किताब पढ्नु राम्रो कि सुन्नु ?

अडियोबुकले हाम्रो पढ्ने बानीलाई किबोर्डले हस्तलेखनलाई बिस्थापित गरेझैं त हुँदैन भन्ने डर पैदा गरिदिएको छ ।

काठमाडौँ — केही वर्षअघि जब मानिसहरू म पढ्ने बानीको शोधकर्ता हुँ भनेर थाहा पाउँथे उनीहरूलाई आफ्नो बालबालिकाको डिस्लेक्सियाका बारे वा बालबालिकालाई धेरै पढ्ने बानी पार्ने उपायहरूबारे सोध्थे । तर, आजभोलि भने मलाई सोधिने प्रश्न भने केही फरक भएको छ, ‘बुक क्लबमा गएर अडियोबुक (रेकर्ड गरिएका किताब) लाई सुन्नु राम्रो हो र ?’

किताब पढ्नु राम्रो कि सुन्नु ?

अडियोबुकको व्यापार पछिल्लो पाँच वर्षमा दुई गुणाले बढेको छ भने प्रिन्ट र ई–बुकको व्यापार मन्द छ । यो प्रवृत्तिले अडियोबुकले हाम्रो पढ्ने बानीलाई किबोर्डले हस्तलेखनलाई विस्थापित गरेझैं त हुँदैन भन्ने डर पैदा गरिदिएको छ । यो बहस निकै गम्भीर छ । तर, हामी कुन तरिकाले पढ्छौं र कुन तरिकाले सुन्छौं भन्ने विषय यहाँ महत्त्वपूर्ण छ । किनभने ती दुवैले भिन्न–भिन्न उद्देश्यलाई पूर्ति गर्छन् । ती दुवै एकअर्काभन्दा ठूला वा साना छैनन् ।


वास्तवमा भन्ने हो भने, ती दुवै एकअर्काका परिपूरक पनि हुन् । अडियोबुक डिस्लेक्सिया भएकाहरूका लागि राम्रो माध्यम हो । त्यसले श्रोतालाई सुनेर त्यसको अर्थ बुझ्नलाई मद्दत गर्छ, कागजमा लेखिएका शब्दलाई स्वरको माध्यमबाट दिमागसम्म पुर्‍याउँछ । कुनै पनि शब्दहरूको भाव बुझ्नु भर्खर पढ्न थालेकाहरूका लागि सहज विषय होइन । त्यसैले पनि पढ्नुभन्दा सुन्नु केही सहज हुन सक्छ । एक पटक शब्दको पहिचान गरिसकेपछि (चाहे त्यो पढेर होस् वा सुनेर), त्यसलाई वाक्य वा अनुछेच्दमा प्रयोग गर्दा दिमागले एकै प्रकारले काम गर्छ ।


लेखनको इतिहास ६ हजार वर्ष मात्रै पुरानो छ । यो समय वास्तवमा दिमागलाई पढ्ने प्रक्रियामा विशेषज्ञता हासिल गरी त्योअनुरूप विकास हुन अपुग छ । हाम्रो दिमागी क्षमता बोलेका कुराहरूलाई बुझ्ने हिसाबले विकास भएको छ, जसलाई हामीले लेख्य भाषालाई बुझ्न पनि प्रयोग गरिरहेका छौं । तसर्थ, शोधले के देखाउँछ भने कुनै पनि वयस्कहरूले पढ्ने परीक्षामा समान अंक पाउँछन् यदि उनीहरूलाई त्यो अनुच्छेद पढ्नको सट्टा सुन्न दिइयो भने ।


यद्यपि, प्रिन्ट र अडियोमा धेरै भिन्नता छन्, विशेषगरेर उच्चारण गर्दा र लेख्दा । त्यो भनेको बोल्दाको अवस्था, उच्चारण गर्दा शब्दलाई दिइएको महत्त्व । ‘क्या गज्जबको पार्टी’ भन्दा राम्रोसँग तारिफ गरिएको तारिफ पनि हुन सक्छ वा गिज्याउनका लागि पनि भनिएको हुन सक्छ तर कागजमा भने दुवै एकै प्रकारका देखिन्छन् । लेखनमा बोल्दाको भाव दर्साउने चिह्न हुँदैन तर अनुभवी पाठकहरूले भने त्यसको कल्पना गरेर पढ्छन् ।


एउटा प्रयोगमा सहभागीहरूले कसैको आवाजको रेकर्डिङ सुने जहाँ ती व्यक्ति कहिले छिटो र कहिले ढिलो पढिरहेका थिए । त्यसपछि सबैले सहभागीहरूले मनमनै त्यही अघि सुनेको कुरालाई पढे, जुन त्यही व्यक्तिले लेखेका थिए जसको आवाज उनीहरूलाई सुनाइएको थियो । उक्त आवाज छिटो–छिटो सुनेकाहरूले ढिलो बोलेको आवाज सुनेका भन्दा छिटो पढे ।


आफैंले पढ्दा बुझिने कुरा गलत पनि हुन सक्छ र कसैले बोलेको अडियो नै सुन्दा र आवाजको संकेतहरूका कारण सही सन्देश प्राप्त गर्न सकिन्छ । उदाहरणका लागि आजका विद्यार्थीहरूले ‘सुन्दर रोमियो तिमी कहाँ छौ ?’ पढ्दा जुलियटले रोमियो कहाँ छ भनेर खोधिरहेको भनेर सोच्छन् र सुन्दर शब्दलाई बढी जोड दिएर पढ्छन् । तर, त्यही कुरा कुनै अभिनेत्रीले नाटकमा बोल्दा रोमियो शब्दलाई बढी जोड दिन्छिन् । जसका कारण दर्शकहरू उनले रामियोको नाम जपिरहेको हो उनी रहेको स्थान खोजेको होइन भनेर ठम्याउन गाह्रो पर्दैन ।


