१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भेनेजुएला भर्सेज सुन्दरी प्रतियोगिता

टिप्पणी
सौन्दर्य प्रशाधन कम्पनीहरूले मानवीय मूल्य, मानवीय सौन्दर्य चेतना आदि सबै महिलाको आँखा, नाक, दाँत, वक्ष र कम्मरमा हुन्छ भन्ने भावना जागृत गराइदिन्छन् ।
अरुणा उप्रेती

काठमाडौँ — मिस भेनेजुएला विमे नाभा, ३२ ले आफ्नो जिब्रामा सानासाना प्लास्टिकका टुक्रा शल्यक्रिया गरेर घोचेकी थिइन् । ठोस पदार्थ केही खान नसकियोस् भनेर । तरल पदार्थ मात्र खाएपछि शरीर मोटो हुँदैन भनेर। मिस भेनेजुएला बन्न त्यहाँका महिलाले आफ्नो तलबको आधा पैसा सौन्दर्य प्रशाधनमा खर्च गर्थे । 

भेनेजुएला भर्सेज सुन्दरी प्रतियोगिता

सावित्री गौतमको ‘शृङ्खला भर्सेज निर्मला’ पढेर पक्कै केही वामपन्थीले सावित्रीलाई ‘गाली’ गरे होलान् । केहीले समर्थन पनि गर्लान् तर चुपचाप । सायद हाकाहाकी सावित्रीको विचारको समर्थन गरे अन्तर्राष्ट्रिय तत्त्व भइन्छ भन्ने डर होला । ‘सुन्दरी’ शृङ्खलाले सुन्दर नेपालको ‘नाक’ राख्न अहिलेसम्म जति मिहिनेत गरिहेकी छन्, त्यसका लागि उनलाई साधुवाद दिनैपर्छ । त्यतिका धेरै पैसा, समय, शक्ति खर्च गरेर भए पनि ‘विश्व सुन्दरी’ को माझमा उभिने योग्यता हुनु चानचुने होइन ।


तर, शृङ्खलाले ‘मैले महिलाको शरीरलाई वस्तु बनाएको छैन’ नभनिदिए नै वेश हुन्थ्यो । ‘मलाई मेरो सौन्दर्य देखाउने अधिकार छ । मेरो यो मानव अधिकार हो, महिला अधिकार हो’ भनेर स्पष्ट रूपमा उभिए नै वेश हुनेथियो ।


कतिले भनेको सुनियो, ‘कम्युनिस्ट पार्टीले उनलाई जिताउन ‘भोट हाल्नू’ भनेर ‘सर्कुलर’ पनि गरेको छ, अरे । तर, मलाई थाहा छ— यो झूटो हो । समाजमा नयाँ बिहानीको थालनी गर्ने आदर्श बोकेको पार्टीले सौन्दर्य प्रतियोगितामा कसैलाई जिताउन ‘सर्कुलर’ जारी गर्‍यो होला र ? पार्टीले त गाउँघरमा गएर समाजमा जनचेतना जागृत गराऊ, जनतालाई शिक्षा, स्वास्थ्यको अधिकारको बारेमा बताऊ, अन्यायसँग लड्न सिक र सिकाऊ भन्ने सर्कुलर जारी गर्न सक्छ । किनभने कम्युनिस्ट पार्टीका बुद्धिजीवीलाई पनि थाहा छ कि सौन्दर्य प्रतियोगिताहरू महिलालाई चीज/वस्तु बनाएर बेच्ने अवधारणाबाटै ल्याइएको हो । ठूलाठूला सौन्दर्य प्रशाधन बनाउने कम्पनीहरूले आफ्ना प्रशाधन ‘कहाँ बेच्ने’ भनेर ठाउँ खोजिरहेको हुन्छ । अनेकथरीका हीराका गहना बनाउने कम्पनीले कसरी ‘हीरा है सदा के लिए’ भन्दै विज्ञापन गरेर बढी महिलालाई हीरा किन्न लगाउन सकिन्छ भनेर यो प्रतियोगितामा पैसा हालेका हुन्छन् । सहभागीहरूले जितेपछि हीराका सेट उपहार पाउँछन् । त्यही सेट लगाएर फोटो खिचाएपछि संसारभरिका महिलाको मन तानिन्छ, हीराको बिक्री बढ्छ ।


