किर्किस्तानदेखि पानीचरा

फोटो–कथा
मनोज पौडेल

काठमाडौँ — बढीमा ५ हजार माइलसम्म उडेर साइबेरिया, रुस, चीन, मंगोलिया, तुर्केमिनिस्तान हुँदै किर्किस्तानदेखिका हूलका हूल चराचुरुंगी यहाँ आउन थालेका छन् ।

किर्किस्तानदेखि पानीचरा

सुरुमा असोज पहिलो साता बिजुला गैरी हाँस आए । त्यसको एक सातापछि मरुल थपियो । आकाश खुलेसँगै यी चरा आउनासाथ हिउँदे आगन्तुक चरालाई मौसमी चटारो लाग्यो । त्यसपछि बिस्तारै हिउँदे प्रजातिका हूलका हूल रूख सुडसुडिया, टिमटिमा र जल रंक चरा आए । मौसमअनुसारको वातावरणमा घुलमिल हुन सयौं माइलको यात्रा गर्दै यहाँ आए ।

चराको स्वर्ग भनिने जगदीशपुर तालमा असोजदेखि चरा आउने क्रम ह्वात्तै बढयो । उत्तरतिर चिसो बढेसँगै चरा तराईतिर झरे । सफा मौसम र उपयुक्त वातावरण पाएपछि चरा नेपालको तराईतिर लोभिएका हुन् । ताललाई पछि थपिएका कैलो टाउके, मालक, काली जुरे, डुबुल्की चरा र जलेवाले मनमोहक बनायो । बिजुला गैरी, खड्खगे, सुनजुरे, सिन्दुरे र चखेवाचखेवीको आगमन बढेपछि अझ रोमाञ्चित बनायो । चराप्रेमीका लागि दैनिक लोभिने दृश्य देखिन्छ । उनीहरू लठ्ठ हुन्छन् । चराको कलरल जलक्रीडा, आहार विहारले सबैलाई मोहित पार्छ । यहाँ आउने कतिपय चराले बच्चासमेत हुर्काएर फर्कने गर्छन् । साँझ–बिहानको चरा चिरबिराहटले पनि मन फुरुंग बनाउँछ । हूलका हूल चरा उड्छन्, बस्छन् ।

यहाँ साइबेरिया, रुस, चीन, मंगोलिया, मध्यएसियाका तुर्केमिनिस्तान र किर्किस्तानबाट चरा आएको चराविद् दिनेश गिरीले बताए । त्यहाँबाट जाडो छल्न नेपालका तराईतिर चरा आउँछन् । जाडोका बेला हिउँले आहार पाइँदैन्— उनले भने, ‘त्यही भएर चरा यता झर्छन् । यहाँ गर्मी हुन थालेपछि फेरि उत्तै फर्कने गर्छन् ।

यहाँ सातादेखि १० दिनमै आइपुग्छन् । ४ देखि ५ हजार माइल उडेर चरा यहाँ आउँछन् । धेरै चरा सिधै उडेर ३/४ दिनमै पुग्छन्, उनले भने कतिपय रोकिंदै सातासम्मैमा यहाँ पुग्छन् । नेपालमा पाइने ८ सय ८६ प्रजातिका मध्ये यहाँ १ सयभन्दा ६७ बढी प्रजातिका चरा पाइन्छन् । विश्व दुर्लभ मानिएका ११ प्रजातिका चरा सजिलै देख्न पाइने पन्छी संरक्षण संघले जनाएको छ । तालमा नीलटाउके, श्वेताखीभौ, खोया, फिस्टा, जलअप्सरा र सुनजुरे हाँस प्रसस्त देख्न पाइन्छ । तर बेल्चा ठुँडे, नादुन र फुर्के हाँस घट्दै गएको चराविद् डा. हेमसागर बरालले बताए ।

‘एकै ठाउँबाट नेपालमै सबैभन्दा बढी चरा देख्न सकिने ठाउँ जगदीशपुर हो,’ सरिसृप विशेषज्ञ डा. करनबहादुर शाहले भने, ‘त्यसकारण तालको महत्त्व बढ्दो छ । चरा तालमा आउँदा आफूलाई सुरक्षित महसुस गर्छन् ।’ तालमा चरा लुक्ने, खेल्ने र बस्ने उनीहरू अनुकूलको ठाउँ छ । ताल वरपर उब्जनी हुने खेत हुँदा प्रशस्त आहारविहार मिल्ने गर्छ ।

सदरमुकाम तौलिहवादेखि करिब ११ किमि उत्तर कपिलवस्तु–९ मा ताल पर्छ । १ सय ५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रूपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो । चरा र जैविक विविधताका कारण सन् २००३ मा ताल अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सूचीकृत भएको हो । चराका कारण जगदीशपुर ताल मुलुकमै चिनिएको छ । चरा र वातावरणबारे पढ्न अस्ट्रेलियाबाट यहाँ विद्यार्थीहरू आउने गर्छन् ।

चिन्ता : विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा मानवीय अतिक्रमण बढेका कारण चरा घटेका छन् । चराको स्वर्गका रूपमा चिनिने तालमा मानवीय क्रियाकलाप बढेका कारण संरक्षणकर्मी चिन्तित बनेका छन् । मुलुकमै आगन्तुक चरालाई राम्रो आश्रय दिइरहेको तालमा डुङ्गा चलाइएको छ । डुङ्गाका कारण चराहरू असुरक्षित महसुस गरिरहेका छन् । गत वर्ष यहाँ २२ हजारभन्दा बढी चरा गणना गरिएकामा यस पटक उल्लेख्य संख्या घटेको चराविद् डा. बरालले बताए ।

जगदीशपुर तालको बीचमा भौतिक संरचना निर्माण गरिएको छ । पर्यटकीय आकर्षण थप्न भन्दै जगदीशपुर ताल व्यवस्थापन बहुसरोकार मञ्चले बीच भागमा गौतम बुद्धको मूर्ति राख्न थालेको छ । मूर्तिका लागि तालको मध्यभागमा ७० फिट गोलाइ माटाको ढिस्को गत जेठमा बनाइएको थियो । मूर्ति राखिएपछि डुङ्गाबाट बीचमा रहेको ढिस्कोसम्म आवतजावत गरिनेछ । यसपछि बीचमा विचरण आउने चरा पनि थप असुरक्षित हुनेछन् ।

‘एक/दुई घण्टामै ४० भन्दा बढी प्रजातिका चरा देख्न पाउनुले यहाँको महत्त्व त्यसै उजागर हुन्छ,’ संरक्षणकर्मी राजु आचार्यले भने, ‘तालमा मानवीय अतिक्रमण बढ्दो छ । विगतमा तालमा चराका फोटो खिच्न मात्रै देश–विदेशबाट थुप्रै फोटो पत्रकार र पर्यटक आउने गर्थे । यो संख्या पनि कम भएको छ ।’

‘ठूलो ताल हुँदा जता पनि रमाउन पाउँछन्,’ पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इसाना थापाले भनिन्, ‘सुरक्षित पनि उत्तिकै महसुस गछन् ।’ तालमा संरचना निर्माण र मानवीय अतिक्रमण हुँदा जोगाउन सबै लाग्नुपर्छ । नभए ताल पनि इतिहासमा सीमित हुन्छ । मुलुकमै उत्कृष्ट चरा अवलोकन गन्तव्य बनेर पर्यटनमा राम्रो टेवा दिएको जगदीशपुर ताल संरक्षण गर्न स्थानीय नै लाग्नुपर्छ । पानीचरा खासगरी जाडो छल्न हिउँद याममा नेपाल आउँछन् ।

प्रकाशित : पुस १४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?