२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

शारदीय पिण्ड

संस्मरण
मृत्युसित नडराउने बाबा तर अब लेख्न पाउँदिन भन्ने कुरादेखि डराउँथे । घरी आईसीयू, घरी भेन्टिलेटरको कष्ट उनको अनुहारमा थियो । उनी कसरी फेरि जीवनमा फर्किए, म जान्दिनँ । 
शैलिका छेत्री

काठमाडौँ — लेखककी छोरी हुँ तर मलाई लेखनतिर जाने कहिल्यै मन भएन ।
‘लौ छोरी,’ बाबाको जीवनकै सुन्दर उपहार मेरोसामु थियो । हेरें, नेपाली शब्दकोश थियो ।
‘मलाई किन दिनुभको बाबा, मलाई त नेपाली आउँदैन,’ मैले सोधें ।

शारदीय पिण्ड

‘तिमी एक दिन लेखक बन्छौ,’ बाबाले भन्नुभयो । म अवाक बनें । किनभने मलाई साँच्चै नेपाली लेख्न पढ्न आउँदैनथियो । उपहार भने नेपाली शब्दकोश छ, यसको अर्थ मैले नेपालीमा नै लेख्छे र लेखक हुन्छे भन्ने बाबाको सपना हो ।


मचाहिँ अंग्रेजी मात्र पढ्ने । म परें फसादमा । मलाई थाहा थिएन बाबाको यो सपनाको मूल्य । आफूले नदेखेको सपनाबारे आफूलाई त थाहा हुँदैन तर बाबाले देखेको सपना त मलाई थाहा थियो । बाबाको सपना मर्छ कि बाँच्छ होला ? मलाई साँच्चि नै थाहा थिएन ।


मेरो प्लटको बाबा

बैंकमा काम गर्नुहुन्थ्यो, कतै नअल्झी फर्कनुहुन्थ्यो । मैले जब पनि बाबालाई पाएँ, लेखनकक्षमा नै पाएँ । घरका कसैले पनि डिस्टर्ब गर्दैन थिए । सबैलाई थाहा थियो, बाबा लेख्नुहुँदै छ, पढ्नुहुँदै छ । मलाई लाग्थ्यो जीवन भनेको लेख्नु र पढ्नु हो । अनि म पनि किताब निकाल्थेँ र पढ्न बस्थें । तर, मेरो हातमा हुन्थ्यो सिलेबसका अंग्रेजी किताब ।


सधैँ बाबा लेखिरहनुहुँदा पनि मलाई भने लेख्ने रहर लागेन । बरु बाबासित अनेकौं गफ लाउँथे । बाबा कथाकार, यसैले म प्लटहरू दिइबस्थेँ । मलाई थाहा छैन, मैले दिएको प्लट बाबालाई काम लाग्थे लाग्थेनन् तर बाबा जहिल्यै मेरो प्लट सुन्थे । एक दिन त मेरो प्लटमा एउटा कथा नै पनि लेखे । मैले प्लट सुनाएकी थिएँ, एउटा बाजे–नातिलाई स्याउ दिन्छ ।


नातिले त्यो स्याउको नक्सा बनाउँछु भन्छ । बाजेले ‘तैंले बनाउन सक्तैनस्’ भनिदिन्छ । त्यसपछि नातिले रूख देखाउँछ र भन्छ, ‘यो रूखलाई म कस्तो फल दिन्छु भन्ने कुरा थाहा छैन बाजे ।’ बाबाले त्यसको कथै लेख्नुभो तर मलाई थाहा छैन त्यो कुन कथा हो ।

मसिना कुराहरूबाट कथा टिप्न जान्ने भएकाले हरेक कुरामाथि गम्भीर बन्ने बानी बाबाको पुरानो हो । घरको, पिताको, लोग्नेको, छिमेकीको, आफन्तको जम्मै जिम्मेवारी निर्वाह गरेर जति पनि समय उब्रिन्छ, त्यो साहित्यलाई । म बाबामा विविध आयामको व्यक्तित्व देख्थो । सधैँ सन्तुष्ट, जहिल्यै गम्भीर । सधैँ शालीन, सधैं धीर ।