सौन्दर्य प्रशाधनको कुरै नगरौं, यस्ता कम्पनीले कुन देशमा महिलालाई आफ्नो ‘कम्पनी’ को मालसामान किन्न लगाउँदा फाइदा हुन्छ भनेर हेरिरहेका हुन्छन् । व्यापारीको धर्मै त्यही हो । अनैतिक हुने भएन । तर, मैले समस्याचाहिँ तब देख्छु जब यस्ता सौन्दर्य प्रशाधन कम्पनीले मानवीय मूल्य, मानवीय सौन्दर्य चेतना आदि सबै महिलाको आँखा, नाक, दाँत, वक्ष र कम्मरमा हुन्छ भन्ने भावना जागृत गराइदिन्छन् । अनि बुद्धिजीवी भन्ने मजस्ता पनि त्यसको फन्दामा पर्छौं । सौन्दर्य प्रतियोगिता हुँदा कुनै देशका गाउँघरका, काम गरेर पसिना निकाल्ने, युवती, हातमा ठेला परेका युवती, भारी बोकेर उकाली ओराली गर्ने युवती मञ्चमा उभिँदैनन् । उनीहरूसँग न पैसा हुन्छ न ‘अनुहार’ र ‘शरीर’ देखाउने ‘सौन्दर्य ।


पहिले पहिले पढिन्थ्यो, ‘संसारमा सबभन्दा बढी सुन्दरी उत्पादन गर्ने देश हो भेनेजुएला ।’ संसारमा सबभन्दा बढी तेल भण्डारण भएको भेनेजुएलामा युवतीहरूलाई सानैदेखि सुन्दरी हुन प्रेरित गरिन्थ्यो । पर्याप्त मात्रामा पैसा भएकाले सायद त्यहाँको समाज र परिवारले आफ्ना छोरीहरूलाई सौन्दर्य प्रशाधन दिन समस्या भोग्नुपर्दैनथ्यो । र, युवतीहरूको सपना नै सुन्दर बनेर ‘विश्व सुन्दरी’ को ताज पहिरने हुन्थ्यो ।


तर, यसका लागि त्यहाँका युवतीहरूले कस्तो बलिदान गर्नुपथ्र्यो भन्ने विचार ‘सौन्दर्य’ हेर्ने मानिसले थाहा पाउन सक्दैन । त्यहाँ १२ वर्षे बालिकाको नाक, पुठ्ठाको शल्यक्रिया गरेर सौन्दर्य बढाउन मातापिता सहजै स्विकार्थे । १६ वर्षमा वक्षस्थलको शल्यक्रिया गरेर ठूलो देखाइने चलन पनि रहेछ । दाँतलाई मिलाउने त सहज कामै हो । तर, मातापिताले ९ वर्षीया बालिकालाई ‘हर्मोन’ सुई दिएर ठूलो बनाउने काम गरिन्थ्यो भन्ने पढेपछि चाहिँ लाग्यो— सौन्दर्यका लागि अलि बढी नै ‘बलिदान’ दिनुपर्ने रहेछ । ९ वर्षमा त्यस्तो हर्मोन दिएपछि ती बालिकाको शरीरमा कस्तो प्रभाव पर्ला भनेर त्यहाँको समाजले किन नसोचेको ? ‘सुन्दरता’ भएपछि ‘स्वास्थ्य’ बारे के वास्ता भनिएको होला सायद ।


मिस भेनेजुएला विमे नाभा, ३२ ले आफ्नो जिब्रामा सानासाना प्लास्टिकका टुक्रा शल्यक्रिया गरेर घोचेकी थिइन् । ठोस पदार्थ केही खान नसकियोस् भनेर । तरल पदार्थ मात्र खाएपछि शरीर मोटो हुँदैन भनेर (न्युयोर्क पोस्ट, जनवरी २५,२०१५) । मिस भेनेजुएला बन्न त्यहाँका महिलाले आफ्नो तलबको आधा पैसा सौन्दर्य प्रशाधनमा खर्च गर्थे । सुन्दर देखिन १५ वर्षीया चोरजेलो मेरोले हजुरआमासँग पैसा मागिन्, त्यसले उनले नाकको शल्यक्रिया गरिन् । हजुरआमा– आफू झोपडीमा बसे पनि नातिनी सुन्दर हुँदा खुसी भइन् । लिएको ऋण कसरी तिर्ने भन्ने हजुरआमाको पिर नाक राम्रो बनाएकी १५ वर्षीया मोरोले के बुझून् ।


