषद्बाट निर्णय गराइएको छ । जुन अवैधानिक भएको ठहर छ । विकास गर्न जहिल्यै बजेट अभाव हुने तर आफ्नो निजी खर्च गर्न सबै नियम कानुन मिचेर स्वार्थ सिद्धि गर्ने ! आफ्नो कार्यालयको भवनको नांगो भित्तामा मिथिलाको सान लोककलाको एउटा पनि चित्र लगाउने जमर्को नगर्ने ! दशकांैदेखि रङ उप्किएको एवं उजाडिएको लोककला चित्र एयरपोर्टको निकासद्धारको भित्तामा झुन्डिएको देखिन्छ ।

बृहत्तर जनकपुर विकास परिषद्लाई राजनितीकरण गरेर यसलाई दुहुनो गाई बनाउने केही पदाधिकारी आफूलाई बाहुबली ठान्छन् । नियम कानुनभन्दा पनि माथि राख्छन् आफूलाई । शक्तिशाली पार्टीको आड र ओत पाएपछि । मैथिली भाषामा एउटा कहावत यस्तो छ— सैयाँ भेल कोतवाल त डर काहेको ।

जनकपुरको दुर्भाग्य– न कुनै पूर्वराजा न कुनै नेताहरू, कसैले पनि यसको विकासका लागि चासो देखाएनन् । यसको दुर्दशा दिन प्रतिदिन बढ्नु पूर्णरूपमा पूर्वको राजनीति जिम्मेवार छ । एउटा शुभसंकत देखा परेको थियो, केही वर्षअघि थाइल्यान्डका पूर्वराजा भूमिबल अदुल्यादेजले जनकपुरको विकासका लागि चिन्तित देखिएका थिए ।


केही राम्रो काम गर्ने जमर्को गरेका थिए । उनलाई मैथिली संस्कृतिसँग असीम प्रेम थियो । उनले नेपालबाट अंग्रेजी भाषामा प्रकाशित मैथिली संस्कृतिसम्बन्धी पुस्तक पढेका थिए । तत्पश्चात् तमासात विश्वविद्यालय बैंकक र कम्युनिकेसन इन्स्टिच्युट अफ बैंककले मिलेर ‘ए जर्नी टू जनकपुर’ वृत्तचित्र पनि तयार गरे । जसमा यस पंक्तिकारले स्रोत व्यक्तिको रूपमा काम गरेको थियो । थाई इन्टरनेसनलको उच्चस्तरीय प्रतिनिधिमण्डल दुईचोटि जनकपुर पुगेका थिए ।

थाई राजाको सदिच्छा थियो— बैंकक, काठमाडौं, लुम्बिनी र जनकपुरलाई लिएर एउटा पर्यटन प्याकेज तयार गर्ने । तर, दुर्भाग्यवश जनकपुरमा पूर्वाधार कमीले गर्दा त्यो सम्भव भएन । राजा भूमिबल राज शिरोमणि जनकको दर्शनबाट यति प्रभावित र प्रेरित थिए कि उनले थाई भाषामा एउटा पुस्तक पनि लेखे ।


जसको अनुवाद अंग्रेजी भाषामा भएको छ, ‘द स्टोरी अफ महाजनक’ । यो पुस्तक हट केक भयो । नेपालमा यसको नेपाली अनुवाद भएको छ ‘महाजनकको कथा’ । राजा भूमिबलको पूर्वज रामवंशी भएकाले नै उनी जनकपुरलाई माया गर्थे ।

वौआ हनुमानको चर्चा उनले नेपालबाट जाने प्रत्येक प्रतिनिधिमञ्डलका सदस्यसित गर्दथे । उनी नेपालका लागि नियुक्त हुने प्रत्येक थाई राजदूतलाई जनकपुरको गौरवबारे विशेष समय प्रदान गरेर ‘ब्रिफिङ’ गर्थे । प्रत्येक थाई राजदूत जनकपुर भ्रमण गर्ने गर्थे र राजालाई त्यसको रिपोर्ट दिन्थे ।

एकपल्टको घटना यहाँ सान्दर्भिक छ । मिथिला महोत्सवमा थाई राजदूत बोलाइएकी थिइन् । उनी मञ्चासीन हुदाँहुँदै मिथिलावासी विशेषगरेर नामूद नेताहरूले आफ्नो चारित्रिक विशेषताको प्रदर्शन गरिहाले । मञ्चमै एकआपसमा पिटापिट गर्न थाले । बिचरी महिला राजदूत डरले थरथर काम्न थालिन् ।