मानौं, बाबाभित्र कुनै शक्ति छ, जसले सधैँ उनलाई ऊर्जाशील बनाइदिन्छ । उनको जीवनको ध्येय भनेको लेख्नु, लेख्नु अनि लेख्नु थियो । बाबाको यो लेख्ने ध्येयसित कसैको गुनासो थिएन । बाबाको यो लेख्ने व्यक्तित्वको विपक्षमा कोही थिएनन् । बाबाको लेख्ने सपनालाई जोगाउन आमा सधैँ साथ रहनुभयो । दाजु रहे, म रहेँ । हामीलाई लाग्थ्यो, यस्तो लेख्ने, लेखक, साहित्यकारलाई हामीले सहयोग गरेन भने कसले गर्छ ।


बाबा यसै त समाजका लेखक हुनुहुन्थ्यो, त्यो समाज जसलाई साहित्यमार्फत धेरै बाटो, मूल्य र जीवनको अर्थ दिन बाबा प्रतिबद्ध सिपाही थिए । बाबा सधैँ विनम्र थिए, मृदुभाषी र गम्भीर देखिन्थे । त्यो व्यक्तित्वको कारण हाम्रो छाती चौडा हुन्थ्यो । मानवतावादी बाबा सग्लो र निश्छल मानिस थिए । धेरै भावुक थिए, त्यो भावुकताले उनलाई निरन्तर लेखायो ।


उहाँ हुनुहुन्थ्यो नेपाली साहित्यका मुर्धन्य साहित्यकार शरद छेत्री । वास्तवमा मेरो कथाको हरेक प्लटमा जुन बाबाको प्रतिविम्ब हुन्थ्यो, त्यो बाबाकै व्यक्तित्वले बनाएको थियो । मेरो कथा प्लटको बाबा हुनुहुन्थ्यो शरद छेत्री ।


जीवनको रङ

बाबाको लाइन थियो— म को हुँ मलाई थाहा छैन तर जीवन सिक्नका लागि हो । यही कारण बाबा सेतो कागजमा जीवनको रङ खोजिबस्थे र त्यसले दिइरहेको अर्थ साहित्यमार्फत पाठकहरूमा पुरर्‍याइदिन्थे । साहित्यिक, काव्यिक, वैचारिक अनि व्यावहारिक साधना गर्नु बाबाको जीवन जिउने ढंग थियो ।


अध्ययन गर्नु जीवनको सीप थियो । चिन्तन गर्नु जीवनको रस अनि लेख्नु जीवनको सही अर्थ । जतिखेर लेख्नुहुन्थ्यो आमाले टक्रयाउनुभएको मगभरिको चिया कतिखेर पिइसकें, थाहा हुन्नथ्यो । धेरैपल्ट पिइसकेको मग उठाउनुहुन्थ्यो, पिइसकेको देख्नुहुन्थ्यो अनि फेरि लेख्नुहुन्थ्यो ।

मलाई लाग्थ्यो, यो कस्तो पागलपन होला । साँच्चि नै त्यो पागलपन नहुनु थियो, बाबाको आजको उचाइ हुन्न थियो । जतिखेर मेरो होस् आयो, त्यतिखेरदेखि मैले मृत्युको मुखेञ्जीसम्म नै लेखनमा जुटिरहेकै पाएँ । अध्ययनमा भुलिरहेकै पाएँ ।


समयलाई खेरो फाल्नु हुँदैन भन्ने सिद्धान्तले गाँजेको थियो उनको संवेद्य आत्मरूप । यसैले उनी बैंकको काम सकेर सधैँ आफूलाई लेखनकक्षमा पुर्‍याउँथे । अनि त नेपाली समाजले केही न केही कृति पाउँथ्यो ।

बिछ्याउनामा एक छिन बिसाउनुहुन्थ्यो, लम्पसार परेर । सायद कामको थकान हुन्थ्यो । आमाले ठूलो मगमा चिया टक्राउनुहुन्थ्यो । जस्तै जाडो भए पनि कलको चिसो पानीले हात–खुट्टा धुनुहुन्थ्यो । त्यसपछि लेखनकक्षमा पस्नुहुन्थ्यो ।