भेनेजुएलामा महिलाको शरीरको शल्यक्रिया गरेर प्लास्टिक सर्जनले पर्याप्त पैसा कमाउँछन् । प्रत्येक कुनाकुनामा सौन्दर्य प्रतियोगिता हुने त्यहाँको हालत अहिले गाह्रो भएको छ । कतिपय गर्भवती महिलाले गर्भावस्थामा पेटभरि खान पाउँदैनन् । एक अनुसन्धानअनुसार २०१७ मा त्यहाँ झन्डै १७ प्रतिशत शिशु कम तौलका जन्मेका थिए । खानेकुराको अति कमी भएर बासिन्दाहरू सिमाना जोडिएको देश पनामा र ब्राजिलतर्फ शरण लिन गइरहेका छन् । लामो समयसम्मको राजनीतिक खराब व्यवस्थापनको परिणाम ।


‘सुन्दरी प्रतियोगिता’ मा बुद्धिको प्रतिस्पर्धा हुँदैन । शल्यक्रिया, क्रिम, मेकअप, लुगा आदिले निर्णय गरिन्छ । सौन्दर्य प्रशाधन कम्पनीलाई कुन देशमा आफ्नो व्यापार फैलाउनु छ, त्यहाँका महिलालाई ‘सौन्दर्यप्रति जागरुक गराएर त्यहींका महिलालाई ‘विश्व सुन्दरी’, ‘ब्रह्माण्ड सुन्दरी’ बनाइन्छ । भारत, चीन, थाइल्यान्डमा पनि कम्पनीहरूले ‘विश्व सुन्दरी’ र ‘ब्रह्माण्ड सुन्दरी’ बनाइदिए । अब ती ठाउँका महिलाले धेरै प्रशाधन प्रयोग गर्छन् ।


चीन, भारत आदि देशमा सुन्दरताको भाषा बदलिएर ‘मानसिक अवस्था’ मै फरक आएको छ । गोरो भएन भने जीवनमा सफलता पाइँदैन, प्रेम पाइँदैन भन्ने भावनाले विचरी बालिका/किशोरी/युवती सधैं ग्रसित । हरतरिकाले गोरो बन्न चाहन्छन् । चाहे त्यसले स्वास्थ्यमा जतिसुकै हानि गरोस् ।


भारतमा पहिलेपहिले मिस इन्डियालाई ‘तपाईं के गर्न चाहनुहुन्छ’ भनेर प्रश्न गर्दा ‘समाज सेवा’ भन्थे । ‘मदर टेरेसा’ मन पर्छ भन्थे । तर, पछि कुनै पनि भारतीय ‘विश्व सुन्दरी’, ‘ब्रह्माण्ड सुन्दरी’ ले ‘समाज सेवा’ गर्छु भनेको वाचा सम्झेनन् ।


यदि मिस खतिवडा एक कम्युनिस्ट पार्टीकी सदस्यकी छोरी नभएकी भए सायद नेपाली समाजमा यति धेरै छलफल हुँदैन थियो वा कम्युनिस्टहरू ‘सत्तामा’ नभएको भए पनि यति उनको बारेमा धेरै विमर्ष हुँदैनथियो । उनका बाबुले ‘मेरी छोरी भए पनि उसलाई आफ्नो जीवनमा के गर्ने भन्ने अधिकार छ’ भने पनि हुन्थ्यो ।


मिस खतिवडाले सुन्दरी प्रतियोगितामा भाग लिंदा र त्यति उचाइसम्म पुगेर नेपालको नाम र नाक राख्न लागेकी छन् भने उनलाई बधाइ दिनैपर्छ । उनी एक प्रकारले ‘सेलिब्रिटी’ भइसकिन् । अब उनले म ‘समाज सेवा’ मा लाग्छु भन्लिन् । लागे राम्रो ।

यदि मिस खतिवडाले निर्मलाका लागि बोलिदिइन् भने उनलाई भोट दिनेहरूले राम्रो नै मान्नुपर्छ ।


उताबाट नेपालमा फर्केपछि आफ्नो ‘सेलिब्रिटी’ अवस्था प्रयोग गरेर उनले तराईका दलितका लागि, सुदूरपश्चिमको छाउपडीविरुद्धमा बोलिन्, लेखिन् भने त्यसलाई पनि राम्रो नै मान्नुपर्ला । तर, २२ वर्षीया युवतीबाट हामीले उनले यसो गरुन् भनेर बढी आशा गर्नु पनि त भएन नि ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?