सधैं पढेर भन्दा सुनेर विश्लेषण गर्न सजिलो हुन्छ भन्ने हुँदैन । उदाहरणका लागि एक अध्ययनमा विद्यार्थीहरूले वैज्ञानिक विषयमा २२ मिनेटको पोडोकास्ट (बोलेर रेकर्ड गरिएको लेख) र छापिएको लेखमध्ये कुन पढेर बढी बुझ्छन् भनेर हेरिएको थियो । दुवै तरिकामा विद्यार्थीले उत्तिकै समय बिताए र त्यसको दुई दिनपछिको परीक्षामा छापिएको लेख पढेकाले ८१ अंक ल्याए भने सुन्नेहरूले ५९ अंक प्राप्त गरे ।


किन त्यसो भयो त ? हुन त उक्त विषय नै कठिन खालको थियो र लक्ष्य रमाइलोभन्दा पनि ज्ञान थियो । यी कारकले पनि हामीले कसरी पढ्छौं भनेर फरक पार्छ । हामी घोत्लिएर पढ्दा ढिलो पढ्छौं । र, त्यसलाई दोहोर्‍याउँछौं पनि । हामी केही बेर रोकिएर पनि सोच्छौं । त्यसो गर्न छापिएको विषयबाट पढ्दा सजिलो हुन्छ पोडोकास्टभन्दा ।


छापिएको कुरा पढ्दा केही सजिलो पनि हुन्छ, त्यहाँ शीर्षक हुन्छ, अनुच्छेद छुट्याइएको हुन्छ जुन अडियोमा उपलब्ध हुँदैन । शोधहरूले पाठकहरूले पहिलो अनुच्छेद पढ्न समय लिन्छन् भन्ने देखाएको छ किनभने अधिकांशलाई पहिलो अनुच्छेदमा नै उक्त विषयको जग हुन्छ भन्ने लागेको हुन्छ ।


एक प्रकारको विश्लेषण वा समझदारी बनाउनका लागि दुवै सुन्ने र पढ्ने कुराले सहयोग गर्छ तर कठिन विषय अध्ययनका लागि भने छापिएकै लेख र भिन्न मानसिक योजना नै चाहिन्छ । शोधकर्ताहरूको विश्लेषणअनुसार कठिन विषयभन्दा सामान्य विषयका लागि श्रोता र पाठकहरूको क्षमता एकै प्रकारको हुन्छ ।


यसको निष्कर्ष भनेको सजिलो सामाग्री अध्ययनका लागि प्रिन्ट र अडियो दुवै बराबर हुन् भने गाह्रो सामग्रीका लागि प्रिन्ट नै चाहिन्छ । भविष्यमा यसप्रकारको परिवर्तन हुन सक्छ । अडियोबुकहरू छ्याप्छ्याप्ती हुन थालेसँगै स्रोतहरूको सुनेर बुझ्ने क्षमतामा पनि विकास हुँदै जान सक्छ र प्रकाशकहरूले पनि अडियोका लागि मात्रै छुट्टै संस्था खडा गर्न सक्छन् ।


तर, यस प्रकारको परिवर्तनले पनि अडियोबुकले कहिल्यै पनि प्रिन्टलाई भने प्रतिस्थापन गर्न सक्दैन । किनभने ८१ प्रतिशत अडियोबुकका श्रोताहरूले आफूले अरू काम गरिरहँदा सुन्न रुचाउने बताउँछन् । मान्छेको दिमाग एक पटकमा दुइटा काम गर्ने हिसाबले बनेको छैन । त्यसैले यदी हामीले दुई काम एकैसाथ गर्‍यौं भने कुनै एकमा त केही कमी हुन जान्छ नै ।

यसो भन्दैमा प्रिन्टका समर्थकहरू हौसिनु पर्दैन । म कुचो र पोछा लाउँदा वा हिँड्दा किताब पढ्दै गर्न सक्दिनँ । प्रिन्टले शब्द वा विचारहरूसँग खेल्न पर्याप्त समय दिन्छ भने अर्कोतर्फ अडियोबुकले साहित्य नै नहुने समयलाई पनि साहित्यिक हुन सहयोग बनाएको छ ।


त्यसैले बुक क्लबमा गएर अडियोबुक सुन्नु नराम्रो होइन । आफ्नो छोराछोरीको फुटबल खेल हेर्न गएको बेला पनि अडियोबुक सुनिन्छ भने त्यो पनि नराम्रो होइन । तपाईंलाई भिन्नै अनुभव हुन सक्छ जुन राम्रो हो । र, भिन्न प्रकारका किताबहरूलाई भिन्नै प्रकारले पढ्ने रुचि हुन्छ : अडियोबुकहरूको माग बढेसँगै लेखकहरूले पनि आवाजमा रेकर्ड गर्नैका लागि पनि विशेष जोड दिएर लेख्न

थालेका छन् ।


हाम्रो अनुभवको दायरा दुईबीचको भिन्नतालाई दर्साएर बढ्दैन, बरु दुईबीचको भिन्नतालाई बुझ्दै कसरी त्यसको सदुपयोग गर्ने भन्ने कुरा पहिल्यायौं भने बढ्छ ।

ड्यानिल टी विलिङहाम

–न्युयोर्क टाइम्स

प्रकाशित : मंसिर २९, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?