हामीलाई कहिल्यै बाबापनको अभाव भएन । मलाई आमाले पनि एक्लो अनुभव गर्नुभएको थाहा छैन । ‘खुसी हुन धेरै सजिलो छ तर सरल हुन धेरै कठिन’ सायद उनको खुसीको वास्तविक ठेगाना साहित्यको विथुवन धुन थियो ।

यसैकारण उनले बहुआयामका बत्तीसवटा पुस्तक सिर्जना गरे । जीवनकालभरि साहित्यको सबै विधामा उनको कलम चल्यो । तर, उनको प्रिय विधा भने कविता नै थियो । मैले पढेको छु, उनले कवितालाई कुनै ध्वनि तरंगसित तुलना गरेका छन् । मलाई त्यो खुब मन पर्छ ।

‘अन्वित विम्बबाट स्पन्दित कुनै विशिष्ट टक्कर चैतन्यमा पर्न जाँदा, त्यहाँ लयात्मक तरंग सिर्जना हुन्छ । त्यही कम्पन नै भाषाको माध्यम भएर बनेको हुन्छ जीवन्त कविता ।’

विधा कविता भए पनि सबै विधामा उनको कलम चल्यो । उनी जहिल्यै चिन्तनमा हुने । घरमा सबै भेला भएको बेला ‘हट डिस्कस’ पनि चल्थ्यो । कलेजको छुट्टीमा घर आउँदा विवेक दाजु र बाबाको बहस सुन्नलायक हुन्थ्यो । विवेक दाजु घर आउँदा बाबाको अनुहार उज्यालो हुन्थ्यो । किनभने केही न केही नयाँ कुरा बोकेरै आउँथे । विवेक दाजु आफू जे पढ्थे बाबासित सेयर गर्थे ।


‘जेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स, पढ्नुस् बाबा,’ विवेक दाजु भन्थे । अनि थप्थे फेरि, ‘रावट पिरसिङले मेन्टल असाइलममा बसेर पूरा गरेको किताब हो यो ।’ त्यसपछि किताबले बोकेको दर्शन र त्यसको उपयोगिताबारे लामो बहस । बाबासित हर्मन हेस्सेको सिद्धार्थ, स्टिभन वाइनवर्गको फस्ट थ्री मिनेटको कुरा गरेको खुब थाहा छ ।

‘संसार कसरी तीन मिनेटमा अनेकौं झल्माउँदो तारामण्डल र ग्रहहरूले सजिएको भयो, कस्तो राम्रो व्याख्या छ,’ भन्थे विवेक दाजु । अनि हामी भन्थ्यौं, ‘बाबा, यस्तो दार्शनिक विमर्श तपाईंको लेखनीमा पनि होस् है ।’

बाबाको लेखनीमा पनि अध्यात्म र विज्ञानबीचको सम्बन्ध र यसले देखाउने रूपहरू, पूर्वीय ग्रन्थहरूको नवीनीकरण र मिथकहरूको पुनर्निर्माण होस्, लाग्थ्यो मलाई । जीवन र समाजलाई कागजमा उतार्न सक्ने अद्भुत मानिस थिए बाबा । यसकारण म जीवनका अनेकौं रङ खोजिबस्थे बाबाका औंला कुदेका ती कागजभरिभरि ।


चक्रव्यूह र बुद्ध

बाबा भन्नुहुन्थ्यो, ‘पाश्चिममा दर्शनशास्त्रका तत्त्वज्ञहरूलाई पाठकीय ग्राह्यता शीघ्र प्राप्त हुन्छ, हाम्रोतिर एउटा सीमा छ । हाम्रोतिर त्यो पाठकीय संवेदको विकास भइसकेको छैन । अभ्यास हुनुपर्छ, त्यतातिर पनि ।’