र, तत्काल फिर्ती हवाई उडानबाट काठमाडौं फर्कन बाध्य भइन् । फलत ‘ए जर्नी टू जनकपुर’ वृत्तचित्र तयार भएर अझसम्म सार्वजनिक प्रदर्शन हुन सकेको छैन । मिथिलाको आतिथ्य अनुपम र अद्वितीय मानिन्छ तर आमन्त्रित विदेशी राजदूतलाई अपमानित गरेको कुरो इतिहासमै लेखिएको छ ।

थाई राजाको अर्को इच्छा थियो— राजा जनकको प्रतिमा जनकपुरमा स्थापित गर्ने । त्यो पनि सम्भव भएन । मिथिलावासी आफू पनि केही गर्दैनन र अरूले चाहेको काम पनि गर्न दिंदैनन् । मञ्चासीन हुने मोह यिनीहरूमा अत्यधिक पाइन्छ । केही वर्षअघि मिथिला महोत्सवका अवसरमा त्यस क्षेत्रका माननीय सांसदहरूलाई मञ्चासीन हुनेले तिर्नुपर्ने रकम तोकिएको थियो पच्चीस हजार । सबै सांसदले मञ्चको शोभा बढाइदिए तर कसैले पनि उक्त रकम तिरेनन् । अर्को, नेपालकै सान थियो, जनकपुर चुरोट कारखाना ।


अहिले पूर्णतया बन्द भइसकेको छ । त्यसैलाई अहिले राजभवन बनाइएको छ । नयाँ योजना तर्जुमा गरेर जनकपुरको सर्वांगीण विकास गर्ने लक्ष्य लिइएको छ । यहाँ लोभलाग्दो अतिथिगृह, विशाल रूख र बिरुवाले भरिएको बगैंचा पनि छ । यो कारखानाले एक समयमा नेपाल सरकारलाई रेकर्ड राजस्व बुझाउँथ्यो । तर, अहिले बेहाल छ जनकपुर । स्थलगत निरीक्षण गरेर आएपछि पत्रकार निर्जला शर्माले ‘द रिपब्लिका’ दैनिकमा आलेख लेखिन् ‘बिमारी’ जनकपुरबारे ।

डा. अरुणा उप्रेतीले ‘कान्तिपुर दैनिक’ मा लेखिन, जनकपुरको छठपत्र । डा. प्रकाशचन्द्र लोहनीले पनि कान्तिपुरमै यस सहरबारे हृदयस्पर्शी लेख लेखे । वर्तमान उद्योगमन्त्री मातृका यादबले बन्द चुरोट कारखानालाई पुनर्जीवन दिने प्रतिबद्धता जनाएका छन् । डा.सुखदेव शाहले जनकपुरबाट फर्केपछि ‘द रिपब्लिका’ दैनिकमा ‘ए सिटी अफ मस्क्विटो’ लेखे । वविता बस्नेत र सरिता तिवारीले जनकपुरको वर्तमान अवस्थाबारे कलम चलाए । जो कोही संवेदनशील मानिस जनकपुरको जर्जर अवस्था हेरेर आएपछि यस्तै मार्मिक र मर्मस्पर्शी अभिव्यक्ति दिने गर्छन् ।

जनकपुर विकासका लागि चिन्तित रामाशिष यादवले वर्षाैंदेखि गंगासागरमा सायंकालीन आरती आरम्भ गरेका छन्, जुन प्रशंसायोग्य छ । जनकपुरको प्रत्येक साँझ धार्मिक भावनाको वास्नाले मगमगाइरहेको छ । तर, यो पंक्तिकारलगायतलाई त्यहाँ जान– आउनै सास्ती भयो, बाटाको अव्यवस्थाले । वर्षातपछिको अवस्था के होला ।

प्रदेश सरकारसँग जनपुरवासीको मात्र होइन सम्पूर्ण प्रदेश नं. दुईका बासिन्दाले धेरै आशा गरेका छन्— दु्रत गतिमा जनकपुरको विकास होला भनेर । प्रादेशिक सरकारले जनकपुरको सर्वांगीण विकासका लागि विभिन्न योजना बनाइरहेको पनि छ । आस गरौं, जनकपुरको कायापलट शीघ्रै हुनेछ ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?