बाबाको निम्ति बौद्ध दर्शन पनि जीवनको खोज गर्ने एउटा बाटो थियो । डायरीमा लेख्नुभएको रहेछ, ‘मैले कुनै बौद्ध धर्म अनुयायीहरूको घरमा बुद्ध तपस्यामा लीन रहेको देखेको छु । त्यो तपस्या भंग गर्ने वरिपरि राक्षसहरू देखिन्छन् । मेरो स्थिति पनि यस्तै छ, म शान्त भावमा चिन्तन गर्न चाहन्छु । साहित्यिक रचना गर्न चाहन्छु । तर, वरिपरि हल्ला भएर मलाई बिघ्न पुर्‍याउने काम भइरहेछ ।’

मैले सुनेको छु, बाबाले दुई वर्षजस्तो केही लेख्नुभएन । अहिले अनुमान गर्न सक्छु, त्यतिखेर नै बाबाका वरिपरि राक्षसहरू आएर बुद्धको तपस्या भंग गर्न खोजिरहेका थिए । किनभने बाबाको पुस्तक चक्रव्यूहले पश्चिम बंगाल सरकारबाट भानुभक्त पुरस्कार प्राप्त गरेको थियो ।


त्यतिखेर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा छुट्टै राज्यको निम्ति आन्दोलित थियो । यस्तै बेला बंगालबाट पुरस्कार पाउनु आन्दोलनकारी दलको निम्ति सह्य भएन । यति शालीन, यति गम्भीर, यति निश्चल, यति भद्र मानिस कसरी खराब हुन सक्छन् ? तर, मेरो लेखक पितालाई तत्कालीन राजनीतिक दलले खराब विम्बमा उभ्यायो ।

सन् १९८५ मा पाएको पुरस्कारको विरोध अर्को वर्ष भयो । सुवास घिसिङहरूको निम्ति बंगाल सरकारको हातबाट पुरस्कार ग्रहण गर्नु जातिविरोधी काम थियो । अहिले सम्झन्छु, त्यही पश्चिम बंगाल सरकारसित दार्जिलिङ गोर्खा पार्वत्य परिषद् ग्रहण गर्नुचाहिं किन जातिविरोधी काम भएन ? राजनीतिक दल र यसका नाइकेहरूको बौद्धिकस्तर कुण्ठित भएपछि त्यसको प्रभाव समाजलाई पनि पर्दो हो । त्यसपछि समाज नै कुण्ठित बन्दो हो ।

वास्तवमा बाबा अनि उनको कृति चक्रव्यूहमाथि राजनीतिक चक्रव्यूह रचियो । किताब जलाइयो । पोस्टर टाँसियो । पुरस्कार नफर्काए हत्यासम्म गर्ने चेतावनी दिइयो । वास्तवमा कथाकार शरद छेत्रीले कथामार्फत मानिसका जीवनमा कुनै न कुनै शक्तिद्वारा रचिने चक्रव्यूहबारे समाजलाई बताउन चाहन्थे ।


विडम्बना के थियो भने त्यही समाज बाबामाथि चक्रव्यूह रचिरहेको थियो । उनले पुरस्कार फिर्ता गरे । मलाई लाग्छ, मेरो बाबा बुद्ध थिए, जो लेखन साधनामा सधैँ मग्न बसे । वरिपरि राक्षसहरूले त्यो साधना तोड्ने अनेकौं प्रयास गरे तर बुद्धले बुद्धत्व प्राप्त गरेर नै छोड्यो ।

किनभने त्यही चक्रव्यूहले साहित्य अकादमी अनि नेपालको रत्नश्री स्वर्णपदक हत्यायो । त्यही चक्रव्यूह असमी, अंग्रेजी, उडिया, हिन्दीलगायत अन्य धेरै भाषामा अनुवाद भयो । तत्कालीन दार्जिलिङे नेपाली समाजले बुझ्न नसकेको चक्रव्यूह अन्यभाषी समाजले बुझ्यो । वास्तवमा यही त थियो कथाकार शरद छेत्रीले प्राप्त गरेको बुद्धत्व ।


मृत्युको हातमा कलम

जतिखेर उनको चक्रव्यूह जलाइयो, त्यतिखेर उनी भन्थे रे, ‘मलाई मार्छन् भने मारून्, म मृत्युसित डराउने मानिस होइन ।’


बाबा सन् २०११ मा शान्ति नर्सिङहोममा सीओपीपी (मुटु, फोक्सो आदिको रोग) को कारण भेन्टिलेटरमा हुनुहुन्थ्यो । मृत्युसित नडराउने बाबा तर अब लेख्न पाउँदिनँ भन्ने कुरादेखि डराउँथे । घरी आईसीयू, घरी भेन्टिलेटरको कष्ट उनको अनुहारमा थियो । उनी कसरी फेरि जीवनमा फर्किए, म जान्दिनँ ।


बिमारबाट उठेपछि एक दिन मसँग कागज मागे अनि नितान्तै बाङ्गो–टिङ्गो अक्षरमा लेखे, ‘म त लेख्न र बोल्न नसक्ने भएछु ।’ साँच्चै त्यो दिन मेरो आँखा यसरी भरियो कि मनमा एउटा ठूलो गाँठो पर्‍यो, जसलाई सहन मुस्किल थियो । आफ्नो जीवनभन्दा पनि धेर प्रेम कसरी लेखनलाई गर्न सकिन्छ ? उनको यही लेखनप्रेमले म धेरै भावुक भएर रोएको थिएँ ।

आमाले हात समातेर बिस्तारैबिस्तारै लेख्न सिकाउनुभयो । बिमारले खाएको शरीरको शक्ति फर्किन धेरै समय लाग्यो । ओछ्यानमा पल्टिएको बाबाले भन्नुभयो, ‘शैलीका, कागज लिएर बस त म भन्छु तिमी लेख ।’


प्रतीक्षामा थिएँ म

आँधीको स्वागत गर्न

थिएँ निकै दिनदेखि मस्त

अतीव प्रचण्डको धक्का खप्न

सायद त्यस धक्काले उछिट्टिएर

अर्कै जगत्मा जान चाहन्थेँ म

यसक्रममा

आकस्मिक धक्का पनि उपस्थित त बन्यो

तर त्यो धक्का खुबै कमजोर रह्यो

त्यसले केवल खिच्याएको जस्तो गरेर

मलाई पुनर्जीवनमा जित्न पठाएछ ।

उनले जीवन जितेको कविता थियो यो ।


अर्थात् मृत्युले बोकेको कलमले लेखेको विजय समरको कथा थियो यो ।


मृत्यको कोखबाट

मृत्युको मुखेञ्जी परेका शरद छेत्रीले त्यसपछि दुईवटा कृति दिए । फेरि तंग्रिए । फेरि बिरामी परे । त्यतिखेर म आफैं पनि ओछ्यान परेको थिएँ । उनलाई फेरि अस्पताल लगियो । आमा र दाजु भन्नुहुन्थ्यो, जतिखेर पनि बाबाले तिमीलाई नै खोजिरहनुहुन्थ्यो । उनको देहान्त अस्पतालमा नै भयो ।

मैले देख्दा बाबाको आँखा खुलै थियो, त्यो आँखा मैले नै बन्द गरिदिएको थिएँ । मलाई लाग्यो, त्यो खुला आँखाले खोजेको आकृति म नै थिएँ सायद । त्यो आँखाले मलाई नै हेरिरहेको थियो । त्यो मृत आँखालाई बन्द गर्न म बाध्य थिएँ । बाबाको आँखा बन्द भइसकेको थियो, यता मेरो आँखा खुलिसकेको थियो । किनभने त्यतिखेर म पनि लेख्ने भइसकेकी थिएँ ।


भनौं बाबाको मृत्युको कोखबाट म जन्मिसकेकी थिएँ । बाबाको खुला आँखाले देखेको सपना बाबाको आँखा बन्द हुँदा पूरा भइसकेको थियो । म कथाकार र समीक्षक शैलिका बनिसकेकी थिएँ । अहिले मेरो आँखामा त्यही सन्तुष्टि छ, जो कुनै बेला बाबाको आँखामा थियो । हो, लेखककी छोरी शारदीय पिण्ड केलाउने भइसकेको थियो ।


(लेखक साहित्यकार शरद छेत्रीकी छोरी हुन्)

प्रकाशित : मंसिर २९, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?